जलवायु परिवर्तनको असरः हिमाली क्षेत्रका पोखरीहरु ताल बन्न थाले, नेपाल उच्च जोखिममा



काठमाडौं । केही समय पहिले भारतको उत्तराखण्डमा रहेको चमोली जिल्लामा आएको हिमबाढीका कारण जनजीवन नराम्ररी प्रभावित भयो ।

विशेष गरी २ वटा जलविद्युत् आयोजनासमेत त्यसबाट प्रभावित भयो ।

यो घटनाले संसारलाई पुनः एकपटक सोच्न बाध्य बनाइदिएको छ । कोरोना भाइरसले पछिल्लो एक वर्षमा संसारभर नै मानिसहरुलाई उठ्नै नसक्ने खालको पीडा दियो ।

अर्थतन्त्र चौपट भयो । तर एक वर्षपछि आइपुग्दा महामारीलाई नियन्त्रण गर्न मानिस सफल भएका छन् । कोरोनाको खोप तयार भएको छ ।

जनजीवन क्रमशः सहज बन्दै गएको छ । कोरोनाको खोपले मानिसमा नयाँ खालको आशाको सञ्चार गरेको छ । अब महामारीलाई जित्न सकिन्छ भन्ने आत्मविश्वास पनि पैदा भएको छ । यद्यपी अमेरिकामा झण्डै ५ लाख मानिसले ज्यान गुमाएका छन् ।

नेपालमा पनि दोहोरिन सक्छ चमोलीको नियती, उत्तरी क्षेत्रका अधिकांश हाइड्रोपावर जोखिममा

तर, कोरोना महामारी भन्दा पनि ठूलो एवं कल्पना भन्दाको प्राकृतिक विपद् संसारका सामु मुखैमा आएको छ । यसले कति लाख मानिसलाई एकै निमेषमा स्वाहा पार्ने हो त्यसको कुनै अनुमान लगाउन सकिँदैन ।

चमोलीको बाढीमा परेमा झण्डै ५० जनाको लाश फेला परेको छ । झण्डै १०० बढी मानिस अझै पनि हराइरहेका छन् । उनीहरुको लाशसमेत फेला पर्ने सम्भावना कम हुँदै गएको भारतीय सञ्चारमाध्यमहरुको दावी छ ।

गत वर्षमात्रै अष्ट्रेलियामा भीषण आगलागी भयो । साधन र स्रोत सम्पन्न भनिएको अष्ट्रेलियाले समेत आगलागी नियन्त्रण गर्न हम्मे हम्मे नै पर्यो । पानी परेपछि मात्रै अष्ट्रेलियाको जंगलमा लागेको आगो नियन्त्रणमा आयो ।

सन् २१०० सम्म एक लाख हिमनदी बिलाउने, यसरी आउँदैछ ठूलो विश्व संकट

यस्तै दक्षिण अमेरिकाको विशाल मानिएको अमेजन जंगलमा आगलागी भयो । संरक्षित र लोपोन्मुख जंगली जनावरसमेत आगलागीमा परेर मारिए । अष्ट्रेलियामा त आगलागीका कारण सयौं कगांरु मारिए । यो विपद् अरुले अरुले निम्त्याएको होइन, मानिस स्वयंले नै निम्त्याएका थिए ।

पछिल्लो पटक अमेरिकाका टेक्सासलगायतका राज्यमा पछिल्ला केही वर्षको तुलनामा अत्याधिक हिमपात भयो । हिमआँधीले जनजीवन समेत नराम्ररी प्रभावित भयो । मानिसहरु बिजुली बिना कयौं रात काट्न वाध्य भए ।

यस्तै भारतको जम्मु काश्मिरमा समेत असाध्यै धेरै हिपात भयो । यी सबै जोखिममा संकेत हुन् । प्रकृतिले मानिसलाई जोखिमका अनेकन संकेत गरिरहेको छ ।

हिमाली क्षेत्रमा समेत पानीका मूल सुक्न थालेको छ । लामखुट्टे हिमाली क्षेत्रमा पुगेको छ । विभिन्न फलफूलका फूल समय नआउँदै वा धेरै समय घर्केपछि फूल्न थालेको छ । यसले विपद नजिकदैछ भन्ने संकेत गर्दछ ।

यस्तै औद्योगिक राष्ट्रले अनियन्त्रित रुपमा उत्पादन गरेको कार्वनका कारण जनजीवन थप जोखिमयुक्त बन्दै गएको छ । इसिमोडले गरेको पछिल्लो अध्ययनअनुसार नेपालका कोशी, गण्डकी र कर्णाली नदी बेसिनको माथिल्ला तटमा रहेका हिमताल तथा हिमनदीहरु विष्फोटको जोखिम बढ्ता देखिन्छ । विशेषगरी नेपालका कूल ४७ वटा हिमनदीहरु बढी जोखिममा रहेका छन् ।

जलवायु परिवर्तनका कारण संसारभर समस्या, के निम्तिदैंछ कोरोनाभन्दा पनि ठूलो विपद् ?

इसिमोडले गरेको अध्ययनमा ती हिमनदी र हिमताल के कति कारणले जोखिमा रहेका छन् भन्ने देखाएको छ । ११ नोभेम्बर २०२० मा नै उक्त समाचार विवरण समेत प्रकाशित भएको छ ।

चीनको तिब्बतबाट बगेर आउने नदी तथा त्यसका आसपासमा रहेका नदीहरुमा समेत अकस्मात बाढी पहिरो आउन सक्ने सम्भावनालाई अध्ययनले समेटेको छ ।

स्याटेलाइटले उपलब्ध गराएको हाइ रेजुलेशन तस्विरका आधारमा गरिएको अध्ययनमा केही हिमताल तथा हिमनदी जोखिमपूर्ण रहेको देखाएको छ ।

कमजोर भूसतहतका कारण हिमाली तालहरु जुनसुकै बेला विस्फोट हुन सक्ने सम्भावना देखाएको छ । त्यसले तल्लो तटिय क्षेत्रमा अकस्मात बाढी आउने र बाढीले ठूलो मात्रामा जनधनको क्षति पुर्याउने सम्भावना देखाएको छ ।

नेपालमा मात्रै नभई अन्य हिमाली तथा पहाडी देशहरुमा समेत जलवायु परिवर्तनको असर देखिँदै गएको छ । भारतको उत्तराखण्डको चमोलीमा मात्रै नभई हिमाञ्चल प्रदेशमा समेत जोखिमको मात्रा बढी रहेको पाइएको छ ।

२०औं शताब्दिको मध्यतिर गरिएको अर्को एक अध्ययनमा नै हिमाली क्षेत्रमा रहेका हिउँ अत्याधिक मात्रामा पग्लिदै जाने र त्यसले विनाश निम्त्याउने उल्लेख थियो ।

अध्ययन गरिएका चीन, नेपाल र भारतका २५ वटा हिमताल तथा हिमनदीको असाध्यै नजिकबाट नियाली रहेको समेत अध्ययनमा उल्लेख गरिएको छ ।

हिन्दकुश हिमालयन क्षेत्रमा अकस्मात हिमताल तथा हिमनदी विष्फोट हुँदा आउने बाढी र त्यसले पार्ने प्रभाव कयौं गुणा विनासकारी हुने देखिन्छ ।

विशेषतः गण्डकी, कर्णाली नदी बेसिन बढी जोखिममा रहेको छ । पछिल्लो पटक ३ हजार ६२४ वटा हिमतालको मापन गरिएको छ । मापन गर्दा केही वर्ष पहिलेको तुलनामा पछिल्ला दिनमा तालको आकारमा समेत विस्तार भएको पाइएको छ । ती तालहरु २.४ गुणा बढी ठूला भएका छन् ।

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा स्ट्याण्डर्ड ओलम्पिक साइजका पोखरी भन्दा ठूला देखिएका छन् ती हिमताल । नेपालका २ हजार ७० हिमताल, चीनको १ हजार ५०९ र भारतको ४५ हिमतालको नियमित अध्ययन भइरहेको छ ।

अध्ययनअनुसार नेपालका ३१ वटा हिमताल जोखिमका आधारमा शीर्ष स्थानमा रहेका छन् । यस्तै, जोखिमको दोस्रो चरणमा रहेका तालहरु १२ वटा छन् भने कम जोखिम तथा भविस्यमा जोखिम देखिने तालको संख्या ४ छन् ।

ठूला तालहरुमा हिउँ पग्लदै जाँदा आकार बढ्दै गएको छ । तालको वरीपरीको भूभागमा पहिरो तथा भूूस्खल भइरहेको छ । ती ताल जुनसुकै बेला जे पनि हुन सक्ने देखिन्छ ।

औद्योगिक देशले प्रकृतिमाथि गरेको दोहन तथा त्यसको अधिप्रयोगका कारण समस्या समाधान नै गर्न नसकिने गरी देखा परेको छ । विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्रीमा सीमित गर्ने आम सहमतिलाई इमान्दारिका साथ पालन गर्नुपर्ने दायित्व संसारका सामू आएको छ ।

पृथ्वीको रक्षा कवच मानिएको ओजन तह क्रमशः पातलो हुँदै गएको छ । विशेषगरी, अफ्रिकी तथा दक्षिण अमेरिकी देशहरुको आकाश माथि ओजन तह पातलो भएको पाइएको छ ।

पर्यावरणका जानकारहरुका अनुसार जलवायु परिवर्तन संसारकै सबैभन्दा ठूलो महामारीभन्दा फरक छैन । त्यसले पार्ने असर सोचेभन्दा भयावह हुन थालेको छ ।

उत्तरी र दक्षिणी ध्रुवको हिउँ पग्लिन थालेको छ । यसले तटीय देशहरु समुन्द्रमुनी पर्ने सम्भावना बढ्दै गएको छ । फिलिपिन्स, माल्दिभ्स जस्ता देशहरुको अस्तित्व नै जोखिममा पर्ने देखिन्छ ।


पुष्प दुलाल