सन् २१०० सम्म एक लाख हिमनदी बिलाउने, यसरी आउँदैछ ठूलो विश्व संकट



काठमाडौं । भारतको चमोलीमा आएको हिमबाढीको विषयमा यतिबेला संसारभर नै चासो र चिन्ता व्यक्त भइरहेको छ । मानिसहरुले जलवायु परिवर्तन एनजीओको धन्दा भन्दै उडाइरहेका थिए ।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले त जलवायु सम्बन्धि पेरिस सम्झौतालाई हावादारी भन्दै आफूहरु त्यसमा सहभागी नहुने कार्यकारी आदेशमा नै हस्ताक्षर गरे र बाहिरिए । उनले सो सम्झौता अमेरिकाको हितमा नरहेको दावी समेत गरे ।

तर, उनीपछि आएका जो बाइडेनले पेरिस सम्झौता कायम रहेको र आफूहरु सम्झौताप्रति प्रतिवद्ध रहेको बताएका छन् ।

विशेष गरी हरितगृह ग्यास उत्सर्जनमा औद्योगिक र शक्तिसम्पन्न राष्ट्रको विशेष हात रहने गरेको छ । नेपालको हकमा भन्दा त भारत र चीन जस्ता देशका कारण नेपालको जलवायुमा विकराल असर देखा परिरहेको छ । हिमाली क्षेत्रमा लामखुट्टे पुगेको विषयलाई मानिसहरुले सामान्यरुपमा लिएपनि त्यो जलवायु परिवर्तनको एउटा हिस्साका रुपमा लिन सकिन्छ ।

जलवायु परिवर्तनको असरः हिमनदीले निम्त्याउँदै छ ठूलो विपद्, नेपाल उच्च जोखिममा

यस्तै समय समयमा हिमाली क्षेत्रमा स्याउको फूल फूल्नु, पानीका पूराना मुहनाहरु सुक्नु तथा यसअघि देखिएका चराचुरुंगी देख्न छाड्न पनि जलवायु परिवर्तनको कारक बनिरहेको छ । हिमरेखा माथि-माथि सर्दै गएको छ । हिमालमा काला पहाड मात्रै देखिनु र हिँउ नदेखिनुले पनि समस्या विकराल बन्दै गएको तथ्य कोही कसैबाट छिपेको छैन ।

अमेरिकी एजेन्सी नासाको अध्ययन अनुसार यस शताब्दीको अन्त्यसम्ममा हिमालमा रहेका कूल २९ देखि ६७ प्रतिशत हिउँ पग्लिने अनुमान सार्वजनिक भएको छ ।

विशेष गरी नेपाल जस्ता, हिमाली मुलुक त्यसबाट सबैभन्दा बढी प्रभावित हुनेछ । हिमाली क्षेत्रमा बढ्दै गएको तापक्रमका कारण नयाँ-नयाँ हिमताल बन्नेछन् ।

हाल रहेका र भएका हिमतालको आकारमा वृद्धि हुनेछ । त्यसले क्रमशः बाढी पहिरो निम्त्याउनेछ । भारतको उत्तराखण्डको चमोलीमा भएको पनि त्यही हो । जाडोयाममा सामान्यता हिमताल बिस्फोट हुँदैन भनिदै आएको थियो । तर, चमोलीमा यही जाडो मौसममा नै बिस्फोट भएको छ । यसले पनि खोज तथा अनुसन्धानलाई नयाँ आधारमा अगाडि बढाउनुपर्ने भारतीय अधिकारीहरुको भनाइ छ ।

पछिल्लो एक अध्ययन हेरौं । फ्रन्टियर्स इन अर्थ साइन्समा प्रकाशित भएको वैज्ञानिक आलेखमा समेत उत्तरी र दक्षिणी गोलाद्र्धमा रहेको हिउँका विशाल भण्डारहरु क्रमशः खण्डिकरण हुँदै गएको छ ।

नेपालमा पनि दोहोरिन सक्छ चमोलीको नियती, उत्तरी क्षेत्रका अधिकांश हाइड्रोपावर जोखिममा

सोही अध्ययनलाई उदृत गर्दै नासाको ग्लोबल क्लाइमेट चेञ्जको लेखमा भनिएको छ, ‘यस शताब्दीको अन्त्यतिरै हिमालका २९ देखि ६७ प्रतिशत हिउँ पग्लिने छ । यसले विशेषगरी टापु देशहरु सबैभन्दा बढी प्रभावित हुनेछन् ।’

एशियमा रहेका देशहरुमा पनि विकराल समस्या देखा पर्नेछ । बर्मादेखि इरानसम्मको हिन्दकुश हिमालय क्षेत्रमा सबैभन्दा बढी समस्या जलवायु परिवर्तनले पारेको छ । यसको असर सामान्यरुपमा देखिन थालेको लामै समय भयो । यस्ता विकराल असरका श्रृखलाहरु क्रमशः देखा पर्दै जानेछ । त्यसबाट नदी तटका हजारौ बस्तीको भविस्य जोखिममा पर्नेछ ।

विशेष गरी नदी तटमा नै धानखेती हुने सम्म टारहरु छन् । नदी किनारमा नै बस्ती विकास भएको छ । यस्तै गरी आर्थिक गतिविधि पनि बढेको छ । मानिसको दैनिक जीवन नदी र नदीसँगै जोडिएको छ । आर्थिक पूर्वाधारहरु पनि नदी किनारमा नै रहेका छन् ।

नेपालका अधिकाशं नदीहरु उत्तरबाट दक्षिणतर्फ बगेका र त्यही नदी किनारमा बस्ती विकास भएको अवस्था छ । जलवायु परिवर्तनको असर बढ्दै जाँदा उत्तरी क्षेत्रमा रहेका हिमाल र हिमश्रृंखलामा देखा पर्ने विकराल समस्याका कारण नदी तटका हजारौ बस्ती एकै निमेषमा खण्डहर बन्ने सम्भावना चमोलीको घटनाले देखाइदिएको छ । त्यसबाट पानीको हाहाकार हुने, गरिबीको मात्रामा वृद्धि हुने र मानव जीवन नै समस्यामा पर्ने सम्भावना बढेर गएको छ ।

उदाहरणको रुपमा नेपालको भोटेकोशी नदीलाई लिऔं । नेपाल चीन सीमा क्षेत्र कोदारीभन्दा धेरै माथिबाट आउने नदीमा सामान्य बाढीमात्रै आउँदा त्यसले विगतदेखि पारेको प्रभाव नै हेरौं ।

दर्जनौ पटक कोदारी राजमार्ग बगाएको छ । राज्यको ठूलो धनराशी खर्च गर्दा समेत मर्मत हुन नसक्ने अवस्थामा कोदारी राजमार्ग पुगेको छ । भूकम्प तथा बाढी पहिरोका कारण भोटेकोशी नदी किनारमा बसेको तातोपानी बजार अब क्रमशः खण्डहर बनेको छ । मानिसहरुमा त्रास मात्रै छ । जुरको पहिरो, २०७०, २०७१ सालको बाढी र गत वर्षायामको बाढीका कारण सिन्धुपाल्चोकका नदी किनारमा बस्तीमा बढी जोखिम देखा पर्यो ।

नासाको समुद्री सतहसम्बन्धी वैज्ञानिकहरुको टोलीले ‘कम्प्युटर मोडल’ को माध्यमबाट एक अध्ययन गरेको छ । सो अध्ययन पहिलेका भन्दा विस्तृत र वास्तविकतासँग नजिक भएको दावी गरिएको छ । यो कप्युटर मोडललाई पाइथोन ग्लेसियर इभोलुसन मोडल (पाइजेम) नाम दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको विवरणमा उल्लेख छ ।

सोही अध्ययनलाई आधार बनाएर नासाले प्रकाशित गरेको लेखमा शताब्दीको अन्त्य अघि नै उल्लेख्य मात्रामा हिउँ पग्लिन सक्ने र त्यसको असर समुद्रको चारैतिर पर्ने उल्लेख छ । उक्त अध्ययनले भनेको छ, ‘हरितगृह ग्यास उत्सर्जनको मात्रा हामीले के कति मात्रामा बढाउने वा घटाउन सक्छौ, सोही आधारमा थप निष्कर्ष निकाल्न सकिने उल्लेख छ ।

अध्ययनका अनुसार, मनसुनको समयमा ठूलो मात्रामा हिमनदी पग्लिएर सन् २०५० सम्ममा नदीहरुमा पानीको मात्रा उच्च हुने समेत सोही अध्ययनमा समेटिएको छ । त्यसले पानीका स्रोतको अभाव भएर समूदायलाई थप स्रोत खोज्नुपर्ने बाध्यकारी अवस्था सिर्जना गरिदिनेछ ।

अध्ययनका बारेमा स्पष्ट पार्दै अनुसन्धानदाता एवम् आलेखका प्रमुख लेखक डेभिड रन्स भन्छन्, ‘यो पहिलेको अध्ययनको तुलनामा ठूलो प्रगति हो ।’ अमेरिकाको युनिर्भसिटी अफ अलास्का फेयरब्याङ्समा आवद्ध रहेका रन्सले मानवका लागि निम्तिदैं गरेको जोखिम सन्निकट रहेको बताएका छन् ।

अध्ययनअनुसार विश्वका ४४ प्रतिशत हिमनदी एसियामा अवस्थित छन् । त्यसमा पनि हिन्दकुश क्षेत्रमा हिमनदीको मात्रा अझै बढी रहेको छ ।

अध्ययन टोलीले नासाको टेरा २०२० नामक उपग्रहबाट सन् २००० देखि २०१८ सम्म ९५ हजार ५३६ हिमनदीमा आएको परिवर्तन अध्ययन गरेको विवरणमा उल्लेख छ ।

पछिल्लो पटक भारतको उत्तराखण्डमा आएको विपदले मानिसलाई धेरै चक्मा दिएको छ । किनकी मानिस आफैले निम्त्याएको विपदको पूर्व संकेतका रुपमा त्यसलाई लिन सकिन्छ ।

भारतको उत्तराखण्ड र नेपालको भौगोलिक अवस्था लगभग उस्तै छ । त्यसले नेपालमा पनि यस्तै किसिमको प्राकृतिक विपत्ति सन्निकट रहेको देखाउँछ ।

नेपालमा अधिकतम नदी उत्तरबाट दक्षिणतिर उच्च वेगमा बग्ने गर्दछन् । ती नदीमा नै अधिकाशं जलविद्युत् आयोजना समेत निर्माण भएका छन् । केही निर्माणमा जाने तयारीमा छन् । आर्थिक केन्द्रहरु पनि नदी तटमा नै निर्माण भएका छन् ।
नेपालका नदी हिमाल, उच्च पहाड र चुरे क्षेत्रबाट उद्गम भएर नेपालको समथर भू-भाग तराई हुँदै नेपालबाट भारततिर गएका छन् । केही नदी त तिब्बतको पठार हुँदै नेपाल आएका छन् । ती हिमनदी र हिमतालमा समेत जोडिएका छन् ।

नेपालका नदीहरूको लम्बाई करिब ४५ हजार  किलोमिटर छ । त्यसमध्ये हिमाली क्षेत्रको हिस्सा करिब ५० प्रतिशतको हाराहारीमा छ । नेपालका अधिकांश ठूला र अविछिन्न रुपमा बग्ने नदीका मुहान उत्तरका हिउँ, हिमनदी  नै हुन् । हिम ताल नै हुन् । जसले सुक्खायाममा समेत नदीमा पानीको नियमित आपूर्ति गरिरहेका छन् ।

अध्ययन अनुसार नेपालमा ३ हजारभन्दा बढी हिमनदी छन् । त्यसमा जोडिएका २ हजारभन्दा बढी हिमताल  छन् । जसको कूल क्षेत्रफल ७५ बर्ग किलोमिटर बराबरको  क्षेत्रफल  ओगटेको छ । हिमताल उच्च पहाड अथवा हिमालयको फेदमा अवस्थित छन् ।

जलविद्युत् उत्पादन नदीमा उपलब्ध पानीको मात्रामा अत्यधिक निर्भर छ । त्यसमा पनि नेपालमा नदी प्रवाही आयोजनाको हिस्सा बढी छ । नदीमा हुने कुनै परिवर्तनले प्रत्यक्षरूपमा जलविद्युत् उत्पादनलाई असर गर्ने सम्भावना बढेर गएको छ ।

नदीको मुहानमा हिउँ सकिँदा अथवा हिमताल फुट्दा सम्बन्धित नदीमा जलविद्युत् उत्पादन प्रत्यक्ष र अप्रत्यक्ष असर पर्छ । ऋषिगंगा जलविद्युत् आयोजना र चमोलीमा देखिएको प्रभाव त्यसैको उदाहरण हो ।

अब अर्को एउटा संकटको कुरा गरौ । रुस र काजिकस्तान भएर बग्ने यूराल नदी संकटग्रस्त भएको छ । ती दुई देशले गरेका संयुक्त प्रयासहरूले यूरालतटमा पर्यावरणीय संकटको गाम्भीर्यतालाई देखाएको अध्ययनहरुमा उल्लेख छ । सो नदीको जल सतह कम भएको छ । नदीले भोग्नु परेका समस्याका समाधानका लागि कुनै ठोस काम हुन सकेको छैन ।

पानीको महत्वपूर्ण स्रोतका रुपमा रहेको यूराल नदी र त्यसका सहायक नदीको जैविक र भौगोलिक विविधताका वाहक भएपनि त्यो संकटमा परेको छ ।

जलवायु परिवर्तनले काजकस्तानमा नकारात्मक प्रभाव पार्दैछ । गत १०० बर्षमा तापक्रम १.३७ डिग्री सेल्सियसले वृद्धि भएपछि नदीमा जल सहत कम भएको हो । कम्तीमा पनि नदीका विभिन्न भागलाई विशेष क्षेत्र घोषणा गरेर काम गरिएको भएपनि प्रभाव देखिन सकेको छैन । नदी सुक्नु, हिमनदीमा उपद्रो उत्पन्न हुनुले पृथ्वीमा ठूलो प्रभाव पर्दैछ भन्ने देखिन्छ ।


पुष्प दुलाल