
काठमाडौं । चियाको चुस्कीमा गफिने नेपालीको बानी नै हो । चिया साथीभाइ, आफन्त, इष्टमित्र भेटघाटको बहाना पनि हो । त्यसैले हिजोआज जताततै विभिन्न ‘ब्रान्ड’मा चियापसल खुलेका छन् र ती पसलमा मानिसहरु झुम्मिएकै देखिन्छन् ।
नेपालीका लागि चिया संस्कृति नयाँ भने हैन । बयस्कदेखि वृद्ध अवस्थाकाले पनि चियाको चुस्की लिन्छन् । चियाले न भोक मेट्छ न पोषण दिन्छ तर सम्बन्धहरू न्यानो बनाइराख्छ भनेर विश्लेषण गर्नेहरू पनि छन् । त्यसैले चियालाई थकाइ मार्ने, तलतल मेट्ने, तनाव कम गर्ने अर्थात् ‘फ्रेस’ हुने कडीका रूपमा समेत अथ्र्याउने चलन छ ।
त्यसैले सहरबजारमा बग्रेल्ती चियाका ब्रान्ड खुलेका छन् । चियावाला, चिया चौतारी, चियासंसार, मड्का चिया आदि…….।
यिनै मध्येको एक हो ‘पोखरेल मट्का चिया’ । राजेश शर्मा (पोखरेल दाइ) ले विगत एक वर्षदेखि परम्परागत चियापसललाई फरक शैलीमा नयाँ ब्रान्डका रुपमा स्थापित गरेका छन ।
सिंहदरबारको पूर्वीगेट अनामनगरमा रहेको यो पसल त्यहाँ पुग्नेहरूको रोजाइमा पर्न थालेको छ । मड्का मात्रै हैन १९ थरीका चियाको चुस्कीको स्वाद पाइने भएकाले यहाँ ग्राहकको भीड लाग्ने गरेको छ । नेतादेखि कलाकार, वकिल पत्रकार तथा चियाका पारखीहरूका माझ यो पसल चर्चाको विषय बन्ने गरेको छ ।
काठमाडौं महानगरपालिका–२९ का वडा सचिव शम्भु बरालका अनुसार वडाभित्र १०० हाराहारी चिया पसल खुलेका छन् । तीमध्ये कतिपय ‘चिया पसल’ भनेर दर्ता छन भने धेरैजसो बेकरी, खाजाघर आदि नामले सञ्चालनमा छन् ।
पछिल्लो समय चिया व्यवसायमा आकर्षण बढेको र विभिन्न ब्रान्डका चिया पसल खुल्नेक्रम जारी रहेको उनले बताए ।
पुर्खेउली घर स्याङ्जा भएका पोखरेलले चियाको यो ‘ब्रान्ड’ स्थापित गर्नुपछाडिको सङ्घर्ष लामो छ । १३ वर्षको उमेरदेखि पेसा व्यवसाय गरेका उनले २०५७ देखि अनामनगरमा चिया पसल सुरु गरेका थिए । त्यअघि उनले नवलपराशीमा गण्डकी गेष्ट हाउस, किराना पसल र पान पसल पनि सञ्चालन गरे । त्यसपछि उनी चिया पसलमा जोडिए ।
तर त्यसबाट फाइदा नभएपछि शर्मा रोजगारीका लागि युरोपका विभिन्न देशमा भाँतारिए ।
‘युरोपमा साथीभाइको व्यापार–व्यवसायमा जोडिने भनेर विदेश गए, विदेश र नेपालको लगानीको तुलना गरे । विदेशमा जोखिम देखेँ’, उनले भने ।
शर्माले डेनमार्क, बेल्जियम, पोर्चुगल, नेदरल्यान्डमा चियाको नयाँ तौरतरिका सिक्ने अवसर पाए र त्यही सीपलाई एक वर्षदेखि नेपालमै चियाको नयाँ ब्रान्डका रूपमा स्थापित गरेको सुनाए।
चियाका पारखीको ध्यान खिच्न पोखरेलले चिया पसल र सामाजिक सञ्जालमा विभिन्न नाराहरु पोष्ट गर्छन ।
‘चियामा रोइलो होइन रमाइलो गरौँ । एक कप हजार खुसी, पोखरेल चिया तपाइँको सन्तुष्टि’ यी र यस्ता साङ्केतिक नाराले पनि पोखरेल मटका चिया अनामनगरमा अरूभन्दा भिन्न छ ।
उन्नाइस थरीका चिया
पोखरेल मट्का चियामा १९ वटा चियामा १९ प्रकारका मसलाको फरक स्वाद पाउन सकिन्छ ।
‘दूधजन्य १९ थरी र पानीजन्य अरू फरक चिया पनि पाइन्छ, लालीगुराँस, लेमनग्रासलगायत मागअनुसारका चिया पनि हामीले दिने गरेका छौँ’, पोखरेलले भने । फरक फरक मसलाको समिश्रण, त्यसैले उनी एउटा कपको २५ देखि १३० रुपैयाँसम्म लिन्छन ।
उनले अनामनगर क्षेत्रका मात्र नभई कालीमाटी, स्वयम्भू, पेप्सीकोला, बालाजु, पुतलीसडकलगायत स्थानबाट ग्राहकहरू आफूकहाँ आउने गरेको बताए ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता ठाकुर गैरेलगायत नेताहरूले बेलामौकामा आफ्नो चिया पिउने गरेको उनले सुनाए । शर्माले यसैबाट परिवारको खर्च राम्रोसँग चलेको र पाँच जनालाई रोजगारी दिएको बताए ।
करिब २० लाख रुपैयाँको लगानीमा सञ्चालन गरिएको पोखरेलको मट्का चियाको ‘चेन’ पनि विस्तार हुँदैछ । छिट्टै कतारमा र काठमाडौँका विभिन्न स्थानमा शाखा विस्तार गर्ने योजना रहेको उनले जानकारी दिए ।
विगत २५ वर्षदेखि चिया बेच्दै आएका शर्माले अरू शाखामा अरबी, इरानी, गुलाफलगायत १० थरी चियाको स्वाद चखाउने योजना बनाएका छन् ।
उनले ग्राहकको इच्छाअनुसार चियासँग बेकरी आइटम, मःम, चाउमिन, भुटेको र उसिनेको मकै, कोदोको सुक्खा रोटी, मोही, दही आदि परिकार पनि पस्किन्छन ।
प्रतिक्रिया