जलवायु परिवर्तनका कारण संसारभर समस्या, के निम्तिदैंछ कोरोनाभन्दा पनि ठूलो विपद् ?
काठमाडौं । कोरोना महामारीका कारण पछिल्लो एक वर्ष संसार आक्रान्त भयो । महामारीका कारण अधिकांश देशमा लकडाउन हुँदा घरभित्रै मानिसहरु सीमित हुनुपर्ने अवस्था आयो ।
यसले अधिकांश देशमा आर्थिक संकट ल्यायो । अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार संसारभर ५० करोडभन्दा बढी मानिसहरुले जागिर गुमाए भने निरपेक्ष गरिबीको रेखामुनी भएका जनसंख्या बढ्यो भने सापेक्ष गरिबीको अन्तर पनि बढ्यो ।
विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म कोरोना भाइरसका कारण २४ लाख ३१ हजारबढीले ज्यान गुमाइसकेका छन् । महामारी शुरु भएको एक वर्षमै विश्वले कोरोनाविरुद्धको खोप पनि पाइसकेको छ । तत्पश्चता महामारीको जोखिम कम हुँदै गएको छ ।
तर लामो समयदेखि विद्यमान जलवायुको समस्या कोरोना भाइरसको महामारीभन्दा पनि ठूलो छ । जसका कारण आगामी दिनमा कोरोना महामारीले निम्त्याएको भन्दा ठूलो संकट ल्याउने विज्ञहरुले चेतावनी दिइसकेका छन् ।
नेपालमा पनि दोहोरिन सक्छ चमोलीको नियती, उत्तरी क्षेत्रका अधिकांश हाइड्रोपावर जोखिममा
जलवायुमा गरिने प्रतिकुल कार्यले कोरोनाका कारणभन्दा ठूलो मानवीय र समग्र पारिस्थितिक प्रणालीमै ठूलो असर गर्ने उनीहरुको दावी छ । उनीहरुले यो समस्या कोरोना महामारीको तुलनामा निकै ठूलो भएको र अहिलेदेखि नै यसप्रति ध्यान नदिने हो भने भविष्य संकटमा पर्ने बताइसकेका छन् ।
जसको पछिल्लो उदाहरण हो, भारतको उत्तराखण्डको चमोलीमा भएको हिमपहिरो, भारतकै जम्मुकश्मिरमा भएको हिमपात र अमेरिकाका विभिन्न राज्यमा भएको हिमआँधी ।
साथै गत वर्ष अष्ट्रेलिया र अमेजनका जंगलमा भएको डढेलो र सुख्खाका कारण विभिन्न देशमा कृषि उत्पादनमा आएको कमी र त्यसले निम्त्याएको भोकमरी जलवायु परिवर्तनका कारण उत्पन्न समस्याका केही उदाहरण मात्रै हुन् ।
भारतको चमोलीमा केही दिन अगाडि असाध्यै ठूलो हिमबाढी आयो । झण्डै एक सय बढी मानिस बेपत्ता भए । १२ जनाभन्दा बढीको ज्यान गयो ।
त्यसैगरी मंगलबार अमेरिकाको टेक्सासलगायतका धेरै राज्यमा अत्यधिक चिसोका कारण जनजीवन प्रभावित भएको छ ।
त्यहाँ हिमआँधीले वितण्डा मच्चाउँदा हालसम्म २३ जनाले ज्यान गुमाइ सकेका छन् । अमेरिकाको टेक्सासमा घन्टौंदेखि बिजुली प्रवाह बन्द भएको छ भने टेलिफोन काटिएका छन् । र, जनजीवन थप कष्टकर बनेको छ ।
त्यसले जनजीवन नराम्ररी प्रभावित भएको छ । सडकमा सवारी साधन चलेका छैनन् । मानिसहरु एक स्थानबाट अर्को स्थानमा जान नसकेको दृश्य टेलिभिजनमा प्रसारण भएका छन् ।
मानिसहरु चिसोबाट बच्न घरमा नै कैद भएका छन् । केही स्थानमा त आँधीले घर तथा आवासमा नै समस्या खडा गरेको छ ।
मंगलबारको नरसंहारक आँधीले कोरोना विरुद्धको खोप वितरणको काम समेत प्रभावित भएको अमेरिकी सञ्चार माध्यममको विवरणमा उल्लेख छ ।
बीबीसीले प्रसारण गरेको एक भिडियो सामग्रीमा जलवायु परिवर्तनको विषयसँग अमेरिकाको हिउँआँधीलाई जोडेका छन् ।
उनले मानवले प्रकृतिमाथि गरेको ज्यादतीका कारण दैनिक जसो नै संसारभर नयाँ नयाँ खालका समस्या र जोखिम देखिएको बताएका छन् ।
पछिल्लो केही साताभित्रै पृथ्वीको विपरीत ध्रुवमा घटित यस्ता विपद् जलवायूमा भइरहेको खेलाँचीका कारण भएकोमा दुईमत छैन ।
भारतको उत्तराखण्डको चमोलीमा निर्माणाधीन जलविद्युत् आयोजना नराम्ररी प्रभावित भयो । त्यसमा ऋषिगंगा जलविद्युत् आयोजना पूर्णरुपमा क्षतिग्रस्त भयो ।
नेपाललाई विद्युत् बिक्री गर्ने कम्पनी एनटीपीसीले निर्माण गरिरहेको ५२० मेगावाट क्षमताको एक जलविद्युत् आयोजनामा समेत क्षति पुग्यो ।
जलवायु परिवर्तनको असरः हिमनदीले निम्त्याउँदै छ ठूलो विपद्, नेपाल उच्च जोखिममा
जलवायु परिवर्तनका कारण चमोलीमा हिमबाढी आएको बताइएको छ । उत्तराखण्डमा मात्रै नभई हिमाञ्चल प्रदेशमा समेत त्यस्तै खालको बाढी आउने दावीसहितको एक अध्ययन सार्वजनिक गरिएको छ । एक अनुसन्धानकर्ताले कम्प्युटर मोडलिङका आधारमा हिमाञ्चलमा समेत त्यस्तै हिमपहिरो आउने अनुमान सार्वजनिक गरिएको हो ।
नेपाल पनि त्यस्तै जोखिमा रहेको छ । नेपालको उत्तरी क्षेत्रमा रहेका अधिकाशं हिमश्रृखलाको आसपास करिब ४ हजार बढी हिमनदी रहेका छन् । जलवायु परिवर्तनका कारण हिमालमा हिउँ पग्लिएका छन् । त्यसले जोखिम बढाइरहेको छ । ठाडा खोलाका कारण हिमपहिरो आउँदा तल्ला तटमा समेत समस्या आउने देखिन्छ ।
विगतमा पनि माथिल्ला तटमा आएको हिमपहिरोले समस्या निम्त्याएको थियो । केही समय पहिले अन्नपूर्ण हिमश्रृंखलामा पहिरो जाँदा सेती नदीमा बाढी आएको थियो । बाढीका कारण जनजीवन प्रभावित भएको थियो । नेपाल पनि जलवायु परिवर्तनको जोखिममा पर्ने सम्भावना उत्तिकै रहेको छ । चमोलीको नियती नेपालमा समेत दोहोरिन सक्छ ।
पूर्वमा बर्मादेखि पश्चिममा इरानसम्म हिमपहिरो आउने सम्भावना उत्तिकै रहेको अन्तर्राष्ट्रिय अध्येताहरुले चेतावनी दिएका छन् । चमोलीको हिमपहिरोको अध्ययन गरिरहेका भारतीय वैज्ञानिकले समेत आगामी दिनमा झनै ठूलो समस्या आउने चेतावनी दिएका छन् ।
तर, आधिकारिकरुपमा अझै पनि उनीहरु बोल्न तयार छैनन् । केही समयपछि औपचारिकरुपमा चमोलीको अध्ययन प्रतिवेदन सार्वजनिक हुने उनीहरुको भनाइ छ । भारतको प्राकृतिक विपद् हेर्ने निकायले चमोलीको हिमबाढीको अध्ययन गरिरहेको छ ।
इसिमोडले गरेको अध्ययन अनुसार जलवायु परिवर्तनले हिमाली क्षेत्रमा हिउँ कम पर्न थालेको छ । परेको हिउँ समेत लामो समयसम्म नरहने अवस्था रहेको छ । सेता हिमालहरु काला डाँडामा रुपान्तरित भएका छन् । तापक्रम वृद्धिले हिमाली क्षेत्रमा लामखुट्टे पुगेका छन् ।
लालीगुराँस समय नहुँदै फूल्न थालेको छ । जुम्लालगायतका क्षेत्रमा स्याउको फूल समेत चाँडै वा ढिला फूल्न थालेको छ । पानीका मूलहरु समेत सुक्न थालेका छन्। यसबाट नेपालमा जलवायु परिवर्तनको जोखिम बढेर गएको देखाएको छ ।
त्यति मात्रै होइन भारतकै अर्को क्षेत्र जम्मुकश्मिरमा पनि हालसम्मकै ठूलो हिमपात भएको छ । साथै अमेरिकाका विभिन्न राज्यमा आएको आँधीका कारण जनजीवन नराम्ररी प्रभावित बनाएको छ ।
यी दृष्टान्तले जलवायू परिवर्तनले कतिसम्म विनाशकारी अवस्था सिर्जना गर्न भन्ने बुझ्न सकिन्छ ।
उत्तराखण्डको जस्तै जोखिम हिमाञ्चलमा पनि, जलवायु परिवर्तनले विस्तारित हुँदैछन् हिमताल
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनको विषयलाई बुद्धिविलासको भद्दा मजाक भएको बताएका थिए । उनले पेरिस सम्झौतालाई अमान्य घोषणा गर्दै अमेरिका सम्झौताबाट बाहिरिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।
उनी लगत्तै आएका राष्ट्रपति जो वाइडेनले भने अमेरिका पुनः पेरिस सम्झौतामा फर्कनका लागि कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । उनले पेरिस सम्झौता संसारभरका लागि साझा सहकार्यको कार्यक्रम भएको समेत बताएका छन् ।
अमेरिकाका जलवायु विशेष दूत जोन केरीले पनि पछिल्लो हिउँआँधीको विषयलाई जोड्दै जलवायु परिवर्तनसँग लड्न साझा प्रयत्नको खाँचो औल्याएका छन् । उनले साझा प्रयास र सहकार्यबाट मात्रै जलवायु परिवर्तनको विषम् मुद्दासँग लड्न सकिने बताएका छन् ।
जलवायुले पारेको असरका बारेमा अर्बपति व्यापारी बिल गेट्सले समेत चिन्ता व्यक्त गरेका छन् । उनले मानवीय जीवन जोखिममा परेको बताएका छन् ।
अमेरिकाको हिउँ आँधीको असर आगामी आइतबारसम्म रहने अमेरिकी सञ्चारमाध्यमको दावी छ ।
विवरणअनुसार अमेरिकाको टेक्सास, लुसियाना, केन्टुकी र मिजौरीलगायत राज्यमा ठूलो समस्या खडा गरेको छ । आँधीमा परेर कम्तीमा २३ जनाको मृत्यु भएको विवरणमा उल्लेख छ । त्यस्तै, नर्थक्यारोलाइना, ओरेगन राज्यमा पनि हिउँआँधीको असरले जनजीवन प्रभावित भएको छ ।
बिजुली प्रवाह बन्द भएपछि मानवीय संकट आउन सक्ने देखिन्छ । बिजुलीको अभावमा स्थानीयले चिसोबाट जोगिने उपाय समेत अबलम्बन गर्न गर्न पाएका छैनन् ।
सन् २१०० सम्म एक लाख हिमनदी बिलाउने, यसरी आउँदैछ ठूलो विश्व संकट
अमेरिकी सञ्चारमाध्यमले मानिसहरुले कोठा तताउन नपाएको मिडियो फुटेजहरु प्रसारण गरेका छन् । बिजुली नभएपनि सञ्चार सम्पर्क समेत बिच्छेद भएको छ । इन्टरनेट समेत प्रयोग गर्न पाएका छैनन् । त्यसबाट उनीहरुको बाहिरी सम्पर्कमा समेत कठिनाई उत्पन्न भएको छ ।
स्थानीय राज्यहरुमा तापक्रम माइनसमा झरेको छ । सोही कारण सडकमा सवारी साधन चलाउन समेत असाध्यै समसया भएको छ ।
कति दिन यस्तो अवस्था आउने हो भन्दै मानिसहरु दैनिक उपभोग्य सामान खरिदका लागि सुपरमार्केट र डिर्पाटमेन्टल स्टोरहरुमा भरिएका छन् । आँधीबाट जोगिनका लागि अमेरिकाका ती राज्यमा विद्यालय समेत बन्द गरिएको छ ।
स्थानीय बिजुली सेवा प्रदायक कम्पनीले चिसो मौसम र तीव्र हावाका कारण माग अनुसार बिजुली आपूर्ति गर्न समस्या भएको र थप केही समय लाग्ने बताएका छन् ।
कोठा तातो पार्न एक्कासी बिजुलीको माग बढ्दा केही स्थानमा बिजुली ट्रिपिङ भएको बताइन्छ । चिसोका कारण बिजुलीको माग यति धेरै बढ्यो कि सबैभन्दा खराब समयमा पनि किन यस्तो अवस्था आयो भन्ने सोचाई भन्दा बाहिर देखिन्छ ।
तापक्रम माइनस १८ डिग्रीसम्म पुग्दा एक्कासी बिजुलीको माग बढ्यो भने अर्कोतिर वायु ऊर्जा केन्द्रहरुमा समेत प्रभावित भए । जसका कारण पावर प्लान्टमा समेत समस्या देखिएका छन् ।
अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार हिमआँधीको प्रभाव मेक्सिकोमा समेत परेको छ । मेक्सिकोमा समेत बिजुली प्रवाहमा समस्या देखिएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले हिमआँधी प्रभावित क्षेत्रमा आपतकालीन राहत तथा सहयोगका लागि प्रशासनले काम गरिरहेको बताएका छन् ।
उनले टेक्सासमा आपतकाल घोषणा गरेर काम शुरु भएको जानकारी समेत दिएका छन् । स्थानीय राष्ट्रिय मौसम विभागले अमेरिकाको झण्डै ७५ प्रतिशत भाग हिउँले ढाकेको जानकारी दिएको छ ।
एकातिर हिउँ पहिरो अर्कोतर्फ हिमआँधीले पारेको समस्या जलवायु परिवर्तनको असरका रुपमा चित्रण गर्दै त्यसबाट जोगिने उपायको खोजी भएको छ ।
औद्योगिक देशले प्रकृतिमाथि गरेको दोहन तथा त्यसको अधिप्रयोगका कारण समस्या देखा परेको छ । विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्रीमा सीमित गर्ने आम सहमतिलाई इमान्दारिका साथ पालन गर्नुपर्ने दायित्व संसारका सामू आएको छ ।
पर्यावरणका जानकारहरुका अनुसार जलवायु परिवर्तन संसारकै सबैभन्दा ठूलो महामारीभन्दा फरक छैन । त्यसले पार्ने असर सोचेभन्दा भयावह हुन थालेको छ । उत्तरी र दक्षिणी ध्रुवको हिउँ पग्लिन थालेको छ ।
यसले तटीय देशहरु समुन्द्रमुनी पर्ने सम्भावना बढ्दै गएको छ । फिलिपिन्स, माल्दिभ्स जस्ता देशहरुको अस्तित्व नै जोखिममा पर्ने देखिन्छ ।