राष्ट्र बैंकको नजरमा कुन बैंकमा कति जोखिम ?



काठमाडौं । बैंकहरुले पैसाको व्यवसाय गर्छन् । सर्वसाधारणबाट निक्षेप उठाउँछन् । र, सर्वसाधारणलाई नै ऋण लगाउँछन् ।

भनिन्छ- पैसा भनेपछि महादेवको पनि तीन नेत्र ।

त्यसैले, बैंकिङ ब्यवसाय अन्य व्यवसायभन्दा धेरै नै संवेदनशील हो । बैंकिङ क्षेत्रले ठूलो जोखिम लिएको हुन्छ । जसकारण बैंकहरुले जोखिम ब्यवस्थापनमा बढीभन्दा बढी ध्यान दिनुपर्ने हुन्छ ।

बैंक डुब्यो भने आम सर्वसाधारणको निक्षेप पनि डुब्ने खतरा भएकाले संसारभर नै बैंकिङका नियमहरु निकै कडा हुन्छन् ।

बासल-३ ले जोखिममा आधारित पुँजी (रिस्क बेस क्यापिटल)को परिकल्पना गरेर संसारभरको बैंकिङ प्रणालीमा लागू समेत गरिरहेको छ ।

एकातिर बैंकहरुलाई हिँजोभन्दा आज ब्यापार र नाफा बढाउने तीब्र दबाब छ । यस्तो अवस्थामा बैंकहरुले बढी जोखिम लिन खोज्छन् । जुन व्यापारिक दृष्टिकोणले स्वाभाविक पनि हो ।

तर, बैंकहरुलाई एउटा सीमाभन्दा बढीको जोखिम नलिन नियामक राष्ट्र बैंकले निगरानी गरिरहेको हुन्छ ।

जोखिम बढ्न थालेपछि नेपाल राष्ट्र बैंकले बैंकहरुलाई मर्जर तथा एक्विजिसनमा जान तीब्र दबाब दिएको छ । बैंकहरु एग्रेसिभ हुँदा जोखिम बढेको राष्ट्र बैंकको निष्कर्श छ ।

‘राष्ट्र बैंकको अन साइड र अफ साइड इन्स्पेक्सन्सले बैंकहरुमा जोखिम बढेको देखियो, हामीले बासल-३ को नियमअनुसार बैंकहरुलाई विभिन्न शीर्षकमा क्यापिटल चार्ज लगाएका छौं,’ राष्ट्र बैंकको सुपरिभिजनका एक निर्देशकले क्लिकमाण्डूसँग भने ।

‘राष्ट्र बैंकले विभिन्न किसिमका जोखिममा लगाएको क्यापिटल चार्ज ४/५ प्रतिशत हुनु भनेको राम्रो हो अर्थात् एकदमै कम जोखिम छ भनिएको हो तर त्योभन्दा बढी जोखिम हुनु भनेको राम्रो होइन अर्थात निकै बढी जोखिम छ भनिएको हो,’ एक बैंकरले भने, ‘बढी जोखिम लिने बैंकलाई थप बिजनेश गर्न कठिन हुन्छ । थप बिजनेश गर्न नसकेपछि नाफा बढाउन सकिँदैन । अनि नाफा बढाउन नसकेपछि लगानीकर्तालाई दिने प्रतिफल पनि बढ्दैन ।’

जोखिमका विषयमा राष्ट्र बैंकले विभिन्न ११ शीर्षकमा बैंकहरुलाई क्यापिटल चार्ज लगाउन सक्छ । यसरी राष्ट्र बैंकले लगाएको क्यापिटल चार्ज बैंकहरुले पुँजीकोष अनुपात गणना गर्दा जोड्नुपर्छ । यसरी जोड्दा बैंकहरुको पुँजी अनुपातमा नकरात्मक असर गर्छ ।

बासल-३ लागू भएपछि बैंकहरुले वित्तीय विवरण प्रकाशित गरेरसँगै बासेल डिस्कोलजर पनि सार्वजनिक गर्नुपर्ने हुन्छ । उक्त बासल डिस्कोलजरमा राष्ट्र बैंकको सुपरीवेक्षण विभागले अनसाइट र अफसाइट अध्ययन गरेर जोखिम व्यवस्था गर्न दिएको निर्देशनअनुसार जोखिमको व्यवस्था गरेको रिपोर्ट पनि उल्लेख गर्नुपर्ने हुन्छ ।

राष्ट्र बैंकका अधिकारीहरुका अनुसार क्यापिटल चार्ज जति कम भयो उति कम जोखिम हो । सामान्यतया ५ प्रतिशतसम्म क्यापिटल चार्जलाई धेरै जोखिम भन्न नमिल्ने र ७ प्रतिशतभन्दा बढी क्यापिटल भएको संस्थामा जोखिम बढी छ भनेर विश्लेषण गर्नुपर्ने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

‘राष्ट्र बैंकले विभिन्न किसिमका जोखिममा लगाएको क्यापिटल चार्ज ४/५ प्रतिशत हुनु भनेको राम्रो हो अर्थात् एकदमै कम जोखिम छ भनिएको हो तर त्योभन्दा बढी जोखिम हुनु भनेको राम्रो होइन अर्थात निकै बढी जोखिम छ भनिएको हो,’ एक बैंकरले भने, ‘बढी जोखिम लिने बैंकलाई थप बिजनेश गर्न कठिन हुन्छ । थप बिजनेश गर्न नसकेपछि नाफा बढाउन सकिँदैन । अनि नाफा बढाउन नसकेपछि लगानीकर्तालाई दिने प्रतिफल पनि बढ्दैन ।’

हामीले यो रिपोर्ट बैंकहरुले २०७७ असार मसान्तसम्मको प्रकाशित गरेको बासल डिस्कोलजरबाट तथ्यांकले लिएर तयार पारेका हौं । बैंकहरुको बासल डिस्कोलजर हेर्दा आधा दर्जन बढी बैंकले बढी जोखिम लिएको देखिन्छ ।

जोखिम न्यूनिकरण गर्न बिग मर्जर

राष्ट्र बैंकका निवर्तमान गभर्नर डा.चिरञ्जीबी नेपालले बैंकहरुमा जोखिम बढेको भन्दै जोखिम न्यूनिकरणका लागि बिग मर्जर गराउने नीति लिनुपरेको बताउँछन् ।

थोरै पुँजी कारण सानो जोखिम आउँदा नै बैंकहरुले ठूलो समस्यामा पर्नसक्ने भन्दै ०७२ साउन ५ गतेको मौद्रिक नीतिमार्फत डा। नेपालले वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी ४ गुणाले बढाएर ८ अर्ब रुपैयाँ पुर्याउने नीतिगत व्यवस्था गरेका थिए । अहिले सबै बैंकले तोकिएको चुक्ता पुँजी पुर्याइसकेका छन् । यद्यपि बैंकहरुको जोखिम भने घट्न सकेको छैन ।

‘जोखिम न्यूनिकरण गर्दै नेपाली बैंकहरु बलियो भएर विकसित देशहरुमा शाखा स्थापना गरी कारोबार गर्न सक्ने हैसियतमा पुगुन भनेर बिग मर्जर गराउन खोजिएको हो,’ उनी भन्छन् ।

डा. नेपालले लिएको बिग मर्जरको नीतिलाई अहिलेका गभर्नर महाप्रसाद अधिकारीले पनि निरन्तरता दिएका छन् ।

‘बैंकहरुमा जोखिम बढेपछि वित्तीय क्षेत्र संकटमा नपरोस् भनेर मर्जरमा जान दबाब दिनु परेको हो,’ सुपरिभिजन विभागका ती निर्देशकले भने ।

ग्लोबल आइएमइ, सेञ्चुरी र एनसीसीमा बढी जोखिम, स्ट्याण्डर्ड चार्टर्ड, एसबिआई र नेपाल बैंकमा कम जोखिम

राष्ट्र बैंकको अन साइड र अफ साइड इन्स्पेक्सन्सका आधारमा सबैभन्दा बढी जोखिम ग्लोबल आइएमइ, सेञ्चुरी बैंक र एनसीसी बैंकमा देखिएको छ । यी दुबै बैंकलाई राष्ट्र बैंकले विभिन्न ३ शिर्षकमा ९/९ प्रतिशत क्यापिटल चार्ज लगाएको छ ।

राष्ट्र बैंकले ग्लोबल आइएमइ बैंकलाई सञ्चालन जोखिम व्यवस्थापनका लागि नीति र अभ्यासको अभाव भएको भन्दै ३ प्रतिशत, समग्र जोखिम व्यवस्थापन नीति र प्रक्रियाहरू सन्तोषजनक नभएको भन्दै ३ प्रतिशत र बजारलाई पर्याप्त सूचना नदिएको शिर्षकमा ३ प्रतिशत गरी कूल ९ प्रतिशत क्यापिटल चार्ज लगाएको हो ।

त्यसैगरी राष्ट्र बैंकले एनसीसी बैंकलाई सञ्चालन जोखिम व्यवस्थापनका लागि नीति र अभ्यासको अभाव भएको भन्दै ५ प्रतिशत, समग्र जोखिम व्यवस्थापन नीति र प्रक्रियाहरू सन्तोषजनक नभएको भन्दै ४ प्रतिशत गरी जम्मा ९ प्रतिशत क्यापिटल चार्ज लगाएको छ ।

राष्ट्र बैंकले सेञ्चुरी बैंकलाई संतोषजनकरुपमा सम्पत्ति दायित्व व्यवस्थापन नगरेको भन्दै १ प्रतिशत, सञ्चालन जोखिम व्यवस्थापनका लागि नीति र अभ्यासको अभाव भएको भन्दै ४ प्रतिशत, समग्र जोखिम व्यवस्थापन नीति र प्रक्रियाहरू सन्तोषजकन नभएको भन्दै ४ प्रतिशत क्यापिटल चार्ज लगाएको छ ।

राष्ट्र बैंकका अनुसार स्ट्याण्डर्ड चार्टर्ड, एसबिआई र नेपाल बैंकमा सबैभन्दा कम जोखिम छ । यी बैंकलाई कुनै पनि शिर्षकमा क्यापिटल चार्ज लगाइएको छैन ।

८ बैंकलाई ८ प्रतिशत क्यापिटल चार्ज

त्यसैगरी, राष्ट्र बैंकले नविल, हिमालयन, बैंक अफ काठमाण्डू, कुमारी, नेपाल बंगलादेश, सनराइज, प्राइम र कृषि विकास बैंकलाई विभिन्न शिर्षकमा गरी कूल ८/८ प्रतिशतका दरले क्यापिटल चार्ज लगाएको छ ।

राष्ट्र बैंकले हिमालयन बैंकलाई सञ्चालन जोखिम व्यवस्थापनका लागि नीति र अभ्यासको अभाव भएको भन्दै ५ प्रतिशत, समग्र जोखिम व्यवस्थापन नीति र प्रक्रियाहरू सन्तोषजनक नभएको भन्दै ३ प्रतिशत गरी कूल ८ प्रतिशत क्यापिटल चार्ज लगाएको छ ।

त्यसैगरी, नविल बैंकलाई सञ्चालन जोखिम व्यवस्थापनका लागि नीति र अभ्यासको अभाव भएको भन्दै ३ प्रतिशत, समग्र जोखिम व्यवस्थापन नीति र प्रक्रियाहरू सन्तोषजनक नभएको भन्दै २ प्रतिशत र बजारलाई पर्याप्त सूचना नदिएको भन्दै २ प्रतिशत गरी कूल ८ प्रतिशत क्यापिटल चार्ज लगाएको छ ।

त्यस्तै, बैंक अफ काठमाण्डूलाई सम्पत्ति तथा दायित्व व्यवस्थापन सन्तोषजनक नभएको भन्दै १ प्रतिशत, सञ्चालन जोखिम व्यवस्थापनका लागि नीति र अभ्यासको अभाव भएको भन्दै ३ प्रतिशत, समग्र जोखिम व्यवस्थापन नीति र प्रक्रियाहरू सन्तोषजनक नभएको भन्दै ४ प्रतिशत गरी ३ शिर्षकमा ८ प्रतिशत क्यापिटल चार्ज लगाएकोछ ।

त्यसैगरी, कुमारी बैंकलाई सञ्चालन जोखिम व्यवस्थापनका लागि नीति र अभ्यासको अभाव भएको भन्दै ४ प्रतिशत, समग्र जोखिम व्यवस्थापन नीति र प्रक्रियाहरू सन्तोषजनक नभएको भन्दै ४ प्रतिशत गरी २ शिर्षकमा ८ प्रतिशत क्यापिटल चार्ज लगाएको हो ।

त्यस्तै, नेपाल बंगलादेश बैंकलाई सञ्चालन जोखिम व्यवस्थापनका लागि नीति र अभ्यासको अभाव भएको भन्दै ५ प्रतिशत, समग्र जोखिम व्यवस्थापन नीति र प्रक्रियाहरू सन्तोषजनक नभएको भन्दै ३ प्रतिशत गरी २ शिर्षकमा ८ प्रतिशत क्यापिटल चार्ज लगाएको छ ।

त्यसैगरी, सनराइज, प्राइम र कृषि विकास बैंकलाई सम्पत्ति तथा दायित्व व्यवस्थापन सन्तोषजनक नभएको भन्दै १ प्रतिशत, सञ्चालन जोखिम व्यवस्थापनका लागि नीति र अभ्यासको अभाव भएको भन्दै ४ प्रतिशत, समग्र जोखिम व्यवस्थापन नीति र प्रक्रियाहरू सन्तोषजनक नभएको भन्दै ३ प्रतिशत गरी ३ शिर्षकमा ८ प्रतिशत क्यापिटल चार्ज लगाएकोछ ।

सिदार्थ बैंकलाई ७ प्रतिशत

राष्ट्र बैंकले सिदार्थ बैंकलाई विभिन्न ३ शिर्षकमा ७ प्रतिशत क्यापिटल चार्ज लगाएको छ । सञ्चालन जोखिम व्यवस्थापनका लागि नीति र अभ्यासको अभाव भएको भन्दै ४ प्रतिशत, समग्र जोखिम व्यवस्थापन नीति र प्रक्रियाहरू सन्तोषजनक नभएको भन्दै ३ प्रतिशत क्यापिटल चार्ज लगाएको हो ।

इन्भेष्टमेन्ट, प्रभु, लक्ष्मी र सिटिजन्स बैंकमा बराबर जोखिम

राष्ट्र बैंकले यी ४ बैंकलाई विभिन्न शिर्षकमा ६ प्रतिशत क्यापिटल चार्ज लगाएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकलाई सम्पत्ति तथा दायित्व व्यवस्थापन सन्तोषजनक नभएको भन्दै १ प्रतिशत, सञ्चालन जोखिम व्यवस्थापनका लागि नीति र अभ्यासको अभाव भएको भन्दै ३ प्रतिशत, समग्र जोखिम व्यवस्थापन नीति र प्रक्रियाहरू सन्तोषजनक नभएको भन्दै २ प्रतिशत, प्रभु बैंकलाई सञ्चालन जोखिम व्यवस्थापनका लागि नीति र अभ्यासको अभाव भएको भन्दै ३ प्रतिशत, समग्र जोखिम व्यवस्थापन नीति र प्रक्रियाहरू सन्तोषजनक नभएको भन्दै ३ प्रतिशत क्यापिटल चार्ज लगाएको छ ।

त्यसैगरी, लक्ष्मी बैंकलाई समग्र जोखिम व्यवस्थापन नीति र प्रक्रियाहरू सन्तोषजनक नभएको भन्दै ३ प्रतिशत र बजारलाई पर्याप्त सूचना नदिएको भन्दै ३ प्रतिशत र सिटिजन्स बैंकलाई समग्र जोखिम व्यवस्थापन नीति र प्रक्रियाहरू सन्तोषजनक नभएको भन्दै २ प्रतिशत र बजारलाई पर्याप्त सूचना नदिएको भन्दै ४ प्रतिशत क्यापिटल चार्ज लगाएको छ ।

एनआइसी एशिया, एइनएमबि, एभरेष्ट र मेगा बैंकमा बराबर जोखिम

राष्ट्र बैंकले यी ३ बैंकलाई विभिन्न शिर्षकमा गरी कूल ५ प्रतिशत क्यापिटल चार्ज लगाएको छ । एनआइसी एशियालाई बजारमा पर्यात्प सूचना नदिएको भन्दै ३ प्रतिशत, समग्र जोखिम व्यवस्थापन नीति र प्रक्रियाहरू सन्तोषजनक नभएको भन्दै २ प्रतिशत क्यापिटल र एनएमबि बैंकलाई सञ्चालन जोखिम व्यवस्थापनका लागि नीति र अभ्यासको अभाव भएको भन्दै ३ प्रतिशत, समग्र जोखिम व्यवस्थापन नीति र प्रक्रियाहरू सन्तोषजनक नभएको भन्दै २ प्रतिशत क्यापिटल चार्ज लगाएको छ ।

एभरेष्ट बैंकलाई सञ्चालन जोखिम व्यवस्थापनका लागि नीति र अभ्यासको अभाव भएको भन्दै २ प्रतिशत, समग्र जोखिम व्यवस्थापन नीति र प्रक्रियाहरू सन्तोषजनक नभएको भन्दै ३ प्रतिशत क्यापिटल चार्ज लगाएको छ ।

त्यसैगरी, मेगा बैंकलाई सम्पत्ति तथा दायित्व व्यवस्थापन सन्तोषजनक नभएको भन्दै ३ प्रतिशत र समग्र जोखिम व्यवस्थापन नीति र प्रक्रियाहरू सन्तोषजनक नभएको भन्दै २ प्रतिशत क्यापिटल चार्ज लगाएको छ ।

सानिमा र माछापुच्छ्रेमा बराबर जोखिम

राष्ट्र बैंकका नजरमा सानिमा र माछापुच्छ्रे बैंकमा उस्तै प्रकृतिका र बराबर जोखिम रहेको छ । यी दुबै बैंकलाई राष्ट्र बैंकले सञ्चालन जोखिम व्यवस्थापनका लागि नीति र अभ्यासको अभाव भएको भन्दै २ प्रतिशत, समग्र जोखिम व्यवस्थापन नीति र प्रक्रियाहरू सन्तोषजनक नभएको भन्दै २ प्रतिशत गरी कूल ४ प्रतिशत क्यापिटल चार्ज लगाएको छ ।

नोटः यो विवरण बैंकहरुले प्रकाशित गरेको वार्षिक प्रतिवेदनबाट लिइएको हो ।राष्ट्रिय वाणिज्य बैंक र सिभिल बैंकले भने अहिलेसम्म वार्षिक प्रतिवेदन सार्वजनिक गरेका छैनन् । 


पुष्प दुलाल