चेक नकाटी कसरी भयो सवा ३१ खर्ब भुक्तानी ?

दिलु कार्की २०७६ माघ २१ गते १४:०७ मा प्रकाशित

काठमाडौ । आफ्नो बैंक खातामा रहेको रकम अरु कसैलाई भुक्तानी दिनुपर्यो भने तपाईं के गर्नुहुन्छ ? पक्कैपनि तपाईंले भन्नुहुने छ कि- चेक काटेर दिन्छु ।

चेक नकाटी पनि आफ्नो बैंक खातामा भएको रकम भुक्तानी गर्न मिल्छ भन्ने कुरा कतिपयलाई थाहा होला । तर, धेरैलाई थाहा नहुन पनि सक्छ ।

अब २ लाखभन्दा माथिको भुक्तानी दिँदा चेक काट्नु नपर्ने, रियल टाइम भुक्तानी हुने, करोडौं जोगिने

बिनाचेक भुक्तानी गर्न सकिने विभिन्न विकल्पहरु आइसकेका छन् । भुक्तानी प्रणालीमा आएको क्रान्तिले क्यासलेस मात्रै होइन, चेकलेस समाज स्थापित गर्ने प्रयत्न गरिरहेको छ ।

इ-सेवा, फोन पे, आइएमइ पे, प्रभु पे, खल्ती यस्ता प्लेटफर्मको प्रयोग गरेर पनि बिनाचेक भुक्तानी गर्न सकिन्छ । तर, आज हामी यो विषयमा नभई राष्ट्र बैंकले केही समय अघिदेखि मात्रै कार्यान्वयनम ल्याएको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीको विषयमा जानकारी दिनेछौं ।

चेकै नकाटी राष्ट्र बैंकका कर्मचारीले माछापुच्छ्रेबाट इन्भेष्टमेन्ट बैंकमा पैसा पठाए

आरटीजीएस के हो ? यो सिस्टमबाट कसरी भुक्तानी हुन्छ ? कहिलेदेखि र कति रकम भुक्तानी भयो ? र, यो प्रणाली कतिको विश्ववनीय छ ? यस्ता जिज्ञासाहरु मेटाउने र जानकारी दिने उद्देश्यका साथ यो समाचार तयार पारिएको हो ।

आरटीजीएस भुक्तानी प्रणालीको नयाँ युग हो । यो प्रणालीमार्फत् अहिलेसम्म ३१ खर्ब २१ अर्ब रुपैयाँ सुरक्षित भुक्तानी भइसकेको छ ।

राष्ट्र बैंकले गत साउन २९ गतेदेखि सञ्चालनमा ल्याएको आरटीजीएस प्रणालीमा २७ वटा बैंकले सो बराबरको कारोबार गरेका हुन् । पछिल्लो समय विकास बैंकहरु पनि आरटीजीएसमा आवद्ध भएका छन् ।

भुक्तानी प्रणालीमा नयाँ युगको शुरुवात, चेकनै नकाटी रकम भुक्तानी गर्न सकिने

आरटीजीएसको शुरुवात राष्ट्र बैंकले गत २९ भदौबाट औपचारिक रुपमा सञ्चालन ल्याए पनि ४ दिनपछि प्राविधिक समस्याको कारण बन्द भएको थियो ।

अन्तर्राष्ट्रियस्तरको आरटीजीएस सफ्टवेयरलाई नेपालको परिवेशअनुसार ‘इन्टरफेस’ सफ्टवेयर बनाएपछि पुनः मंसिर पहिलो सातादेखि सञ्चालन भएको थियो ।

मंसिरमा पुन सञ्चालनमा आएपछि यो प्रणालीमा आवद्ध २७ वटा वाणिज्य बैंकहरुले माघ १७ गतेसम्म ३१ खर्ब २१ अर्ब २३ करोड २३ लाख रुपैयाँ एक खाताबाट अर्को खातामामा चेकबिना नै भुक्तानी गरेका हुन् ।

चेक बिना बैंकहरुले कसरी गर्छन् सुरक्षित भुक्तानी ? यस्तो छ प्रक्रिया

आरटीजीएस प्रणालीबाट २ लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्न सकिन्छ ।

संस्थागत ग्राहकको ४१ हजार ८७४ कारोबारको २४ खर्ब ९४ अर्ब १४ करोड ५६ लाख रुपैयाँ र व्यक्तिगततर्फ ८ हजार ३९९ कारोबारको ६ खर्ब २७ अर्ब ९ करोड रुपैयाँ आरटीजीएस प्रणालीमार्फत् भुक्तानी भएको हो ।

मंसिरबाट पुनः आरटीजीएसमा बैंकहरुले २ लाख माथिको कारोबार गर्दा मंसिरमा २३ हजार १७० वटा कारोबारबाट ९ खर्ब १७ अर्ब ७८ करोड ९८ लाख रुपैयाँ बराबरको भुक्तानी भएको थियो ।

 

राष्ट्र बैंकले लागू गर्यो आरटीजीएस प्रणाली

चेक नै नकाटी आरटीजीएस प्रणालीबाट भुक्तानी गर्ने पुस महिनामा सबैभन्दा बढी रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । सो महिनामा ३० हजार २६२ करोबारको १४ खर्ब ७ अर्ब ३४ करोड ५३ लाख रुपैयाँ बराबरको भुक्तानी भएको छ ।

पुस महिनामा क्लोजिङ हुने र राजस्व उठ्ने भएको कारणले बढी कारोबार भएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए ।

राष्ट्र बैंकको तथ्यांक अनुसार माघ महिनाको १७ गते गत शुक्रबारसम्म आरटीजीएस प्रणालीबाट १६ हजार ८९१ कारोबारको ७ खर्ब ९६ अर्ब १० करोड ११ लाख रुपैयाँ बराबरको भुक्तानी भएको छ ।

कसरी हुन्छ कारोबार ?

प्रणाली अन्तर्गत रहेर एउटा बैंकमा रहेको व्यक्ति वा संस्थाको खाताबाट चेकको प्रयोग नगरी एउटा आदेश फारमको भरमा तत्कालै अर्कोे बैंकमा रहेको अर्को व्यक्तिको खातामा रकम जम्मा वा ट्रान्सफर भुक्तानी गर्न सकिन्छ । उक्त भुक्तानी गर्ने व्यक्ति र भुक्तानी लिने दुबैको आरटीजीएसमा आवद्ध बैंकमा खाता हुनुपर्छ ।

भुक्तानी दिने व्यक्तिले सम्बन्धीत बैंकमा गएर भुक्तानीको सम्पुर्ण विवरण (खाता नम्बर, रकमको विवरण, बैकको विवरण) लिखितरुपमा भरेर बैंकमा दिनु पर्नेछ ।

भुक्तानी गर्ने व्यक्तिले आवश्यक सम्पूर्ण प्रक्रिया पुर्याइसकेकोे २ मिनेटदेखि २० मिनेटसम्ममा सम्बन्धित व्यक्तिको खातामा रमक भुक्तानी हुने भुक्तानी प्रणाली विभागका निर्देशक टेकराज भण्डारी बताए ।

सम्बन्धित बैंकमा यसरी गरिएको कारोबारको विस्तृत विवरण राष्ट्र बैकमा तुरुन्तै जाने र आरटीजीएस प्रणालीबाट भुक्तानी गर्दा बैंकमा नै गएर लिखित विवरण पेश गरी कारोबार गर्दा कुनै पनि जोखिम नहुने हुँदा यस प्रणालीबाट कारोबार गर्ने बैंकहरु बढी रहेको भण्डारीको भनाइ छ ।

चेकै नकाटी भुक्तानी हुने आरटीजीएस प्रणाली अब पूर्णरुपमा चल्ने, कुन मुद्रा झिक्न के गर्नुपर्छ ?

‘प्रणालीको शुरुवात नै वाणिज्य बैंकहरुबाट गरिएको र हाल १० भन्दा बढी विकास बैंकहरुले यसबाट कारोबार गर्न सम्झौता गरिसकेका छन्’ निर्देशक भण्डारीले क्लिकमाण्डूसँग भने, ‘केही महिनाभित्रमा नै सम्पूर्ण विकास बैंक र फाइनान्स कम्पनीहरु आरटीजीएस प्रणालीमा आवद्ध भएर कारोबार गर्न थाल्छन् ।’

यसअघि बैंकहरुले अन्तर बैंक कारोबारमा स्वीफ्ट प्रणालीमार्फत् गर्दै आएका थिए । यस प्रणालीमा सेवा शुल्क डलरमा भुक्तानी गर्नु पर्दथ्यो ।

तर अहिले भने आरटीजीएसबाट कारोबार गर्दा यसको शुल्क राष्ट्र बैंकलाई नेपाली मुद्रामा नै भुक्तानी बैंकहरुले गरिरहेका छन् ।

समय अनुसार फरक शुल्क

प्रणालीमा रहेका कारोबार गर्ने बैंकहरुले हाल प्रत्येक कारोबारमा बिहान १०ः३० देखि १ः३० सम्म १० रुपैयाँ, १ः३० देखि ३ बजेसम्म २० रुपैयाँ र साँझ ४ः१० सम्मको प्रत्येक कारोबारको भने १०० रुपैयाँ शुल्क लिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकले आरटीजीएस प्रणालीमा आवद्ध हुन भने प्रत्येक बैंक तथा वित्त कम्पनीलाई ५ लाख रुपैयाँ प्रवेश शुल्क तोकेको छ । साथै बैंकहरुले कारोबारवापत वार्षिक शुल्क २ लाख रुपैयाँ राष्ट्र बैंकमा बुझाउनु पर्नेछ ।

फाइदा के ?

आरटीजीएसको मुख्य फाइदा चेक नै नकाटी भुक्तानी गर्न सकिने हो । चेक नै नकाटी भुक्तानी गर्न सकिने हुँदा यो प्रणाली सुरक्षित, विश्वसनीय, छिटो र बैंकमा कम जनशक्ति र थोरै खर्चमा काम सम्पन्न हुने नविल बैंकका बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल केशरी शाह बताउँछन् ।

‘सामान्यतया एउटा चेक प्रिन्ट गर्दा बैंकको ७० देखि ८० पैसा खर्च हुन्छ र एउटा बैंकका लाखौं ग्राहक हुन्छन्’ उनले भने, ‘चेक प्रिन्ट गर्न हुने करोडौं रुपैयाँ खर्च आरटीजीएस प्रणाली लागू भएपछि जोगिरहको छ ।’

यो प्रणालीमा कारोबार गर्ने बैंकहरुको सञ्चालन खर्च केही प्रतिशत घट्ने शाहको भनाइ छ ।

यस्तो छ इतिहास

-सन् २०१८ जुलाई २० मा नेपाल पेमेन्ट सिस्टम स्टार्जेटी जारी भयो । र, राष्ट्र बैंकको तेस्रो रणनीतिक योजनामा राष्ट्र बैंकले रियल टाइम ग्रस सिस्टम (आरटीजीएस) प्रणाली स्थापना गर्ने ।

-सन् २०१८ मार्च ६ मा आरटीजीएस स्थापना गर्न युके एड सक्षमलाई टीओआर उपलब्ध गराएको ।

-२०१८ सेप्टेम्बर १४ मा राष्ट्र बैंक र सीएमए स्माल सिस्टम एबीबीच सफ्टवेर लाइसेन्स र मेन्टिनेन्स र सपोर्ट एग्रिमेन्ट (एएमसी) मा हस्ताक्षर भएको ।

-सन् २०१८ डिसेम्बर १८ मा आरटीजीएस स्थापना गरी सञ्चालन गर्न युके एड सक्षमसँग सैद्दान्तिक समझदारी भएको ।

-सन् २०१८ डिसेम्बर २२ मा आरटीजीएस सिस्टम स्थापना र सञ्चालनका लागि ८ जनाको प्रोजेक्ट टिम गठन गरेको ।

-सन् २०१९ अगस्ट १४ मा आरटीजीएसमा सहभागी हुने बैंक तथा वित्तीय संस्थाहरुलाई तरलता सुविधा मार्फत् ओभरड्राफ्ट सुविधा उपलब्ध गराउने सम्बन्धमा नीतिगत व्यवस्था भएको ।

-सन् २०१९ सेप्टेम्बर ४ मा आरटीजीएस सिस्टम रुल्स २०१९ तथा आरटीजीएसमा सहभागी हुने संस्थाहरुसँग गरिने पार्टीसिपेन्ट एग्रिमेन्ट तथा नेपाल क्लियरिङ हाउस लिमिटेड र राष्ट्र बैंकबीच हुने एमओयूको ढाँचा स्वीकृत भएको ।

-सन् २०१९ सेप्टेम्बर १२ देखि आरटीजीएस सिस्टम लाइभ भई कारोबार शुरु भएको ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स