चेकै नकाटी भुक्तानी हुने आरटीजीएस प्रणाली अब पूर्णरुपमा चल्ने, कुन मुद्रा झिक्न के गर्नुपर्छ ?



काठमाडौं । चेकै नकाटी बैंकबाट भुक्तानी गर्न मिल्ने रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम (आरटीजीएस) अब पूर्णरुपमा चल्ने भएको छ । कारोबारको प्रक्रियामा परिवर्तन गर्दै राष्ट्र बैंकले आरटीजीएस प्रणाली पूर्णसञ्चालनमा ल्याउने अन्तिम तयारी गरेको हो ।

राष्ट्र बैंकले भदौ २९ गते आरटीजीएस प्रणाली शुरु गरेपनि प्राविधिक समस्याका कारण अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । तर, उक्त प्रणाली सञ्चालनमा देखिएको समस्या समाधान गर्दै राष्ट्र बैंकले आगामी सातादेखि पूर्णरुपले सञ्चालन गर्ने भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले बताए ।

‘यसअघि हामीले ट्रायलका रुपमा आरटीजीएस प्रणाली लागू गरेका थियौं, प्राविधिक समस्याका कारण कारोबारमा केही अबरोध देखिएको थियो,’ मिश्रले क्लिकमाण्डूसँग भने, ‘सबै समस्याहरु समाधान भइसकेका छन्, आगामी हप्तादेखि चल्छ ।’

अब २ लाखभन्दा माथिको भुक्तानी दिँदा चेक काट्नु नपर्ने, रियल टाइम भुक्तानी हुने, करोडौं जोगिने

राष्ट्र बैंकले हालैमात्र आरटीजीएस प्रणाली सञ्चालन सम्बन्धी निर्देशिका जारी गर्दै कारोबार प्रक्रियामा केही परिवर्तन गरेको छ । जसअनुसार विभिन्न मुद्रामा रकम झिक्नका लागि छुट्टाछुट्टै कोडको प्रयोग गर्नुपर्ने भएको छ ।

‘आरटीजीएसको सदस्य संस्थाले राष्ट्र बैंकबाट नगद झिक्नु परेमा हाल प्रयोग गरिरहेको चेकको सट्टामा आरटीजीएस सेटलमेन्ट एकाउन्ट र राष्ट्र बैंकको नगद व्यवस्थापन पुल एकाउन्ट उल्लेख गर्नुपर्नेछ,’ भुक्तानी प्रणाली विभागले हालै जारी गरेको परिपत्रमा भनिएकोछ ।

त्यसैगरी, राष्ट्र बैंकको बैंकिङ कार्यालयबाट नगद निकाल्ने प्रयोजनका लागि भने मुद्रा अनुसारको पुल एकाउन्टको प्रयोग गर्नुपर्ने छ । राष्ट्र बैंकका अनुसार नेपाली मुद्रा झिक्नका लागि १२०००००/००९/०००/५२४, अमेरिकी डलरका लागि १२०००००/००९/०००/८४०, पाउण्ड स्टर्लिङ्गका लागि १२०००००/००९/०००/८२६, यूरोका लागि १२०००००/००९/०००/९७८, जापानिज येनका लागि १२०००००/००९/०००/९८२ कोड नम्बर प्रयोग गर्नुपर्ने छ ।

रकम लिन राष्ट्र बैंक जाँदा आरटीजीएस प्रणालीमा कारोबार इन्ट्री गरेको विवरणसहित सम्पूर्ण खाता सञ्चालकको हस्ताक्षर र प्रोटेक्टोग्राफसहितको पत्र लिइ जानुपर्ने छ । सो पत्रमा रहेको हस्ताक्षरलाई एडिशनल कन्ट्रोलको रुपमा भेरिफिकेशनको आधार बनाई राष्ट्र बैंकले भुक्तानी दिनेछ ।

चेकै नकाटी राष्ट्र बैंकका कर्मचारीले माछापुच्छ्रेबाट इन्भेष्टमेन्ट बैंकमा पैसा पठाए

आरटीजीएस प्रणालीको सदस्य नरहेका बैंकले भने राष्ट्र बैंकको काठमाडौंमा रहेको बैंकिङ कार्यालयको खाताबाट नगद झिक्नु परेमा हाल प्रयोग गरिरहेको चेकको सट्टामा सम्बन्धित संस्थाले डेविट अथोराइजेशन लेटर (खाता सञ्चालकको हस्ताक्षर र प्रोटेक्टोग्राफसहित ) राष्ट्र बैंकको बैंकिङ कार्यालय र जिल्लास्थित पेश गरि सोको आधारमा नगद भुक्तानी लिन सक्नेछन् ।

आरटीजीएसको सदस्य नरहेका संस्थाले सदस्य संस्थालाई राष्ट्र बैंकमार्फत् रकमान्तर गर्नुपरेमा सम्बन्धित संस्थाले संस्थाको खाता सञ्चालकको आधिकारिक दस्तखतसहितको पत्र लिई राष्ट्र बैंकको बैंकिङ कार्यालयमा सम्पर्क राख्नुपर्ने छ ।

राष्ट्र बैंकले लागू गर्यो आरटीजीएस प्रणाली

त्यस्तै, राष्ट्र बैंकको जिल्लास्थित कार्यालय रहेको खाताबाट नगद झिक्नु परेमा चेककै आधारमा गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

आरटीजीएस प्रणाली भुक्तानी प्रणालीको नयाँ युग हो । यो प्रणालीबाट भुक्तानी गर्दा चेक काट्नु पर्दैन । खातावालले बैंकलाई भुक्तानीको आदेश दिए पुग्छ । र, तत्कालै सम्बन्धित व्यक्तिले भुक्तानी पाउँछ । यो प्रणाली सुरक्षित, भरपर्दो, सरल र सस्तो पनि भएको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक मिश्रले जानकारी दिए ।


पुष्प दुलाल