भुक्तानी प्रणालीमा नयाँ युगको शुरुवात, चेकनै नकाटी रकम भुक्तानी गर्न सकिने



काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीमा नयाँ युगको शुरुवात गरेको छ ।

बैंकले आइतबार अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीयस) औपचारिकरुपमा सुरुवात गरी नेपालको विद्युतीय भुक्तानी प्रणालीमा नयाँयुगको सुरुवात गरेको हो ।

आरटीजीयस प्रणालीको शुभारम्भ नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपाल र लर्ड मयेर अफ लन्डनका पिटर एलष्टिनले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । युके एड बेलायतको प्रावधिक तथा आर्थिक सहयोगमा नेपालमा आरटीजीएस प्रणाली सुरुवात गरिएको हो ।

यस प्रणालीको सुरुवात भएसँगै चेक भुक्तानी प्रणालीबाट नै रकम भुक्तानी गर्नु पर्ने वाध्यताको अन्त्य भएको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले बताए । साथै उक्त प्रणालीले मनी लाउन्डरिङ र आतंकवादीले गर्न सक्ने आर्थिक कारोवारलाईे नियन्त्रण गर्ने उनको भनाई छ ।

अब २ लाखभन्दा माथिको भुक्तानी दिँदा चेक काट्नु नपर्ने, रियल टाइम भुक्तानी हुने, करोडौं जोगिने

नेपालमा यो प्रणालीको शुरुवात माछपुच्छ्रे बैंक र इन्भेष्टमेन्ट बैंकले २० करोडको भुक्तानी गरि गरेको हो ।

राष्ट्र बैंकका अनुसार हाल २ लाखभन्दा बढीको कारोबारलाई ऐच्छिक बनाइएको छ भने २० लाखभन्दा बढीको कारोबारमा अनिवार्य यस प्रणालीमार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ । यस प्रणालीबाट कारोबार गर्दा प्रतिकारोबार १० रुपैयाँ शुल्क लाग्ने बताइएको छ ।

भुक्तानी गर्ने खातावालाले अर्को बैंकको खाता नम्बरमा तोकेर रकम भुक्तानी गरिदिनु भन्ने आदेश दिने बित्तिकै अर्को बैंकमा खाता भएको व्यक्तिलाई ठूलो परिणाममा भुक्तानी तत्कालै हुनेछ । यो प्रणाली लागू भएपछि बैंकहरुको चेक मार्फत हुने खर्च बचत हुने विस्वास गरिएको छ ।

यसअघि एक बैंकको चेकबाट क्लियरिङ मार्फत भुक्तानी हुन कम्तिमा एक दिन लाग्ने गरेको थियो । अब यस प्रणालीको शुरुवात भएसँगै भुक्तानी लिने व्यक्तिले तुरुन्तै अर्को खातामा रकम जम्मा गर्न सक्ने भएको हो ।

केन्द्रीय बैंकले पहिलो चरणमा वाणिज्य बैकहरूलाई आरटीजीएस प्रणाली अनिवार्य गरेको छ । आगामी पुसदेखि विकास बैंक र फाइनान्स कम्पनीहरुमा लागू गर्ने राष्ट्र बैंकको योजना छ ।


क्लिकमान्डु