चेक बिना बैंकहरुले कसरी गर्छन् सुरक्षित भुक्तानी ? यस्तो छ प्रक्रिया



काठमाडौं । अब चेक नकाटी एक बैंकबाट बैंकमा भुक्तानी गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रु सेटलमेन्ट (आरटीजीएस) सिस्टम लागू गरेसँगै चेक काट्नुपर्ने युगको अन्त्य भएको हो ।

आरटीजीएस प्रणाली लागू भएसँगै भुक्तानी व्यवस्थामा नयाँ युगको शुरुवात भएको राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले बताए । राष्ट्र बैंकले आइतबारदेखि आरटीजीएस प्रणालीको औपचारिक शुभारम्भ गरेको छ ।

अब २ लाखभन्दा माथिको भुक्तानी दिँदा चेक काट्नु नपर्ने, रियल टाइम भुक्तानी हुने, करोडौं जोगिने

युके एड बेलायतको प्रावधिक तथा आर्थिक सहयोगमा नेपालमा आरटीजीएस प्रणाली सुरुवात गरिएको हो ।

‘आरटीजीएस प्रणाली लागू भएसँगै भुक्तानी व्यवस्थामा नयाँ युगको शुरुवात भएको छ,’ गभर्नर डा. नेपालले भने, ‘यो प्रणालीमा हरेक कारोबार छिटो, प्रष्ट र सुरक्षित हुन्छ ।’

त्यतिमात्रै होइन, बैंकमा एउटा फर्म भरेर भुक्तानीको आदेश दिनेवित्तिकै अर्को बैंकमा रहेको व्यक्ति वा संस्थाको खातामा रकम जम्मा भइहाल्छ ।

गभर्नर डा. नेपालले माछापुच्छ्रे बैंकबाट नेपाल इन्भेष्टमेन्ट बैंकमा बिनाचेक २० करोड रुपैयाँ भुक्तानी गरेर आरटीजीएस प्रणालीको शुरुवात गरे । माछापुच्छ्रे र इन्भेष्टमेन्ट बैंकले आरटीजीएस प्रणालीको पहिलो कारोबार गरेका थिए ।

चेकै नकाटी राष्ट्र बैंकका कर्मचारीले माछापुच्छ्रेबाट इन्भेष्टमेन्ट बैंकमा पैसा पठाए

यो प्रणाली लागु भएपछि २ लाख रुपैयाँभन्दा माथिको भुक्तानी दिँदा चेक नचाहिने भएको छ । राष्ट्र बैंकले तत्काललाई २ लाख रुपैयाँभन्दा माथि २० लाखसम्मको भुक्तानी स्वेच्छाले र २० लाखभन्दा माथि अनिवार्य आरटीजीएस प्रणालीबाट भुक्तानी गर्न सकिने व्यवसथा गरेको छ ।

तत्कालमा सबै चेक भुक्तानी प्रणाली हटाउन सम्भव नभएको राष्ट्र बैंकले हाल भुक्तानी रकमको सीमा तोकेको हो ।

आरटीजीएस प्रणालीबाट भुक्तानी गर्दा चेक भुक्तानीमा भन्दा सस्तो शुल्क हुने राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले बताए ।

राष्ट्र बैंकले लागू गर्यो आरटीजीएस प्रणाली

‘चेकमा भुक्तानी गर्दा भन्दा आरटीजीएस प्रणालीमा सस्तो शुल्क र छिटो हुने भएकाले सर्वसाधारणमा यसप्रति आकर्षण बढ्छ’ मिश्रले क्लिकमाण्डूसँग भने ।

आरटीजीएस पुल नभएर पुस पेमेन्ट सिस्टम हो । यसमा कुनै पनि व्यक्तिले अर्को व्यक्तिलाई पैसा भुक्तानी गर्नु परेमा आरटीजीएसमा आवद्ध सम्बन्धीत बैकमा गएर लिखित निर्देशन दिएपछि त्यो व्यक्तिको खाताबाट अर्को व्यक्तिको खातामा रकम भुक्तानी हुनेछ ।

यस्तो छ भुक्तानी प्रक्रिया

भुक्तानी गर्ने व्यक्ति र भुक्तानी लिने दुवैको आरटीजीएसमा आवद्ध बैंकमा खाता हुनुपर्ने छ।

भुक्तानी दिने व्यक्तिले सम्बन्धीत बैंकमा गएर भुक्तानीको सम्पुर्ण विवरण (खाता नम्बर, रकमको विवरण, बैकको विवरण) लिखितरुपमा भरेर बैंकमा दिनु पर्नेछ ।

भुक्तानी प्रणालीमा नयाँ युगको शुरुवात, चेकनै नकाटी रकम भुक्तानी गर्न सकिने

भुक्तानी गर्ने व्यक्तिले आवश्यक सम्पुर्ण प्रक्रिया पुर्याइसकेको २ मिनेट देखी २० मिनेटसम्ममा सम्बन्धीत व्यक्तिको खातामा रमक भुक्तानी हुनेछ ।

सम्बन्धीत बैंकमा यसरी गरिएको कारोबारको विस्तृत विवरण राष्ट्र बैकमा तुरुत्तै हुने मिश्र बताउँछन् । आरटीजीएस प्रणालीबाट भुक्तानी गर्दा बैंकमा नै गएर लिखित विवरण पेस गरि कारोबार गर्दा कुनै पनि जोखिम नहुने र मोवाइल एपमार्फत भुक्तानीको आदेश दिँदा जोखिम हुने राष्ट्र बैंक मिश्र बताउँछन् ।

यसअघि बैंकहरुले अन्तर बैंक कारोबारमा स्वीफ्ट प्रणाली मार्फत गर्दै आएका थिए । यस प्रणालीमा सेवा शुल्क डलरमा भुक्तानी गर्नु पर्दथ्यो । तर आरटीजीएस प्रणालीमा कारोबार गर्दा भने त्यो झन्झट हटेको छ ।

आरटीजीएसको फाइदा मुख्य भनेको नै चेक नकाटी भुक्तानी गर्न सकिने हो । चेक नै नकाटी भुक्तानी गर्न सकिने हुँदा यो प्रणाली सुरक्षित, विश्वसनिय, छिटो र बैंकहरुमा कम जनशक्ति र थोरै खर्चमा काम सम्पन्न हुन्छ ।

यस्तो छ इतिहास

-सन् २०१८ जुलाई २० मा नेपाल पेमेन्ट सिस्टम स्टार्जेटी जारी भयो । र, राष्ट्र बैंकको तेस्रो रणनीतिक योजनामा राष्ट्र बैंकले रियल टाइम ग्रस सिस्टम (आरटीजीएस) प्रणाली स्थापना गर्ने ।

-सन् २०१८ मार्च ६ मा आरटीजीएस स्थापना गर्न युके एड सक्षमलाई टीओआर उपलब्ध गराएको ।

-२०१८ सेप्टेम्बर १४ मा राष्ट्र बैंक र सीएमए स्माल सिस्टम एबीबीच सफ्टवेर लाइसेन्स र मेन्टिनेन्स र सपोर्ट एग्रिमेन्ट (एएमसी) मा हस्ताक्षर भएको ।

-सन् २०१८ डिसेम्बर १८ मा आरटीजीएस स्थापना गरी सञ्चालन गर्न युके एड सक्षमसँग सैद्दान्तिक समझदारी भएको ।

-सन् २०१८ डिसेम्बर २२ मा आरटीजीएस सिस्टम स्थापना र सञ्चालनका लागि ८ जनाको प्रोजेक्ट टिम गठन गरेको ।

-सन् २०१९ अगस्ट १४ मा आरटीजीएसमा सहभागी हुने बैंक तथा वित्तीय संस्थाहरुलाई तरलता सुविधा मार्फत् ओभरड्राफ्ट सुविधा उपलब्ध गराउने सम्बन्धमा नीतिगत व्यवस्था भएको ।

-सन् २०१९ सेप्टेम्बर ४ मा आरटीजीएस सिस्टम रुल्स २०१९ तथा आरटीजीएसमा सहभागी हुने संस्थाहरुसँग गरिने पार्टीसिपेन्ट एग्रिमेन्ट तथा नेपाल क्लियरिङ हाउस लिमिटेड र राष्ट्र बैंकबीच हुने एमओयूको ढाँचा स्वीकृत भएको ।

-सन् २०१९ सेप्टेम्बर १२ देखि आरटीजीएस सिस्टम लाइभ भई कारोबार शुरु भएको ।


पुष्प दुलाल