वनस्पती घिउको नियती भोग्यो पाम आयलले, निर्यात वृद्धिको अल्पकालिन सफलतामा लाग्यो पूर्णविराम



काठमाडौं । सन् १९९६ मा नेपाललाई भारतले नेपालबाट निकासी हुने वस्तुमा भन्साररहित बजार पहुँचको सुविधा दियो ।

तत्कालिन भारतीय प्रधानमन्त्री इन्द्रकुमार (आइके) गुजरालको समयमा भारतले नेपाललाई दिएको अहिलेसम्मको सबैभन्दा ठूलो सुविधा थियो ।

नेपाली कच्चा पदार्थ प्रयोग नभए पनि नेपाली निकायले नेपालमा उत्पादन भएको प्रमाणित गरेपछि भन्साररहित बजार पहुँचको सुविधा भारतले दिएको थियो ।

नेपालमा उत्पादन भएको प्रमाणपत्र जारी भएपछि नेपालको निकासी व्यापार निकै नै उकालो लाग्यो । ८ अर्बको निकासी बजार १२ अर्ब रुपैयाँभन्दा बढीको भयो ।

त्योबेला भारतले दिएको भन्साररहित बजार पहुँचको सुविधा नेपाल व्यवसायीले तेस्रो मुलुकबाट वनस्पती घिउ ल्याउने र त्यसलाई नेपालमा उत्पादन भएको प्रमाणपत्र लगाएर भारतमा निकासी गरेर बिक्री गरे ।

पाम आयलको आयातमा भारतले लगायो प्रतिबन्ध, नेपालको ३० अर्बको व्यापार प्रभावित

तर यो धन्दा धेरै समय टिकेन । भारतले यसमा कोटा लगायो र यो धन्दा गर्ने व्यापारीहरुले धन्दा बन्द गरे ।

ठ्याक्कै यस्तै अवस्था अहिले पाम आयलले हुने देखिएको छ ।

मंगलबार अर्थमन्त्रालयले सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक स्थितीको सम्पादकीयमा सबैभन्दा ठूलो सफलताको रुपमा आयात घटेको र निर्यात बढेकोलाई देखाइएको छ ।

‘आर्थिक वर्ष २०७६÷७७ को मंसिर महिनासम्म आर्थिक परिसूचकहरु सकारात्मक छन्, निकासीमा भएको बृद्धि र पैठारीमा आएको कमीसँगै बाह्य क्षेत्रको असन्तुलनमा सुधार भएको छ,’ अर्थमन्त्रालयको मासिक आर्थिक बुलेटिनको सम्पादकीयमा भनिएको छ ।

नेपाल राष्ट्र बैंकले मासिक रुपमा निकाल्ने वर्तमान आर्थिक स्थितीजस्तै अर्थमन्त्रालयले चालु आर्थिक वर्षदेखि हरेक महिना आर्थिक बुलेटिन निकाल्न थालेको छ ।

जसमा अर्थमन्त्रालयले निर्यातमा बढेको बृद्धिलाई सबैभन्दा ठूलो सफलताको रुपमा प्रस्तुत गरिएको छ ।

नेपाली अर्थतन्त्रको एउटा ठूलो समस्याको रुपमा व्यापारघाटा पछिल्ला वर्षहरुमा सबैभन्दा ठूलो समस्या हो ।

भन्सार विभागको तथ्यांक अनुसार ५ महिनामा अघिल्लो वर्षको तुलनामा २६.९७ प्रतिशतले वृद्धि भएर ४७ अर्ब ६१ करोड रुपैयाँको निकासी भएको छ ।

५ महिनामा ४७ अर्ब रुपैयाँको निकासीले सरकारले लामो समयदेखि भनेको निकासी व्यापारलाई १ खर्ब रुपैयाँ पुर्याउने लक्ष्य यो वर्ष पूरा हुने थियो । आयात भने यो वर्ष औद्योगिक कच्चा पदार्थ र गाडी कर्जामा गरिएको कडाइका कारण घटेको थियो ।

५ महिनामा नेपालको भारततर्फ ४८.५८ प्रतिशतले बढेको छ ।

नेपालमा उत्पादन नै नहुने पाम आयल सबैभन्दा बढी निर्यात हुने वस्तु, व्यापारीले वर्षदिनमा कमाए २ अर्ब

कसरी बढ्यो निर्यात ?

सरकारी प्रोत्साहनको कारण निर्यात बढेको भने होइन । सरकारले निर्यात बढेको सफलता प्रस्तुत गर्न सक्ने भएपनि पाम आयालको कारण निर्यात बढेको हो ।

५ महिनामा मात्र भारततर्फ ११ अर्ब ५२ करोड रुपैयाँको पाम आयलको निर्यात भएको छ । जसमा पाम आयलको हिस्सा घटाउने हो जम्मा निकासी ३६ अर्ब ९ करोड रुपैयाँ हुन्छ । अर्थात अघिल्लो वर्षकोभन्दा पनि कम ।

भारतले आयातमा प्रतिबन्ध लगाएपछि नेपालको निर्यात वृद्धिदरको गफ अब यहीबाट सकिने भएको छ ।

नेपालमा उत्पादन नहुँने पाम आयल इन्डोनेसिया र मलेसियाबाट आयात भएर भारततर्फ निकासी हुने भएको थियो । भारतले प्रशोधित पाम आयलको आयातमा नै प्रतिबन्ध लगाएको छ ।

जसले गर्दा भन्सार दरको फाइदा उठाएर तत्कालिन लाभ लिने व्यापारीको पनि रकम डुब्ने छ । व्यापारीहरुले यही लाभ देखेर पाम आयलको आयतको लागि एलसी खोलेर आयात गरेका थिए ।

व्यापारीहरुले ३० प्रतिशत भ्यालु एड भएको दाबी गरेपनि यसमा कुनै सत्यता थिएन । पाम आयलको यो खेलमा ठूलादेखि साना सबैखाले व्यापारी संलग्न थिए ।

इन्डोनेसिया र मलेसियाबाट पाम आयल भारतमा आयात गर्दा बढी भन्सार लाग्छ । नेपालमा पाम आयल आयात गर्दा १० प्रतिशत भन्सार शुल्क लाग्छ । दक्षिण एशियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा)को प्रावधान अनुसार नेपालले भारतमा निकासी हुने वस्तुमा भन्साररहित बजार पहुँच दिएको छ ।


क्लिकमान्डु