पाम आयलको आयातमा भारतले लगायो प्रतिबन्ध, नेपालको ३० अर्बको व्यापार प्रभावित



l,काठमाडौं । भारतले  पाम आयलको आयातमा प्रतिबन्ध लगाएको छ ।

भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि नेपालको निर्यात व्यापार समेत प्रभावित हुने भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार नेपालबाट भारतमा ५ महिनामा ११ अर्ब ५२ करोड रुपैयाँ बराबरको ११ करोड १७ लाख रुपैयाँको पाम आयाल भारत तर्फ निकासी भएको छ ।

भारतको वाणिज्य मन्त्रालयले सूचना जारी गरेर पाम आयलको आयातमा प्रतिबन्ध लागेको देखिन्छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्याल पाम आयतको प्रतिबन्धको सूचना आएपनि नेपालबाट निकासी हुनेमा प्रतिबन्ध लागे नलागेको विषय कोड हेरेपछि मात्र भन्न सकिने बताए ।

‘आजको सूचना अनुसार प्रतिबन्ध लागेको देखिन्छ, नेपालको विषयमा कोड हेरेपछि मात्र भन्न सकिन्छ, हामी भोलि नै त्यसको अध्ययन गर्ने छौ,’अर्यालले क्लिकमाण्डूसँग भने ।

नेपालमा उत्पादन नै नहुने पाम आयल सबैभन्दा बढी निर्यात हुने वस्तु, व्यापारीले वर्षदिनमा कमाए २ अर्ब

नेपालमा उत्पादन नभएपनि व्यापारीहरुले इन्डोनेसिया र मलेसियाबाट पाम आयल ल्याएर यहा प्याकेजिङ गरेर बिक्री गर्दै आएका थिए ।

नेपालको अहिले निर्यात बढ्नुमा प्रमुख कारण पाम आयल हो । भन्सार विभागका अनुसार ५ महिनामा ४७ अर्बको निकासी भएको छ । जसमा पाम आयलको हिस्सा २३ प्रतिशत छ ।

जुन हिस्सा घटाउने हो भने अघिल्लो वर्षको तुलनामा निर्यातको बृद्धिदर केहीपनि देखिदैन ।

मलेसिया र इन्डोनेसियाबाट भारतमा पाम आयल आयात गर्दा महंगो भएपछि व्यापारीहरुले नेपालको बाटोबाट पाम आयल ल्याएका थिए । तत्कालको लागि निर्यात बढेपनि यो दीर्घकालिन उपाय भने थिएन ।

भारतले पूर्ण रुपमा पाम आयलको प्रतिबन्ध लगाएको भए नेपाली व्यापारीको अर्बैको लगानी भने डुब्ने निश्चित नै छ । ५ महिनामा इन्डोनेसियाबाट ९ अर्ब ४८ करोड रुपैयाँ बराबरको १३ करोड ७४ लाख किलो पाम आयलको आयात भएको छ । नेपालमा इन्डोनेसिया बाहेक मलेसिया र पवुवा न्यूगिनीबाट पाम आयलको आयात हुने गरेको छ ।


क्लिकमान्डु