लोकसेवाको परीक्षा कसरी पास गर्ने ? पूर्वसचिव शान्तराज सुवेदीको टिप्स



काठमाडौं । तपाईं लोकसेवाको तयारी गर्दै हुनुहुन्छ ? छ भने तपाईंका लागि यो टिप्स अति नै उपयोगी हुनेछ ।

प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र लामो समय अर्थ मन्त्रालयको सचिव भएर अवकास पाएका ट्यालेन्ट शान्तराज सुवेदीले आज तपाईंलाई टिप्स दिँदैछन् । उनले कस्ता प्रश्न आउँछन्, कस्तो तयारी गर्ने, परिक्षामा कसरी लेख्ने र कसरी अन्तर्वार्ता दिएर सरकारी जागिर खान सफल हुने भनेर तपाईंलाई सिकाउने छन् ।

अर्थसचिवबाट २०७४ कात्तिक २ गते अवकास पाए सुवेदी अहिले लोकसेवा आयोगको प्रश्न बनाउने र कापी जाँच्ने काममा सक्रिय छन् । जसकारण उनले दिएको टिप्स तपाईंका लागि झनै उपयोगी हुनसक्छ ।

तपाईंले भिडियोमा पनि विस्तृत टिप्स हेर्न सक्नुहुनेछ ।

अहिले निजामतिमा सेवामा मात्रै होइन, संस्थान, सुरक्षा निकाय, स्थानीय सबै तहमा लोकसेवा आयोगमार्फत प्रतिष्पर्धाबाटै छानिन्छन् । लोकसेवा आयोग अहिले मात्रै होइन पहिलेदेखि नै आस्थाको केन्द्र रहँदै आएको छ । त्यसकारण लोकसेवा आयोगमा प्रतिष्पर्धा निकै बढी छ । यो निष्पक्ष हुन्छ भन्ने विश्वासका आधारमा आयोगप्रति आस्था पनि कायम छ ।

कसरी पास गर्ने लोकसेवाको परीक्षा ? सुवेदीकै शब्दमा 

सबैभन्दा पहिला तपाईंमा लोकसेवा आयोगको परीक्षा दिनुभन्दा अघि म मिहेनत गरेर अगाडि बढेँ भने सफल हुन्छ भन्ने विश्वास र भरोसा हुनैपर्छ । लोकसेवा आयोगमार्फत् हुने सम्पूर्ण जाँचहरु निष्पक्ष हुन्छन् भनेर विश्वास गर्नुहोस् ।

दोस्रो, लोकसेवा आयोगको परीक्षा र अन्य परीक्षामा फरक हुन्छ । अन्य ठाउँमा ६० प्रतिशत ल्याउने वित्तिकै निकै राम्रो पास मानिन्छ । विद्यार्थी उत्तीर्ण पनि हुन्छन् भने लोकसेवा आयोगमा त्यतिले मात्रै पुग्दैन ।

साढे ५ सय नासुका लागि लोकसेवाले विज्ञापन खुलायो, विज्ञापनसहित

यदि विज्ञापनमा ५ जना माग गरेको छ र ९० ल्याउने ५ जना हुन्छन् भने ८९ अंक ल्याउने फेल हुन्छ । लोकसेवामा नजान्ने पास हुँदैन र जान्ने पनि फेल हुन्छ भनिन्छ । त्यसैले प्रतिष्पर्धा अत्यन्तै बढी हुन्छ । लोकसेवामा उत्तीर्ण हुनका लागि पढ्ने तरिका, पढेको कुरा सम्झन तरिका र लेख्ने तरिका धेरै कोणबाट मिहेनत गर्नुपर्छ ।

तेस्रो तर सबैभन्दा महत्वपूर्ण कुरा विषयवस्तु हो । विषयवस्तुमा पोख्त हुन सकेको अवस्थामा सबैकुरा मिलाउन सकिन्छ । विषयवस्तुमा आफूलाई पोख्त बनाएर सबै विषयलाई व्यवस्थापन गर्न सकियो भने सफल हुन सकिन्छ ।

परीक्षा दिन जानु अगाडि तपाईं आफूले गरेको तयारी उत्तरपुस्तिकामा लेख्न सक्नुपर्छ । र, त्यसमा सही कुरा गर्न सक्नुभयो र सोधेका सबै कुरालाई समेट्न सक्नुभयो भने लोकसेवा आयोगको परीक्षामा तपाईं अवश्य सफल बन्नुहुने छ ।

प्रश्नलाई र दिइएको समयलाई ध्यानमा राखेर सबै प्रश्नलाई छोएर लेख्न सकियो भने नतिजामा सकारात्मक प्रभाव पर्छ । समय व्यवस्थापन नहुँदा कुनै प्रश्न असाध्यै राम्रो हुँदा पनि कुनै प्रश्न छोडियो भने त्यसले राम्रो गर्दैन् ।

त्यसका लागि पाठ्क्रमलाई अत्यन्तै आधार बनाउनुहोस् । सबै प्रश्नहरु पाठ्यक्रममै आधारित भएर सोधिन्छन् । पढ्ने बेलामा पाठ्यक्रमसँग जोडिएका विषयहरु समसामयिक विषयहरु, दैनिक व्यवहारमा आइपरेका विषयलाई सिद्दान्त र व्यवहारिक दुबै पक्षलाई ध्यानमा राखेर पढ्नुहोस् । किनभने प्रश्नले सैद्दान्तिक र व्यवहारिक दुबै उत्तर खोजेको हुन्छ ।

प्रश्नले सोधेको विषयवस्तुको सैद्दान्तिक पृष्ठभूमिको आधार के हो ? यो किन कार्यान्वयन हुन सकेन ? समस्या के हुन् ? समस्याका उपायहरु के हुन् ? भन्ने किसिमले उत्तर दिन सक्नुपर्छ ।

त्यसपछि लेखन र प्रस्तुतिकरण कस्तो छ ? त्यो महत्वपूर्ण हुन्छ ।

तपाई धेरै पुस्तकहरु नपढ्नुहोस् । रिफ्रेन्सहरु धेरै पढ्नु पर्दैन । एउटा विषयलाई आधार मानेर पढ्ने र त्यसमा थप्नुपर्ने भयो भने अन्य पुस्तक पढ्नु भए राम्रो हुन्छ । यसले दिमागलाई एकत्रित पनि गर्छ ।

धेरै किसिमका विषय पढ्न थाल्ने हो भने दिमाग जिकज्याक हुन्छ । त्यसैले एउटै विषयवस्तुलाई वा धेरै पढे पनि आफ्नो ढंगले नोट बनाएर त्यसलाई आधार बनाएर अध्ययन गर्न सकियो भने राम्रो हुन्छ ।

म आफैं पनि लोकसेवाको कपी जाँच्छु । राम्रा र प्रष्ट अक्षरले जाँचकको मन आकर्षित गर्छ ।

समसायिक राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयवस्तुलाई ध्यानमा राख्नुपर्ने हुन्छ । लेख्दा जहिले पनि लामो गफ लेख्नु हुँदैन । धेरै विद्यार्थीहरुलाई प्रश्नको उत्तर आफूलाई जाने जस्तो लाग्छ र आफ्नो तरिकाले धेरै लेख्ने हुन्छ । वास्तवमा प्रश्नले सोधेको के थियो ? भन्ने आधारमा मात्रै उत्तर दिनुपर्छ । प्रश्नले एउटा उत्तर खोजेको हुन्छ हामीले मिल्दोजुल्दो लेखेर आउँछौं । जाँच पनि राम्रो भए जस्तो लाग्छ तर प्रश्नको उत्तर सही नहुनसक्छ ।

त्यस्तै अर्को कुरा एउटा प्रश्न १० पूर्णांकको छ भने त्यसमा पनि खण्डखण्ड हुन सक्छ । त्यसभित्र ४ वटा खण्डमा प्रश्न सोधेको छ भने प्रत्येकको पूर्णांक साढे २ हुन्छ । तपाईले २ वटा खण्डको मात्रै उत्तर लेख्नु भयो भने ५ अंकको मात्रै समेट्नु भयो । त्यसमा जति राम्रो गरे पनि ३ नम्बर आउने हो । त्यो भनेको १० मा ३ भयो । त्यसैले सबै खण्डको उत्तिकैरुपमा समेट्नुपर्छ ।

अलिकति अक्षरको पनि भूमिका हुन्छ । राम्रा अक्षरमा लेख्नु भयो भने जाँचकलाई पनि सहज हुन्छ । म आफैं पनि लोकसेवाको कपी जाँच्छु । राम्रा र प्रष्ट अक्षरले जाँचकको मन आकर्षित गर्छ ।

निजामित सेवामा प्रवेश गरेको व्यक्तिले आफूलाई नैतिकवान, समर्पित र पेशाप्रतिको व्यवसायिकरुपमा अगाडि बढ्न सक्यो भने त्यो व्यक्ति सफल हुन्छ । र, यसमा स्कोप पनि छ ।

अर्को महत्वपूर्ण कुरा समयको व्यवस्थापन हो । प्रश्नलाई र दिइएको समयलाई ध्यानमा राखेर सबै प्रश्नलाई छोएर लेख्न सकियो भने नतिजामा सकारात्मक प्रभाव पर्छ । समय व्यवस्थापन नहुँदा कुनै प्रश्न असाध्यै राम्रो हुँदा पनि कुनै प्रश्न छोडियो भने त्यसले राम्रो गर्दैन् । यो विषयमा पनि ख्याल गर्नुपर्छ ।

लिखितमा सफल भइसकेको मान्छे अन्तर्वार्तासँग सम्बन्धित विषयमा त्यत्ति ठूलो फरक पनि हुँदैन् । र फालिने सम्भावना कम हुन्छ । त्यसैले जतिसक्दो लिखित परिक्षामै सबैलाई उछिन्नतर्फ केन्द्रित हुनुहोस् ।

निजामति सेवामा कस्तो स्कोप छ ?

पछिल्लो समयमा सबैको आकर्षणको केन्द्र भनेकै सरकारी सेवा हो । सरकारी सेवामा पनि महत्वपूर्ण सेवाका रुपमा निजामति सेवा नै हो ।

निजामति सेवामा सेवाको सुरक्षा छ । जनतासँग प्रत्यक्ष सम्पर्कमा गएर सेवा प्रवाह गर्न सकिन्छ । अर्को कुरा सरकारी सेवा भनेको सरकारको काम कारबाही, सरकारको पदीय दायित्व र जिम्मेवारीमा रहेर समाजसेवा गर्ने हो ।

यसलाई जति सक्यो आफूले राम्रो काम गर्न सकियो भन आफ्नो पनि स्कोप छ र जनताले हेर्ने दृष्टिकोण पनि राम्रो हुन्छ । एउटा सेवाको सुरक्षा, एउटा वृद्धिको सम्भावना र अर्को आर्थिक रुपमा पनि सामाजिक सुरक्षाका हिसाबले पनि अवकाशपछि पनि ग्यारेन्टी भएकाले सरकारी सेवामा पनि आकर्षण छ । त्यसमा सबैभन्दा महत्वपूर्ण निजामति सेवा हो ।

निजामित सेवामा प्रवेश गरेको व्यक्तिले आफूलाई नैतिकवान, समर्पित र पेशाप्रतिको व्यवसायिक रुपमा अगाडि बढ्न सक्यो भने त्यो व्यक्ति सफल हुन्छ । र, यसमा स्कोप पनि छ ।

को हुन् सुवेदी ?

२०२३ सालमा प्युठानमा जन्मिएका उनले दाङबाट प्राथमिक शिक्षा शुरु गरी माध्यमिक तहसम्मको शिक्षा प्यूठानमा पूरा गरे ।

आइएससी एग्रिकल्चल पढेका उनले त्यसपछि त्रिभुवन विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर र विद्यावारिधीसम्मको अध्ययन पूरा गरे । व्यवस्थापन, जनप्रशासन र मानविकी विषयमा स्नातकोत्तर पूरा गरेका सुवेदीले निजामती सेवामा २०४९ सालमा शाखा अधिकृतका रुपमा प्रवेश गरेका हुन् ।

उपसचिव भएको ८ महिनामा खुलातर्फबाट एकैपटक सहसचिवमा नाम निकाल्न सफल भएका सुवेदी २०६९ सालमा अर्थ मन्त्रालयको सचिवमा बढुवा भएका थिए ।

त्यसपछि २०५३ सालमा राजस्व समूहमा प्रवेश गरेका उनी २५ वर्षे निजामती सेवामध्ये १५ वर्ष अर्थमन्त्रालयमै बिताए । अर्थमन्त्रालयमा रहँदा अफिसर, सहसचिव र सचिवका रुपमा राजस्व महाशाखामा लामोसम्म बिताए । अधिकांश समय कर प्रशासनमै बिताएका उनी सार्वजनिक वित्तबारे बढी जानकार मानिन्छन् ।

अन्तर्वार्तामा पटकपटक फेल भएपछि

शाखा अधिकृत हुँदा पहिलो पटकमै सफल भएका उनी २०५३ सालमा नेपाल सरकारले नेपालमा कर मूल्य लागू गर्ने भनेपछि नयाँ आन्तरिक रुपमा प्रतिष्पर्धामा सेवा परिवर्तन गर्दा २५ जना शाखा अधिकृत विभिन्न समूहबाट छनोट भएका थिए ।

अधिकृतबाट उपसचिव हुनका लागि सुवेदीले निकै हण्डर खाए । लिखित परिक्षामा नाम निकाले पनि उनी ५ पटकसम्म अन्तर्वार्तामा फेल भएका थिए । तर, जब उनी उपसचिव भए । त्यसपछि उनलाई कुनै समस्या भएन । उपसचिव भएको ८ महिनामा खुलातर्फबाट एकैपटक सहसचिवमा नाम निकाल्न सफल भएका सुवेदी २०६९ सालमा अर्थ मन्त्रालयको सचिवमा बढुवा भएका थिए ।

निरन्तर मिहेनत गर्न सके सफलता अवश्य सफलता हासिल गर्न सकिने उनको बुझाइ छ।

निजामति सेवामा रहँदा उनी सूचना विभागको महानिर्देशन भए । २०६२ सालमा बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी भए भने २०६३ साउन १ गतेदेखि अर्थमन्त्रालय आएर आन्तरिक राजस्व विभागको उपमहानिर्देशकको जिम्मेवारी सम्हाले । त्यसपछि लामो समय राजस्व महाशखामा काम गरेर २०६९ साल कात्तिक २ गते अर्थमन्त्रालयमा सरुवा सचिव भएर आए ।

करिब डेढ वर्ष अर्थसचिव भएर बसिसकेपछि उनी प्रधानमन्त्री कार्यालयको सचिव भए । त्यसपछि ११ महिना अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सचिव भएर काम गरे ।

सेवाको अन्तिम समयमा फेरि अर्थमन्त्रालय फर्किएर १ वर्ष १ महिना सचिवका रुपमा सेवा गरिसकेपछि सेवा अवधि पूरा भइ २०७४ कात्तिक २ गतेबाट अवकाश पाए ।


पुष्प दुलाल