रुपाकोट रिसोर्ट पुगेर बंगलादेशी राष्ट्रपतिले भने- अदभूत सुन्दरता हेर्न पाउँदा भाग्यमानी सम्झेको छु



काठमाडौं । चार दिने नेपाल भ्रमणमा रहेका बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल बिहीबार पोखरा पुगे । केही बेर फेवातालमा सुस्ताए र प्रकृतिको अनुपम छटा नियाल्न रुपाकोट रिसोर्टको उकालो चढे ।

झण्डै डेढ घण्टा रिसोर्टमा बिताएका राष्ट्रपति अब्दुलले रुपा र बेगनास ताल सुन्दरता नियाले, शान्तसँग उभिएका हिमश्रृखलाको दर्शन गरे । र, भने, ‘अहो! साच्चिकै अदभूत रहेछ, यहाँ आउन पाउँदा निकै खुशी भएँ ।’

पर्यटकीय नगरी पोखराबाट ४५ मिनेटको उकालो चढेपछि पुगिने रुपाकोट रिसोर्टमा अतिथिका रुपमा बंगलादेशी राष्ट्रपतिसँगै उनको प्रतिनिधिमण्डल पुगेको हो ।

रिसोर्टबाट देखिने ८ हजार मिटरभन्दा अग्ला तीन वटा हिमाललाई आँखै अगाडि देख्न पाउँदा खुसीले प्रसन्न भएको दृश्यले कान्तिमय भएको उनको अनुहारमा प्रष्ट झल्कन्थ्यो ।

प्रकृतिको सुन्दरतामा मन रमाएपछि उनले अंग्रेजीमा भने, ‘आईएम भेरी ह्याप्पी, दिस इज अ ग्रेट प्लेस ।’

रुपाकोटमा मौसम आज निकै खुलेको थियो । हिमालको चिसो हावाको झोँकासँगै पारिलो घामको न्यायोमा हमिद निकै रमाए । खुलेको मौसमले ‘रिट्रिटका’ लागि आएका अथितिलाई स्वागतमा मुसुक्क हाँसे जस्तो देखिन्थ्यो ।

प्रांगारिक खाना खाएपछि राष्ट्रपति हमिद, उनकी धर्मपत्नी र बंलादेशी पाहुनाले पोखराको सौन्दर्यको तारिफमा कैयन शब्दहरु खर्चिए । उनले समग्र नेपालको प्राकृतिक विविधता र सुन्दरताको समेत मुक्तकण्ठले प्रशंसा गरे ।

राष्ट्रपतिको स्वागतमा रुपा गाँउपालिकाले कुनै कन्जुस्याइँ गरेको थिएन । नेपाली पञ्चचेबाजा बजाइएको थियो । बाटो सफा र चिटिक्क पारिएको थियो भने स्वागतद्वार बनाएर नेपाल बंगलादेशमैत्री सम्बन्ध अमर रहोस् भन्ने नारासमेत लेखिएको थियो ।

भीआईपी पाहुनाको भ्रमण हुँदैछ भन्ने खबर पाएका रिसोर्टका सञ्चालक पुष्पराज अधिकारी स्वागतका लागि तम्तयार थिए । खुसीले उनको खुट्टा हावामै उचालिए जस्तै भावन हुन्थ्यो ।

त्यसो त बंगलादेशका व्यवसायी, कलाकार, बैंक तथा वित्तीय संस्थाका प्रमुख र यहाँस्थित बंगलादेशी दूतावासका अधिकारी पटक–पटक रुपाकोट रिसोर्ट नपुगेका होइनन् ।

तर त्यहाँका महामहिम राष्ट्रपति नै आउने खबर अधिकारीले १० दिन पहिले नै थाहा पाएका थिए । राष्ट्रपति हमिदलाई नै भनेर रिसोर्टले स्थानीय माछाको विशेष परिकार बनाएको थियो । त्यसका लागि रिसोर्टले बंगलादेशी दूतावाससँग पनि छलफल गरेको थियो ।

‘रिसोर्टभित्रैको करेसाबारीमा उत्पादित साग असाध्यै मीठो मानेर खानुभयो, उहाँकै लागि बनाइएको विशेष बिरयानीको पनि मीठो स्वाद लिए,’ अधिकारीले भने ।

‘हामीले आफ्नै बारीमा प्रांगारिक खेती गरेका छौं, त्यसले आफ्नै उत्पादन पाहुनालाई खुवाउन सकिन्छ भन्ने मान्यताको समेत विकास गरेका छौं, यो थाहा पाउँदा हमिदले खुसी व्यक्त गर्नुभयो’ अधिकारीले थपे ।

अधिकारीले बंगलादेशी राष्ट्रपतिको भ्रमणबाट प्रसन्न हुँदै फ्ल्यास ब्याकमा गए । भने, ‘पिछडिएको रुपाकोटको डाँडामा अन्तर्राष्ट्रिय पाहुना आउनु भयो, जुन सोचका साथ सुरुवात गरेको थिएँ त्यो सफल भयो ।’

यसले पोखरा र रुपाकोटको मात्रै होइन, समग्र मुलुकको पर्यटनको विकासमा सहयोग पुगेको बताए ।

‘मैले सुरुवाती दिनमा लिएको विश्वास आज साकार भएको छ, म निकै आन्नद महसुस गरेको छु’ उनले सुनाए ।

‘यो त सुरुवात मात्रै हो, आगामी दिनमा अझैं धेरै देशका विशिष्ठ पाहुनालाई स्वागत गर्ने इच्छा छ, रुपाकोट र यहाँबाट देखिने सुन्दरतासँग साक्षात्कार गराउनु छ’ पुलकित हुँदै अधिकारीले योजना सुनाए ।

अधिकारीले भ्रमणको जोहो गरिदिने नेपाल सरकार, परराष्ट्र मन्त्रालय, गण्डकी प्रदेश सरकार र स्थानीय रुपा गाउँपालिकालाई धन्यवाद दिए । भने, ‘यो रिसोर्ट राज्यका लागि पनि हो, पर्यटन प्रबर्द्धनका लागि पनि हो ।’

‘हामीलाई प्रकृतिले हरेक चिज दिएको छ, प्रकृतिको अनुपम सुन्दरताबाटै हामी मनग्गे आम्दानी गर्न सक्छौं, विदेशी डलर आम्दानी गर्न गाह्रो छैन, मलाई थाहा छ, नयाँ सोचका साथ यहीँ केही गर्ने हो भने विदेश जानु पक्कै पनि पर्दैन’ उनले भने ।

उनले पोखरामा फूलबारी रिसोर्टजस्ता अन्य २० वटा रिसोर्ट बनाउन सकिए पनि रुपाकोट जस्तो रिसोर्ट भने भूगोल र प्रकृतिको आधारमा एउटा मात्रै बन्न सक्ने बताए ।

बेल्जियममा रेस्टुराँ व्यवसाय गर्दै आएका अधिकारीले स्वदेश फर्किएर २०० रोपनी जग्गामा रिसोर्ट स्थापना गरेका हुन् । विकसित यूरोपका सुविधा सम्पन्न र आरामदायी जीवनशैली बिताएका उनलाई रुपाकोटको सौन्दर्यले पछ्याएपछि आफ्नै गाउँ फर्किएर रिसोर्ट बनाउने सपना देखेका थिए ।

कूल ६० रोपनी क्षेत्रमा फैलिएको रिसोर्टमा नेपालीपन झल्कने आकर्षक घर बनाइएका छन् । स्थानीय गुरुङ समूदायको शैलीसँग मिल्ने गरी ढुंगाले छापेको बाटोमा कागती, मेवा, आँपलगायतका फलफूलका बिरुवा लहरै उभिएका छन् ।

बाटाकोे छेउमा फुलेका रंगीचंगी फूलले आम मानिसलाई तानेजस्तै बिहीबार राष्ट्रपतिलाई स्वागत गर्यो ।

रुपाकोटमा राष्ट्रपति हमिदलाई गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेत, आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, रुपा गाउँपालिकाका प्रमुख नवराज ओझा, उपप्रमुख लालसुब्बा गुरुङ, जनप्रतिनिधि तथा सरकारी कर्मचारीलगायतले स्वागत गरेका थिए ।

स्थानीयबासी विजयपुरदेखि नै पानीले भरिएका घडा राखेर स्वागत गरेका थिए । राष्ट्रपति हमिदलाई स्वागतार्थ मुस्लिम समूदायको झाँकी, दलित समूदायको पञ्चेबाजा तथा नेवार समूदायबाट लाखे नाचका साथै गुरुङ समूदायको घाटु र मारुनी नृत्य देखाइएको थियो ।

पोखरा र लेखनाथका विभिन्न भूभागसहित रुपाताल र बेगनासतालको दृश्य एक साथ अवलोकन गर्न सकिने यहाँबाट देखिएको माछापुच्छ«े, अन्नपूर्णलगायतका हिमशृंखलाले राष्ट्रपति हमिदलाई लोभ्याएको सहजै अनुमान गर्न सकिन्थ्यो ।

उनले उच्च पहाडी भूभागमा सडक र खानेपानी कसरी पु¥याइएको छ भन्दै जिज्ञासा समेत राखेका थिए ।

रुपाकोटको सुन्दरता मनभरी समेटेर फर्कने क्रममा राष्ट्रपति हमिदलाई गाउँपालिका प्रमुखले नेपालमा परम्परागतरुपमा उत्पादन गरिँदै आइएको काठको ठेकी कोसेली दिएका थिए ।

तस्बिर: हरि बास्तोला/रासस


क्लिकमान्डु