ठगी आरोपमा बार्गेनिङ, ८० वर्षको बिजनेश लिगेसी भएको ज्योति ग्रुपलाई सकाउने खेलले निजी क्षेत्र आतंकित



काठमाडौं । पुरानो व्यवसायिक घराना ज्योति ग्रुपका उपाध्यक्ष डा. रुप ज्योति पक्राउपछि निजी क्षेत्रका व्यवसायीहरु आंतकित बनेका छन् ।

उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पद्म ज्योतिलाई पक्राउ गर्न अदालतको आदेश

ठगी आरोपमा ग्रुपका उपाध्यक्ष ज्योति र उनकी छोरी सुरुचिलाई प्रहरीले कात्तिक २१ गते पक्राउ गरिसकेको छ भने ज्योति ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पद्म ज्योतिलाई समेत पक्राउ गर्न सर्बोच्च अदालतले बाटो खोलिदिएको छ ।

ज्योति ग्रुपका अन्य सदस्यलाई आरोपी बनाएर विजेन्द्र मल्लले  गत वर्षको मंसिर १६ गते महानगरीय प्रहरी परिसरमा ज्योति समूहविरुद्ध ठगी मुद्दा दायर गरेका थिए ।

ज्योति परिवारमाथि १ करोड ३६ लाख रुपैयाँ ठगीको आरोप छ । यो मुद्दामा ज्योतिका बाबुछोरीसहित ज्योति परिवारका ९ जना प्रतिवादी छन् ।

अर्ब बढीको कारोबार गर्ने हार्वर्डका पीएचडी ज्योतिलाई इगोले पुर्यायो ठगीको आरोपमा जेल

व्यक्तिगत लेनदेनको मुद्दा देवानी मुद्दा हो । यो सरकारवादी नभएपनि प्रहरीले अदालतबाट पक्राउ पुर्जीको आदेश ल्याएर रुप ज्योतिलाई पक्राउ गरेको हो । उनका दाई पद्म ज्योतिलाई समेत पक्राउ गर्ने बाटो अदालतले खोलिदिएको छ ।

प्रहरीले व्यक्तिगत लेनदेनको मुद्दामा फौजदारी जस्तो गरेर पक्राउ पुर्जी जारी गर्न अनुमति लिनुले नै ज्योति ग्रुपलाई समस्यामा पार्नको लागि एउटा गिरोह नै लागेको आशंका व्यवसायीहरुले गरेका छन् ।

जिल्ला अदालतमा बयानका क्रममा व्यवसायी ज्योतिले ५ करोड रुपैयाँ नदिएको आरोपमा जेल जानु परेको बयान दिएका छन् ।

ज्योति ग्रुप अन्तर्गतका कम्पनीको कारोबार नै अर्ब रुपैयाँभन्दा बढी छ । कम्पनीहरुले सबै गरेर ५० करोड हाराहारीमा नाफा गर्न सक्ने व्यवसाय छ ।

ठगीको आरोपमा अर्बपति व्यापारी डा. रुप ज्योति पक्राउ

यस्तो व्यवसाय गरेको व्यवसायीलाई १ करोड ३६ लाख रुपैयाँ ठगीको आरोपमा पक्राउ गरेपछि व्यवसायीहरु त्रसित बनेका हुन् ।

‘व्यक्तिगत रुपमा लेनदेनका विवाद धेरै व्यवसायीका छन्, ज्योतिको केसले जो पनि व्यवसायीलाई पक्राउ गरेर थुन्न सक्ने अवस्था देखिएको छ,’ एक व्यवसायीले भने, ‘यो विशुद्ध व्यवसायीहरुलाई आतंकित बनाएर हतोत्साहित गर्ने खेल मात्रै हो ।’

ठगीको आरोपमा उजुरी दिएका विजेन्द्र मल्ल भने अहिले प्रहरीको सम्पर्कबाट बाहिर पुगेका छन् । मल्लले केही राजनीतिक शक्तिकेन्द्रको आडमा ज्योति विरुद्ध उजुरी देखिएको शंका बढेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवसायीहरुलाई ढुक्क भएर लगानी गर्न आह्वान गरेपनि लगानीकर्ताहरु सरकारसँग आस्वस्त हुन सकेका छैनन् ।

व्यापारी रुप ज्योतिलाई थप ५ दिन थुनामा राख्न अदालतको आदेश

आर्थिक बृद्धिदर लगातार ६ प्रतिशतभन्दा माथि भएपनि व्यवसायीहरुले सरकारलाई विश्वास गर्न सकेका छैनन् । यस्तो प्रतिष्ठित व्यवसायीलाई अपराधीको शैलीमा पक्राउ गर्दा व्यवसायिक वृतमा राम्रो सन्देश गएको छैन । ओली सरकार गठन भएपछि देशमा स्वदेशी तथा विदेशी लगानी बढ्न नसक्नुको एउटा कारण व्यवसायीहरुको मनोवल गिर्नु हो । ज्योति समूहमाथि भएको धरपकडले व्यावसायिक जगत आतंकित भएको छ, यसको प्रभाव आगामी वर्षहरुमा देखिने नै छ ।

प्रतिष्ठित व्यवसायिक घरानाका सदस्यलाई अपराधी शैलीमा पक्राउ गरेपनि निजी क्षेत्रका संघसंस्थाले भने आधिकारिक रुपमा विज्ञप्ती जारी गरेर सरकारको नीतिको विरोध गरेका छैनन् ।

निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघले कसलाई पक्राउ गरिएको हो त्यो विषयमा अचम्म खाले विज्ञप्ती जारी गरेको छ । महासंघका पदाधिकारीले प्रहरीको हिरासतमा रहेका ज्योतिलाई भेट गरेपनि आधारिक रुपमा विज्ञप्ती जारी गर्न अदालतमा चलेको मुद्दामा अपहेलना हुने भएको हुँदा बोल्न नमिलेको बताएका छन् ।

‘ज्योति ग्रुपजस्तो प्रतिष्ठित व्यवसायीलाई अपराधीको शैलीमा पक्राउको औपचारिक रुपमा विरोध गर्न सक्ने अवस्था छैन, अदालतको मानहानी हुने भएको हुँदा महासंघले औपचारिक रुपमा धारणा ल्याउन सकेन,’ महासंघका एक पदाधिकारीले भने ।

महासंघका पदाधिकारीहरुले प्रधानमन्त्रीदेखि मन्त्रीहरुलाई भेटेर ज्योति पक्राउको विषयमा असन्तुष्टी जनाएका थिए । प्रधानमन्त्रीले केही व्यवसायीलाई आफुले ज्योति पक्राउ गरेपछि मात्र जानकारी पाएको जवाफ दिएका छन् ।

ज्योति समूह ८० वर्षदेखि नेपालमा विभिन्न व्यापार व्यवसाय सञ्चालन गरेर बसिरहेको छ । यो समूहले वार्षिक करोडौं रुपैयाँ राजस्व सरकारलाई तिर्छ । हजारौंलाई रोजगारी दिएको छ ।

‘व्यवसायीले राज्यलाई पुर्याएको योगदानको कुनै कदर नहुने तर सानो अभियोगमा ठूलो अपराधीलाई जस्तै गरी धरपकड गर्ने ? यो त हुँदै भएन,’ महासंघका एक पदाधिकारीले भने, ‘हाामी मन्त्री प्रधानमन्त्री र नेकपाका नेताहरुसँग भेटेर यस विषयमा गंभीर ध्यानाकर्षण गराउँछौं ।’

ज्योति समूहको लगानी रहेको ल्याण्डमार्क हाउजिङमा भएको ठगीको विषयलाई लिएर सो समूहमाथि धरपकड गरिएको हो । अचम्मको कुरा के छ भने ज्योति समूहका सदस्यहरु ल्याण्डमार्क हाउजिङका लगानीकर्ता हुन्, सञ्चालक होइनन् । र, ठगी अन्तर्गत तिर्नुपर्ने रकम अदालतको आदेशमा जम्मा गरिसकेका छन् । यसरी रकम जम्मा गरिसकेपछि पनि धरपकड गर्नुलाई निजी क्षेत्रले जानाजान गरिएको प्रहार भएको ठहर गरेको छ ।


पुष्प दुलाल