अर्ब बढीको कारोबार गर्ने हार्वर्डका पीएचडी ज्योतिलाई इगोले पुर्यायो ठगीको आरोपमा जेल



अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट पीएचडी गरेका डा. रुपज्योतिलाई अहिले ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

करिब ८० वर्षको व्यवसायिक विरासत बोकेको ज्योति ग्रुपका उपाध्यक्ष डा. रुपज्योतिमाथि १ करोड ३६ लाख रुपैयाँ ठगीको आरोप छ ।

काठमाडौंको व्यवसायिक वृत्त ज्योतिले १ करोड ३६ लाख रुपैयाँ ठगे भनेर मान्न तयार छैन ।

‘जुन ग्रुपका कम्पनीहरुको नाफा नै आधा अर्ब हुन्छ, त्यो व्यवसायी १ करोड ३६ लाख रुपैयाँ ठगीमा पक्राउ पर्नु विश्वासिला कुरा होइन,’ ज्योतिसँग निकट रहेका एक व्यवसायीले भने ।

राजनीतिक खेलको शिकार भएका छन ज्योति ।

ठगीको आरोपमा अर्बपति व्यापारी डा. रुप ज्योति पक्राउ

व्यवसायसँगै विपश्यना ध्यान केन्द्र समेत सञ्चालन गरेका डा. ज्योति आध्यात्मिक गुरु समेत हुन् ।

ट्रेडिङ र उद्योग तथा सेवा क्षेत्रमा केन्द्रित रहेको ज्योति ग्रुपले घरजग्गा व्यवसायमा हात हाल्ने निर्णय गर्छ । जसका लागि ल्याण्डमार्क डेभलपर्स प्रालि खोलिन्छ । जसको सेयरधनी ज्योति ग्रुप अन्तर्गतका कम्पनी छन् ।

कम्पनीले बाँसबारीमा रहेको ६ रोपनी ११ आना जग्गालाई कोलनीको रुपमा विकास गर्ने योजना अनुरुप बुकिङ आव्हान समेत गर्यो । २०७१ सालमा ल्याण्डमार्क हाउजिङलाई बिजेन्द्र मल्लले १ करोड ३६ लाख रुपैयाँ दिए ।

सम्झौता अनुसार ६ आना ३ दाममा साढे २ तलाको घर बनाएर कम्पनीले दिनुपर्ने थियो । ल्याण्डमार्कले घर बनाउने जिम्मा सीई कन्सट्रक्सनलाई दिएको थियो ।

घर बनाएर बेच्ने व्यवसाय थालेका ज्योतिले पछि मुड चेञ्ज गरे । सो जग्गामा आफ्नो लागि घर बनाउने सोच बनाए । सो अनुसार अन्य बुकिङकर्तालाई क्षतिपूर्तिसहित पैसा फिर्ता पनि गरे ।

तर मल्लसँग उनको कुरा मिलेन । समस्या त्यहीबाट सुरु भयो । सुरुमा ज्योतिले यो इस्यु सजिलोसँग नै मिल्ने सोचेका थिए ।

‘ज्योतिले सुरुमा यो केसलाई केयरलेस जस्तो गर्नुभयो, पछि इगोले गर्दा केस प्रहरी हुँदै अदालतमा पुग्यो, जसले प्रतिष्ठित व्यवसायीलाई ठगीको आरोपमा जेल पुर्यो,’ ज्योतिसँग निकट रहेका एक व्यवसायीले भने ।

मल्लले गत वर्ष मंसिर १६ मा महानगरिय प्रहरीमा ज्योति विरुद्ध ठगीको मुद्दामा निवेदन दिए ।

व्यक्तिगत लेनदेनको विवाद फौजदारी मुद्दा होइन । यो देवानी मुद्दा हो । फौजदारी मुद्दामा जस्तो देवानी मुद्दामा प्रहरीले पक्राउ गर्नुपर्ने हुँदैन । प्रहरीले पनि मध्यस्तकर्ता गरेर विवाद मिलाउन सक्छ ।

सोही निवेदनका आधारमा काठमाडौं जिल्ला अदालतले ज्योति विरुद्ध पक्राउ पुर्जी जारी गर्यो ।

जिल्ला अदालतको निर्णयलाई ज्योतिले सर्वोच्च अदालतमा चुनौती दिए । सर्वोच्चले तत्काल जिल्ला अदालतको निर्णय कार्यान्वयन नगर्नु भन्ने अन्तरिम आदेश दियो ।

ठगीको आरोपमा ज्योतिको छोरी सुरुची ज्योति समेत पक्राउ परेकी छन् । यो मुद्दामा ज्योतिका बाबुछोरी सहित ९ जना प्रतिवादी छन् ।

तर कात्तिक १८ गते सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणा र प्रकाश ढुंगानाको सयुक्त इजलाशले अन्तरिम आदेश खारेज गर्ने निर्णय सुनाएपछि ज्योतिलाई पक्राउ गर्न बाटो खुला भयो ।

सर्वोच्च अदालतले उनी विरुद्धको अन्तरिम आदेश खारेज गर्दा ज्योति सिंगापुरमा थिए । बिहीबार सिंगापुरबाट फर्कदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ज्योतिका बाबुछोरी पक्राउ परे ।

केही व्यवसायीले देशकै प्रतिष्ठित व्यवसायिक समूहका व्यक्तिलाई प्रहरीले व्यक्तिगत रुपमा मिलाउन सकिने मुद्दामा पक्राउ गरेको विरोध समेत जनाएका छन् । आधारिक रुपमा निजी क्षेत्रका संघसंस्थाले भने केही पनि प्रतिक्रिया जनाएका छैनन् ।

शुक्रबार जिल्ला अदालतमा प्रस्तुत हुँदा ज्योतिले आफू निर्दोष रहेको र अस्पताल नजाने भन्दै जेलमा बसेर नै कानूनी लडाई लड्ने प्रतिक्रिया दिएका छन् ।

डा रुप ज्योतिका दाई पद्म ज्योति नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष हुन् । उनी अहिले इथिक्सको व्यवसाय गर्न पहल गर्ने राष्ट्रिय व्यवसायिक पहलका अध्यक्ष छन् । डा ज्योतिका भतिजा सौरभ ज्योति महासंघको कार्यकारिणी सदस्य हुन् ।


क्लिकमान्डु