मार्दी पदयात्रा: ‘गोल्डेन फिस’ हेर्ने अभिलाषा



एक ट्राभलरले भनेका छन्, ‘द बेस्ट भ्यू कम्स आफ्टर द हार्डेस्ट क्लाइम्ब’ । हो, यही भनाइले यसपटक हामीलाई मार्दी हिमालतर्फ डोर्यायो ।

नमरी स्वर्ग देखिदैन भने झैं, कठिन उकाली नचढी उत्कृष्ट भ्यू देख्न सकिदैन । त्यही कठिन उकाली चढेर ‘मार्दी हिमाल बेस क्याम्प’ पुग्ने एकवर्ष अघिको सपना साकार हुँदै थियो ।

गत वर्ष घान्द्रुक–घोरेपानी–पुनहिलको पदयात्रा गर्दा कसैले भनेको थियो, ‘छोटो पदयात्रा पछिको उत्कृष्ट भ्यूका लागि मार्दी जानुस्’ । त्यही सुझाव सम्झिँदै तिहार बिदा सदुपयोग हुने गरी ‘मार्दी बेस क्याप’का लागि साथीहरु कमलकुमार बस्नेत, सोभित थपलिया र म गरी तीन जनाले यात्रा तय गर्यौं ।

भर्खर दशैं सकिएर तिहारको आगमन हुँदै थियो । सहकर्मीहरू तिहारका लागि घरतर्फ फिर्दैं थिए । हामी भने मार्दी बेस क्याम्प जाँदै थियौं । छोटो अनि रोमाञ्चक पदयात्राका लागि ।

शनिवार समेत गरी ४ दिनको बिदामा हामीले आ–आफ्नो कार्यालयबाट १ ÷१ दिन बिदा लिएर तीनै जना काठमाडौंबाट कास्कीको काँडेका लागि टिकट काट्यौं र बिहीबार साँझ नै मार्दीको साइत गर्यौं ।

शुक्रबार बिहान ४ बजे काँडेमा झर्यौं । काँडे पोखराबाट करिब ३० किलोमिटर पश्चिममा पर्छ । ‘काँडे’ (१७७० मी.) उचाइमा छ ।

वरिपरी जंगल, सडक छेउका होटल पूरै सुनसान । अध्याँरोमा कुन बाटो उकालो लाग्ने भेउ पाउन सकेनौं । यात्रा सुरु गर्न अलमलमा पर्यौं । गुगल म्यापले केही तलबाट उकालो लाग्ने देखाएपछि मात्र थाहा भयो बसले अलिक माथि नै रोकिदिएको रहेछ भनेर ।

केही तलबाट मार्दी बेस क्याम रुट सुरू हुने थाहा पाएपछि एउटा कार रोक्यौं । रातिको समय कारमा यसरी हुँइकिएछ की हामी फेरि मार्दी रुटभन्दा झण्डै १ किमी तल पुगेछौं । कार रोक्यौ र सडकको किनारै किनार हुँदै फर्कियौं ।

सडक छेउमा रहेको होटलमा चिया नास्ता गरी हामी बिहान ६ बजे मार्दी बेस क्याम्पका लागि अघि बढ्यौं । सुरुमै ठाडै उकालो चढ्दै, केही तेर्सो बाटो हुँदै ७ बजे ‘अष्ट्रेलियन क्याम्प’ पुग्यौ ।

‘अष्ट्रेलियन क्याम्प’ (२१६०मी.) उचाइमा पर्छ । अष्ट्रेलियन बेस क्याम्पमा दशैंका लागि पिङ राखिएको रहेछ । थकाइ मार्ने बाहनामा पालैपालो पिङ खेल्यौं। खुल्दै गरेको निलो आकाश र टलक्क टल्किँदै गरेको अन्नपूर्ण दक्षिण, हिमचुली र माछापुछ्रेलाई नियाल्दै ‘पोथाना’ हुँदै ‘पितम देउराली’ को यात्रा गर्यौं ।

‘पितम देउराली’ (२१००मी.) उचाइमा पर्छ । देउराली पुगेपछि खाजा खाइवरी हामी ‘फरेष्ट क्याम्प’तर्फ सोझियौं । ‘फरेष्ट क्याम्प’ (२९०० मी.) उचाइमा पर्छ । यो उचाइमा जानका लागि करिब ४ घण्टाको बाटो तय गर्नुपर्छ ।

हुस्सु लागेको घना जंगल । कहिले घामले चिहाउने त कहिले हुस्सुले ढपक्कै ढाक्ने । घाम र हुस्सुको लुकामारी साच्चिकै रमाइलो थियो । उकालोमा खुट्टा त दुख्ने नै भए फोटो खिच्नु नै सुस्ताउने बाहाना बन्थ्यो हाम्रा लागी ।

उकालो चढ्दै गर्दापछि परियो भने पनि समस्या थिएन । बाटो नछुटोस र अन्यत्रै नलागोस भनेर हरेक ठाउँमा सेता, निला रंगका ध्वजा बाटैभरी रहेर मार्गनिर्देशन गरिरहेका थिए । जसले एक्लै यात्रा गर्ने र बाटो थाहा नहुनेका लागि खासै समस्या नहुने देखिन्थ्यो ।

हामी जाने दिनमा त मार्दी ट्रेल म्याराथन सुरू भएकाले रुखका हाँगाहरुमा विभिन्न रंगका रिबनहरू बाँधिएको रहेछ । तीनै रिबनलाई पछ्याउँदै हिँड्दा यात्रा अझ सहज बनेको थियो ।

बिहानको समय, भोको पेटमा जंगलको बाटो हुँदै उकालोको थकाइ मार्न सोभितका जोक्स सारथी बने । सुन्दै हास्दै, गीत गाउँदै नाच्दै उकाली काट्दै गर्यौं । बाटोभरी उनका जोक्स सुनेरै उकालो काटियो । जहाँ थकानभन्दा हाँसो बढी हुन्थ्यो ।

देउरालीदेखि ‘फरेष्ट क्याम्प’ सम्मको ४ घण्टाको बाटोमा एउटा सानो चिया पसल बाहेक केही थिएन । ठाडो उकालोमा रहेको त्यो पसलमा हामी चिया खायौं ।

काठमाडौंमा १५ रुपैँयामा कालो चिया खाएका हामी एकैपटक ८० रुपैयाँ सजिलैसँग तिर्दै थियौं । पानीको अभाव अनि जंगलको बीचमा रहेको त्यो पसलले धेरैलाई थकान र प्यास मेटाउनका लागि अमृतको काम गरे झैं लाग्थ्यो ।

चिसो हावा अनि घना जंगल र तलबाट माथितर्फ आउँदै गरेको हुस्सुले चिसिएको ज्यानमा त्यो तातो चियाले उकालो चढ्नका लागि छुट्टै उर्जा दिए झैं भयो ।

हामी चिया खान रोकिदा सुरथ गिरीको ३ जनाको समूहसँग भेट भयो । सबैको गन्तव्य एउटै । कहाँबाट कतिबेला यात्रा तय गर्नु भयो ? भन्ने बाहेक हाम्रो खास परिचय भएन । उहाँहरुले हामीलाई विस्तारै आउन सुझाउँदै अगाडि बढ्नु भयो ।

‘फरेष्ट क्याम्प’ गएर बास बस्ने पूर्वयोजना अनुसार हामी १ बजे नै ‘फरेष्टक्याम्प’ पुग्यौं । खाना कहाँ खाने ? कहाँ खाजा खाने र कहाँ बास बस्ने भन्ने पूर्व योजना थियो ।

यात्रामा कुनै तालिका योजना लागू हँुदैन भन्ने कुरा पहिलो दिन नै सावित भयो । अझ भनौं हाम्रो तालिका नै फेल खायो । मैले पहिलो दिनका लागि फरेष्ट क्याम्पको सनराइज गेष्ट हाउसमा बिहीबार नै काठमाडौंबाट अग्रीम बुक गरेको थिए ।

यताबाट मात्र होइन उताबाट पनि कन्फर्मको लागि फोन आएको थियो । छिट्टै ‘फरेष्ट क्याम्प’ पुगेकाले खाना त्यहीँ खाइवरी ‘लो क्याम्प’ को मेलो सार्यौं । ‘लो क्याम्प’ (३०५० मी.) उचाइमा पर्छ ।

यात्रामा छिनभरमा तालिका त बन्ने अनि लागू नहुने रहेछ । खाना खाँदै गर्दा बाटोमा भेट भएका सुरथ गिरीको समूहसँग फेरि भेट भयो । उहाँहरू सुरथ, जनक र अजय गरी ३ जना हुनुहुन्थ्यो ।

सुरथ गिरीले नेपालका धेरै ठाउँ घुमिसक्नु भएको रहेछ । भर्खरै मनास्लुको यात्रा गरेर फर्किदाको अनुभव सुन्दै हामी ‘फरेष्ट क्याम्प’ बाट मार्दी हिमालको ‘लो क्याम्प’का लागि सँगसँगै उकाली चढ्यौं ।

परिचय, अरू यात्राका अनुभव सुन्दै अनि सुनाउँदै । ‘शे–फोक्सुण्डो’ यात्रा सुन्दा यसपछिको गन्तव्य ‘शे–फोक्सुण्डो’ बनाउन मन लाग्यो । फरेष्ट क्याम्पबाट बाक्लो जंगल, अप्ठेरो बाटो छिचोल्दै २ घण्टाको उकालो उक्लिए पछि ‘लो क्याम्प’ पुग्याै ।

‘लो क्याम्प’ ४ बजे पुगी चिया र बिस्कुट अनि चाउचाउ खायौं । यहाँ चिया ८० रुपैयाँ पर्दो रहेछ उही ‘कालो चिया’ ।

पूर्व योजना विपरीत बास बस्ने ठाउँ २ घण्टाको उकालो बादल डाँडा पुग्ने भयौं । त्यसैले ६ जनाको टोलीले ‘बादल डाँडा’ का लागि खुट्टा सोझ्यायौं । ‘बादल डाँडा’ (३३०० मी.) उचाइमा पर्छ ।
‘लो क्याम्प’बाट गुराँसको जंगल हुँदै कुहीरोसँग लुकामारी खेल्दै, उकालीसँग मितेरी गाँस्दै, थकाइ लागे थचक्क भुँइमा बस्दै, आराम गर्दै बादल डाँडाको दुरी घटाउँदै गयौं ।

अस्ताउदै गरेको सूर्य र कुहिरोले हामीलाई गन्तव्यमा छिटै पुग्न सल्लाह दिँदै थिए । तर लामो यात्रा तय भएकाले ‘बादल डाँडा’पुग्न सकस भएको थियो । ‘बादल डाँडा’भन्दा केही तल पुग्दा कमल अनि सोभितले माछापुच्छ्रेको चुचुरो सूर्यास्तको दृश्यलाई आ–आफ्नो मोबाइल कैद गर्दै थिए ।

सूर्यास्तको पहेँलो किरण माछापुच्छ्रेको टुप्पोमा पर्दा सुनौलो देखिन्थ्यो । माछापुच्छ्रेको टुप्पोबाट बिस्तारै घाम विलिन हुँदै गर्दा केही थान फोटोहरू खिच्दैओराली अनि उकाली लाग्दै कुहिरोभित्र पस्दै निस्कदै ‘बादल डाँडा’ पुग्यौं ।

बादल डाडाँमा पुग्दा भेंडाको बथान अनि घाँसे मैदान उस्तै चिसो कुहिरो । ‘बादल डाँडा’ जस्तो नाउँ उस्तै ठाउँ रहेछ । छिनभरमा कुहिरोले ढपक्क ढाक्ने छिनभरमा विलिन हुने ।

कतिबेला कुहिरोले बेर्छ थाहा नै नहुने, साच्चिकै गज्जबको मौसम रहेछ । माछापुच्छ्रे हिमालसँग बादलको लुकामारी र सिरसिर हावाले बिहानदेखिको थकान मेटाएको थियो ।

बादल डाँडाको ‘३६० डिग्री’ होटलमा पहिलो दिनको बास बस्यौं । कुहिरोले ढपक्क ढाकेको हुँदा चिसो बढ्दै थियो । कोही डाइनिङ रुममा आगो ताप्दै गफगाफमा व्यस्त, कोही चाहीँ खाना खान । हामी पनि आगो ताप्दै, चियाको चुस्की लिँदै दिनभरका गफगाफमा मस्त भयौं ।

२ दिनको यात्रा, एकैदिनमा पूरा गरेकोमा हाम्रो ‘मार्दी बेस क्याम्प’ अब एक दिन छोटिँदै थियो । बिहान चाडै उकालो सुरू गर्नुपर्ने भएकाले खाना खाइवरी ठण्डी ठाउँमा सिरकसँगै गुटमुटियौं ।

अर्को दिन रातिनै ३ बजे हामी बिउझियौं । अघिल्लो दिनको योजनामुताबिक हामी बादले डाँडाबाट साढे ३ बजे सूर्योदयको मनोरम दृश्य नियाल्नका लागि निस्कियौं ।

यात्राको जतिनै पूर्व तयारी गरेको छु भने पनि केही न केही छुटेकै हुन्छ । यस पटक पनि यस्तै भयो । टर्च नै राख्न भुलेछौं । एक जनाले हो र ? तीनै जनाले ।

निष्पट अन्धकार रातमा कुहिरोभित्र पस्दै मोबाइल र सुरथ सरसँग भएको टर्च बाल्दै साघुरो उकालोतर्फ लाग्यौं ‘मार्दी बेस क्याम्प’का लागि ।

बादल डाँडाबाट उकालो लग्ने हामी ६ जना मात्र थियौं । रात बाँकी नै रहेकाले जंगली जनावरको डर पनि उस्तै थियो । सोभितले चितुवा हुन सक्ने बताउँदै थिए ।

त्यतिकैमा एउटा मृगले हामीलाई तर्साइ हाल्यो । तेज गतिमा दौडिएको मृग केही पर पुगेर बढो चनाखो हुँदै हामीलाई नियाल्दै थियो । हामी पनि उसका टल्केका आँखा हेर्दै अगाडि बढ्यौं ।
करिब डेढ घण्टाको हिडाइ पछि ‘हाइ क्याम्प’ पुग्यौं । ‘हाइ क्याम्प’ (३५०० मी.) उचाइमा पर्छ ।

उचाइ अनि अघिल्लो दिनको धेरै हिडाइ र थकाइसँगै सास फेर्न साह्रै गाह्रो । मुस्किलले उकालो चढ्दै थियौं । बिस्तरै ती अफ्ठ्यारा अनि आङै सिरिङ्ग बनाउने भिरको उकालो चढ्यौं । त्यो पनि टर्चलाईटको भरमा ।

भीर पनि कस्तो भने खुट्टा दायाँबायाँ भए ज्यान जान सक्ने । न समाउने बुटाबुटी, त न अडिने ठाउँ नै । ज्यादै होसियारी अपनाउनु पर्ने रहेछ यो ट्रेकमा । यसैले म भन्छु मार्दी यात्रामा एक्लै ननिस्कनुहोला ।

एक्लै पदयात्रामा निस्कनु भएको छ भने पनि कम्तीमा मार्दी जाने अन्य समूहलाई साथी बनाउनु होला । जति माथि उक्लियो उति थकान बढ्दै थियो । गोडाहरू पाइला सर्न मानिरहेका थिएनन् । तर गन्तव्य नजिकै आइपुग्यो भन्दा छुट्टै उमंग पैदा हुन्थ्यो ।

मार्दी हिमालको ‘अपर भ्यू पोइन्ट’ पुग्दा नपुग्दै सूर्योदय हुँदाको त्यो क्षणको बयान गर्न सकिँदैन । ‘अपर भ्यू पोइन्ट’ (४२०० मी.) उचाइमा पर्छ । आँखै अघि सिङ्गै माछापुच्छ्रे हिमाल ! मौसम पनि यसरी खुल्यो कि हामीलाई नै कुरेर बसे जस्तो ।

मेरो पद यात्राको एउटा उद्देश्य आँखै अगाडि हिउँचुली माछापुच्छ्रे अन्नपूर्ण अनि अरू हिमाल हेर्नु थियो । त्यो पनि सुनको लेपन लगाएका । साच्चिकै ‘गोल्ड’ । मलाई नियाल्नु थियो, गोल्डेन फिसको टुप्पो । टाढाबाट होइन, नजिकैबाट ।

जसमा विस्तारै चाँदीको लेपन लाग्ने छ, माछापुच्छ्रेले रंग फेर्नेछ अनि बन्नेछ गोल्डेनबाट ‘सिल्भर’ । र, फेरि उस्तै चाँदी जस्तै टलक्क टल्किरहनेछ, बादलुले घुम्टो नहालुन्जेल ।
टंकदाईको पसलमा चिया खायौं । चिया एक कपको २०० पर्दो रहेछ । त्यस पछि साथीहरू फोटो खिच्न व्यस्त भए ।

मसँग न राम्रो लेन्स भएको क्यामेरा थियो, न त फोटो खिच्न मिल्ने मोबाइल नै । थियो त केबल ४००० मेगापिक्सलको आफ्नै आँखाको लेन्स ।

मलाई यस्तो लाग्थ्यो, अन्नपूर्ण साउथ, हिमचुली, माछापुच्छ्रे, मार्दी अनि अन्य हिमालहरुका तस्वीर क्यामेरामा होइन आँखाले खिचेर मस्तिष्कमा कैद गर्नुपर्छ जीवन पर्यन्त सुरक्षित हुने गरी ।

अपर भ्यू प्वाइन्टबाट करिब दुई घण्टामा ‘मार्दी बेस क्याम्प’ पुग्यौं । ‘मार्दी बेस क्याम्प’ (४५०० मी.) मिटर उचाइमा पर्छ ।

केही उकालो चढेर मार्दी बेस क्याम्प पुग्दाको खुसी अनी उत्साहको कुनै परिधी रहेन । साच्चिकै ‘सबै भन्दा राम्रो दृश्य कठिन चढाइ पछि नै आउँदो रहेछ’ ।

आफ्नो गन्तव्यमा पुग्दाको पल नै सबैभन्दा खुसीको पल हो । योभन्दा खुसी अनि आनन्दको कुनै पल हुँदैन एउटा पद यात्रीलाई ।

यहाँबाट देखिने त्यो हिमालको दृश्यले मन यति रामाइरहेको थियो कि अझै निकैबेर यही हिमालको काखमा बसिरहुँ । रमाइरहुँ । सारा संसार भुलीरहुँ ।

एकतमासले चिहाइरहुँ जस्तो हुन्थ्यो । मलाई मात्र होइन । यति कठिन यात्रा गरेर उत्कृष्ट भ्यू हेर्न जाने सबैलाई यस्तै भइरहेको थियो ।

उनीहरुको खुसी अनि उमंग छताछुल्ल पोखिएको देखिन्थ्यो । फोटोको पोज, अनुहार अनि आँखामा । साथीहरुको मोबाइल अनि क्यामरामा तस्वीरहरू लिएर ‘बादल डाँडा’ फकिँदा भोक, थकान अनि तिर्खाले लखतरान भयौं ।

बादल डाडाँमै खाना खाइवरी आफूले छाडेका सामान अनि ब्यागहरू बोकेर हिमालको सामिप्यमा रमाएका ती अविष्मरणीय क्षणहरू जीन्दगीभरका लागि संगाल्दै घरतर्फको गन्तव्यमा लाग्यौं ।

र, आफैसँग बाचा गर्यौ, अर्कोवर्ष यसैगरी नयाँ पदयात्रामा निस्कने छौं ।


क्लिकमान्डु