ओमका सीइओले एनएमबि बैंकमा स्थान नपाउने, यसरी गरियो कर्मचारी समायोजन



काठमाडौं । एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यही भदौ महिनाभित्रै एकीकृत कारोबार गर्ने योजनाका साथ मर्जरको काम भइरहेको छ ।

मर्जरको सबैभन्दा जटिल समस्या रहेको कर्मचारी समायोजनको कुरा मिलिसकेको एनएमबि बैंकका उच्च अधिकारीहरु बताउँछन् । कर्मचारी समायोजन सम्बन्धी सहमति अनुसार ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) विश्वमोहन अधिकारीले एनएमबिमा कर्मचारीकोरुपमा स्थान पाउने छैनन् ।

ओमलाई गाभेपछिको एनएमबि बैंकः निक्षेप र कर्जामा ७औं अनि नाफामा ९औं नम्बरमा, अरु सूचक कस्ता ?

‘ओमका सीइओ विश्वमोहनजी भीएसआर लिएर बाहिरिनु हुनेछ, आन्तरिकरुपमा अरु कर्मचारीको समायोजन टुंगो लागिसकेको छ,’ बैंक स्रोतले क्लिकमाण्डूसँग भन्यो, ‘डेपुटी सीइओ बुद्धि मल्ल एनएमबिमा रहनुहुनेछ, तर उहाँको पद भने फिक्स भइसकेको छैन ।’

ओम डेभलपमेन्ट बैंकमा ४ सय ४३ कर्मचारी कार्यरत थिए । जसमध्ये ७० जनाको समायोजन नहुने भएको छ । सीइओ र म्यासेञ्जर, ड्राइभर र अन्य सपोर्टिङ्ग स्टाफको समायोजन नहुने भएको हो ।

स्रोतका अनुसार एनएमबिले मल्ललाई अहिले चिफ म्यानेजर दिने र ६ महिनापछि एसिस्टेन्ट जेनेरल म्यानेजर (एजीएम) दिने प्रस्तावसहितको मोडालिटि तयार पारेको छ ।

‘डेपुटी सीइओलाई समायोजन गर्ने हो तर पद टुंगो लागिसकेको छैन, केही दिनमै टुंगो लाग्छ,’ एनएमबि स्रोतले भन्यो ।

ओमका कर्मचारीलाई सम्मानजनक समायोजन गर्छौंः एनएमबि बैंकका सीइओ केसीको अन्तर्वार्ता

यद्यपि ओमका अधिकारीहरु भने मल्ललाई अहिले नै एजिएम दिनुपर्ने अडान राख्दै आएका छन् । किनभने ११ वर्षअघि तत्कालिन राइजिङ डेभलपमेन्ट बैंकका सीइओ भएका मल्ल त्यसपछि ओम फाइनान्सका सीइओ थिए । ८ वर्ष सीइओ भएका उनी मर्जपछि बनेको ओम डेभलपमेन्ट बैंकमा एक तह घटेर ३ वर्षदेखि डेपुटी सीइओको रुपमा कार्यरत छन् । सीइओ र डेपुटी सीइओ भएर संस्था हाँकिसकेको व्यक्तिलाई कम्तिमा पनि एजीएम दिनुपर्ने ओमको तर्क छ ।

ओम डेभलपमेन्ट बैंकमा ४ सय ४३ कर्मचारी कार्यरत थिए । जसमध्ये ७० जनाको समायोजन नहुने भएको छ । सीइओ र म्यासेञ्जर, ड्राइभर र अन्य सपोर्टिङ्ग स्टाफको समायोजन नहुने भएको हो । ओमका कर्मचारी एनएमबिमा एक तह तल्लो पदमा समायोजन भएका हुन् ।

तर, म्यासेञ्जर, ड्राइभर र सपोर्टिङ्ग स्टाफलाई पछि आउट सोर्सिङ्ग गरेर बैंकमा स्थान दिइने सहमति बनेको छ ।

‘कर्मचारी समायोजनको सबै काम टुंगिसकेको छ, कुन कर्मचारीलाई कहाँ खटाउने भनेर डाटा एनालाईसिस गरिरहेका छौं,’ एनएमबि स्रोतले भन्यो, ‘सकेसम्म कर्मचारीलाई पायक स्थानमा खटाइने छ । धेरै सोचबिचार गरेर सम्मानजनक समायोजन गरेका छौं ।’

यी दुई बैंकबीच गत जेठ २ गते मर्जरमा जाने सैद्दान्तिक सहमति भएको थियो । मर्जरसम्बन्धी सम्झौतापत्रमा एनएमबिका तर्फबाट सञ्चालक प्रदिपराज पाण्डे र ओमका तर्फबाट सञ्चालक योगेन्द्रलाल प्रधानले हस्ताक्षर गरे ।

हस्ताक्षर कार्यक्रममा एनएमबिका अध्यक्षा पबनकुमार गोल्यान, सीइओ सुनिल केसी, ओमका अध्यक्ष सुशील गोसेली, सीइओ विश्वमोहन अधिकारी लगाय सञ्चालक तथा कर्मचारीहरुको बाक्लो उपस्थिति थिए ।

राष्ट्र बैंकले भने एनएमबि र ओमको मर्जरलाई गत असार ९ गते सैद्दान्तिक सहमति दिएको थियो ।

सेयर आदानप्रदान रेसियो पनि मिलिसकेको छ । ओममा १०० कित्ता सेयर भएका सेयरधनीले मर्जपछि एनएमबि बैंकको ७६ कित्ता सेयर पाउने छन् ।


पुष्प दुलाल