ओमलाई गाभेपछिको एनएमबि बैंकः निक्षेप र कर्जामा ७औं अनि नाफामा ९औं नम्बरमा, अरु सूचक कस्ता ?



काठमाडौं । एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंक एकआपसमा गाभिने भएका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

यी दुई बैंक गाभिएपछि बन्ने एनएमबि बैंक निक्षेप र कर्जाका आधारमा वाणिज्य बैंकहरुको सूचिमा ७ औं स्थानमा झर्ने छ भने नाफाका आधारमा नवौं स्थानमा पर्ने छ ।

हाल एनएमबि बैंक निक्षेपका आधारमा १३औं र कर्जा प्रवाहका आधारमा १२औं नम्बरमा छ । ओमलाई गाभेपछि एनएमबि निक्षेपमा ६ र कर्जामा ५ स्थानले बैंकको र्याङमा सुधार आउने भएको छ ।

हामीसँग यसअघि नै सफल मर्जकोअ नुभव छ, ओमसँगको मर्जर पनि त्यस्तै सफल हुनेछ, कुनै समस्या आउने छैनन्,’ सीइओ केसीले भने, ‘हामीले करिबकरिब सबै विषयलाई एक किसिमले टुंगोमा पुर्याएर मर्जरको घोषणा गरेका छौं ।’

मर्जरपश्चात बैंकको कूल पुँजी तथा जगेडा कोष २० अर्ब ४२ करोड, निक्षेप १ खर्ब १९ अर्ब १३ करोड र कर्जा १ खर्ब १० अर्ब रुपैयाँ पुग्नेछ ।

हाल एनएमबि बैंकको निक्षेप ९३ अर्ब ९६ करोड रुपैयाँ छ भने कर्जा ८७ अर्ब २ करोड रुपैयाँ रहेको छ । त्यस्तै, ओम डेभलपमेन्ट बैंकको निक्षेप २४ अर्ब ७९ करोड र कर्जा २२ अर्ब ४९ करोड रुपैयाँ छ ।

त्यस्तै, ०७५ चैत मसान्तमा एनएमबिले गत वर्षको सोही अवधिको भन्दा १९ प्रतिशतले बढाउँदै १ अर्ब ६५ करोड ११ लाख २६ हजार रुपैयाँ नाफा कमाएको छ भने ओमले ३४ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको छ । मर्जरपछि बैंकको नाफा २ अर्ब पुग्नेछ । चैत मसान्तको वित्तीय विवरण अनुसार २ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाउने बैंक ८ वटा मात्रै भएकाले यो बैंक नाफाका आधारमा नवौं बन्ने देखिएको हो ।


हाल एनएमबिका ११० शाखा र ४ एक्सटेन्सन काउन्टर छन् भने ओमका ५३ शाखा र १ एक्सटेन्सन काउन्टर छन् । मर्जरपछि १६३ शाखा र ५ एकसटेन्सन काउन्टर हुने छन् ।

त्यस्तै, हाल एनएमबिका १०१ एटीएम र ओमका १९ एटीएम छन् । मर्जरपछि एटीएमको संख्या १२० पुग्नेछ ।

प्रतिसेयर आम्दानी २२ रुपैयाँ ८९ पैसा रहेको एनएमबिको प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ २२ पैसा रहेको छ । प्रतिसेयर आम्दानी १८ रुपैयाँ ४१ पैसा रहेको ओमको प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ७० पैसा रहेको छ ।

ओम डेभलपमेन्ट बैंकका सीइओ विश्वमोहन अधिकारीले मर्जर सफल बनाउन आफूहरु अहोरात्र खट्ने प्रतिवद्धता जनाए ।

मर्जरसम्बन्धी सम्झौतापत्रमा एनएमबिका तर्फबाट सञ्चालक प्रदिपराज पाण्डे र ओमका तर्फबाट सञ्चालक योगेन्द्रलाल प्रधानले हस्ताक्षर गरे ।

हस्ताक्षर कार्यक्रममा एनएमबिका अध्यक्षा पबनकुमार गोल्यान, सीइओ सुनिल केसी, ओमका अध्यक्ष सुशील गोसेली, सीइओ विश्वमोहन अधिकारी लगाय सञ्चालक तथा कर्मचारीहरुको बाक्लो उपस्थिति थियो ।

बैंकको विश्वास र क्षमता बढाउन, वित्तीय प्रणालीलाई सबल बनाउँदै स्थायित्व कायम गर्न मर्जरमा जाने निर्णय गरिएको दुबै बैंकका अध्यक्षले बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले अगामी साउन १ गतेदेखि एकीकृत कारोबार गर्ने लक्ष्य रहेको जानकारी दिए ।

एनएमबि बैंकले यसअघि पनि धेरैवटा संस्थालाई गाभेको र राम्रो इफिसिएन्सी देखाएर प्रमाणित गरेको उदाहारण दिँदै सीइओ केसीले ओमसँगको मर्जरमा कुनैपनि समस्या आई नपर्ने जिकिर गरे ।

‘हामीसँग यसअघि नै सफल मर्जकोअ नुभव छ, ओमसँगको मर्जर पनि त्यस्तै सफल हुनेछ, कुनै समस्या आउने छैनन्,’ उनले भने, ‘हामीले करिबकरिब सबै विषयलाई एक किसिमले टुंगोमा पुर्याएर मर्जरको घोषणा गरेका छौं ।’

कर्मचारी समायोजन र सेयर आदानप्रदान रेसियोमा कुरा मिलिसकेको उनले जानकारी दिए ।

‘डीडीए गर्छौं, डीडीएमा जे देखिन्छ त्यसलाई दुबै बैंकले मान्छौं,’ उनले भने ।

ओम डेभलपमेन्ट बैंकका सीइओ विश्वमोहन अधिकारीले मर्जर सफल बनाउन आफूहरु अहोरात्र खट्ने प्रतिवद्धता जनाए । यसअघि प्राइम बैंकसँग एक्विजिसन प्रक्रियामा रहेको ओमले गत बैशाख महिनामा प्रक्रिया तोडेर एनएमबिसँग मर्जरको सम्झौता गरेको हो ।


पुष्प दुलाल