ओमका कर्मचारीलाई सम्मानजनक समायोजन गर्छौंः एनएमबि बैंकका सीइओ केसीको अन्तर्वार्ता

क्लिकमान्डु २०७६ असार ३ गते १४:४४ मा प्रकाशित

एघार वर्षअघि फाइनान्स कम्पनीबाट वाणिज्य बैंकमा स्तरोन्नति भएको एनएमबि बैंक देशकै ठूला १० बैंकमा पर्न सफल भएको छ । बैंकले एकनासको वृद्धि गर्दै आफूलाई बलियो बनाउँदै लगेको छ । विदेशी संस्थाबाट ऋण ल्याउने एकमात्र बैंक पनि हो एनएमबि । यसअघि ४/५ वटा विकास बैंकलाई मर्ज गरेर सहज व्यवस्थापन गर्न सफल यो बैंकले ओम डेभलपमेन्ट बैंकलाई गाभ्दैछ । पछिल्लोसमय बैंकिङ व्यवसायमा देखिएको उत्तारचढाब, तलरता संकट, मर्जरको व्यवस्थापन लगायतक विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीसँग क्लिकमाण्डूका लागि कमलकुमार बस्नेत र नारायण पौडेलले गरेको कुराकानीः

जेठ २ गते ओम डेभलपमेन्ट बैंकसँग मर्जरको सम्झौता भयो । कहिलेदेखि एकीकृत कारोबार शुरु हुन्छ ?

हाीले मर्जरमा जाने समझदारी गरेपछि स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाएका छौं । राष्ट्र बैंकले एलओआई दिइसकेपछि सबै काम टुंग्याएर २ महिनाभित्र एकीकृत कारोबार शुरु गर्छौं ।

टुंग्याउन बाँकी के-के काम छन् त ?

करीब सबै कुरा टुंगिसकेको छ । यद्यपि अझैपनि केही विषय टुंगोमा पुगिसकेका छैनन् । प्रक्रियामै रहेकाले यहाँ डिस्क्लोज गर्न मिल्दैन ।

कर्मचारीको समायोजन कसरी गर्ने ?

हामीले पहिले पनि यस्तै खालको मर्जर गरेका हौं । सबै कर्मचारीलाई सम्मानजनक हिसाबले समायोजन छौं ।

यो त कुटनीतिक जवाफ भयो, ठ्याक्कै भनिदिनुस् त कर्मचारी समायोजन कसरी हुन्छ ?

विस्तृतरुपमा कुरा गर्न त अझै बाँकी छ । उहाँहरु पनि राम्रो काम गरिरहेको बैंक हो । त्यसैले कर्मचारी समायोजनका लागि त्यतिधेरै समस्या नआउला ।

एनएमबीको उच्च व्यवस्थापनमा ओमले स्थान पाउला कि नपाउला  ?

केही स्थानमा त उहाँहरुको प्रतिनिधित्व हुन्छ नै । कुनमा कसरी भन्ने अहिलेसम्म फाइनल भइसकेको छैन् । अहिले एलओआई नै नआइसकेकाले हामीले निर्णय गरेका छैनौं । त्यसबारेमा अझै छलफल गर्न भइरहेको छ । एनएमबिसँग पहिले पनि अनुभव भएकाले समायोजनमा कुनै समस्या आउँदैन् । हाम्रो आफ्नै खालको कर्मचारी बिनियमावली छ । एनएमबि बैंककै कर्मचारी बिनियमावलीमा जाने भन्ने पक्का कुरा हो । हामी सकेसम्म सबैलाई मिलाएर जाने भन्नेमा छौं ।

ओमलाई गाभेपछिको एनएमबि बैंकः निक्षेप र कर्जामा ७औं अनि नाफामा ९औं नम्बरमा, अरु सूचक कस्ता ?

मर्जरका लागि ओम नै किन रोज्यो एनएमबिले ?

ओमसँग अहिले मात्रै होइन, पहिलेदेखि नै कुरा भएको हो । पहिले पनि एक लेभलसम्म कुरा भएको थियो । ४ नम्बर प्रदेशमा हाम्रो उपस्थिति तुलनात्मकरुपमा कमजोर रहेकाले हामी पनि यस्तै संस्था खोजिरहेका थियौं । ओमसँग कुरा मिल्यो अनि मर्जरको प्रक्रिया अगाडि बढ्यो । प्रदेश ४ मा धेरै अवसरहरु पनि छ । र, ओम जस्तो राम्रै खालको काम गरिरहेको बैंक हुँदा सजिलो हुने भएकाले योजनाबद्ध ढंगले नै मर्जर गरेका हौं । यो दुबैको आवश्यकता हो, एक पक्षको आवश्यकता मात्रै होइन । यसले दुबै पक्षलाई फाइदा नै गर्छ ।

तलरता नहुने चूनौती मात्रै नहोला अवसरका रुपमा पनि लिन सकिन्छ । बैंकले पनि नयाँ ढंगले अगाडि बढ्नु पर्नेछ ।

सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) चैं कति हो ?

अहिले ड्यु डेलिजेन्स अडिट (डिडिए) रिपोर्ट आइसकेको छैन् । पहिले डिडिए आइसकेपछि मात्रै कति स्वाप रेसियो हुने भन्ने हुन्छ । उहाँहरुले पनि राम्रै गरिरहनु भएको छ । आश्चर्यजनकरुपमा त नहोला । अब त्यो रिपोर्ट आइसकेपछि नै जानकारी होला । अहिले त्यस्तै सहमति भएको छैन ।

एनएमबिले यसअघि पनि मर्जर गरिरहेको छ । तर अहिलेसम्म केही समस्या देखिएको छैन । यति राम्रो व्यवस्थापन कसरी भयो ?

यो राम्रो व्यवस्थापन कै कारणले गर्दा भयो । सबैलाई ग्रो गर्दै तालिमहरु दिँदै सबैको वृद्धि विकास गर्दै अगाडि बढेकाले मात्रै यो सम्भव भएको हो ।

११ वर्ष अगाडि तपाईले एनएमबिमा काम सुरु गर्दा र आजको अवस्थामा कत्तिको भिन्नता पाउनु भएको छ ?

तत्कालिन समयमा हामी सानो बैंकका रुपमा २५औं नम्बरमा आएर शुरु गरेका हौं । हामी योजनाबद्ध ढंगले नै आएका हौं । शुरुमा होलसेल बैंकका रुपमा आएका थियौं । एउटा लेभलमा थोरै शाखाहरुबाट सुरु गरेका हौं । पछि शाखाको नेटवर्क विस्तार गर्ने क्रममा प्रदेश नम्बर १ र ५ मा विस्तारलाई बढावा दियौं । निरन्तर रुपमा सस्टेनेइबल ग्रोथका रुपमा जानु पर्छ भन्ने आधारमा हामी अगाडि बढ्यौं । र, आजका दिनसम्म आइपुगेका छौं । १०/११ वर्षमा हामी अगाडि बढेका छौं । धेरै एग्रेसिभ पनि छैनौं । हामी दीर्घकालिन रुपमा वृद्धि हुने गरी अगाडि बढिरहेका छौं ।


अहिलेसम्म विदेशी संस्थाबाट ३५० करोड जति ऋण लिएका छौं । अर्को फेरि पटक पनि ऋण लिने तयारी गरिरहेका छौं । विदेशबाट पैसा ल्याउँदा तरलताका लागि फाइदा गर्छ । र, अर्को कुरा विदेशी कम्पनीहरुले पनि नेपालमा लगानी गर्नु भनेको पनि राम्रो संकेत हो ।

विकास बैंकसँग मात्रै मर्जर गर्ने कि वाणिज्य बैंकसँग पनि गर्ने हो ?

मर्जर जोसँग पनि गर्न सकिन्छ । हाम्रा लागि प्रदेश नम्बर ७ मा धेरै अवसर छन् । सोही हिसाबले पनि जान सकिन्छ । तर त्यसका लागि हाम्रा केही मापदण्डहरु छन् त्यो पूरा भएपछि मात्रै मर्जरमा जाने हो । बैंकलाई अगाडि बढाउने निर्देशन भइसकेपछि हामी विस्तारमा लागि रहेका छौं ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुको संख्या धेरै भयो । त्यसैले वाणिज्य बैंकबीचको मर्जरलाई अघि बढाउन खोजिरहेको छ । तपाईंहरुले कस्तो तयारी गरिरहनु भएको छ ?

केन्द्रिय बैंकले त्यसप्रकारको नीति ल्यायो भने त पक्कै पनि जानुपर्छ । त्यसमा कुनै समसस्या भएन । अब जहाँसम्म संख्याको कुरा हो जहाँसम्म बलियो हुनु राम्रो हो । तर कति संख्या भए ठिक हो त भन्ने आधार चाहिन्छ । संख्याभन्दा पनि गुणस्तर ठूलो कुरा हो । अझै पनि गाउँ–गाउँ गएर शाखा विस्तार गर्दा पनि अझै पनि पहुँच सबै ठाउँमा पुग्न सकेको छैन । सबै बैंकले लाइसेन्स पाएरै भएका हुन । २८ वटा बैंक भएर पनि गर्ने वा १४ वटा भएर गर्ने भन्ने हो । हाम्रो अर्थतन्त्रको विकासका लागि बैंकिङ क्षेत्रले गर्नुपर्छ भन्ने हो ।

नेपालमा बैंकिङ क्षेत्र र अर्थतन्त्रको विकास समानरुपले भएन, बैंकहरु मोटाए तर अर्थतन्त्र राम्रो भएन भन्ने बहस पनि चलिरहेको छ । तपाईंलाई कस्तो लाग्छ ?

त्यसलाई सकारात्मक रुपमा हेर्नुपर्छ जस्तो लाग्छ । त्यो अवस्थामा पनि बैंक चलेकै हुन । अर्थतन्त्रलाई आजको समयसम्म ल्याउनका लागि बैंकले पनि सहयोग गरिरहेका छन् । त्यसबाहेक सामाजिकरुपमा पनि भूमिका खेलेको छ । बैंक मात्रै माथि जाने अरु नजाने भन्ने हुँदैन । आजको दिनमा अरु सबै क्षेत्र खत्तम नै भएको भए बैंक अगाडि बढ्न सक्ने थिएनन् ।

बैंकर्स संघले भद्र सहमति भन्दै निक्षेपको बयाजदरमा कार्टेलिङ गर्यो तर कर्जाको ब्याजदरमा त त्यस्तो कुनै सहमति गरेको छैन नि ?

डिपोजिटको कुरामा हामीले सहमति नगरी जाँदा बजारमा समस्या आउँथ्यो । त्यसमा पनि धेरै तर्कहरु भए । आजका दिनमा सिस्टममा राख्नका लागि राम्रो काम भएको हो ।

बैंकहरुको ब्याजदर चर्को भयो । यसले ऋणीहरु मारमा परे भन्दै उद्योगी व्यवसायीहरु सडक आन्दोलन मै उत्रिन बाध्य भए । यद्यपि अहिलेसम्म बैंकले ब्याजदर घटाएका छैनन् नि किन ?

आजको दिनमा बैकिङ क्षेत्रले हाइड्रोपावरमा लगानी नगरेको भए आज लोडसेडिङ हट्ने पनि थिएन । ब्याजदर सानो कुरा हो । बैंकले धेरै ठाउँमा लगानी गरेको छ । धेरै ठाउँमा रिक्स लिएर नै गएको छ । आजभन्दा ३० वर्षभन्दा पहिले र आजको अवस्था धेरै फरक छ । बैंकिङ क्षेत्रले धेरै ठाउँमा परिवर्तन ल्याएको छ । आजका दिनमा ब्याजदरका हिसाबले सामान्य विरोध आउनु स्वभाविक नै हो । त्यसैले बैंकले गरेन भन्नु भन्दा पनि धेरै कुराहरु योगदान गरेको छ । त्यसैले सबैतर्फबाट हेर्नुपर्छ जस्तो लाग्छ ।

यो वर्ष एनएमबिको लक्ष्य अनुसारको ग्रोथ भयो कि भएन ?

हामीले लक्ष्य अनुसारको वृद्धि गर्छौ । गत वर्षको मोनिटरी पोलिसीले २० प्रतिशतको वृद्धिको कुरा गरेको थियो र हामी सोही अनुसारले वृद्धि गरिरहेका छौं । यसका लागि हामीले बाहिरबाट पनि पैसा ल्यायौं । हामी एउटा मात्रै क्षेत्रमा केन्द्रित भएनौं । त्यसैले पनि वृद्धि भएको हो ।

यो वर्ष असार लाग्दासम्म पनि लगानी योग्य पुँजी (तरलता)को अभाव छ । आगामी वर्षमा कस्ता चूनौति देख्नुहुन्छ ?

चूनौतिहरुसँग अवसरहरु पनि छन् । तलरता नहुने चूनौती मात्रै नहोला अवसरका रुपमा पनि लिन सकिन्छ । बैंकले पनि नयाँ ढंगले अगाडि बढ्नु पर्नेछ । अहिलेको ग्रोथ कम भएर ट्रेड डेफिसिट र रेमिट्यान्स अहिलेको अनुसारले अगाडि गइरहने हो भने ३/४ वर्षपछि करेन्ट अकाउन्टको डेफिसिटमा पनि ५ प्रतिशतको हारहारीमा आइपुग्छ होला । यसमा समस्या हुँदैन् ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स