‘सीइओ’ पदको लोभ गर्दा निरज श्रेष्ठको करियरमा धक्का, बिओके ताक्दा जनताको अबसर पनि गुम्यो



काठमाडौं । संसारभर अधिकांश मान्छेहरु पद, पैसा र पावर (शक्ति)का पछि दौडिन्छन् । यो मानवीय स्वभाव नै हो । यी नै ३ चिज प्राप्त गर्न मान्छेहरु लालायित हुनु स्वभाविक हो पनि ।

तर, यी कुरा प्राप्त गर्नका लागि मान्छेले निर्णय गर्दा कहिलेकाहीँ उक्त निर्णयले आफ्नो करियरमै धक्का पुर्याउँछ । यसैको शिकार बनेका छन् बैंकर निरज श्रेष्ठ ।

सनराइज बैंकको सञ्चालक समितिको बहुमतको निर्णयले निरज श्रेष्ठलाई ०७६ असार २ गतेदेखि लागू हुनेगरी प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ति गर्यो ।

सीइओ नियुक्तिमा बखेडा झिक्दा शैलेन्द्रलाई युवराज खतिवडाले यस्तो ‘ट्रिट’ गरेका थिए

सञ्चालक समितिको उक्त निर्णयमाथि असहमति जनाउँदै सञ्चालकद्धय सैलेन्द्र गुरागाईँ र मालचन्द्र दुगड सीइओ नियुक्तिको विरोध गरे । उनीहरुको विरोध बहुमतले नसुनेपछि राष्ट्र बैंकमा उजुरी दिए ।

त्यसपछि निरज श्रेष्ठको नियुक्ति अन्योल बन्यो । सञ्चालक समितिले आशा राणा अधिकारीलाई कायममुकायम सीइओको जिम्मेवारी दिइएको छ ।

सनराइज बैंकका अध्यक्ष दुगड भन्छन्- शैैलेन्द्रजीले धोका दिनुभयो

शैलेन्द्र र मालचन्द्रको असहमतिले सीइओ नियुक्त भइसकेका निरज श्रेष्ठको करियरमा नराम्रो धक्का लागेको छ ।

३० वर्षे बैंकिङ करियरको उत्तरार्धमा निरज श्रेष्ठ ग्लोबल आइएमइ बैंकको डेपुटी सीइओ र माछापुच्छ्रे बैंकको सीइओ भएर काम गरिसकेका छन् । माछापुच्छ्रेबाट श्रेष्ठले कार्यकाल बाँकी रहँदै राजिनामा दिएर बाहिरिएपछि खाली थिए ।

सीइओ पदको लोभ नगरेको भए…

जनता बैंकले आफ्नो ब्राण्डलाई शशक्त बनाएर बजारमा आफ्नो प्रभुत्व कायम राख्ने रणनीतिका साथ अघि बढ्यो । बैंकले विकास बैंक गाभ्दाखेरी त्यहाँका सीइओलाई डेपुटी सीइओ बनाएर राखेको थियो । जसकारण बैंकमा ३ जना डेपुटी सीइओ थिए ।

बैंकले ३ नै जना डेपुटी सीइओलाई भीआरएसमार्फत् बैंकबाट अलग्याएर एकजना ब्राण्डेड डेपुटी सीइओ बनाउने रणनीति अख्तियार गर्यो ।

बैंकको उच्च व्यवस्थापन र सञ्चालक समितिको नजरमा परे एनआइसी एशिया बैंक छाडेर बसेका लक्ष्मण रिसाल र माछापुच्छ्रे बैंक छाडेर बसेका निरज श्रेष्ठ । जनता बैंक अरु कुनै वाणिज्य बैंकका सीइओ भइसकेका व्यक्तिलाई डेपुटी सीइओ बनाएर जाने रणनीतिमा थियो ।

बैंकले पहिलो प्रस्ताब लक्ष्मण रिसाललाई गर्यो । रिसालले आफू अमेरिका गइसकेको हुनाले अब नेपालको सक्रिय बैंकिङमा नफर्किने जवाफ दिए ।

त्यसपछि बैंकले निरज श्रेष्ठलाई प्रस्ताब गर्यो । श्रेष्ठ सहमत भए ।

श्रेष्ठ सहमत भएपछि ३ जना डेपुटी सीइओलाई भीआरएस सुविधा लिएर बैंक छाडे ।

जनता बैंकको सीइओमा पर्शुराम कुँवर क्षेत्री छन् । उनी निकै पूराना र भेट्रान बैंकर मानिन्छन् । सीइओ भइसकेको भएपनि क्षेत्रीको अन्डरमा बसेर काम गर्न श्रेष्ठलाई कुनै समस्या थिए ।

किनभने पद डेपुटी सीइओ भएपनि श्रेष्ठले मागेजति तलब दिन बैंक तयार थियो । मागेजतिको मतलब सीइओ क्षेत्रीको भन्दा १ हजार रुपैयाँ मात्रै कम । र, क्षेत्री अर्को कार्यकालका लागि सीइओ नबन्ने भद्र सहमति भएको थियो । सीइओ क्षेत्री र बैंकको संचालक समिति भद्र सहमतिलाई लिखित रुपमा समेत दिन तयार थिए । जसकारण आगामी २ वर्षपछि निरज स्वत सीइओ हुन्थे । क्षेत्री र श्रेष्ठको ट्युनिङ पनि मिल्थ्यो ।

वाणिज्य बैंकको सीइओ भइसकेको व्यक्ति डेपुटी सीइओ बनाएर ल्याएपछि बजारमा छुट्टै भाइब्रेन्ट जाने विश्वास थियो । बजारमा आफ्नो ब्राण्ड स्थापित गरेर आफुसँगै आएका बैंकलाई गाभ्ने रणनीति जनता बैंकको थियो ।

जब भीआरएस लिएर ३ जना डेपुटी सीइओहरु बैंकबाट बाहिरिए । तब जनता बैंकमा राष्ट्र बैंकको सुपरिभिजन टोली आयो । सुपरिभिजन टोलीको रिपोर्टिङका आधारमा राष्ट्र बैंकले जनता बैंकलाई एक महिनाभित्र डेपुटी सीइओ नियुक्त गर्न निर्देशन दियो ।

त्यसपछि जनताका सीइओ पर्शुराम कुँवर क्षेत्रीले निरज श्रेष्ठलाई बढी ताकेता गरे । तर, श्रेष्ठले ‘म नआउँने भएँ दाई’ भन्ने जवाफ दिए । पर्शुराम छाँगाबाट खसेझैं भयो । जनता बैंकको रणनीति फेल खायो ।

राष्ट्र बैंकले एक महिनाभित्र डेपुटी सीइओ नियुक्ति गर्न दिइको निर्देशन पालन गर्दै सीइओ क्षेत्रीले सुजित कुमार शाक्यलाई सिफारिस गरे । सञ्चालक समितिले नियुक्ति गर्यो ।

बीओकेमा सीइओ बन्ने निरज श्रेष्ठको चक्कर

बैंक अफ काठमाण्डूको सञ्चालक समितिले व्यवस्थापनलाई तीब्र दबाब दिएपछि सीइओ कम्प्लाइन्समा कडा मानिने बैंकर शोहनदेव पन्तले ४ महिनाअघि सञ्चालक समिति समक्ष लिखित राजिनामा दिए । सीइओको राजिनामा आएपछि बीओकेका केही सञ्चालकहरुले निरज श्रेष्ठलाई सीइओ बन्न अफर गरे । त्यसैले श्रेष्ठ मनग्ये तलब पाएपनि अन्तिम समयमा जनता बैंकमा डेपुटी सीइओ बन्न अस्वीकार गरे । ‘वाणिज्य बैंकको सीइओ नै पाइन्छ भने डेपुटी सीइओ किन बन्ने ?’ भन्ने श्रेष्ठको मनमा आयो ।

बीओके केही हप्ता चुपचाप बस्यो । र, बीओकेको सञ्चालक समितिले शोहनदेब पन्तको राजिनामा अस्वीकार गर्यो । व्यवस्थापनमाथि आवश्यकताभन्दा बढी हस्तक्षेप नगर्ने शर्तमा पन्तले राजिनामा फिर्ता लिए ।

पन्तको राजिनामा फिर्ता लिएपछि श्रेष्ठ सीइओ बन्ने च्याप्टर क्लोज भयो ।

रत्नराज बज्राचार्यले बैंक छाडेर गएपछि सनराइज बैंक सीइओबिहीन भएको थियो । सनराइजले आशा राणा अधिकारीलाई निमित्त सीइओको जिम्मेवारी दिएको थियो । उनी पनि चाँडे अवकास पाउँदै थिइन् ।

त्यसैले सनराइज बैंकलाई सीइओ चाहिएको थियो । खाली थिए उनै श्रेष्ठ । बैंक सञ्चालक समितिका अध्यक्ष मोतिलाल दुगडले श्रेष्ठलाई सीइओको अफर गरे । श्रेष्ठ सहमत भए ।

सबै कुरा मिल्यो । सञ्चालक समिति समक्ष प्रेजेन्टेशन पनि दिए । सनराइजको सञ्चालक समितिको बहुमतले सीइओ नियुक्ति गर्यो ।
तर शैलेन्द्र गुरागाई र मालचन्द्र दुगले असहमति जनाए । मिडियाबाजी गरे । राष्ट्र बैंकमा उजुरी गरे । जसकारण नियुक्ति पत्र बुझेका श्रेष्ठले सीइओको रुपमा बैंकमा हाजिर भएर काम गर्न पाएनन् ।

‘पर्शुराम कुँवरको हाराहारीमै तलबभत्ता लिएर उहाँको सेकेन्ड म्यान बनेको भए यस्तो परिस्थिति आउने नै थिएन, उनी सफल बैंकरको रुपमा स्थापित हुने थिए,’ श्रेष्ठलाई नजिकबाट चिन्ने एक बैंकरले भने, ‘सीइओ भन्ने पदको लोभ नगरेको भए निरजजीको करियरमा यस्तो धक्का लाग्ने नै थिएन ।’


पुष्प दुलाल