‘जतिधेरै सन्तुष्टी, त्यतिधेरै खुसी’



भनिन्छ मानिस असन्तुष्ट प्राणी हो । उ जति बुझ्ने हुँदै गयो उसको आवश्यक्ता तथा महत्वकांक्षा बढ्दै जान्छ । उसको एकपछि अर्काे आवश्यक्ता सृजना हुँदै जान्छ । त्यसैले पनि बिद्वान मोस्लोले मानिसको आवश्यक्ताको श्रृखलाबद्ध सिद्दान्त प्रतिपादन गरेका छन् ।

मानिसको एउटा आवश्यक्ता पूरा भएपछि तत्कालै अर्काे आवश्यक्ता सृजना हुन्छ, जुन नयाँ आवश्यक्ताले खुसीलाई टाढा बनाउंदै लान्छ । र, आवश्यक्ता पुरा नहुँदासम्म अधिकांश समय चिन्तामा बिताउँछ ।

डेनिस वेईटलेले भनेका छन् कि- ब्यक्तिगत सन्तुष्टि ब्यक्तिको सफलताको लागि महत्वपूर्ण अंश हो । यदि कुनै ब्यक्ति जिन्दगीमा सन्तुष्ट छैन भने उ सफल हुन सक्दैन । किनकी असन्तुष्ट मानिसले राम्रोसँग कार्य सम्पादन गर्न सक्दैन ।

‘सानो सोचले सानै सफलता र ठूलो सोचले ठूलै सफलता’

यहाँ सन्तुष्ट भन्ने शब्दले आफ्नो काममा सन्तुष्ट, घरपरिवार तथा सन्तानहरुसँग सन्तुष्ट, साथीभाईहरुसँग सन्तुष्ट, आफ्ना सहकर्मीहरुसँग सन्तुष्ट, आफ्ना हाकिमसँग सन्तुष्ट, आफ्नो रुपरङ्सँग सन्तुष्ट, आफ्ने देश, समाज तथा परिस्थितीसँग सन्तुष्ट, आफ्नो आर्थिक हैसियतसँग सन्तुष्ट आदि जे पनि हुन सक्छन् ।

एकजना मानिस एउटा गाउँमा बस्थ्यो । डाँडाकाँडा, नदीनाला, रुखैरुखको बीचको फूलबारीबीचमा त्यो गाउँ बस्नको लागि अत्यन्तै राम्रो थियो । त्यति राम्रो गाउँमा बस्न पाउँदा भने त्यो मानिस कहिल्यै खुसी थिएन । उसलाई शहरको परिवेशले अत्यन्तै मोहित बनाएकाले उसले त्यो गाउँको घर बेचेर शहरमा घर किन्नका लागि रियल स्टेट ब्यापार गर्ने उसको एकजना साथिसंग मद्धत माग्यो ।

रियल स्टेट ब्यापारीले भोलिपल्ट पत्रिकामा एउटा बिज्ञापन निकाल्यो जसमा लेखिएको थियोः एउटा स्वर्ग जस्तै घर बिक्रीमाः शहरको भिडभाडबाट टाढा, पहाडले, नदी, झरना, रुखैरुखको बीचको प्राकृतिक फूलबारी बीचमा सदाबाहर फूलहरुको सुगन्ध आउने, १२ महिना नै ताजा हावा बहने, एउटा स्वर्गजस्तो घर खरिद गर्न ईच्छुक ब्यक्तिले निवेदन दिनुहोला ।

पत्रिकाको बिज्ञापन उक्त गाउँले मानिसले पढेपछि मन परेर बिज्ञापनमा दिएको नम्बरमा सम्पर्क गर्दा थाहापायो कि– बिज्ञापन त उसैको घर रहेछ । गाउँले मानिस दङ्ग पर्यो । र, उसले सोच्दै नसोचेको सपनाको घर त उ आफैँ बसेको घर रहेछ र खुसी भयो ।

धेरैजसो मानिसहरु कथाको मानिस जस्तै आफूसँग रहेका सुन्दर चीजहरुको पहिचान गर्न नसक्दा दुःखी भईरहेका हुन्छन् । अरुमा भएका चिजहरु राम्रो देख्ने तर आफूसँग भएका चिजहरु नराम्रो देख्ने बानीले खुशीहरु कम गराईरहेको हुन्छ ।

तर, हिँजोसम्म अरु मानिसहरुमा भएको चिज आफूले हासिल गरेपछि भने मानिसले खुशीलाई धेरै दिनसम्म राखिरहन सक्दैन दिनबित्दै जांदाउसको खुशिमापनिकमिहुंदै आंउछ र अर्काे चिजको आवश्यक्ताले फेरी खुशि हरांउदै लान्छ र फलस्वरुप फेरी दुखीबन्न पुग्छ ।

बास्तवमा धेरैजसो मानिसहरुलाई उसले जिन्दगीमा के पाउन खोजिरहेको थाहा हुंदैन । के का लागि असन्तुष्ट भएर दुखलाई निम्त्याईरहेका छन् जिन्दगीभर पत्तो नै पाउंदैनन् । बिश्वब्यापिकरणको अहिलेको युगमा मानिसहरुमा प्रधिस्पर्धाको नाममा अति महत्वकांक्षी मानिसहरु बढ्दै गएको जसले गर्दा अत्यन्तै भागदौड र अब्यवस्थित जिवनशैलीले उनीहरुलाई ब्यस्त बनाउनुको साथै खुशीबाट टाढिंदै गईरहेका छन् ।

मानिसहरु भविष्यको लागिधन सम्पत्ती जोड्नको लागि परिवारलाई समय दिन सकेका छैनन् । स्वादको लागि स्वास्थ बिगारीरहेका छन् । अहिले जुन चिज मुख मिठ्याई मिठ्याई खाईरहेका छन् त्यस्तो खानपिनले गर्दा पछि रोग लागेर धेरै चिजको मुख बार्नुपर्ने हुन्छ । लोभ, लालचले गर्दा क्षणिक आनन्दमा भूलेर भाविष्यमा लामो समयको लागि दुखलाई निम्त्याईरहेका छन् ।

‘जति ठूलो संघर्ष, त्यति ठूलो सफलता’

सन् १९८१ मा बनेको जितेन्द्र र मौसमी चटर्जी अभिनित हिन्दी चलचित्र प्यासा सावनमा हिरो जितेन्द्र एकदम गरिब हुन्छन् । हिरोले हिरोईनलाई भोको पेट राख्नु परेको बाध्यताको कारणले उनी धनी बन्ने संकल्प गर्छन् । र, दिन रात नभनिकन अथक मेहनत गर्छन् । केहि बर्षको अथक मेहनतपछि हिरो एकदमै धनी ब्यक्ति बन्छ । जब हिरो धनी बन्छ, उनकी श्रीमती मौसमी चटर्जी बिरामी पर्छे । अब हिरो श्रीमतीलाई जे पनि किनेर खुवाउने हैसियत पुगिसकेको हुन्छ ।

तर बिडम्बना बिरामीको कारणले श्रीमतीले खानेकुराहरु बार्नुपर्ने भएकोले धनी भईकन पनि खानेकुराहरु खुवाउन सक्दैन ।

चलचित्रमा हिरोले धनी बन्ने दौडमा श्रीमतीलाई यथेष्ट समय दिन सकेको हुंदैन । र, श्रीमती बिरामी भईसकेको हुन्छिन् । जुन खुशीका लागि त्यति धेरै दौडधुप गरिरहेको हुन्छ, त्यहि दौडधुप उनीहरुको दुखको कारण बन्न पुग्छ । हिरोईन जुनदिन खान सक्थिन, त्यतिखेर उनिहरुसँग खानेकुरा किन्ने पैसा थिएन । तर, जुनदिन उनीहरुसँग प्रसस्त पैसा हुन्छ, हिरोईन खान नसक्ने भईसकेकी हुन्छिन् ।

चलचित्रमा रहेको कथा आजभोलिको आम मानिसहरुको कथा हो । नेपालीमा भनाई छः उम्केको माछा ठुलो ।

मानिसलाई जुन कुरा गुमाएको हुन्छ, त्यो कुरा ठुलो हुन्छ । तर, जुन कुरा हासिल गरेको हुन्छ, त्यो ठुलै भएपनि समयसँगै सानो लाग्दै जान्छ । र, गुमेको कुरालाई सम्झेर दुःखी बन्न पुग्छ । नेपालीमा भनाई नै छः मानिसलाई १० हजार भेट्टाएको खुशीभन्दा १ हजार गुमाएको दुखले बढी सताउँछ ।

मानिसहरुको आफूलाई अर्काेसँग तुलना गर्ने बानीले गर्दा पनि दुःखी भईरहेको पनि देखिन्छ । आफ्नो घर, परिवार, काम, पेशा, ब्यवसाय, गाडी, समाज, देश, परिस्थिति आदि भन्दा अर्काको राम्रो देख्दा उनीहरु दुःखी बनिरहेका हुन्छ, जसको मुख्य कारण आफूसँग भएका चिजहरुसँग सन्तुष्ट नहुनु हो ।

यसमा कुनै दुईमत छैन कि, कडा मेहनत नै सफलताको शुत्र हो । तर, अधिकांश मानिसहरु सफलता, महत्वकांक्षाको नाममा जिन्दगीको सन्तुलन मिलाउन नसकेको कारणले गर्दा खुशीलाई टाढा बनाईरहेका छन् । मानिस खुशी हुन सबै कुराको सन्तुलन मिलाउन जरुरी हुन्छ । र, भएको चिजमा आनन्दलिन सक्नुपर्छ । तर, यसको मतलब मेहनत गर्न छोड्नु भने हुँदैन । जे छ त्यसमा आनन्द लिने भन्नुको मतलब किन बढि परिश्रम गर्ने र सफलताको लागि किन दौडधुप गर्ने भन्ने अर्थमा भने बुझ्नु हुंदैन ।

अमेरिकी अभिनेत्री ड्रिउ ब्यारिमोरले भनेकी छिन्ः खुशी सबैभन्दा राम्रो श्रृंगार हो । मानिसले जतिसुकै मेकअप गरेता पनि खुशी छैन भने उ राम्रो देखिंदैन । तर, खुशी मानिस राम्रो देखिन्छ । हामीले इन्टरनेटमा सर्च गर्यौं भने गरिब बालबालिका च्यात्तिएको कपडा अनि खाली खुट्टामा पनि साथिहरुसँग आफ्नो धुनमा उन्माद हाँसोको साथ साथीहरुसँग खेलेको फोटो देख्न सक्छौं । र तिनिहरु हामीलाई राम्रो पनि लाग्छ । राम्रो कपडा नलगाउँदा पनि उनीहरुको फोटा राम्रो लाग्नुमा उनीहरुको अनुहारमा झल्केको सन्तुष्टि हो ।

प्रत्येक मानिसहरु प्रकृतिका अमूल्य बरदान हुन् । सबै मानिसहरु बिषेश छन् । विल्मा रुडोल्फ जन्मेदेखि नै पोलियो रोगी थिए । तर उनले आफू पोलियो रोगको कारणले दुःखी भईनन् । र, आफू जे गर्न सक्थिन् गरिरहिन् । फलस्वरुप अथक मेहनतपछि ओलम्पिक बिजेता बनिन् । हंगेरीका क्यारोली ट्याकस निशानेबाजमा ओलम्पिकमा हुनु केहि अगाडी मात्र अभ्यासको क्रममा निशाना लगाउने दाहिने हातमा ग्रिनेड पड्किएर हातगुम्यो ।

तर, उनीआफ्नो गुमेको हातको कारणले दुःखीनभई बाँकी रहेको देब्रे हातले अभ्यास गर्न थाले र ओलम्पिक बिजेता बन्न बने । संसारका अन्य सफल ब्यक्तिहरुमा पनि केहि कमी कमजोरीहरु थिए । कोहि एकदमै गरिब थिए कोहि शारिरिक हिसाबले अशक्त थिए ।

तर, ती ब्यक्तिहरुले आफूमा रहेको कमी कमजोरीहरु प्रति असन्तुष्ट भएर नबसी आफूमा जे छ, त्यसमा सन्तुष्ट भई भएका चिजहरुको सहि सदुपयोग गरेर अगाडी बढ्दै गएर महान सफलता प्राप्त गरे । ईतिहास रचे । यी सफल ब्यक्तिहरुबाट हामिसँग जे चिज उपलब्ध छ, त्यसमा सन्तुष्ट हुन सिक्यौं भने हाम्रो जिवनमा खुशी आउँछ भन्ने सिक्न सक्छौं ।

जिन्दगी खुशीसाथ बिताउने हो भने बिहान उठ्नासाथ आफूमाथि कृतज्ञ बनौं । उठनासाथ यति सुन्दर जिन्दगी दिनुभएकोमा भगवानलाई धन्यवाद दिउँ अनि यति राम्रो परिवार दिनुभएकोमा धन्यवाद दिउँ । दुःख सुखमा साथ दिएकोमा श्रीमान, श्रीमती तथा परिवारलाई, त्यस्तै, देश, समाज, हामिक, सहकर्मी, सुन्दर दिन, सुन्दर जिवन, आदि आदिलाई धन्यवाद दिउँ ।

प्रत्येक दिन कसैले आफूलाई गरेको सहयोग सम्झेर उ प्रति कृतज्ञ भई मुस्कुराउने गरौं । यो क्रिया दिनदिनै गर्यौं भने हाम्रो जिन्दगीमा खुशीहरु थपिंदै जान्छ । याद राखौं-मेहनत गर्न नछाडौं । सन्तुष्टि भए खुशी आउँछ । सन्तुष्ट बनौं खुशीलाई सँधै कैद गरौं ।

(लेखक मल्ल, ओम डेभलपमेन्ट बैंकका डेपुटी सीइओ हुन्)


पुष्प दुलाल