काभ्रेको फर्निचर उद्योगमा आगलागी, एक जनाको मृत्यु


काठमाडौं । काभ्रेप्लाञ्चोकको शंखरापुरस्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ ।

आगलागीमा परेर शंखरापुर नगरपालिका वडा नं १ नाङलेभारेकी ७० वर्षीय टिकादेवि दंगाललको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काका अनुसार काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं ९ स्थित श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा विद्युत सर्ट भएर आगलागनी भएको थियो ।

आगलागि हुदाँ उद्योगमा बस्दै आएकी दंगाललको मृत्यु भएको खड्काले जानकारी दिइन् । सोही उद्योगमा काम गर्ने उनका श्रीमान् ७३ वर्षीय तोयानाथ घाइते भएका छन् ।

फर्निचर उद्योगबाट शुरु भएको आगो फैलिदा नजिकै रहेको कृष्णबहादुर विश्वकर्माको एक तले कच्ची घर र जस्ताले बनेको ध्रुवबहादुर विश्वकर्माको टहरामा समेत क्षति भएको छ ।

आगलागीबाट फर्निचर उद्योगमा करिब ८० लाख, कृष्ण विश्वकर्मामा अन्दाजी ८ लाख बराबरको घर, खाद्यान, लत्ताकपडा र ध्रुव विश्वकर्माको अन्दाजी तीन लाख बराबरका टहरा क्षति भएको प्रहरीले जनाएको छ ।

शुक्रबार राति ९ बजे सुरु भएको आगो नियन्त्रणको लागि ५ वटा दमकल, ४० प्रहरी टोली, कालिजंग गण धुलिखेलको सहयोगमा करिब राति पौने २ बजे उक्त आगलागीलाई नियन्त्रणमा लिइएको थियो ।