विराटनगर । विराटनगर १६ प्रदेश प्रहरी कार्यालय पश्चिमको आर्यटोलबाट हरेक दिन बिहान एउटा ट्राइसाइकल दक्षिणतर्फ हुँइकिन्छ । करिब आधा घण्टा गुडेपछि त्यो ट्राइसाइकल सीमावर्ती दरैयाको ऋषिदेव वस्तीमा रोकिन्छ ।
ट्राइसाइकल रोकिएपछि त्यहाँका दुई दर्जनबढी बालबालिकाले घेर्छन् । त्यसपछि साइकलमा बसेका एक शारीरिक रुपमा अशक्त(विकलाङ्ग) आफ्नो झोलामा हात हाल्छन् अनी कसैलाई किताब, कसैलाई कापी, सिसाकलम, सावुन, सर्फ, चकलेट र तुथब्रस बाँडछन् ।
उनी हुन् विराटनगर १६ आर्यवस्तीका ४६ वर्षीय राजु क्षेत्री । स्कुल जानेक्रममा १५ वर्षको उमेरमा साइकलबाट लडेर मेरुदण्डको पक्षघात भएपछि कम्मरदेखि तलको पूरै भाग गुमाएका उनी ७ वर्षयता ऋषिदेव वस्तीका बालबालिका लागि शैक्षिक अभियान्ता बनेका छन् । उनी वस्तीका बालबालिकालाई सात वर्षदेखि दैनिक दुईघण्टा पाठ्यसामग्रीसहित नि:शुल्क ट्युसन पढाउँदै आएका छन् ।
उनको कम्मरदेखि तलको भाग चल्दैन । तर पनि ७ वर्षदेखि हरेक दिन विहान सहयोगीको भरमा घरबाट ट्राइसाइकलमा उनी करिब आघा घण्टाको यात्रापछि विराटनगर १६ कै सीमावर्ती दरैयाको ऋषिदेववस्तीका बालबालिकालाई नि:शुल्क पढाउन पुग्छन् । त्यो यात्राकालागि उनको साइकल कहिले भाइ रोशनले त कहिले नातामा मामा पर्ने हास्य कलाकार पारस थापाले ठेलिदिन्छन् ।
ऋषिदेव वस्तीबाट करिब २० मिनेट पैदल हिँडदा पश्चिमतर्फको महामय भगवती आधारभूत विद्यालय र पूर्वउत्तरमा मिल्स माध्यामिक विद्यालय पुगिन्छ । तर ७ वर्षअघि ऋषिदेव वस्तीका एकजना पनि बालबालिका ति विद्यालय भर्ना भएको तथ्यांक छैन । दिनभरी माछा मार्ने, शिकार खेल्ने अनि धुलो र हिलोमा उक्रिने उनीहरुको दैनिकी थियो ।
ऋषिदेव बस्तीमा दुई मुस्लिमसहित ४८ घर परिवारको बसोबास छ । त्यो बस्ती पूरै सुकुमवासीको हो ।
राजु एक दिन ऋषिदेव वस्तीको कच्ची सडकमा ट्राइसाइकलमा घिस्रिदै थिए । उनका आँखा अचानक धुलोमा उफ्रिँदै गरेका त्यो बस्तीका बालबालिकामा पर्यो । उनले त्यसैबेला त्यहाँका अगुवालाई सोधे, ‘तिमीहरुका बालबालिका स्कुल जाँदैनन् ?’ ति अगुवाको जवाफ थियो, ‘कोही पनि जाँदैनन् दिनभरी माछा मार्ने, शिकार खेल्ने अनि धुलोमा उफ्रिने गर्छन् ।’
विराटनगर आँखा अस्पतालका सामान्य कर्मचारी राजुले आफू मेरुदण्डको पक्षघातको शिकार हुनु पहिला शिक्षा संकायमा एमएड गरेर स्कुल वा क्याम्पसको शिक्षक बन्ने सपना बुनेका थिए ।
जब ऋषिदेव वस्तीका बालबालिकामा उनको नजर पर्यो तब उनलाई स्कुल र क्याम्पसको शिक्षक हुन नसकेपनि त्यो वस्तीका बालबालिकालाई पढाउने र विद्यालय पठाउने वातावरण श्रृजनागर्ने स्वइच्छा जागृत भयो ।
‘त्यसपछि म किताव, कापी, पेन्सिल र सावुन संकलन गर्ने अभियानमा लागेँ,’शिक्षा संकायको विएड तेस्रो वर्षसम्म अध्ययन गरेका राजुले भने, ‘करिब २५ जना बालबालिकाका लागि किताब, कपी, पेन्सिल र नुहाउने सावुन संकलन गरेर वस्तीमा पुगेर दिनभरी मन्दिर नजिक साइकल रोकेँ । बालबालिका मसँग झुम्मिए । अनि मन्दिरको पेटीमा सवैलाई किताब, कापी, पेन्सिल र सावुन बाँढेँ अनि भोलिदेखि पढनु पर्छ भन्दै फर्किएँ ।’
भोलिपल्ट त्यही समयमा उनी त्यहाँ पुग्दा बालबालिका मन्दिरको पेटीमा बसेका भेटिए ।
शारीरिक अवस्थाले विएड तेस्रो वर्ष पढ्दा पढ्दै छाडेका उनले भने,’कसैले किताव कापी र पेन्सिल बोकेका थिए । कोहीले बोकेका थिएनन् । सुरुमा सबैलाई चकलेट बाँडे अनि किताब कापी नबोक्नेलाई घर गएर हिजो दिएको किताब, कापी र पेन्सिल लिएर आउन भनेँ । सवैले लिएर आए अनि साइकलमै बसेर मन्दिरको पेटीमा प्राथामिक शिक्षा पढाउन सुरु गरेँ ।’
राजुको ऋषिदेव वस्तीमा यो दैनिकी ७ वर्षयता निरन्तर छ । यसबापत उनलाई नत कुनै संघ संस्थाले सहयोग गरेको छ, नत स्थानीय-प्रदेश र संघीय सरकारका प्रतिनिधिले देखेका छन् ।
यसबापत आफ्नो गोजीको मासिक सरदर ८ हजार रुपैयाँ खर्च हुँदै आएको राजुको भनाइ छ ।
उनी विराटनगर आँखा अस्पतालबाट मासिक १८ हजार तलब थाप्छन् । त्यसवाहेक सामाजिक सुरक्षाको निलो कार्डमार्फत मासिक २ हजार एकसय रुपैयाँ भत्ता पाउँछन् ।
उनले सुरुमा प्रयोग गर्दै आएको ट्राइसाइकल पनि सामर्थ समाजले उपलब्ध गराएको थियो । केही समयअघि रोटरी क्लव अफ हिमालयन गोर्खाले इलेक्ट्रिक ट्राइसाइकल उपलब्ध गराएको राजुको भनाइ छ ।
ऋषिदेव बस्तीमा यसबेला २५ भन्दाबढी विद्यालय जाने उमेरका बालबालिका छन् । ति सबै राजुसँग विहान दुई घण्टा पढ्न भेला हुन्छन् । स्थानीय मनोज ऋषिदेवले भने, ‘ मेरा चारजना छन् । बस्तीका सवै बालबालिका राजुको पहलमा ७ वर्षदेखि माछा मार्न, शिकार खेल्न र धुलो हिलोमा उफ्रिन छोडेर पढन थालेका छन् ।’
राजुकै पहलमा बस्तीका २३ जना बालबालिका नजिकका मिल्स मावि र महामय भगवती आधारभूत विद्यालयमा भर्ना भएका छन् । अर्का अविभावक अजयकृष्ण ऋषिदेवले राजुका कारण बस्तीका सवै बालबालिका पढन र विद्यालय जान थालेको बताए ।
यतिमात्र होइन यो वस्तीमा बिजुली र ग्राभेल सडक समेत थिएन । उनले भने,’राजुकै पहलमा बस्तीमा वत्ती बलेको छ भने कच्ची सडकमा ग्राभेल भएको छ ।’
यहाँका बालबालिकामा नुहाउने र सफा भएर बस्ने अनि दिनहुँ ब्रस गर्ने बानी बसेको अर्की स्थानीय अविभावक जलसी ऋषिदेवको भनाइ छ । त्यसका लागि राजु सरले सवै बालबालिकालाई नुहाउने सावुन, तुथब्रस अनि लुगाधुने सर्फ दिएको उनले बताइन् ।
राजुको अभियानकी सहयोगी समेत रहेकी जलसीले भनिन्,’सुकुम्वासी र मजदुरी गरे परिवारको गुजारा चलाउने वस्तीका सवै बालबालिकामा पढ्ने बानी मात्र बसेको छैन, सफासुघ्घर हुनुपर्छ भन्ने चेतनाको विकास पनि भएको छ ।’
उनका अनुसार यो बस्तीका सबै अविभावक सुकुम्वासी हुन् । उनीहरुको मुख्य पेशा नै दैनिक मजदुर गरेर परिवारको गुजारा चलाउनु हो ।
उनका सहयोगी हाँस्य कलाकारर पारस थापाका अनुसार बस्तीका बालबालिकाको किताब, कपी, पेन्सिल, सावुन, तुथब्रसका लागि राजु आफ्ना विश्वासिला साथीभाइ र संघ सस्थासँग सहयोग माग्छन् । सहयोग उपलब्ध नभए आफ्नो गोजीबाट खर्च गर्दै आएका छन् ।
सुरुका चार वर्षसम्म राजुले बस्तीका बालबालिकालाई स्थानीय दिनभरी मन्दिरको पेटीमा पढाए । राजुको त्यो सतकर्म देखेपछि लायन्यस क्लव अफ पाथिभराले बस्तीमै रहेको जनता आधारभूत विद्यालयको नामको जमिनमा दुई कोठे पक्की भवन निर्माण गरेको छ ।
राजु दुई वर्षदेखि त्यही भवनमा बस्तीका ३८ बालबालिकालाई आफ्नै लगानीमा दिनहुँ पढाउँदै आएका छन् । उनी भन्छन्, ‘शरीर र गोजीले धानेसम्म यो कर्मलाई निरन्तरता दिने लक्ष्यमा छु।’
विराटनगर महानगरभित्र ५६ सामुदायिक, २० धार्मिक र सय भन्दाबढी निजी विद्यालय सञ्चालनमा छन् । त्यसवाहेक विद्यालयमासहित एकसय ५० वटा बालविकास केन्द्र छन् ।
महानगर शिक्षा शाखाका अनुसार दरैयाको ऋषिदेववस्तीमा राजुले सञ्चालन गरेको शिक्षा अभियानलाई समुदायमा आधारित बालिविकास केन्द्रका रुपमा महानगरले ग्रहण गरेर आवश्यक सहयोग पुर्याउने तयारी गरेको छ । त्यो वस्तीका दुई दर्जनबढी बढी बालबालिका विद्यालय बाहिर छन् । उनीहरुलाई राजुले आफ्नो अभियानमा पढाएर विद्यालय भर्ना अभियान सञ्चालन गर्दै आएका छन् ।
प्रतिक्रिया