धवलको प्रतिवदेनलाई दीपकबहादुर सिंहले ‘थाङ्ने’ भनेपछि…


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जारी केन्द्रीय समिति बैठकमा महामन्त्री धवलशमसेर राणाले राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको आलोचना गर्दै उनले छुट्टै प्रस्ताव दर्ता गरेपछि यसको चर्चा भइरहेको छ । शुक्रबारबाट सुरु भएको बैठकमा उनले आफ्नो प्रस्तावमार्फत अध्यक्षको कार्यशैलीमाथि प्रश्न उठाएका थिए । शनिबारको बैठकमा संस्थापन पक्षधर नेताहरुले उनको कदममाथि कडा प्रतिक्रिया जनाए ।

प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहले बैठकमा धवलशमसेर राणालाई ‘थाङ्ने’ को संज्ञा दिएका थिए ।

‘पार्टी अहिले जनतालाई जागरूक बनाउने, व्यवस्थाका विकृतिहरूविरुद्ध सडकमा रणनीति तय गर्ने र संसदमा बलियो उपस्थिति देखाउने जस्ता महत्त्वपूर्ण विषयमा केन्द्रित हुनुपर्ने हो,’ उनले भने, ‘ तर, यस्ता अनावश्यक विषयले बैठकलाई अल्झाएर पार्टीलाई कमजोर बनाउने काम भइरहेको छ।’

सिंहले महाधिवेशनबाट प्राप्त म्यान्डेटलाई कमजोर बनाउने प्रयास दुर्भाग्यपूर्ण भएको भन्दै विगतका विभाजनहरूबाट पाठ सिकेर एकता कायम राख्नुपर्नेमा जोड दिए ।

सहमहामन्त्री धनबहादुर बुढाले पनि राणाको आलोचना गर्दै भने, ‘महामन्त्रीज्यू एमालेबाट यहाँ आउनुभएको हो। एमाले राजसंस्थावादी पार्टी हो ? अध्यक्ष लिङ्देनजस्तो व्यक्ति, जसले आफ्नो निष्ठा कहिल्यै त्यागेनन्, त्यही व्यक्तिमाथि निष्ठा र इमान्दारीको प्रश्न उठाउनु अनुपयुक्त छ।’

त्यस्तै, केन्द्रीय सदस्य उद्धवराज भेटवालले राणाले ‘दुष्कर्म’ जस्तो शब्द प्रयोग गरेकोप्रति आपत्ति जनाउँदै युवाहरु समक्ष माफी माग्न अनुरोध गरे ।

बैठकमा पार्टी एकता र संगठन सुदृढीकरणका सवालमा ध्यान केन्द्रित गर्न नेताहरूले पुनः आह्वान गरेका छन् । अनावश्यक विवादले पार्टीभित्र फाटो ल्याउने भएकाले सहकार्य र आपसी विश्वासलाई बलियो बनाउनुपर्ने धारणा बैठकमा प्रकट भयो ।