सुप्रिम सहकारी ठगी: इजलासमा रविका वकिलले उठाए यस्तो प्रश्न


बुटवलमा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जोडिएको बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा बहस जारी छ।

अहिले प्रतिवादी रवि लामिछानेका तर्फबाट बहस जारी छ । गत बुधबारबाट सुरु भएको बहसमा आइतबार लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गरिरहेका छन् ।

बहसका क्रममा श्रेष्ठले जबरजस्ती पुरक अभियोगपत्र तयार पारिएको भन्दै अनुसन्धानको कार्यविधिमाथि प्रश्न उठाएका छन् ।
उनले वादी पक्षले दाबी गरेका आरोपहरु पुष्टि हुने प्रमाणहरू मुद्दाको साथमा पेश नभएको भन्दै श्रेष्ठले कतिपय सिद्धान्त उल्लेख गरेर मात्रै त्यसको पुष्टि नहुने जिकिर गरे ।

उनले सरकारले रविविरुद्धका सबै आरोप खोजेर थुपार्न खोजेको आरोप लगाए । उनले कसको निर्देशनबाट अभियोगपत्र कसको निर्देशनमा दायर भएको हो भन्दै प्रश्न गरे ।

न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बहस भइरहेको हो । थुनछेक बहस सकिएपछि जाहेरवाला र प्रतिवादीतर्फका वकिलहरूले जवाफी बहस गर्नेछन् । बहस सकिएपछि इजलासले आदेश जारी गर्नेछ । आदेशले पुर्पक्षका लागि थुनामा पठाउने वा बाहिर बसेरै मुद्दा लड्ने आदेश गर्ने छ ।