काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्र चलायमान बनाउन, उत्पादन, उत्पादकत्व र जिडिपी वृद्धि गर्नका निम्ति अध्यादेश ल्याएको बताएका छन्।
आइतवार विश्वभन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले अहिलेको सरकार सरकारहरुको सूचिमा अर्को एक थान सरकार थप्नका लागि नबनेको दाबी गरे ।
निजी क्षेत्रले सरकारले ल्याएका अध्यादेशहरुलाई सकारात्मक रुपमा लिएको उल्लेख गर्दै यस्ता कदमहरु सरकारले आगामी दिनमा पनि अघि बढाउने बताए ।
सरकारले अर्थतन्त्र चलायमान बनाउन चालेका कदमहरु अन्तिम नभएको र आगामी दिनमा अझ बढी काम गर्दै जाने बताए ।
‘अहिले निजी क्षेत्रका साथीहरुले सरकारले अघि सारेका अध्यादेशलाई बढो प्रशंसा गरिरहनुभएको छ । त्यसलाई उहाँहरुले सकारात्मक रुपमा व्याख्या र विश्लेषण गरिरहनुभएको छ । म भन्न चाहन्छु, यो हामीले अहिले चालेको कदमहरु अन्तिम कदम होइनन्,’ उनले भने, ‘ अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्नका निम्ति, अर्थतन्त्रलाई चलायमान बनाउनका निम्ति, उत्पादन, उत्पादकत्व वृद्धि गर्नका निम्ति, जिडिपी वृद्धि गर्नका निम्ति हामीले चालेको यो अन्तिम कदम होइन । यो एउटा कदम हो । अध्यादेशका माध्यमबाट कानून संशोधनको क्षेत्रमा यो कदमहरु चाल्यौँ । यस्ता कदमहरु हामी अनेक पटक चालिरहन्छौँ ।’
निराशा, अविश्वास र शिथिलताबाट नागरिकलाई मुक्त गर्नुपर्ने दायित्व सरकारसँग रहेको उनको भनाइ छ ।
‘निराशा, शिथिलता, हतोत्साही मनोविज्ञान यो सरकार बन्दाको अवस्थामा प्राप्त गरेका थियौँ, त्यो अवस्थाबाट मुलुकलाई बाहिर निकाल्नुपर्छ । निराशालाई आशामा बदल्नुपर्छ । अविश्वासलाई विश्वासमा बदल्नुपर्छ,’ पौडेलले भने, ‘ शिथिलतालाई क्रियाशिलता र गतिशिलतामा बदल्नुपर्छ । हामीले नै अर्थतन्त्र चलायमान र गतिशिल बनाउने हो । हरेक नागरिकलाई सुखी र समृद्ध जीवनको प्रत्याभुति गर्ने हो भन्ने अठोटका साथमा सरकार क्रियाशिल छ ।’
उनले भन्सार प्रशासनका कर्मचारीलाई जिम्मेवारी महत्वका साथ पूरा गर्न आग्रह गरे ।
उपप्रधानमन्त्री पौडेलले राजस्व संकलनमा सहयोगी भुमिका निर्वाह गर्न निजी क्षेत्रलाई आग्रह गरे । राजस्व चुहावट, अनियमितताका प्रवृत्तिहरुलाई निरुत्साहीत गर्न, वैधानिक प्रणालीभित्र आफ्ना कारोबार सञ्चालन गर्न निजी क्षेत्रका छाता संगठनले आफ्ना सदस्यहरुलाई निर्देशित गर्न उनले आग्रह गरे ।
प्रतिक्रिया