अमेरिकामा चिठ्ठा मोह: नेपालमा पनि संभव होला ?



बाल्टिमोर । नेपालमा कसैले चिठ्ठा बेच्यो वा बेच्न प्रोत्साहित गर्यो भने के हुन्छ ? जवाफ हुन्छ सरकारले पक्रिएर जेलमा पुर्याउँछ ।

नेपालमा व्यवसायिक रुपमा चिठ्ठामा आधारित कार्यक्रम पूर्ण रुपमा बन्देज छ । तर, संसारको शक्तिशाली देश अमेरिका भने चिठ्ठामा विश्वास गर्छ । र, यहाँको करिब करिब सबै राज्यमा चिठ्ठाको व्यवसायिक रुपमै ब्यापार हुन्छ । त्यो पनि सरकारी निकायबाटै ।

हामीले अमेरिकाको स्थायी बसोबास अनुमति (ग्रिन कार्ड) त लोटरी (चिठ्ठा) बाट प्रदान गर्ने (जसलाई डिभी लोटरी पनि भनिन्छ) गरेको सुन्दै आएका छौं । तर यहाँ सरकारले अरु चिठ्ठाको पनि व्यापार गर्छ । अर्थात, सरकारी निकायकै सहयोगमा व्यवसायिक रुपमै यहाँ चिठ्ठा कार्यक्रम सञ्चालित छ, त्यो पनि निकै लामो समयदेखि ।

हुन त अमेरिका बाहेक जापान, अष्ट्रेलियालगायतका अरु विकसित देशहरुमा पनि यस्तै प्रकार चिठ्ठा कार्याक्रम सञ्चालनमा रहेको छ । तर, बेला बेलामा अमेरिकाको चिठ्ठाको विश्वका ठूला ठूला मिडियामा पनि राम्रै चर्चा हुने गरेको छ, यसको कारण हो सातापिच्छै चिठ्ठाको रकम बढ्दै जानु ।

यहाँ राष्ट्रियस्तरमा सञ्चालित दुई चिठ्ठा मेगा मिलियन र पावरबलको नतिजा सातामा दुई पटक सार्वजनिक गरिन्छ । त्यो समयमा कसैले चिठ्ठा नजिते उक्त समयमा चिठ्ठा विक्रिबाट उठेको रकम अर्को चिठ्ठामा जोडिन्छ । यसरी धेरै पटक कसैले नजित्दा यो रकम बढेर ठूलो अंकमा पुग्ने गरेको छ । पछिल्लो समय मात्रै पावरबलको रकम एक अर्ब डलर भन्दा माथि पुगेको थियो ।

यहाँको वासिंटन डिसी सहित ५१ मध्ये ४७ स्टेट (राज्य) मा राष्ट्रिय र स्टेट लेबलको चिठ्ठा कार्याक्रम कानूनी रुपमै सञ्चालित छन् । जसमा चिठठ कार्याक्रम सञ्चालन गर्न प्रत्येक स्टेट स्वतन्त्र छन् । र, उनीहरुले स्टेटको चिठ्ठा पनि बनाएर बेच्न सक्छन् ।

गत शनिबार मात्र खुलेको पावरबल चिठ्ठाको पुरस्कार राशी ५५ करोड ९० लाख डलरको थियो । जसलाई न्यू ह्याम्सपायर राज्यका एक व्यक्तिले जिते । योभन्दा अगाडि शुक्रबार खोलिएको मेगामिलयन नामक चिठ्ठाको ज्याकपट (प्रथम पुरस्कार) पनि ४५ करोड माथि पुगेको थयो । जसलाई फ्लोरिडाका एक व्यक्तिले आफ्नो बनाए ।

२ डलरमा किनिने यो चिठ्ठामा अमेरिकाको धेरै व्यक्तिले खर्च गर्दछन्, जसले चिठ्ठाको रकम बढाउँन मद्दत गर्दछ । हप्तामा दुई पटक खोलिने चिठ्ठा कसैले नजिते चिठ्ठाको रकम पनि बढ्दै जान्छ । गत वर्ष पावरबल चिठ्ठाको रकम यसरी बढ्दै गएर १ अर्ब डलर नाघेको थियो ।

२ डलर खर्च गरेर चिठ्ठा किन्दा पर्ने सम्भावना भने करिब ३० करोडमा १ छ । तर, यस्तै चिठ्ठामा अमेरिकीहरु ठूलो धनराशी खर्च गर्दछन् ।

अमेरिकाको मल्टिस्टेट लोटरी एशोसिएसनको अनुसार अमेरिकामा वार्षिक ७५ देखि ८० अर्ब डलर चिठ्ठामा खर्च हुन्छ । र, त्यसको २५ देखि ३९ प्रतिशतसम्म कर मार्फत सरकारले संकलन गर्दछ ।

अमेरिकाको मल्टिस्टेट लोटरी एशोसिएसनको अनुसार अमेरिकामा वार्षिक ७५ देखि ८० अर्ब डलर चिठ्ठामा खर्च हुन्छ । र, त्यसको २५ देखि ३९ प्रतिशतसम्म कर मार्फत सरकारले संकलन गर्दछ । करको दर र रकम राज्य अनुसार फरक रहेको छ ।

राज्यहरुले यसरी लोटरीबाट उठेको कर रकम स्थानीयस्तरमै सामाजिक कार्यको खर्च गर्दछन् । उदाहरणको लागि म बसेको मेरिल्याण्ड राज्यमा लोटरीबाट उठेको कर रकम यहाँको सिटी स्कुलहरुमा सहयोग गर्दछ ।

त्यस्तै स्टेडियम, शिक्षा कोष तथा साना मझौला तथा महिलाद्वारा सञ्चालित व्यवसायलाई प्रोत्साहन स्वरुप सहयोग गर्ने गरेको छ । त्यस्तै टेक्सासमा स्कुलहरुलाई सहयोग गरिन्छ भने टिचिङ्ग अस्पताल र रिटायर्ड आर्मीहरुलाई सहयोग गर्ने फण्डमा यस्तो रकम जम्मा गर्ने गरिएको छ ।

एरिजोना राज्यले त लोटरीबाट उठेको रकमबाट सार्वजनिक सवारी साधन नै सञ्चालन गरेको छ भने घरबार विहिन गरिबहरुलाई राखिने सेल्टरमा सहयोग गरेको छ । पुरातत्व कोष लगायत ११ वटा शिर्षकमा यो राज्यले लोटरीको पैसा खर्च गर्छ । यसरी राज्यहरुले स्थानीयस्तरमा चिठ्ठा विक्री गरेर उठाएको रकम स्थानीयस्तरमै विकासको लागि खर्च गर्ने गरेका छन् ।

कति उठ्छ चिठ्ठाबाट ?
अमेरिकामा विश्लेषकहरुले करको विषयमा विश्लेषण गर्दा कहिलेकाँही भन्ने गर्दछन् ‘स्टुपिड ट्याक्स’ । अर्थात मुर्खहरुले बुझाउने कर । करिब ३० करोडमा १ लाई पर्ने संभावन भएपनि अमेरिकनहरु चिठ्ठा किनिनै रहन्छन् । र, वर्षमा ठूलो रकम चिठ्ठामा खर्च गर्दछन् । र, यसरी उठेको रकममा करिब ६३ प्रतिशत मात्रै पुरस्कारको लागि खर्च हुन्छ ।

बाँकी रकम सरकारी कोषमा जम्मा हुन्छ भने पुरस्कारपछि लगाईने लाभकरबाट पनि सरकारले प्रशस्त आम्दानी गरेको हुन्छ । गत वर्ष अमेरिकीले चिठ्ठाको लागि खर्च गरेको ८० अर्बमा सरकारले आफ्नो हिस्साबाट करिब १७ अर्ब डलर शिक्षा क्षेत्रमा खर्च गरेको छ भने साढे २ अर्ब राज्यको साधारण कोष, साढे १ अर्ब सामाजिक कार्य र करिब २ अर्ब सरकारी कार्याक्रमको लागि खर्च गरेको छ ।

बाँकीबाट करिब ६ अर्ब विक्रेतालाई कमिशन र ६ अर्ब प्रचारप्रसारमा खर्च भएको छ । तथ्यांकमा औषतमा एक अमेरिकनले वर्षमा ३ सय २५ डलर चिठ्ठाको लागि खर्च गर्ने देखाईएको छ ।

यो तथ्यांकले सरकारले यस्तो रकमबाट प्रसस्त आम्दानी लिन सक्ने देखिएको छ ।

के नेपालमा संभव छ ?
नेपालमा चिठ्ठा खेलाउनुलाई जुवा खेलाए बराबरको लिने गरिएको छ । तर, बलियो संयन्त्र र नियमन हुन सके यो जुवा होईन, सरकारको आम्दानीको राम्रो स्रोत हुन सक्छ । जसले सरकारको आयस्रोत बढाउन सहयोग पुर्याउन सक्छ ।

संसारको प्रायः विकसित देशहरुले यस्ता कार्याक्रम सञ्चालन गरेका पनि छन् । तर यस्तो कार्याक्रम सञ्चालन गर्नु भनेको निकै चूनौंतिपूर्ण काम हो । नेपालमा अहिलेपनि जनताले दुई छाक खान धौ धौ हुन धेरै स्थानहरु छन् । यस्ता कार्याक्रम सञ्चालनको लागि पहिला जनताको आयस्तर बढाउनुपर्यो ।

अहिले तत्कालको लागि संभावना नभएपनि सरकारले चाहेमा कुनै विशेष योजनाको लागि रकम जुटाउन भने भविष्यमा यस्ता कार्याक्रम ल्याउन सक्ने देखिन्छ । बाँकी त विज्ञहरुले अध्ययन गर्नु नै होला ।


क्लिकमान्डु