
विराटनगर । कोशी प्रदेशका उद्योगी व्यवसायीले उद्योग व्यवसाय क्षेत्रले भोग्दै आएका समस्यालाई समेटेर तयार पारेको बजेट बारे सुझाव बुधवार अर्थमन्त्री विष्णु पौडेललाई उनकै कार्यकक्ष पुगेर बुझाएका छन् ।
यहाँका उद्योगी व्यवसायीले हरेक वर्ष अर्थमन्त्री र सरोकारवाला निकायलाई बजेट बारे सुझाव दिँदै आएका छन् । सरकारले आगामी आर्थिक वर्षका लागि बजेटको तयारी गरिरहँदा पूर्वका उद्योगीहरुले लिखित सुझाव बुझाएका हुन् ।
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी र सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ सहित उद्योगी व्यवसायीको टोलीले बुधवार अर्थमन्त्रीलाई कार्यकक्षमा भेटेर आफ्ना समस्यासहित बजेट बारे लिखित सुझाव दिएका हुन् ।
उनीहरुले उद्योगी व्यावसायीको समस्या र सुझावलाई गम्भीरतापूर्वक लिएर आगामी आर्थिक वर्षको बजेटमार्फत समाधान गर्न अर्थमन्त्री समक्ष आग्रह गरेका छन् ।
उद्योग संगठनका अध्यक्ष राकेश सुरानाले उद्योग व्यवसाय क्षेत्रले अहिले पनि ६ देखि ८ घण्टासम्मको लोडसेडिङ भोग्दै आएकाले प्रशारण लाइन जस्ता पूर्वाधारमा लगानी विस्तार गर्न, जलाशययुक्त आयोजनामा लगानी फोकस गर्न अनुरोध गरे ।
उनले विश्वासको वातावरण बनाउन राज्यले उद्योगी व्यवसायीहरुलाई भुक्तानी गर्नुपर्ने छुट सहुलियत, निर्यात अनुदान जस्ता रकमहरु विलम्व नगरी भुक्तानी गर्नका साथै नीतिगत स्थिरता कायम गर्न, खुला सिमाना नियमन गर्न र उधारो कारोबारको नियमन र व्यवस्थापनका लागि स्पष्ट कानुन ल्याउनु पर्नेमा जोड दिए ।
कुल व्यापार लागतमा लजिष्टक खर्च ३० प्रतिशतभन्दा बढि रहेको अर्थमन्त्रीलाई अवगत गराउँदै सुरानाले कोशी प्रदेशकै गेम चेञ्जरको रुपमा रहेको विराटनगर कार्गो रेलको हेण्डलिङ शुल्कको मूल्य परिमार्जन गरि सञ्चालनमा ल्याउन अनुरोध गरे ।
कतिपय उद्योगको कच्चा पदार्थ र तयारी वस्तु बीच भन्सार दरको फरक ३ तहको रहेको छ भने कतिपयमा १ तहको रहेको बताउँदै सबै प्रकृतिको उद्योगलाई एकै प्रकारको दर कायम गर्न उद्योगी व्यवसायीले अर्थमन्त्रीलाई अनुरोध गरे ।
आय कर ऐन २०५८ को दफा ५७ लाई समायानुकुल संशोधन गरि आर्थिक संकटमा परेका लघु घरेलु तथा साना र मझौला उद्योगहरुमा पूँजी थप गर्ने वातावरण सिर्जना र हाल स्टार्टअपमा प्रतिव्यवसाय १ लाखसम्म बिउ पुँजी अनुदान स्वरुप उपलब्ध गराउँदा सो रकम कर योग्य आय गणना गर्दा खर्च कट्टी गर्न पाउने व्यवस्था रहेको हुँदा सोको सट्टा स्टार्ट अपमा लगानी गर्दा आयकरमा छुट दिने व्यवस्था कायम गर्न आग्रह गरे ।
मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले अहिलेको आर्थिक सुस्तता, निराशालाई सम्बोधन गर्ने गरि आगामी बजेट निर्माण गर्न अर्थमन्त्री समक्ष आग्रह गरे ।
उनले गतवर्षको बजेटले सुती कपडामा भन्सार महसुल बढाउँदै मूल्य अभिवृद्धि करसमेत लगाएका कारण अत्याधिक तस्करी बढेको र दैनिक उपभोग्य वस्तुसहित भान्साका सामानमा अत्याधिक कर लादेका कारण तस्करी बढेर राजस्व असुलीमा समेत प्रभाव पारेको उल्लेख गर्दै लत्ता कपडा , दैनिक उपभोग्य वस्तु र भान्साका सामानको करमा पुर्नविचार गर्न अनुरोध गरेका थिए।
प्रतिनिधि मण्डलमा उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, उपाध्यक्ष विपिन कावरा, मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कान्द्रीय सदस्य नविन रिजाल, उपाध्यक्ष अनिल सारडाको सहभागिता थियो ।








प्रतिक्रिया