
रोयटर्स । ओपनएआईले बुधबार एलन मस्कविरुद्ध काउन्टर-मुद्दा दायर गरेको छ । मस्कले ओपनएआईमाथि गरिएको ‘दुर्व्यवहार र अन्यायपूर्ण गतिविधि’ गरेको भन्दै त्यसलाई रोक्न संघीय न्यायाधीशसँग अनुरोध गरिएको छ।
मस्क र ओपनएआईका सीईओ स्याम एल्टम्यानले सन् २०१५ मा ओपनएआई स्थापना गरेका थिए । तर मस्क कम्पनीले प्रविधि क्षेत्रमा ख्याति कमाउनुअघि नै बाहिरिएका थिए।
हाल मस्कले आफ्नो नयाँ एआई कम्पनी एक्स एआई सन् २०२३ मा स्थापना गरेपछि, ओपनएआईलाई नाफामूखी कम्पनीमा रूपान्तरण हुन रोक्ने प्रयास गर्दै आएका छन्। यो मुद्दा अहिले अदालतमा पुगेको छ । ओपनएआईले सन् २०२५ को अन्त्यसम्ममा आफ्नो रूपान्तरण प्रक्रिया पूरा नगरेमा, उनीहरूले जम्मा ४० अर्ब डलरको लगानी प्राप्त गर्न सक्ने सम्भावना गुम्नेछ।
ओपनएआईले दायर गरेको कागजातमा भनिएको छ, ‘मिडियामार्फत् आक्रमण, मस्कका २०० मिलियनभन्दा बढी फलोअर्सलाई प्रयोग गरेर दुर्भावनापूर्ण अभियान, झुटा कानुनी माग, र ओपनएआईको सम्पत्तिमा बनावटी प्रस्तावमार्फत मस्कले हामीलाई हानी पुर्याउने हरेक उपाय अपनाएका छन्।’
ओपनएआईले अदालतसँग मस्कका यस्ता गतिविधि रोक्न अनुरोध गर्दै, उनले पुर्याएको क्षतिको जिम्मेवारी पनि लिनुपर्ने माग राखेको छ। दुबै पक्षबीचको मुद्दा अर्को वसन्तमा (२०२६) ज्यूरी ट्रायलमार्फत् सुरु हुने अपेक्षा गरिएको छ।
जवाफमा, मस्कका कानुनी टोलीले यस वर्षको सुरुमा गरिएको ९७.४ अर्ब डलरको प्रस्ताव उल्लेख गरे, जुन मस्कको नेतृत्वमा भएको थियो र ओपनएआईले अस्वीकार गरेको थियो।
मस्कका वकिल मार्क टोबेरोफले रायटर्सलाई भने- ‘यदि ओपनएआईको बोर्डले प्रस्तावलाई गम्भीरतापूर्वक विचार गरेको भए, उनीहरूलाई थाहा हुन्थ्यो यो कत्तिको गम्भीर थियो। ओपनएआईका सम्पत्तिको वास्तविक मूल्य तिर्नुपर्ने कुराले उनीहरूको योजनामा ‘हस्तक्षेप’ भएको भन्ने आरोप आफैंमा आपत्तिजनक हो।’
मस्कले स्वामित्वमा लिएको सामाजिक सञ्जाल एक्समा ओपनएआईले लेखेको छ, ‘एलन मस्कका लगातार आक्रमणहरू नकारात्मक नियतमा आधारित छन्, जसको उद्देश्य ओपनएआईको प्रगति रोक्नु र अग्रणी एआई प्रविधिमाथि आफ्नो नियन्त्रण जमाउनु मात्र हो।’
गत महिनामा मस्कको एक्स एआईले एक्स सामाजिक सञ्जाल कम्पनी अधिग्रहण गरेको थियो, जसको मूल्यांकन ३३ अर्ब डलर गरिएको थियो। यो सौदाले एक्स एआईलेमा लगानीकर्तालाई एक्सको मूल्यसँग पनि भाग लिन अनुमति दिन्छ।
गत वर्ष मस्कले ओपनएआई र एल्टम्यानमाथि मुद्दा दायर गर्दै कम्पनीले ‘मानवताको हितमा एआई विकास गर्ने’ आफ्नो मूल उद्देश्यबाट विमुख भएको आरोप लगाएका थिए। ओपनएआई र एल्टम्यानले ती आरोप अस्वीकार गर्दै मस्कले प्रतिस्पर्धी कम्पनीलाई सुस्त पार्ने प्रयास गरेको दाबी गरेका छन्।
हालको मुद्दाको केन्द्रमा ओपनएआईको नाफामूखी मोडेलमा जाने प्रक्रिया छ, जसलाई कम्पनीले भविष्यमा आवश्यक पूँजी उठाउन र महँगो एआई प्रतिस्पर्धामा टिक्न अत्यावश्यक बताएको छ।








प्रतिक्रिया