बैंकर साहब ! निक्षेप तानातान प्रतियोगिताले २२०० अर्बको निक्षेप ३००० अर्ब पुग्छ ?



बैक तथा बित्तीय संस्थाहरुले हप्ता दिन भित्र प्रकाशित गरिरहेको निक्षेपको ब्याज दर अनि कल निक्षेप तानातानले गर्दा पोहोर साल पुजी बृद्धिसँगै पुँजीलाई सोहि अनुसारको नाफा दिनको लागि कर्जा बृद्धिको कारण माघ पछि आएको समस्या अहिले झन बल्झिएर जाने कुरा तर्फ ईगींत गर्दछ। समय मै संयमित हुनु पर्ने महसुस हुदै गर्दा एकाबिहानै धेरै प्रश्नहरु दिमागमा घुमीरहे जुन यस्ता थिए ।

१. पुँजी बृद्धि सबै संस्थाहरुलाई चार गुणा थियो अनि सबैलाई व्यवसाय बृद्धिको चाप छ । यसैले पचास प्रतिशत, शतप्रतिशत या सोभन्दा बढि कर्जा बृद्दिको प्रक्षपेण गर्दै दौडिदा निक्षेप वृद्दि २० प्रतिशतको हारहारी हुदैन भन्ने हेक्का पक्कै थियो होला। सोही समस्या वितेको एक बर्ष नहुदै पुनः त्यहि गल्ती दोहोर्याउदै अघि बढ्ने हो भने हामी बैकरहरुलाई सेतो हात्ती झै पाल्नु किन पर्यो ? अब के फेरि राष्ट्र बैकलाई सीसीडीको फर्मुला परिवर्तन गरिदिनुस भन्ने ?

२. एक महिना पहिलासम्म सहकारीको कर्जासमेत ऋणीको व्यापारिक जरुरत भन्दा बढि रकम दिएर स्वाप गरेका बैकहरु एक महिना पछि स्वीकृत सीमाको कर्जा दिनसम्म नसक्ने अबस्था हुने गरी कस्तो प्लान गरेको ? प्रथम त्रयमास मै कर्जाको बृद्धि निक्षेपको भन्दा २० प्रतिशत बढि रह्यो, जुन मंसीर मसान्त पछि झन् बढ्यो।

३. सबैलाई थाहा छ कि सरकार गठनमा समय लाग्छ । अनि बजेट खर्च त्यती छिटो हुदैन, रेमिट्यान्सको बृद्दि दर घट्दो छ, असोज पछि सीसीडीको फर्मुला पहिले जस्तै हुन्छ, निक्षेप बृद्दिदर अचानक बढ्ने वाला छैन । अनि स्थानीय निकाय चुनाब पछिको अलि सहज तरलतालाई बेस बनाएर अनाप सनाप कर्जा बृद्दि गर्दा इन्डष्ट्रिको ग्रेथ र फण्ड मिसम्याचलाई हेर्न पर्दैन ?

४. अब आफैले निम्त्याएको समस्यालाई हल गर्न भटाभट निक्षेपमा हप्ता हप्तामा ब्याजदर बढाउदै निक्षेप तानातान प्रकिया फेरी शुरु गर्नुपुर्व, यो ब्याजदर बृद्धिले समस्या समाधान गर्देन भन्नेसम्म हेक्का छैन साहब ? एउटाले एफडी (मुद्दति निक्षेप) १० प्रतिशतमा तान्छ, अर्कोले फेरि ११ प्रतिशत, फेरि १२ प्रतिशतमा गर्दै जाने अनि कर्जा लिएका ग्राहकलाई एसएमएस पठाउदै आतंक सिर्जना गर्ने हो ? बैकर र बैकिङको विश्वसनीयता कायम कसले राख्ने ? कि सधै फोहोर हामी गर्ने उठाईदिने जिम्मा राष्ट्र बैकलाई छोडिदिने ?

ल्याएको ग्राहकलाई समेत सेवा दिन नसकि कर्जा रोकौं रोकौं अब निक्षेप मात्र खोज भन्दै गर्दा भर्खरै बैकिङ शुरु गरेका भाइ बहिनीले यसलाई रणनिति बुझ्ने कि स्ट्रेस टेस्टिङ बुझ्ने ? कि बैकरहरुको प्लानिङ क्षमताको तारिफ गर्ने ?

५. जसरी अनापसनाप फेरि ब्याज दर बृद्धि गर्दै निक्षेप ब्यबस्थापनमा होडबाजी शुरु गर्दैछौं, के सोच्छौ हामी ? कि ब्याज बढायो भने युरोप, अमेरिकाबाट निक्षेप आँउछ ? यही प्रणालीमा अनि अर्को बैंक तथा बित्तीय संस्थामा भएको तान्ने होईन ? अर्को बैंक तथा बित्तीय संस्थाले फेरि ब्याज बढाएर साहबको कल डिपजिट तानिदियो भने के गरिसिन्छ ?

६. शाखा बढाउने, ब्यबसाय बढाउने भनेको छ, अर्को संस्थामा प्रोमोसन भएको ३ महिना पुगेको छैन, एक दुई पेजिसन थपेर कर्मचारी लिएको छ। संस्थामा भएका कर्मचारी एकातिर डिमोटिभेटेड त अर्को तिर एक्सपिरियन्स अनि एक्सपोजर नपुगेको कर्मचारीलाई माथिल्लो जिम्मेवारी दिदै गर्दे गर्दा अप्रेसन रिस्कको आकलन कति गर्छौ हामी ? कस्तो प्रोफेसन बिकास गर्दै छौं हामी ?

७. एक महिना पहिलासम्म कर्जा बढाउने लक्ष्य दिएर कर्मचारीलाई रात दिन दौडाउने, अब एक महिना पुगेको छैन, ल्याएको ग्राहकलाई समेत सेवा दिन नसकि कर्जा रोकौं रोकौं अब निक्षेप मात्र खोज भन्दै गर्दा भर्खरै बैकिङ शुरु गरेका भाइ बहिनीले यसलाई रणनिति बुझ्ने कि स्ट्रेस टेस्टिङ बुझ्ने ? कि बैकरहरुको प्लानिङ क्षमताको तारिफ गर्ने ?

के गर्नु पर्छ ?

१. निक्षेप ब्याजदर बृद्धिमा संयमित हुनुपर्यो। ब्याजदर बढाएर होईन कि ग्राहक सम्बन्ध र कर्मचारी परिचालनले निक्षेपलाई चाहिएको भोल्युममा राखेर बस्नु पर्यो।

२. पुस मसान्तमा आय करको पहिलो किस्तामा लगभग ८० अर्ब रूपैयाँ सरकारी खातामा जान्छ । र, तत्कालै निस्किदैन । त्यसको समेत हेक्का अहिलेदेखि राख्दै आफ्नो बैकको मात्र होईन समग्र बकिङ प्रणालीको समेत अबस्था हेरि निक्षेप योजना बनाउनु पर्यो।

३. सीसीडी पुस मसान्तमा मात्रै कायम राख्नु पर्ने होइन। दैनिक रुपमा मनिटर गर्दै अलि कुसनमा राख्नु पर्यो।

४. अर्को बैंक तथा बित्तीय संस्थाको निक्षेपलाई ब्याजदर बढि दिदै तान्नुको साटो आफ्नो निकट भबिष्यमा म्याचुर हुन लागेको निक्षेपको सुची बनाई रिन्यूअललाई ढुक्क हुनु पर्यो।

५. बिस्तारित शाखाहरु मार्फत खुद्रा निक्षेप बढाउने तर्फ लाग्नु पर्यो।

६. अनापसनाप ब्यबसाय बृद्धिको कारण कर्जाको गुणस्तर घटेको छ, अनि जसको कारण प्रथम त्रयमासमा धैरै बैंक तथा बित्तीय संस्थाको पहिलो पटक नाफामा ऋणात्मक बृद्धि भएको छ। ब्याज सस्पेन्स बढेको छ। उक्त सबै कर्जाहरुलाई नियमित गर्न लाग्नु पर्यो।

अनिकालको बेला पेट भरी चौरासी व्यंजनको लक्ष्य लिएर जाने होईन, मिलीजुली सबैको भोक मात्र मर्ने व्यबस्थापनको सोच राख्नु पर्यो।

७. सरकार छिटो गठन होला, आर्थिक समृद्धिका एजेण्डाहरुले प्राथमिकता पाउलान, सरकारले विकास खर्च बढाउला अनि हामी आर्थिक बृद्दिसंगै ब्यबसाय बृद्दि गरौला भन्ने सकारात्मक सोच सहित प्रुडेन्ट बैंकिङ गरेर बस्नु पर्यो। तर, छिटै मिराकल होला सोचेर लाइट सिचुएसनमा बस्नु भएन। शुरुवाती लक्षणहरु राम्रो देखिएका छैनन् ।

अनिकालको बेला पेट भरी चौरासी व्यंजनको लक्ष्य लिएर जाने होईन, मिलीजुली सबैको भोक मात्र मर्ने व्यबस्थापनको सोच राख्नु पर्यो। ट्रेजरी विलको दर नै ५ प्रतिशत, ६ प्रतिशत भन्दा बढि रहेको छ। हेक्का रहोस्, यहाँहरुले निक्षेपको ब्याजदर बढाउदा बैकिड़ क्षेत्रको कूल निक्षेप रु २२०० अर्बबाट बढेर रु ३००० अर्ब रूपैयाँ हुनेवाला छैन । यसर्थ यो निक्षेप तानातान प्रतियोगिता शुरु गरेर बैकिड़ क्षेत्र अनि कर्जाका ग्राहकहरुलाई आतंक सृजना गर्दै राष्ट्र बैकको समेत टाउको दुखाई बनाउनु पुर्व बैकिड़ पेशाको मर्यादा कायम राख्न भए पनी जिम्मेवार हुनुस्।
लेखक ज्योति बिकास बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत हुन ।


क्लिकमान्डु