कहालीलाग्दो अर्थतन्त्रः आर्थिक वर्षको पहिलो महिनामै भुक्तानी सन्तुलन २५ अर्बले ऋणात्मक



काठमाडौं । देशको आर्थिक अवस्था दयनिय बन्दै गएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजानिक गरेको देशको वर्तमान आर्थिक स्थितिले यसको पुष्टि गर्छ ।

आयात र निर्यातबीचको असन्तुलन चुलिँदै गएपछि देश भित्रिने पैसाभन्दा देशबाट बाहिरिने पैसा बढी भएको छ । चालू आर्थिक वर्षको पहिलो देशको भुक्तानी सन्तुलन २४ अर्ब ७७ करोड रुपैयाँले ऋणात्मक भएको तथ्यांकमा उल्लेख छ ।

यो भनेको साउन महिनामा बाहिरबाट देश भित्रिने भन्दा देश बाहिरिने रकम २४ अर्ब ७७ करोड रुपैयाँले बढी हो । राष्ट्र बैंकका अनुसार निर्यात घट्दै गएको र आयात बढेका कारण भुक्तानी सन्तुलन ऋणात्मक हुन पुगेको हो ।

‘आयातमा भएको उच्च वृद्धिका कारण ०७५ साउन महिनामा शोधनान्तर स्थिति २४ अर्ब ७७ करोड रुपैयाँले घाटामा रहेको छ,’ राष्ट्र बैंकले भनेको छ, ‘गत वर्षको साउन महिनामा शोधनान्तर स्थिति ३ अर्ब २९ करोड रुपैयाँले मात्रै घाटामा थियो ।’

आयात उच्च भएपछि चालू खाता घाटा विस्तार भई २५ अर्ब ३८ करोड पुगेको छ । गत वर्षको साउन महिनामा यस्तो घाटा ५ अर्ब ९८ करोड रहेको थियो ।

आर्थिक वर्ष २०७५/७६ को पहिलो महिनामा कुल वस्तु निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.२ प्रतिशतले वृद्धि भई ६ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३.६ प्रतिशतले ह्रास आएको थियो ।

गन्तव्यका आधारमा भारततर्फको निर्यात ९.६ प्रतिशतले बढेतापनि चीनतर्फको ४४.८ प्रतिशत र अन्य मुलुकतर्फको २.३ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पोलिष्टर यार्न, जस्तापाता, जुस, दाल, जडिबुटी, लगायतका वस्तुको निर्यात बढेको छ भने तयारी पोशाक, जुटका सामान, रोजिन, अलैंची, पश्मिना, लगायतका वस्तुहरुको निर्यात घटेको छ ।


पुष्प दुलाल