![](https://clickmandu.com/wp-content/uploads/2025/02/arbinda-kejariwal-1-768x401.jpg)
एजेन्सी । दिल्ली विधानसभा चुनाव २०२५ को नतिजाले भारतीय राजनीतिमा नयाँ तरंग ल्याएको छ । आम आदमी पार्टी (आप) का प्रमुख अरविन्द केजरीवाल आफ्नो पारम्परिक नयाँ दिल्ली सीटबाट भारतीय जनता पार्टी (बीजेपी) का प्रवेश वर्मासँग ४ हजारभन्दा बढी मतान्तरले पराजित भए ।
२०१४ मा केजरीवाल वाराणसीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग पराजित भएका थिए र अब उनी एक राज्यस्तरीय नेतासँग हारेर ठूलो संकटमा परेका छन् ।
दिल्लीमा आपको निरन्तर जितको श्रृंखला २०१३ देखि चल्दै आएको थियो, तर २०२५ मा आएर यो क्रम रोकिएको छ । यो हार केजरीवाललाई त्यसबेला प्राप्त भएको हो जतिबेला उनी भ्रष्टाचारको मुद्दामा जमानतमा जेलबाट बाहिर आएका थिए ।
जमानतपछि उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए र जनताले निर्णय दिने बताए । तर, चुनावी नतिजाले जनताले उनलाई पुन: समर्थन नदिएको देखिएको छ ।
दिल्लीको हार र पञ्जावमा असर
दिल्लीको हारले आम आदमी पार्टीको एकमात्र बाँकी राज्य पञ्जावमा पनि प्रभाव पार्न सक्ने अनुमान गरिएको छ । पञ्जाव विश्वविद्यालयका राजनीति विज्ञानका प्रोफेसर आशुतोष कुमार अब पार्टीको पञ्जाव इकाई बढी स्वतन्त्र बन्न सक्छ र केजरीवालको हस्तक्षेप घट्न सक्छ । भगवंत मान सरकार सुरक्षित देखिए पनि अब उनी स्वतन्त्र निर्णय लिने अवस्थामा हुन सक्छन् ।
यसले कांग्रेसलाई ठूलो फाइदा पुर्याउने देखिन्छ । कांग्रेस पञ्जावमा पहिले नै बलियो थियो र अब आपको दिल्लीमा पतन भएपछि पार्टी थप सशक्त बन्ने सम्भावना छ ।
केजरीवालको भविष्य
केजरीवाललाई प्रारम्भिक रूपमा भारतीय राजनीतिमा नरेन्द्र मोदीको मुख्य चुनौतीका रूपमा हेरिएको थियो । तर, उनले पछिल्लो समय आफ्नो रणनीतिमा स्पष्टता ल्याउन नसकेको आलोचकहरू बताउँछन् ।
गुजरात विश्वविद्यालयका सामाजिक विज्ञानका प्राध्यापक गौरांग जानी भन्छन्, ‘केजरीवालको पराजय प्रतीकात्मक रूपमा ठूलो हो । यदि उनी जितेका भए, उनले आफूलाई भ्रष्टाचारको आरोपमा फसाइएको भनेर प्रचार गर्न सक्थे। अब भने, उनी त्यो नैतिक बल गुमाइसकेका छन् ।’
बीजेपी र विपक्षबीचको शक्ति सन्तुलन
यस चुनावी हारपछि बीजेपीलाई गभर्नन्स र हिन्दुत्वको संयोजनले अझ मजबुत बनाएको देखिन्छ । दिल्लीमा आपको पराजयले विपक्षलाई नयाँ रणनीति सोच्न बाध्य बनाउनेछ ।
जेएनयूका प्राध्यापक सुधीर कुमार भन्छन्, ‘केजरीवालले गभर्नन्सको आधारमा बीजेपीको बहुसंख्यकवादको राजनीति काउन्टर गर्ने प्रयास गरे, तर सफल भएनन्। अब, विपक्षका लागि नयाँ रणनीति आवश्यक छ ।’
विपक्षमा प्रधानमन्त्री मोदीलाई चुनौती दिने अर्को मुख्य पात्र को बन्ने भन्ने प्रश्न अझै खुला छ ।
राहुल गान्धीलाई यो लाभ हुनेछ वा हुँदैन भन्ने निश्चित छैन । कांग्रेसले विभिन्न राज्यमा बीजेपीको कमजोरीको फाइदा उठाउन सकेको छैन ।
कमजोर बने क्षेत्रीय दल
भारतमा क्षेत्रीय दलहरू कमजोर बन्दै गएका छन् । ओडिशामा नवीन पटनायक पराजित भए । बिहारमा जेडीयू जूनियर पार्टनर बनिसकेको छ, महाराष्ट्रमा शिवसेना विभाजित भइसकेको छ, हरियाणामा आईएनएलडी प्रभावहीन भएको छ, तेलंगानामा बीआरएस कमजोर भइसकेको छ र अब दिल्लीमा केजरीवाल सरकारको पतन हुँदैछ ।
यस परिप्रेक्ष्यमा केजरीवालका लागि आगामी दिनहरू कठिन देखिन्छन् । उनलाई आफ्नो पार्टी र राजनीतिक भविष्य पुन: निर्माण गर्न संघर्ष गर्नुपर्नेछ । यदि उनी आफ्नो वैचारिक अस्पष्टता हटाउन सक्दैनन् भने आपको विस्तार गर्ने योजनामा पूर्ण ब्रेक लाग्न सक्छ ।
केजरीवालको उदय
सन् २०११ देखि २०१३ को बीचमा दिल्लीका सडकमा ‘इन्डिया अगेन्स्ट करप्सन आन्दोलन’ले एक नयाँ राजनीतिक परिदृश्य सिर्जना गरेको थियो । यस आन्दोलनबाट उत्पन्न आम आदमी पार्टी (आप) ले राजनीतिमा हलचल मचाएको थियो र यसका नेता अरविन्द केजरीवालले आफ्नो साधारण कद-पहिरनलाई आफ्नो पहिचानको रूपमा प्रस्तुत गरेका थिए ।
झाडु चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएको आपले भारतीय राजनीतिको फोहोर बढार्नेचर्चाबीच केजरीवालको नेतृत्वमा पार्टीले २०१५ मा दिल्ली विधानसभा चुनावमा ७० मध्ये ६७ सिट जितेर हलचल मचाएको थियो । यो सफलता भारतीय जनता पार्टीको २०१४ को लोकसभा चुनावमा ‘मोदी लहर’ अन्तर्गत जित्ने केही महिना पछि आएको थियो ।
आम आदमी पार्टीले घर, क्लिनिक, विश्वस्तरीय स्कूल, निःशुल्क बिजुली र निःशुल्क पानी जस्ता योजनाहरू मार्फत एक मजबूत मतदाता तयार गरेको थियो । यसपछि २०२० को विधानसभा चुनावमा पार्टीले फेरि ऐतिहासिक प्रदर्शन गरेर ६२ सिट जितेको थियो । यसको केही महिनाअघि २०१९ को लोकसभा चुनावमा फेरि भाजपाले दिल्लीमा सातै लोकसभा सिट जितेको थियो।
२०२४ को लोकसभा चुनावमा बीजेपीले लगातार तेस्रो पटक दिल्लीका सातै सिटमा जित दर्ज गरेको थियो । यसबावजूद, आम आदमी पार्टीको विधानसभा चुनावमा जित हासिल गर्ने सपना अधुरै रह्यो । पार्टीले यस पटक पछिल्ला चुनावहरूको तुलनामा लगभग ४० सिट गुमाएको छ र २७ वर्षपछि दिल्ली विधानसभामा पहिलो पटक बीजेपीलाई पूर्ण बहुमत प्राप्त भएको छ । यसैबीच कांग्रेसले लगातार तेस्रो पटक दिल्लीमा आफ्नो खाता खोल्न सकेन ।
प्रतिक्रिया