ऋणीले ऋण नतिर्दा २३ अर्ब रुपैयाँले घाटामा बैंक


काठमाडौं । वाणिज्य बैंकहरुको सञ्चित नोक्सानी २३ अर्बभन्दा माथि पुगेको छ। गत आर्थिक वर्ष २०८०/८१ मा २० वटै वाणिज्य बैंकहरुको लेखापरीक्षण हुँदा सञ्चित नोक्सानी बढेर २३ अर्ब २ करोड ९८ लाख रुपैयाँ पुगेको छ ।

गत असार मसान्तमा बैंकहरुले प्रकाशिन गरेको वासलातमा वाह्य लेखापरिक्षकबाट लेखापरीक्षण हुँदा कर्जा नोक्सानी व्यवस्थामा उच्च वृद्धि भएको छ । जसले केही बैंकको नाफामा उच्च गिरावट देखिएको हो ।

कही बैंकमा वाह्य लेखापरीक्षणअघि र पछिको मुनाफामा उच्च गिरावट देखिएसँगै सञ्चित नोक्सानीमा पनि उच्च वृद्धि देखिएको छ । गत आर्थिक वर्ष २०७९/८० को पुस मसान्तमा वाणिज्य बैंकहरुको सञ्चित नोक्सानी १६ अर्ब ३६ करोड रहेको थियो । चालु आवको सञ्चित नोक्सानी अझै बढ्दै गएको छ ।

निष्क्रिय कर्जा बढ्दै जाँदा बैंकहरुको सञ्चित नोक्सानी पनि बढ्दै गएको छ । पुस मसान्तमा वाणिज्य बैंकहरुको औसत निष्क्रिय कर्जा अनुपात ४.७३ प्रतिशत पुगेको छ । २०८० पुस मसान्तमा ३.६३ प्रतिशत रहेको निष्गकृय कर्जा अनुपात एक वर्षको अवधिमा १.१० प्रतिशत बिन्दुले बढेको हो ।

कर्जा नोक्सानी व्यवस्थामा भएको उच्च वृद्धिसँगै बैंकहरुको नाफामा पनि घटेको छ । त्यस्तै उठ्न बाँकी ब्याज (बक्यौता) बढ्सँगै बैंकहरुको सञ्चित नोक्सानी बढ्दै गएको छ ।

धेरै बैंकले गत असार मसान्तमा प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणको तुलनामा पुस मसान्तमा देखापरिक्षणपछिको वित्तीय विवरणमा केही बैंकको नाफामा भारी गिरावट भएको छ ।

नाफामा गिरावटसँगै बैंकहरुको सञ्चित नोक्सानी पनि बढेको हो । पुस मसान्तमा सञ्चालनमा २० मध्ये १० वाणिज्य बैंक सञ्चित नोक्सानीमा रहेको राष्ट्र बैैंकले जनाएको छ । १० मध्ये ३ वटा बैंकको सञ्चित नोक्सानी ५ अर्बभन्दा धेरै छ । पुस मसान्तमा हिमालयन बैंकको सञ्चित नोक्सानी सर्वाधिक ७ अर्ब ४४ करोड रहेको केन्द्रिय बैंकको तथ्यांक छ ।

त्यस्तै कुमारी बैंकको सञ्चित नोक्सानी ६ अर्ब ७५ करोड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सञ्चित नोक्सानी ५ अर्ब ६९ करोड पुगेको छ । प्रभु बैंकको ३ अर्ब ३ करोड, राष्ट्रिय वाणिज्य बैंकको २ अर्ब २ करोड र लक्ष्मी सन्‌राइज बैंकको सञ्चित नोक्सानी ७९ करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।

पुस मसान्तमा सञ्चित नाफामा रहेका १० मध्ये सबैभन्दा धेरै नाफा एभरेष्ट बैंकको छ । बैंकको सञ्चित नाफा १ अर्ब ४७ करोड हुँदा सानिमा बैंकको करिब ७५ करोड सञ्चित नाफा छ । सञ्चित नाफामा रहेका बैंकहरुको नाफा एभरेष्ट बाहेक सबैको करोडमा छ । यता धेरै सञ्चित नोक्सानीमा रहेका ५ बैंकको मात्रै करिब २५ अर्ब सञ्चित नोक्सानी छ ।

पुस मसान्तमा कुल पुँजीकोष ६ खर्ब ८६ अर्ब १६ करोड रहेको छ । सोही अवधिमा चुक्ता पूँजी ३ खर्ब ८४ अर्ब ९३ करोड छ । बैंकहरुले सम्भावित कर्जा नोक्सानीको लागि गरेकोनोक्सानी व्यवस्था २ खर्ब ४३ अर्ब पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

पुस मसान्तमा वाणिज्य बैकहरुको सञ्चित नाफा\नोक्सान (रु. १० लाखमा)
बैंकसञ्चित नाफा/नोक्सान
एभरेष्ट1474.81
सानिमा 747.20
नेपाल607.18
नेपाल एसविआई382.38
नबिल377.20
कृषि विकास272.33
स्ट्यान्डर्ड चाटर्ड57.05
प्राइम25.21
ग्लोबल आईएई19.64
सिद्धार्थ16.76
एनएमबि-93.84
एनआईसी एशिया -322.83
माछापुच्छ्रे-359.80
सिटिजन्स-503.65
लक्ष्मी सनराइज-793.55
राष्ट्रिय वाणिज्य-2022.18
प्रभु-3025.53
नेपाल इन्भेष्टमेन्ट मेगा-5693.23
कुमारी-6753.43
हिमालयन-7441.53
जम्मा-23029.80