![](https://clickmandu.com/wp-content/uploads/2025/02/bindesh-dahal-article.jpg)
अमेरिकाको ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय विकास सम्बन्धी अमेरिकी निकाय यूएसएड बन्द गर्ने निर्णय लिएपछि त्यसको विश्वव्यापी असर परेको छ ।
विदेशीहरूलाई यूएसएडमार्फत अमेरिकाले वर्षैपिच्छे अर्बौं डलर सहयोग गर्दै आएको थियो । त्यसलाई अचानक बन्द गरिँदा उत्पन्न भएको शून्यताको स्थितिलाई चीन र रुस जस्ता महाशक्तिहरूले आफ्नो स्वार्थअनुकूल ढाल्न सक्ने विश्लेषणहरू भइरहेका छन् ।
सन् १९६१ मा तत्कालीन राष्ट्रपनि जोन एफ. केनेडीले स्थापना गरेको यूएसएड अमेरिकी परराष्ट्रनीतिको बलियो खम्बा हो । यसमार्फत अमेरिकाले मानवीय सहायता, विकासमा लगानी र अन्य विभिन्न सहयोगहरू उपलब्ध गराउँदै आएको छ ।
शीतयुद्धको समयमा अमेरिका र सोभियत संघबीच विश्वव्यापी प्रभावका लागि प्रतिस्पर्धा हुँदा अमेरिकाले यूएसएडमार्फत सफ्ट पावर प्रक्षेपण गर्न सफलता पाएको थियो । शीतयुद्धको अन्त्यपछि चीन बिस्तारै महाशक्ति बन्दै जाँदा उसको प्रभाव पनि बढ्दै गएको थियो र अमेरिकाले चीनसँगको प्रतिस्पर्धाका लागि यूएसएडको उपयोग गरिरहेको थियो ।
तर यूएसएडले अमेरिकाको अनुकूल नठानिएका मुलुकमा सत्तापरिवर्तन तथा सामाजिक रूपान्तरणका लागि लगानी गरेको भनी आरोपहरू पनि लाग्ने गरेका छन् । जस्तो, यूएसएडले सिरियामा बशर अल असदलाई सत्ताच्युत गर्नका लागि इस्लामिक विद्रोही समूहहरूलाई पैसा दिनुका साथै असदविरुद्धको घृणा फैलाउने अभियानमा पनि लगानी गरेको थियो । त्यस्तै इरानमा ३० वटा विपक्षी समूह र सञ्चारमाध्यमलाई यूएसएडले सरकारविरोधी माहोल बनाउनका लागि लगानी गरिरहेकोमा अहिले त्यसमा विराम लाग्दा उनीहरू आत्तिएका छन् भनी मिडल ईस्ट आई नामक समाचार वेबसाइटले खबर दिएको छ ।
आफ्ना प्रतिस्पर्धी मुलुकहरूलाई सन्तुलनमा राख्नका लागि अमेरिकाले यूएसएडको उपयोग गर्दै आएको छ । रुसविरुद्ध लडिरहेको युक्रेनलाई यूएसएडले युद्ध शुरू भएयता ३५ अर्ब डलर सहयोग उपलब्ध गराएको छ । उक्त रकम आकस्मिक स्वास्थ्य तथा सरकारी कर्मचारीको तलबमा खर्च हुने गरेको छ ।
अमेरिकाले युक्रेनलाई करोडौं डलरको हातहतियार सहयोग गरेबाहेकको यो बेग्लै गैरसैन्य सहयोग हो र यसले युद्धलाई लम्ब्याउन मद्दत गरिरहेको छ । युद्ध शुरू हुनुअघि युक्रेनीहरूमाझ रुसका विरुद्ध घृणा फैलाउनका लागि पनि यूएसएडको सहयोग महत्त्वपूर्ण ठहरिएको थियो ।
उता ताइवानमा पनि यूएसएडले विपद् प्रतिकार्य, तरकारी उत्पादन तथा बजारीकरण लगायतका क्षेत्रमा सहयोग प्रदान गरी चीनविरुद्ध उभ्याउनका लागि योगदान गरिरहेको छ । अनि प्यालेस्टाइनीहरूको नरसंहारमा संलग्न इजरायललाई पनि यूएसएडले करोडौं डलरको सहयोग गरेको छ । त्यसो त गाजामा रहेका प्यालेस्टाइनीहरूलाई मानवीय सहायता पनि यूएसएडले उपलब्ध गराएको छ ।
ट्रम्प प्रशासनले यी लगानीहरूलाई तत्कालका लागि रोक लगाएको भए पनि वास्तवमा यसलाई पूरै बन्द गर्न खोजेको हैन । अहिले यूएसएड अमेरिकी संसद् कंग्रेसको सुपरिवेक्षणमा छ । तर ट्रम्पले त्यसलाई कार्यकारी निकाय अर्थात् आफ्नो प्रभाव अन्तर्गत ल्याउन खोजेका छन् । त्यसैले त ट्रम्पका परराष्ट्रमन्त्री मार्को रुबियोले आफू यूएसएडको कार्यवाहक निर्देशक भएको र उक्त निकाय परराष्ट्र मन्त्रालय अन्तर्गत रहने बताएका छन् ।
यसरी संसद्को सुपरिवेक्षणबाट कार्यकारी अन्तर्गत यूएसएडलाई ल्याउँदा पारदर्शिता कायम रहन पाउँदैन । भनाइको मतलब, अमेरिकाले आफूलाई मन नपरेको विदेशी शासकलाई सत्ताच्युत गराउने प्रयास त्याग्ने छैन तर अब आइन्दा त्यस्तो प्रयासलाई उजागर गर्न कठिन हुनेछ । ट्रम्पले जतिसुकै ‘पहिले अमेरिका’ भनी फलाके पनि विदेशी मुलुकमा आफूअनुकूलको सत्ता ल्याउनका लागि अमेरिकाले प्रयास गर्न छोड्ने छैन ।
वास्तवमा ट्रम्पलाई यूएसएड विपक्षी डेमोक्रेटहरूको कब्जामा रहेको भनी रिस उठेको हो । पहिचानवादी राजनीतिको एजेन्डा फैलाउनका लागि यूएसएडले लगानी गरेकोमा ट्रम्पका दक्षिणपन्थी समर्थकहरू क्षुब्ध छन् । जस्तो, सर्बियाका सरकारी कार्यालय र व्यापारिक प्रतिष्ठानहरूमा विविधता, समानता र समावेशिता (डीईआई) को एजेन्डा फैलाउनका लागि अनि तेस्रोलिंगी सर्बियालीहरूको हितका लागि भन्दै यूएसएडले सन् २०२२ मा १५ लाख डलर खर्च गरेको थियो । आयरल्यान्ड, कोलम्बिया र पेरुका कला क्षेत्रमा लैंगिक पहिचान तथा सीमान्तीकृत समुदायको समावेशिताका लागि भनी यूएसएडले रकम खर्चेको अमेरिकी दक्षिणपन्थीहरूलाई चित्त बुझेको छैन ।
अझ त्यसमाथि ट्रम्प र उनका सहयोगीहरूका विरुद्ध सामग्री तयार पार्न यूएसएडले लगानी गरेको तथ्य पनि बाहिरिएको छ । ट्रम्पका कानूनी सल्लाहकार रहेका रुडी जुलयानीले युक्रेनमा गरेको राजनीतिक कार्यका सम्बन्धमा अर्गनाइज्ड क्राइम यान्ड करप्शन रिपोर्टिङ प्रोजेक्ट नामक संस्थाले नकारात्मक सामग्री निर्माण गरी कालान्तरमा ट्रम्पविरुद्ध महाअभियोग लगाइने स्थिति निर्माण भएको थियो । उक्त संस्थालाई यूएसएडले लगानी गरेको भनी फाउन्डेशन अफ फ्रीडम अनलाइनका कार्यकारी निर्देशक माइक बेन्जले उल्लेख गरेका छन् । त्यसैले यूएसएडलाई आफ्नो नियन्त्रणमा ल्याएर आफ्ना बफादारहरू नियुक्त गर्ने ट्रम्पको निहित उद्देश्य रहेको देखिन्छ ।
अहिले यूएसएडका लगानीहरूका विषयमा ट्रम्प प्रशासनले समीक्षा गरिरहेको छ । अफ्रिकी मुलुक तथा विश्वका अन्य जोखिमयुक्त क्षेत्रमा औषधि र खाद्यान्न सहयोग यूएसएडमार्फत भइरहेकोमा त्यसलाई रोक्ने कार्य अमानवीय ठहर्छ । त्यसैले त्यस्ता सहयोग जारी रहने अपेक्षा गर्न सकिन्छ । तर अत्यावश्यक सहयोग बाहेकका अन्य सहायता कार्यक्रमहरूमा रोक लगाउँदा पनि अमेरिकाको सफ्ट पावरमा ठूलै धक्का लाग्ने सम्भावना रहन्छ ।
संसारको सबभन्दा ठूलो दाताका रूपमा अमेरिकाको गौरवशाली उपस्थिति रहेकोमा ट्रम्प प्रशासनले लगानी घटाइदिँदा उसको समकक्षी प्रतिस्पर्धी चीनले विकासशील मुलुकहरूमा आफ्नो प्रभाव बढाउने अवसर पाउँछ । बेल्ट यान्ड रोड इनिशिएटिभमार्फत चीनले विभिन्न मुलुकहरूमा भौतिक निर्माण परियोजनामा खर्बौं डलर लगानी गरेको छ । कुनै राजनीतिक वा मानवअधिकार सम्बन्धी शर्त नराखिकन चीनले गरेको लगानीका कारण विकासशील देशहरू उसप्रति कृतज्ञ बनेका छन् ।त्यसले गर्दा चीनले अन्य मुलुकका बहुमूल्य खनिज पदार्थ, ऊर्जा स्रोत तथा रणनीतिक रूपमा महत्त्वपूर्ण व्यापारिक मार्गहरूमा पहुँच प्राप्त गरेको छ । उसको यो सफ्ट पावर आगामी दिनहरूमा थप बढ्नेछ भने अमेरिकाको विश्वव्यापी लगानी घट्दा चीनलाई थप लाभ मिल्नेछ ।
उता रुसले पनि अफ्रिकी र एसियाली मुलुकहरूमा स्थलमार्ग, आणविक भट्टी, जलविद्युत् लगायतका क्षेत्रमा लगानी बढाइरहेको छ । पश्चिमी मुलुकहरूले जस्तो शोषणमा आधारित उपनिवेशवादी शैली नअपनाई वास्तविक विकासका लागि रुसले लगानी गरेकाले विकासशील मुलुकहरूमा रुसप्रतिको धारणा सकारात्मक रहेको छ । त्यसैले युक्रेनमाथि आक्रमण गरी युद्ध गरिरहेको रुसलाई पश्चिमाहरूले जस्तो गरी बाँकी विश्वले प्रतिबन्ध लगाउने र एक्ल्याउन प्रयास गर्ने काम गरेका छैनन् । रुसको पनि सफ्ट पावर बढिरहँदा अमेरिकी लगानीमा लगाइएको रोकले प्रतिस्पर्धालाई कठिन बनाउने देखिन्छ ।
यूएसएडमा लगानी रोक्ने ट्रम्पको कदमले अमेरिकाको सफ्ट पावरमा क्षति पुग्ने निश्चित छ । हार्ड पावर अर्थात् सैन्य शक्तिका कारण अनावश्यक युद्ध गरेर बदनामी कमाएको अमेरिकाले विभिन्न स्थानमा मानवीय सहयोग गरी सफ्ट पावरमार्फत प्रशंसा पनि बटुलेको छ । तर ट्रम्पले यूएसएडको विदेशी सत्तापरिवर्तनकारी नीतिलाई निरन्तरता दिने अनि कार्यकारी निकायअन्तर्गत त्यसलाई राखी अपारदर्शी बनाउने हो भने अमेरिकाको सफ्ट पावरमा आघात पुग्नेछ । अमेरिकी एकध्रुवीयताको युग समाप्तिको उदाहरणका रूपमा यसलाई हेर्न सकिन्छ ।
प्रतिक्रिया