अमेरिका इरान द्वन्द्वले सुनसरी–मोरङ औद्योगिक क्षेत्रको आपूर्ति श्रृंखलामा गम्भीर समस्या

औद्योगिक कच्चा पदार्थ आउन नआउँदा बजार संकटतर्फ


विराटनगर । पश्चिम एसियामा अमेरिका र इरानबीच जारी द्वन्द्वले सुनसरी–मोरङ औद्योगिक क्षेत्रको आपूर्ति श्रृंखलामा गम्भीर समस्या सुरू भएको छ ।

औद्योगिक क्षेत्रका उद्योगहरूमा यस बेला आपूर्ति श्रृंखलाको समस्या, बढ्दो ढुवानी खर्च र मूल्यवृद्धिको प्रकोप सुरू भएको उद्योगीहरूको गुनासो छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि र चर्को ढुवानी लागतले उद्योग सञ्चालनमै समस्या हुँदा आपूर्तिको शृंखला नै प्रभावित भएको छ।

पाकिस्तानमा अमेरिका र इरानबीच भएको वार्ता असफल भएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी बन्दरगाह नाकाबन्दी गर्ने र आवश्यक परे इरानका पुल तथा विद्युत् गृहमा आक्रमण गर्ने चेतावनी दिएका छन् । इरानले पनि यसको प्रतिरोध गर्ने तयारी गरेसँगै तनाव झन् बढेको छ ।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी आपूर्ति श्रृंखला झन् जटिल बन्ने अवस्थामा पुगेको बताउँछन् । ‘अमेरिका र इरानबीचको वार्ता असफलले हर्मुजको अवस्था झन् जटिल बनेसँगै सुनसरी–मोरङ औद्योगिक क्षेत्रको आपूर्ति श्रृंखला झन् जटिल बन्ने अवस्थामा पुगेको छ,’ उनले भने ,’यसले औद्योगिक क्षेत्रको आपूर्ति शृंखला थप बिग्रिने स्थिति छ ।’

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं अर्थतन्त्रका अध्येता अविनाश बोहोरा पूर्ण रूपमा आयातमा निर्भर नेपालका लागि यो द्वन्द्व ठूलो झट्का भएको बताउँछन् । ‘यहाँका प्रायः सबै उद्योगको कच्चा पदार्थ खाडी मुलुकबाट आउँछ,’ उनले भने, ‘अमेरिका र इरानको द्वन्द्वले औद्योगिक कच्चा पदार्थ नै आउन छाडेको छ र यसले औद्योगिक क्षेत्रको आपूर्ति शृंखला नै प्रभावित हुँदै गएको छ ।’

विराटनगरको औद्योगिक क्षेत्र र निजी क्षेत्रमा अहिलेको मुख्य समस्या पेट्रोलियम पदार्थ र त्यससँग सम्बन्धित आपूर्ति श्रृंखलामा देखिएको बोहोरा बताउँछन् । ‘दुबईजस्ता निःशुल्क बन्दरगाह हुँदै भारतबाट सामान आउँछ । अहिले ढुवानी लागत बढेको छ, बीमा शुल्क थपिएको छ र जहाजहरू ढिलो हुँदै छन्,’ उनले भने, ‘बजार अहिलेसम्म पूर्ण रूपमा संकटमा पुगेको छैन, तर यदि यो अवस्था लामो समयसम्म रह्यो भने वस्तुहरूको अभाव हुने र बजारमा समस्या गहिरिने अवस्था छ ।’

नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवनकुमार सारडाले छोटो अवधिमा मूल्यवृद्धि देखिए पनि दीर्घकालीन असर अझ व्यापक हुने बताए । हर्मुज जस्ता संवेदनशील मार्गबाट आउने जहाजहरू प्रभावित हुँदा ढुवानी लागत बढ्ने र युद्ध जोखिम जस्ता अतिरिक्त शुल्क थपिने उनको भनाइ छ ।

‘सुनसरी–मोरङ औद्योगिक क्षेत्रका उद्योगहरूमा एसिड, ग्रानुल्स, सल्फ्युरिक एसिड, जिङ्क, एडहेसिभ जस्ता धेरै औद्योगिक कच्चा पदार्थ त्यही बाटो हुँदै आउँछन् । अहिले ती औद्योगिक कच्चा पदार्थ समयमा आपूर्ति नहुँदा उद्योगको उत्पादन र बजारको आपूर्ति श्रृंखला नै प्रभावित भएको छ,’ सारडा भन्छन्,’आपूर्ति प्रणालीमा अवरोध आउँदा उद्योगहरूको उत्पादन लागत बढ्ने र सञ्चालनमा कठिनाइ हुने अवस्था आएको छ ।’

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै ढुवानी खर्च दोब्बर पुग्दा मुद्रास्फीतिमा असर पर्ने बताए ।

नेपाली उद्योगी व्यवसायी र उपभोक्ता आन्तरिक चुनौती मात्र नभई अन्तर्राष्ट्रिय परिस्थितिबाट पनि प्रभावित भएको उनको भनाइ छ । ‘यसको प्रत्यक्ष असर नेपालजस्तो आयातमुखी अर्थतन्त्रमा पर्ने निश्चित छ । नेपालमा रेमिट्यान्स र कुल गार्हस्थ्य उत्पादनको अनुपात करिब २५ प्रतिशत पुगिसकेको छ,’ उनले भने,’मध्यपूर्वको अस्थिरताले रोजगारी र आम्दानी दुवैमा असर पार्ने र यो अवस्था लामो समय रहेमा देशको आर्थिक गतिविधि र समग्र अर्थतन्त्र नै संकुचित हुनसक्ने जोखिम बढेको छ ।’

राउतले ग्यास आपूर्ति प्रभावित हुँदा मल उत्पादनमा कमी आउन सक्ने भन्दै यसको प्रभाव उत्पादनमा पर्न सक्ने बताए ।

‘पेट्रोलियमबाट उत्पादन हुने ग्यास रासायनिक मल उत्पादनमा प्रयोग हुने भएकाले ग्यास आपूर्ति प्रभावित हुँदा मल उत्पादनमा कमी आउन सक्छ,’ राउतले भने ,’मल अभाव भयो भने कृषि उत्पादन घट्ने, नयाँ फसलमा समस्या आउने र बजारमा खाद्यान्न आपूर्तिमा दबाब पर्ने स्थिति छ ।’

एसियाली विकास बैंकले नेपालको आर्थिक वृद्धिदर करिब २.६ देखि २.७ प्रतिशत अनुमान गरेको सन्दर्भमा अध्यक्ष राउतले यो तनावले उक्त वृद्धिदरमा पनि नकारात्मक असर पार्ने उल्लेख गरे ।

‘मुख्य उपाय भनेको आपूर्ति श्रृंखलालाई मजबुत र निरन्तर राख्नु हो । राज्य र निजी क्षेत्र दुवैले समन्वय गरेर आपूर्ति व्यवस्था स्थिर राख्नुको विकल्प छैन,’ उनले भने, ‘ विकल्पका रूपमा भारतबाट हुने आयातलाई केही प्रतिशतसम्म बढाउन सकिन्छ, तर त्यसको लागत संरचना फरक हुन सक्छ ।’

अहिले कोशीका उद्योगी व्यवसायीहरूले सरकारसँग सहुलियत, अनुदान र वैकल्पिक आपूर्ति व्यवस्थाको माग गरिरहेका छन् ।

Skip This