
विराटनगर । मध्यपूर्व क्षेत्रमा बढ्दै गएको द्वन्द्वले नेपाली भान्सा महँगो हुने अवस्था आएको छ । द्वन्द्वले विश्वव्यापी रूपमा आर्थिक अस्थिरता निम्त्याउँदा आयातमा निर्भर नेपालीको भान्सा प्रभावित हुने सरोकारवालाहरूको बुझाइ छ ।
खाना पकाउने ग्यासको अभाव सुरु भएसँगै सरकारले आधा सिलिन्डर वितरण गर्न सुरु गरिसकेको छ । इन्धनको मूल्य वृद्धिसँगै ढुवानी लागत बढ्दा महँगी बढेको छ । त्यससँगै द्वन्द्वका कारण दैनिक उपभोग्य वस्तुका रूपमा प्रयोग हुने खाने तेलको कच्चा पदार्थको मूल्य र ढुवानी लागत बढ्दा नेपाली भान्सा महँगो हुने सम्बद्ध उद्योगीहरूको भनाइ छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि, ढुवानी प्रणालीमा आएको अवरोध र बढ्दो यातायात लागतले नेपाली बजारमा खाने तेलको मूल्य २० प्रतिशतसम्म वृद्धि हुन सक्ने उद्योगीहरू बताउँछन् ।
नेपालमा प्रयोग हुने अधिकांश खाने तेलको कच्चा पदार्थ पाम आयल, सोयाबिन, सूर्यमुखी तथा अन्य वनस्पति तेलका लागि मलेसिया, युक्रेन, अर्जेन्टिना, ब्राजिल, क्यानडा लगायतका देशबाट आयात हुन्छ । ती देशमा देखिएको भूराजनीतिक तनाव, जलवायु परिवर्तनका कारण उत्पादनमा आएको कमी तथा आपूर्ति प्रणालीमा मध्यपूर्व द्वन्द्वले पुर्याएको अवरोधले कच्चा पदार्थको उपलब्धता अस्थिर बनेको छ ।
यसको प्रभावले अन्तर्राष्ट्रिय बजारमै मूल्य बढिरहेको छ । उद्योग संगठन मोरङका अध्यक्ष तथा वागमती खाद्य तेल उद्योगका सञ्चालक नन्दकिशोर राठीले भने, ‘युद्धको प्रभावले कच्चा पदार्थको मूल्य वृद्धि हुनुका साथै ढुवानी खर्च बढ्दा खाने तेलमा कम्तीमा २० प्रतिशतसम्म मूल्य वृद्धि हुने अवस्था आएको छ ।’
सिपिङ लागतमा पनि उछाल आएको छ । ढुवानी कम्पनीहरूले ‘फोर्स मेजर’ भन्दै प्रति कन्टेनर १५ सयदेखि २ हजार अमेरिकी डलरसम्म अतिरिक्त शुल्क बढाउँदा समग्र आयातको लागत बढेको छ ।
कच्चा वनस्पति तेलको मूल्य नै १५ प्रतिशतसम्म वृद्धि भइसकेको छ । यो अवस्थामा सिपिङ कम्पनीले प्रति कन्टेनर २ हजार डलरसम्म ढुवानी भाडा बढाएका छन् । राठीका अनुसार कच्चा पदार्थको मूल्य वृद्धि र ढुवानी भाडामा भएको यो बढोत्तरीको प्रत्यक्ष प्रभाव नेपाली भान्सामा पर्ने निश्चित छ ।
कच्चा पदार्थको मूल्य वृद्धि र ढुवानी खर्च बढ्ने मात्र होइन, सिपमेन्ट समयमै नआउँदा आपूर्ति शृङ्खला नै अवरुद्ध भई बजारमा तेलको अभाव हुने चिन्ता पनि बढेको छ ।
हालको अवस्थाको मुख्य कारणमध्ये मध्यपूर्वको रणनीतिक समुद्री मार्ग ‘स्ट्रेट अफ हर्मुज’ मा उत्पन्न अस्थिरता हो । विश्व व्यापारको ठूलो हिस्सा यही मार्ग हुँदै सञ्चालन हुने भएकाले यहाँको अवरोधले विश्वव्यापी आपूर्ति प्रणालीमा ठूलो असर पार्दै आएको छ । द्वन्द्वका कारण जहाजहरूको सुरक्षित आवागमनमा समस्या उत्पन्न भएको छ । राठीले भने, ‘वैकल्पिक मार्गहरू प्रयोग गर्दा ढुवानी झन् महँगो पर्छ र समय बढी लाग्छ, जसको भार उपभोक्तामाथि नै थोपरिन्छ ।’
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल तथा वनस्पति तेलको मूल्य निरन्तर उकालो लागिरहेको छ । अमेरिकी डलरको विनिमय दरमा भएको उतारचढावले पनि नेपालजस्तो आयातमुखी अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको छ । नेपाली रुपैयाँ कमजोर हुँदा आयातित वस्तु झन् महँगा पर्ने उद्योगीहरूको भनाइ छ ।
युद्धअघि प्रति टन १ हजार २२० डलर पर्ने भटमासको कच्चा तेल अहिले १ हजार २८० डलरसम्म पुगेको छ । त्यस्तै सूर्यमुखी तेलको मूल्य पनि १ हजार ४ सय डलरबाट बढेर १ हजार ५२० डलरसम्म पुगेको छ । उद्योगीका अनुसार सिपिङ कम्पनीले ढुवानी भाडा प्रति कन्टेनर २ हजार डलर बढाएपछि समग्र लागत बढ्दा तेलको मूल्य २० प्रतिशतसम्म बढ्ने स्थिति छ ।
हाललाई नेपाली बजारमा खाने तेलको मूल्य बढिहालेको भने छैन । अहिले उद्योगीहरू ‘पर्ख र हेर’ को अवस्थामा छन् । उद्योगीहरूले कच्चा पदार्थको नयाँ अर्डर गर्न सकिरहेका छैनन् । आपूर्ति कहिले र कति लागतमा हुन्छ भन्ने निश्चित छैन । आपूर्तिकर्ताहरूले समेत नयाँ अर्डर लिन मानेका छैनन् । यसले आगामी दिनमा बजारमा अभावको अवस्था सिर्जना हुने संकेत गरेको राठीले बताए ।
यसको सबैभन्दा ठूलो असर नेपाली उपभोक्तामा पर्नेछ । खाने तेल हरेक घरमा दैनिक प्रयोग हुने वस्तु भएकाले यसको मूल्य वृद्धि हुँदा परिवारको मासिक खर्चमा प्रत्यक्ष प्रभाव पर्नेछ । मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीका अनुसार यसले होटल, रेस्टुरेन्ट, फास्ट फुड व्यवसाय तथा खाद्य उद्योगमा पनि उत्पादन लागत बढाउनेछ र अन्य खाद्य परिकारको मूल्यमा समेत प्रभाव पर्दा समग्र महँगी बढ्ने जोखिम देखिएको छ ।
पशुपति खाद्य तेल उद्योगका सञ्चालक तथा मोरङ उद्योग व्यापार संघका सचिव अमित सारडाले कच्चा तेल आपूर्तिकर्ताहरूले नयाँ अर्डर लिन छाडेको बताए । विदेशस्थित आपूर्तिकर्ताहरूले वर्तमान अवस्थामा ढुवानी तालिका अनिश्चित भएको, अतिरिक्त शुल्क लाग्ने र समयमै सामान पुग्ने ग्यारेन्टी नहुँदा अर्डर लिन नमानेको सारडाको भनाइ छ ।
माग र आपूर्तिको यो असन्तुलन कायमै रहे नेपालमा खाने तेलको भाउ स्वाभाविक रूपमा बढ्ने पक्का छ । सारडाले भने, ‘यो विशुद्ध कमोडिटीको भौतिक अभावसँग जोडिएको विषय हो ।’








प्रतिक्रिया