कांग्रेसका अधिकांश केन्द्रीय सदस्यले भने: गगनको नेतृत्व आवश्यक छ, राजीनामा स्वीकृत गर्नुहुन्न

98
Shares

काठमाडौं । नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्यहरूले पार्टी सभापति गगनकुमार थापाले दिएको राजीनामा स्वीकृत नगर्नुपर्ने धारणा राखेका छन् ।

पार्टी केन्द्रीय कार्यसमितिको जारी बैठकमा उपसभापति विश्वप्रकाश शर्माले सभापतिको राजीनामा अस्वीकार गर्ने प्रस्ताव पेश गरेका छन्। बैठकमा बोल्ने बहुमत सदस्यहरूले नैतिकताको आधारमा दिएको राजीनामाको सम्मान गर्दै त्यसलाई अस्वीकृत गर्नुपर्ने बताएका छन्।

पार्टी प्रवक्ता देवराज चालिसेले अधिकांश सदस्यहरूले देशको पछिल्लो परिस्थितिमा पार्टी पुनर्निर्माणका लागि थापाको नेतृत्व आवश्यक रहेको बताएका जानकारी दिए । उनका अनुसार अहिलेको अवस्था सम्हाल्न तथा पार्टीलाई थप जिम्मेवारीका साथ अघि बढाउन थापाकै नेतृत्व अपरिहार्य रहेको धारणा व्यक्त गरिएको छ ।

चालिसेले देशको परिस्थिति, पार्टीलाई नवजीवन दिनुपर्ने आवश्यकता, पुनर्निर्माण र आधुनिकीकरण गरेर जनअपेक्षाअनुसारको कांग्रेस बनाउनुपर्ने दायित्व यही समितिमा रहेको बताए । उनले सोही समितिले १५औं महाधिवेशन सम्पन्न गर्नुपर्ने जिम्मेवारी पनि रहेको उल्लेख गरे ।

उनले सभापति थापाले नैतिकताको आधारमा दिएको राजीनामालाई उच्च मूल्यांकन गर्दै त्यसलाई अस्वीकृत गर्ने प्रस्तावमा व्यापक छलफल भइरहेको बताए । अहिलेसम्म बोल्ने अधिकांश सदस्यहरूले अहिलेको परिस्थितिमा नेतृत्व परिवर्तन गर्ने समय नभएको र राजीनामा अस्वीकृत गर्नुपर्ने धारणा राखेको उनले बताए।

सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई बुझाएको राजीनामाबारे बैठकमा छलफल जारी रहेको छ। साथै, बैठकले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट आएको जनमतलाई स्वीकार गर्ने निर्णय पनि गरेको प्रवक्ता चालिसेले बताए।

बैठकमा सभापति गगन थापा भने उपस्थित थिएनन् । बैठकको अध्यक्षता उपसभापति विश्वप्रकाश शर्माले गरेका थिए।

Skip This