आयो २०८३ सालमा बैंक बिदाको क्यालेन्डर, दशैंमा ७ र तिहारमा ५ दिन (सूचीसहित)

7
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी वर्ष विक्रम संवत् २०८३ सालका लागि बैंक बिदाको सूची सार्वजनिक गरेको छ । राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले एक सूचना जारी गर्दै २०८३ सालभरी हुने सार्वजनिक, धार्मिक तथा विभिन्न समुदायका पर्व बिदा र बैंकिङ कारोबार समयको बारेमा जानकारी गराएको हो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको बिदाको सूची अनुसार २०८३ सालको बडा दशैंको बिदा असोज ३१ गते (फूलपाती) देखि सुरु भई कात्तिक ६ गते (द्वादशी) सम्म कूल ७ दिन हुनेछ। त्यस्तै, अर्को ठूलो चाड तिहार बिदा कात्तिक २२ गते (लक्ष्मीपूजा) देखि कात्तिक २६ गते (भाइटीकाको भोलिपल्ट) सम्म कूल ५ दिन रहनेछ ।

अन्य मुख्य बिदाका मितिहरू यसप्रकार छन्ः
नयाँ वर्षः वैशाख १ गते
विश्व मजदुर दिवस बुद्ध जयन्ती / उभौली पर्वः वैशाख १८ गते
गणतन्त्र दिवसः जेठ १५ गते
रक्षाबन्धनः भदौ १२ गते
गाईजात्राः भदौ १३ गते
श्रीकृष्ण जन्माष्टमी / गौरा पर्वः भदौ १९ गते
हरितालिका (तीज): भदौ २९ गते (महिला कर्मचारीका लागि मात्र)
संविधान दिवस : असोज ३ गते
इन्द्रजात्राः असोज ९ गते (काठमाडौँ उपत्यका मात्र)
घटस्थापनाः असोज २५ गते
छठ पर्वः कात्तिक २९ गते
महाशिवरात्रिः फागुन २२ गते
फागु पूर्णिमा (होली): चैत ७ गते (पहाडी ५६ जिल्ला) र चैत ८ गते (तराईका जिल्ला)

राष्ट्र बैंकले मौसमअनुसार कार्यालय समयलाई दुई भागमा विभाजन गरेको छ । नियमित समय (वैशाख १ देखि कात्तिक १५ सम्म र माघ १६ देखि चैतमसान्तसम्म) कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म र बैंकिङ कारोबार समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ ।

हिउँदको ४ महिनामा कात्तिक १६ देखि माघ १५ सम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म र बैंकिङ कारोबार समय बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ ।

प्रत्येक शनिबार बैंक पूर्ण बिदा रहनेछ । नेपाल सरकारले आकस्मिक रूपमा सार्वजनिक बिदा घोषणा गरेको दिनमा पनि नगद भुक्तानी, ईसीसी, आरटीजीएस र मौद्रिक व्यवस्थापन जस्ता अत्यावश्यक बैंकिङ सेवाहरू सुचारु रहनेछन् । यस्तो अवस्थामा न्यून कर्मचारीको उपस्थितिमा बिहान १० बजेदेखि अपराह्न १ः३० बजेसम्म काउन्टरहरू खुला रहने राष्ट्र बैंकले जनाएको छ ।

Skip This