
काठमाडौं । गोयन्का ग्रुपद्वारा सञ्चालित तीनवटा कम्पनीले चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा साढे १ अर्ब रुपैयाँ बढीको कारोबार गरेका छन् । ग्रुपका अरुण एग्रो इन्डस्ट्रिज, गोयन्का फुड्स प्रालि र मनोज फुड्स प्रालि कम्पनीले चालू आवको ६ महिनाको अवधिमा १ अर्ब ६१ करोड ४० लाख रुपैयाँको कारोबार गरेका हुन् ।
चालू आवको ६ महिनाको अवधिमा ग्रुपको अरुण एग्रो इन्डस्ट्रिजले ९१ करोड ३० लाख रुपैयाँ र गोयन्का फुड्स प्रालिले ४९ करोड ५० लाख रुपैयाँको व्यापार गरेका छन् । मनोज फुड्स प्रालि कम्पनीले चालू आवको ८ महिनाको अवधिमा २० करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ ।
ग्रुपका तीनवटा कम्पनीले चालू आवको ६ महिनाको अवधिमा साढे १ अर्ब रुपैयाँ बढीको कारोबार गर्दा दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब ५६ करोड २२ लाख रुपैयाँको रेटिङ गराएका छन् । ग्रुपको अरुण एग्रो इन्डस्ट्रिजले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ३९ करोड रुपैयाँ, गोयन्का फुड्स प्रालिले ५९ करोड ६ लाख रुपैयाँ र मनोज फुड प्रालिले ५८ करोड १६ लाख रुपैयाँको रेटिङ गराएको छ ।
कुन कम्पनीले कति गरे व्यापार ?
अरुण एग्रो इन्डस्ट्रिज प्रालि
सन् २००० मा स्थापना भएको कम्पनीले गत आवमा २ अर्ब २ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यसैगरी, कम्पनीले सन् २०२४ मा १ अर्ब ७३ करोड ८० लाख रुपैयाँ, सन् २०२३ मा १ अर्ब ६९ करोड ५० लाख रुपैयाँ र सन् २०२२ मा १ अर्ब २९ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीले आँटा, चक्की आँटा, चोकर, मैदा, सुजी र दाल उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीको व्यापार सन् २०२२ देखि २०२५ मा निरन्तर ८ प्रतिशतले वृद्धि भएको जनाएको छ । तर, चालू आवमा भने वार्षिक हुने कारोबारसँग तुलना गर्दा चालू आवको ६ महिनाको अवधिमा ९ प्रतिशतले कारोबारमा कमी आएको छ । साथै, कम्पनीले गत आवमा १ प्रतिशत खुद नाफा कमाएको छ । त्यसैगरी, कम्पनीको कुल नगद सञ्चय ३ करोड १० लाख रुपैयाँ रहेको छ । कम्पनीका अध्यक्ष नन्दलाल गोयन्का हुन् ।
गोयन्का फुड्स प्रालि
सन् १९९७ मा स्थापना भएको कम्पनीले गत आवमा १ अर्ब ३ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले सन् २०२४ मा ९८ करोड ८० लाख रुपैयाँ, सन् २०२३ मा ९७ करोड ७० लाख रुपैयाँ र सन् २०२२ मा ५७ करोड रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीले गत आवमा १.१४ प्रतिशत खुद नाफा कमाएको छ । सन् २०२४ मा ०.३२ प्रतिशत खुद नाफा कमाएको थियो । त्यस्तै, कम्पनीको कुल नगद सञ्चय रिबाउन्ड भएर १ करोड ५० लाख रुपैयाँमा सीमित भएको छ । सन् २०२३ मा २ करोड ३० लाख रुपैयाँ र सन् २०२४ मा ६० लाख रुपैयाँ मात्रै कुल नगद सञ्चय थियो ।
रुपन्देहीको मनिग्राम–६ मा रहेको प्लान्टले वार्षिक ३ लाख ११ हजार २ सय ८० मेट्रिक टन क्षमतामा दाल प्रशोधन गर्दै आएको छ । मनोजकुमार गोयन्काको ४५ प्रतिशत स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ५९ करोड ६ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १९ करोड ९९ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३९ करोड ७ लाख रुपैयाँको रेटिङ गराएको हो ।
मनोज फुड्स प्रालि
सन् १९९२ मा स्थापना भएको कम्पनीले गत आवमा २६ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ । सन् २०२४ मा २५ करोड ९० लाख रुपैयाँ, सन् २०२३ मा ३९ करोड ६० लाख रुपैयाँ र सन् २०२२ मा ७६ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीले वार्षिक ७५ हजार मेट्रिक टन क्षमतामा दाल र २२ हजार मेट्रिक टन क्षमतामा गाईवस्तुको दाना उत्पादन गर्दै आएको छ । गोविन्दप्रसाद गोयन्काको ५४ प्रतिशत स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ५८ करोड १६ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १७ करोड १६ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४१ करोड रुपैयाँको रेटिङ गराएको हो ।









प्रतिक्रिया