
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमण पूरा गरी आज स्वदेश फर्कँदै छन् ।
भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा गएका थिए ।
भारत बसाइको क्रममा रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गरे । भाजपा अध्यक्ष नवीनले उनको भव्य स्वागत गरेका थिए ।
लामिछानेको भ्रमणलाई भारतले उच्च प्राथमिकता दिएको थियो ।
लामिछानेले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरसँग पनि भारतमै भेटवार्ता गरेका छन् ।
उनले बिहीबार रास्वपाको नयाँ दिल्ली शाखाले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै समृद्धिको ढोका खोल्न आफू भारत भ्रमणमा आएको बताएका थिए ।
‘विगतमा धेरै मानिसहरू दिल्लीमा राजनीतिक ढोका खोल्न आए होलान्, तर म यसपटक समृद्धिको ढोका खोल्न आएको हुँ । हामी अब कूटनीतिक च्यानलहरूलाई सक्रिय बनाएर हाम्रा असन्तुष्टि र समस्याहरूलाई संवादको माध्यमबाट समाधान गर्नेछौं,’ उनले भने ।
सोमबार नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएदेखि नै लामिछानेका लागि बिछ्याइएको स्वागतको रातो कार्पेट, प्रधानमन्त्री नरेन्द्र मोदीसहितका उच्चस्तरीय नेताहरूसँगको भेटवार्ताले धेरै कूटनीतिक सन्देशहरू प्रवाहित गरेको छ।
भाजपाका राष्ट्रिय महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले विमानस्थलमै पुगेर लामिछानेलाई स्वागत गर्नुले भारतले रास्वपालाई एउटा सामान्य राजनीतिक दलको रूपमा मात्र नभई नेपालको भावी सत्ताको निर्विकल्प नेतृत्वको रूपमा स्वीकार गरेको संकेत गर्छ ।
मंगलबार बिहान लामिछाने भाजपाको केन्द्रीय मुख्यालय रहेको दीनदयाल उपाध्याय मार्ग पुग्दा त्यहाँको दृश्य कुनै भव्य कूटनीतिक उत्सवभन्दा कम थिएन । पुष्पवृष्टि र कन्फेटी तथा राष्ट्रिय संस्कृति झल्काउने नृत्य र गायनका साथ लामिछानेलाई स्वागत गरिएको थियो।
रवि नेतृत्वको भ्रमण टोलीमा रास्वपा सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, पत्नी निकिता पौडेल र प्रदीप आचार्य छन् ।









प्रतिक्रिया