खाद्यान्न, भान्सा, स्वास्थ्यदेखि दैनिक जनजीवनमा असर, औद्योगिक उत्पादनसमेत ठप्प हुँदै

रासायनिक मलदेखि प्लास्टिकजन्य उद्योगसम्म प्रभावित

0
Shares

काठमाडौं । पश्चिम एसिया द्वन्द्वको असर प्रत्यक्ष रूपमा नेपालीको दैनिक जनजीवनमा पर्न थालेको छ । ३९ दिनदेखिको युद्ध अहिले भने रोकिएको छ, तर उक्त युद्धको असर नेपाली भान्सामा पर्न थालेको छ । यद्दपि, १५ दिनका लागि अमेरिका इरान युद्ध रोकिएको छ र पाकिस्तानमा भएको शान्तिवार्ता कुनै परिणाममा पुग्न सकेको छैन ।

उक्त युद्धले गर्दा नेपालीको औषधि उपचारदेखि भान्सासहित दैनिक जनजीवनमा महँगीको चर्को मार पर्न थालेको छ । महँगी अत्यधिक बढेपछि राजधानीका कतिपय घरबेटीहरूले घरभाडासमेत बढाउन भाडावाललाई दबाब दिन थालेका छन् ।

अमेरिका–इजरायल–इरान द्वन्द्वको चपेटामा मुख्य गरी इन्धनको अन्तर्राष्ट्रिय स्रोत ध्वस्त हुनु, इन्धनसहित पेट्रोकेमिकल आयात हुने हर्मुज रुट अवरोध, इन्धनसहित कच्चा पदार्थको अत्यधिक मूल्यवृद्धि, आयात गर्दा हुने सामुद्रिक बिमाको अत्यधिक वृद्धि र सिपमेन्टको ढुवानी खर्च वृद्धिको प्रत्यक्ष असर नेपालीको दैनिक जनजीवनमा पुर्‍याएको छ ।

यस्ता शीर्षकहरूमा अन्तर्राष्ट्रिय रूपमै मूल्यवृद्धिका कारण नेपालको खेतीपातीदेखि भान्सा, औषधिको उपलब्धता, दैनिक जनजीवनदेखि औद्योगिक क्षेत्रको उत्पादनसम्म ठूलो असर पुर्‍याएको छ ।

अर्कोतर्फ सरकारले महँगीको मारबाट जोगाउन थोरै भए पनि ठोस नीति नलिनुले आम उपभोक्ताको टाउकोमाथि चरम महँगीको भारसमेत थोपरिएर दैनिक जनजीवन नै कष्टकर बनाइएको छ ।

दैनिक जनजीवनमा यसरी पुर्‍यायो असर

रमा खत्रीलाई अहिले तरकारीदेखि चामल, तेल, मसलादेखि यातायात भाडासम्म बढेको मूल्यले आपत् पारेको छ । विराटनगर तिनटोलिया घर भएर पछिल्लो ९ वर्षदेखि राजधानीमा बसोबास गर्दै आएकी खत्री निम्न वर्गभित्र पर्छिन् ।

निजी चप्पल कारखानामा काम गर्दै आएकी उनी महिनाको १८ हजार रुपैयाँ पारिश्रमिक पाउँछिन् ।

उनका तीन बच्चामध्ये २ विद्यालयमा अध्ययन गर्दै छन् । २ वर्षको काँखे बच्चा च्यापेर उनी दैनिक काममा जान्छिन् । सवारी दुर्घटनामा परेर एक वर्षअघि उनका श्रीमान्‌को निधन भएपछि घरको सम्पूर्ण जिम्मेवारी खत्रीकै काँधमा आइपरेको हो ।
एउटा सानो अँध्यारो कोठाको मात्रै उनले ८ हजार रुपैयाँ भाडा तिर्नुपर्छ । घरबेटीले खानेपानीको सुविधा दिएको छैन । त्यही भएर उनी खानेपानी किनेर प्रयोग गर्दै आएकी छन् ।

यही बेला इन्धनको मूल्य बढ्यो भनेर व्यवसायीले तरकारी, मसला, चामल, पिठो, खानेतेल, खानेपानीसम्मको मूल्यवृद्धि गरेका छन् । खत्रीका अनुसार चामलको बोरामा अहिले डेढ सयदेखि २ सय रुपैयाँसम्म मूल्य बढेको छ । यस्तै खानेतेलमा १ सय, खानेपानी जारमा १ सय रुपैयाँ वृद्धि भएको छ ।

महँगी बढेअनुसार उनको तलब भने बढेको छैन । तर त्यही महँगी बढाएको बहानामा अहिले घरबेटीले मासिक भाडा १ हजार बढाउने भनेर दबाब दिइसकेका छन् । घरबेटीले सुविधा केही नदिने तर वर्षेनी ५ सयदेखि १ हजार रुपैयाँसम्म वृद्धि गर्ने गरेको उनको भोगाइ छ ।

अन्य मुलुकमा घर बहालसम्बन्धी मापदण्ड र सुविधा हुन्छ । त्यो अनुसार भाडा लिने व्यवस्था भए पनि नेपालमा भने घरबेटीले कुनै सुविधाबेगर नै आफूखुसी घरबहाल उठाउँदै आएका छन् । यसबाट लाखौँ सर्वसाधारण मारमा परेको उनले बताइन् ।

‘चार-पाँच वर्ष भयो तलब नबढेको तर हामीकहाँ कुनै न कुनै बहानामा महँगी बढेको बढ्यै छ, सरकारले पनि महँगी किन बढ्यो, कसलाई अत्यधिक मार पर्यो भनेर कहिल्यै सोधखोज गर्दैन,’ खत्रीले भनिन्, ‘हुँदाहुँदै अहिले महँगी बढ्यो भनेर घरबेटीले पनि आउने वैशाखदेखि घरभाडा १ हजारले वृद्धि गरेको भनेर जानकारी गराइसक्यो । अब त बालबच्चासहित आफ्नो पेट पाल्नै धौधौ पर्यो । गाउँ फर्कौँ भने त्यहाँ रोजगारीको कुनै अवसर छैन ।’

उनका अनुसार सरकारले यातायातको भाडादर वृद्धि गर्दा अझ कठिनाइ भएको छ । पहिले २० रुपैयाँ लाग्ने स्थानमा अहिले ५ रुपैयाँ बढेर २५ रुपैयाँ पुगेको छ । अहिले बढेको बस भाडाका कारण मासिक रूपमा साढे तीन सयदेखि ५ सय रुपैयाँ अतिरिक्त खर्च थपिएको छ ।

दैनिक तरकारी र खाद्यान्नसम्म महँगी बढ्दा उनको खर्च अहिले मासिक ३ हजार रुपैयाँभन्दा बढी थपिएको छ ।

‘सरकार चाहिने भनेको आपत्-विपद्‍मै हो, तर आपत्-विपद‌्मै चौतर्फी रूपमा महँगीको मार हामीजस्ता निम्न र मध्यम वर्गीय सर्वसाधारणमाथि थपियो,’ खत्रीले भनिन् ।

महँगीको मारले कसरी आम सर्वसाधारणलाई थिलथिलो बनाएको छ, खत्री त्यसको एउटा उदाहरण पात्र मात्र हुन् ।
जडीबुटी बस्ने सुनिता लामालाई पनि चौतर्फी रूपमा बढेको अत्यधिक महँगीले पिरोलेको छ । महँगीका कारण दैनिक जनजीवन र भान्सा चलाउन निकै कठिनाइ भएको उनको गुनासो छ ।

पहिले एक सय रुपैयाँ खर्च गर्दा दुई दिनलाई पुग्ने तरकारी अहिले एक छाकलाई पुग्ने तरकारी पनि आउन छाडेको उनको भनाइ छ ।

‘बिक्रेताहरूले ढुवानी भाडा बढ्यो भनेर अहिले अचाक्ली रूपमा महँगो गरी बिक्री गर्न थालेका छन्,’ लामाले भनिन्, ‘पहिले २० देखि २५ रुपैयाँ प्रतिपाउ पाइने तरकारी अहिले प्रतिपाउकै ५० देखि ६० बनाएका छन् । झन् चामल, दाल, तेल, पानीको कुरै नगरौँ । महँगी वृद्धिका कारण निम्न र मध्यम वर्गीय परिवारलाई पेट पाल्नै निकै कठिनाइ भयो । अन्य मुलुकका सरकारले थोरै भए पनि राहत दिएका छन् । तर हाम्रोमा झन् चौतर्फी रूपमा महँगीको भार थपिएको छ ।’

खाद्यान्नमा १० देखि डेढ सयसम्म मूल्यवृद्धि

नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरका अनुसार गत पुस १५ यता खाद्यान्नदेखि खानेतेलसम्म अत्यधिक मूल्यवृद्धि भएको जानकारी दिए ।

‘मूल्य हामीले बढाएका होइनौँ, उद्योग र थोक बिक्रेताबाट नै मूल्यवृद्धि भएर आएको छ, यसमा हामीजस्ता खुद्रा व्यापारीले केही गर्न सक्दैनौँ,’ तुलाधरले बताए ।

उनका अनुसार हरेक चामलको बोरामा अहिले ७० देखि १ सय ७५ रुपैयाँसम्म मूल्यवृद्धि भएको छ । यस्तै हरेक प्रकारको खानेतेलमा १० रुपैयाँदेखि ४५ रुपैयाँ प्रतिलिटरसम्म बढेको छ ।

संघका अनुसार १७५ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको मास दालमा १५ रुपैयाँ बढेर अहिले १९०, प्रतिकिलो २०० रुपैयाँमा बिक्री भएको मुँग दाल २० रुपैयाँ बढेर २२०, १८० रुपैयाँमा बिक्री भएको मुसुरो दालमा २० रुपैयाँ बढेर २०० र २०० रुपैयाँमा बिक्री भएको रहर दालमा २० रुपैयाँ बढेर उपभोक्ता मूल्य २२० रुपैयाँ पुगेको छ ।

यस्तै ४३० प्रतिलिटर रहेको भुटेको तोरी तेलमा १० रुपैयाँ बढेर ४४०, ३६० रुपैयाँ रहेको काँचो तेलमा १५ रुपैयाँ बढेर ३७५, २४५ रुपैयाँ रहेको भटमास तेलमा ४५ रुपैयाँ बढेर २९० र २५० रुपैयाँमा बिक्री हुने सनफ्लावर तेलमा ४५ रुपैयाँ वृद्धि भएर २९५ रुपैयाँ प्रतिलिटर मूल्य पुगेको छ ।

यसैगरी ७५ रुपैयाँ प्रतिकिलोमा पाइने गहुँको पिठोमा ५ रुपैयाँ बढेर ८०, ५२० प्रतिकिलो रहेको जिरामा २० रुपैयाँ बढेर ५४० र २४० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको धनियाँमा ३५ रुपैयाँ वृद्धि भएर २७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल चामल, तेल, दाल उत्पादक संघका कार्यसमिति सदस्य विभोर अग्रवालका अनुसार अन्तर्राष्ट्रिय भू-राजनीतिको प्रभाव र आन्तरिक ढुवानी भाडा वृद्धिको असर भान्सादेखि दैनिक जनजीवनमा परेको जानकारी दिए ।

हालै संघीय सरकारले सार्वजनिक सवारी यातायातमा १६.७१ प्रतिशत र पहाडी भेगको ढुवानीमा २१.६८ र तराई भेगको ढुवानी भाडा १५.७५ प्रतिशतले वृद्धि गरेको थियो । यस्तै शनिबार मात्रै बागमती प्रदेशले पनि बागमती प्रदेशभर सवारी साधनमा चढ्नेबित्तिकै ५ किलोमिटरसम्मको दूरीमा २५ रुपैयाँ र ढुवानीतर्फ प्रतिकिलोमिटरमा १८.७६ रुपैयाँ लाग्ने गरी भाडादर समायोजन गरेको छ ।

भारतले आफ्ना जनतालाई महँगीको मारबाट जोगाउन पेट्रोलमा लाग्ने स्पेसल एक्सरसाइज ड्युटी शुल्क १३ रुपैयाँलाई घटाएर ३ रुपैयाँ मात्रै कायम गरेको छ । यस्तै डिजेलमा लाग्दै आएको १० रुपैयाँ प्रतिलिटरबाट घटाएर शून्यमा झारेको छ ।

तर नेपालमा पछिल्लो समयमा नेपाल आयल निगमलाई मात्रै फाइदा हुने गरी सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा लाग्दै आएको भन्सार शुल्क ५० प्रतिशत र पूर्वाधार विकास शुल्कमा लाग्दै आएको शुल्कमा ५० प्रतिशत घटाएको थियो । घटाइएको यो शुल्कले आम उपभोक्तालाई भने कुनै पनि प्रकारको फाइदा भएको छैन ।

अग्रवालका अनुसार दाल, चामल र खानेतेलसम्मको मूल्यमा वृद्धि भएको छ । भू-राजनीतिका कारण भारतमा पनि यतिबेला चामल, दाल र खानेतेलको मूल्य निकै बढिसकेको उनको भनाइ छ ।

‘नयाँ धान गत कात्तिकमै खेतबाट काटियो, अहिले वैशाख लाग्न थाल्यो, त्यो धानको चामल बजारमा आएको ६ महिना भयो, त्यो सर्टेज हुन लागेका कारण पनि मूल्य बढेको छ,’ अग्रवालले भने, ‘त्यसबाहेक अहिले वर्ल्डमा देखिएको जियोपोलिटिक्स पनि कारण हो । पछिल्लो समयमा सुरु भएको द्वन्द्वका कारण इन्डियाको फुड ग्रेन्सको डिमान्ड निकै बढेको छ । यस्तो अवस्थामा भारतबाट धेरै मुलुकमा चामलको निर्यात निकै बढेका कारण पनि मूल्य बढेर त्यसको प्रभाव नेपालको घरेलु बजारसम्म चरम महँगीको मार परेको हो ।’

उनका अनुसार अहिले प्रतिबोरा १ सय रुपैयाँसम्म वृद्धि भएको थियो । पछिल्लो समयमा सरकारले ढुवानी भाडामा गरेको मूल्यवृद्धिका कारण अब थप १ सय रुपैयाँ वृद्धि हुने अवस्था सिर्जना भएको छ । फागुनको पहिलो सातासम्म १९५० रुपैयाँ प्रतिबोरा बिक्री भएको चामलको मूल्य केही समयसम्म १९७५ रुपैयाँसम्म पुगेको थियो । पछिल्लो समयमा वृद्धि भएको ढुवानी भाडाका कारण २०५० देखि २१०० सम्म थोकमै मूल्यवृद्धि हुने अवस्था सिर्जना भएको उनको भनाइ छ ।

नेपालीको भान्सामा पाक्ने दालको अधिकांश हिस्सा भारतसहित तेस्रो मुलुकबाट आयात हुन्छ ।

दाल उद्योगी शशांक चाचनका अनुसार दालको मूल्यमा खासै वृद्धि नभए पनि सिपमेन्टको ढुवानी वृद्धि, आवश्यक समयमा सिपमेन्ट नपाइने र सामुद्रिक बिमा खर्च वृद्धिका कारण लागत खर्च बढेको छ ।

लागत खर्च वृद्धि हुँदा त्यसको असर नेपालको भान्सासम्म पुगेको उनको भनाइ छ । उनका अनुसार पछिल्लो समयमा सिपमेन्ट ढुवानीमा प्रतितन ४० देखि ५० डलरले लागत खर्च बढेको छ । त्यस्तै सामुद्रिक बिमाको खर्च पनि वृद्धि भएका कारण त्यसको प्रत्यक्ष प्रभाव नेपाली भान्सासम्म पुगेको छ ।

‘अहिले बजारमा देखिएको मूल्यवृद्धिको प्रभाव भू-राजनीतिले गर्दा हो,’ चाचनले भने, ‘होर्मुज रुटबाट नआएपछि द्वन्द्वको प्रभावका कारण सिपमेन्ट ढुवानी र बिमा खर्च वृद्धि भएका कारण स्वदेशी बजारमा मूल्य बढेको हो, पछिल्लो समय सरकारले गरेको यातायात ढुवानी भाडा वृद्धिका कारण आगामी दिनमा थप मूल्यवृद्धि हुन सक्छ ।’

अहिले नै प्रतिकिलो दालमा १५ देखि २० रुपैयाँसम्म मूल्यवृद्धि भइसकेको उनले बताए ।

‘दालको मूल्य वास्तवमा घट्नुपर्ने थियो, तर अन्तर्राष्ट्रिय ढुवानी र बिमा खर्च महँगो भएकाले भाउ स्थिर रहन सकेन,’ उनले बताए।

यसैगरी खानेतेलको कच्चा पदार्थ र एडिबल क्रुड आयलको हकमा पनि प्रतितन यतिबेला ७० देखि ८० डलर ढुवानी खर्च बढेको नारायणी रिफाइनरी उद्योगका सञ्चालक निखिल चाचनले जानकारी दिए ।

‘खानेतेलको कच्चा पदार्थ र एडिबल क्रुड आयलको प्रतितन ढुवानी खर्च ८० डलरसम्म वृद्धि भएको छ । त्यसको प्रभाव स्वाभाविक रूपमा बजारमा देखिन्छ । सबै सामानको दाम भाडाले नै निर्धारण गर्ने हो । ढुवानी भाडाले गर्दा दाम अलि धेरै नै ‘टाइट’ भएको छ,’ निखिल चाचनले भने, ‘त्यसपछि बिमा खर्च पनि बढेको छ ।’

नेपालमा अहिले कच्चा पदार्थको पर्याप्त मात्रामा स्टक भएकाले बजारमा अभाव सिर्जना नभए पनि मूल्य भने अझै बढ्न सक्ने उनको भनाइ छ । नेपालमा खानेतेलको अधिकांश कच्चा पदार्थ (सनफ्लावर, सोयाबिन, पाम आयल र तोरीको रेपसिड आयल) अर्जेन्टिना र ब्राजिलबाट आयात हुन्छ । नेपालमा आउने यस्ता कच्चा पदार्थ रेड सी रुटमार्फत आयात हुन्छ ।

हर्मुज रुटबाट यस्तो कच्चा पदार्थ नआए पनि भू-राजनीतिका कारण ढुवानी भाडा र बिमा खर्च वृद्धि भएकाले त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको उनको भनाइ छ । यसले गर्दा अहिले नै बजारमा करिब २५ प्रतिशतसम्म मूल्यवृद्धि भएको छ ।
सरकारले हालै स्वदेशी बजारमा गरेको ढुवानी भाडा वृद्धिका कारण आगामी दिनमा थप मूल्यवृद्धि हुने अवस्था सिर्जना भएको चाचनले जानकारी दिए । यस्ता समस्याका कारण अबको दिनमा उद्योग सञ्चालन गर्न नै समस्या हुने र यसले अन्ततः बजारदेखि रोजगारीसम्ममा ठूलो असर पुर्‍याउन सक्ने उनको भनाइ छ ।

यसैगरी तेल प्याकेजिङ गर्ने प्याकेट तयार गर्न आवश्यक पर्ने पेट्रोकेमिकलको पनि मूल्यवृद्धि र उपलब्धतामा असहजताका कारण करिब ४० प्रतिशतले मूल्यवृद्धि भइसकेको छ । तेलको प्याकेट राख्ने कार्टुनको कच्चा पदार्थको मूल्य पनि अहिले बढेको छ ।

यसले गर्दा कच्चा पदार्थको मूल्य, ढुवानी, बिमा, पेट्रोकेमिकलको मूल्यवृद्धि, कार्टुनको लागत खर्च, स्वदेशी बजारमा ढुवानी खर्च, प्रशोधनलगायतका वृद्धिका कारण आगामी दिनमा झन् मूल्यवृद्धि हुन सक्ने उनको भनाइ छ ।

नेपालमा उत्पादन हुने पाम आयल, तोरी तेल, सनफ्लावर र सोयाबिन तेलमध्ये करिब ६० प्रतिशत भारतमा निर्यात र ४० प्रतिशत नेपालमा खपत हुन्छ ।

हुन थाल्यो बजारमा औषधिको अभाव

विश्व बजारमा पेट्रोकेमिकलको उपलब्धता र ढुवानी खर्चमा भएको मूल्यवृद्धिको असर नेपालको औषधि क्षेत्रमा परेको छ । कतिसम्म स्वदेशी स्वास्थ्य क्षेत्रमा असर पुर्‍याएको छ भने एमआरआई गर्न उपकरणलाई आवश्यक पर्ने हेलियम प्लेटजस्ता औषधिजन्य सामग्रीको बजारमा चरम अभाव हुन थालेको छ ।

अहिलेकै अवस्था अझै यथावत् रहे स्वदेशी बजारमा सामान्य सिटामोल र जीवनजलजस्ता औषधिको अभाव सिर्जना हुन सक्ने नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार विश्व बजारमा देखिएको पेट्रोकेमिकलको कच्चा पदार्थको मूल्यवृद्धि, उपलब्धतामा समस्या, सामुद्रिक बिमा शुल्कमा वृद्धि, बढ्दो सिपमेन्ट ढुवानी र स्वदेशी बजारमा बढेको ढुवानी खर्चका कारण अत्यावश्यक र आपत्कालीन औषधि उद्योग र स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष असर पुर्‍याउन थालेको छ ।

पेट्रोकेमिकलमा आधारित कच्चा पदार्थ र प्याकेजिङ सामग्रीको मूल्यमा भारी वृद्धि भएको छ ।

औषधि उद्योगमा प्रयोग हुने प्लास्टिकजन्य प्याकेजिङ सामग्रीहरू जस्तै एचडिपीई बोतल र सलाइन सेटहरूको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । त्यसैगरी औषधि उत्पादनका लागि आवश्यक कच्चा पदार्थको मूल्य पनि १०० प्रतिशतसम्म बढेको बताइएको छ ।

अहिलेको बढेको लागत खर्चअनुसार औषधि उत्पादकले निकै घाटा खाएर औषधि बिक्री गर्दै आएको उनको भनाइ छ । यसरी धेरै दिनसम्म घाटा खाएर उद्योग सञ्चालन गर्न नसकिने अधिकारीले जानकारी दिए ।

उनका अनुसार अन्तर्राष्ट्रिय स्तरमा कार्गो शुल्क २५ देखि ३० प्रतिशतले वृद्धि भएको छ । भारतमा पनि औषधिको मूल्य १५ देखि २० प्रतिशतसम्म बढेको अवस्थामा त्यहाँको सरकारले लागत खर्च घटाएर आफ्ना नागरिकलाई महँगीको मारबाट राहत दिने उद्देश्यले महत्त्वपूर्ण औषधि, प्लास्टिकजन्य उद्योग र औद्योगिक कच्चा पदार्थमा लाग्ने आयात शुल्क पूर्ण रूपमा हटाएर शून्यमा झारेको छ ।

यस्तो सुविधा भारत सरकारले ४० प्रकारका पेट्रोकेमिकलको कच्चा पदार्थमा उपलब्ध गराएको छ । यो रणनीतिक शून्य शुल्क (जिरो ड्युटी) को सुविधाले औषधि, कपडा, अटोमोवाइल, खाद्यान्न र प्लास्टिकजन्य उद्योगलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।

नेपालमा हाल १–२ महिनाका लागि औषधि र कच्चा पदार्थको मौज्दात रहे तापनि नयाँ अर्डर गरिएका सामानहरू महँगो भएर आउने भएकाले आगामी दिनमा औषधिको मूल्य बढ्न सक्ने वा अभाव हुन सक्ने संकेत देखिएको छ ।

‘सहज र सस्तो मूल्यमा औषधिको उपलब्धताका लागि हामीले पनि सरकारलाई ध्यानाकर्षण गराएको करिब ३ साता हुन लाग्यो तर कुनै नीतिगत व्यवस्था भएको छैन,’ अधिकारीले भने, ‘सरकारले मूल्य समायोजन वा अन्य सहुलियतका विषयमा छिटो निर्णय नगरेमा अबको एक सातापछि बजारमा अत्यावश्यक औषधि नपाउने अवस्था सिर्जना हुन सक्छ । अहिलेकै अवस्था कायम रहे पैसा भएर पनि सर्वसाधारणले खाद्यान्न र औषधि किनेर उपभोग गर्न सक्ने अवस्था रहँदैन ।’

नेपालमा हाल ५० अर्बको लगानीमा ८४ वटा औषधि उद्योग सञ्चालनमा छन् । अधिकांश उद्योग वीरगन्ज, भैरहवा र चितवनमा केन्द्रित छन् ।

कच्चा पदार्थको विश्वव्यापी रूपमा आपूर्ति शृङ्खला अवरुद्ध भएको छ । यसको प्रत्यक्ष मार नेपालको प्लास्टिकजन्य उद्योगमा पनि परेको छ ।

रासायनिक मलदेखि प्लास्टिकजन्य उद्योगसम्म प्रभावित

कच्चा पदार्थ आपूर्ति नहुँदा प्लास्टिकजन्य उद्योग, प्याकेजिङ उद्योग, बोटल वाटर उद्योगलगायतका क्षेत्र अहिले प्रभावित भएका छन् ।

यस्ता उद्योग मात्रै प्रभावित भएका छैनन्, यसमा आधारित अन्य सबै प्रकारका उद्योगहरू पनि प्रभावित भएका छन् ।
खानेपानी र ढल निकासको पाइपको उत्पादनमा समस्या आउँदा यसले पूर्वाधार क्षेत्रमा पनि समस्या ल्याउन सक्ने देखिएको छ । यस्तै टनेल प्लास्टिक, सिँचाइका पाइप र मलका बोराका कारण कृषि क्षेत्र पनि प्रभावित हुने भएको छ ।

प्लास्टिकको अभाव हुँदा खाद्यान्न, खानेतेल, चाउचाउ, बिस्कुट, चकलेट, दुग्धजन्य, औषधिजन्य, पेयजन्य पदार्थ उद्योगसमेत प्रभावित भएका छन् । घरायसी प्रयोगमा आउने प्लास्टिकको कुर्सी, टेबल, बाल्टिन, जग, बाटाहरूको उत्पादनमा समेत गिरावट आएको छ ।

यसले एकातिर अर्बौँको लगानी जोखिममा पारेको छ भने अर्कोतिर हजारौँ श्रमिकको रोजगारी संकटमा परेको छ ।
पश्चिम एसिया तनावका कारण आगामी असारदेखि किसानलाई नभई नहुने रासायनिक मल उपलब्धतामा समेत समस्या आउने अवस्था सिर्जना भएको छ ।

पश्चिम एसिया तनावका कारण इरान र ओमानबीच अवस्थित हर्मुज स्ट्रेट जलडमरुमार्ग अवरुद्ध, सामान ओसार्ने पानीजहाजमाथि मिसाइल आक्रमण, रासायनिक मल उत्पादन गर्न आवश्यक पर्ने प्राकृतिक ग्यासको रिफाइनरीमा आक्रमण, ढुवानी भाडा र समुद्री बिमा दरमा मूल्यवृद्धिका कारण अहिले अन्तर्राष्ट्रिय रूपमै रासायनिक मलको मूल्य निकै उच्च स्तरमा पुगेको छ ।

रासायनिक मल, विशेष गरी युरियाको उत्पादन र आपूर्ति शृङ्खला ऊर्जा (प्राकृतिक ग्यास) सँग प्रत्यक्ष जोडिएकाले पश्चिम एसिया को युद्धको बाछिटाले नेपालसहित छिमेकी मुलुकहरूको कृषि क्षेत्रमा ठूलो चुनौती थप्ने अवस्था सिर्जना भएको छ ।

अहिले रासायनिक मल बोक्ने पानीजहाज अर्को रुटबाट ओहोरदोहोर गर्दा ६ हजार ५ सय किलोमिटर बढी दूरी पार गर्न थप २० दिन लाग्ने गरेको छ ।

यसले गर्दा ढुवानी खर्च बढेको छ । ढुवानी भाडा पनि करिब ३० प्रतिशतले बढेको छ भने समुद्री बिमाको दर एक हजार प्रतिशतले बढेका कारण रासायनिक मलको अन्तर्राष्ट्रिय मूल्य निकै बढेको छ ।

युरिया मल प्राकृतिक ग्यासमा निर्भर भएकाले पश्चिम एसिया तनावका बीच ग्यास रिफाइनरीमा भएको आक्रमणका कारण ग्यास आपूर्ति अवरुद्ध हुँदा उत्पादन निकै कम परिमाणमा भइरहेको छ ।

गत फेब्रुअरी पहिलो साताको तुलनामा अहिले युरिया मलमा ४० प्रतिशतका दरले मूल्यवृद्धि भएर प्रतितन ४८७ अमेरिकी डलरबाट ७ सय डलरसम्म पुगेको छ । अहिलेकै अवस्थाअनुसार हर्मुज स्ट्रेट अवरुद्ध भइरहे रासायनिक मलको मूल्य ३ सय प्रतिशतसम्म बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले औँल्याएका छन् ।

एसियाली मुलुकमा इन्धनजस्तै साउदी अरब, कतार, यूएई (दुबई), कुवेत, ओमान र इरानमा उत्पादन हुने रासायनिक मलसमेत एक मात्र सामुद्रिक मार्ग हर्मुज स्ट्रेट हुँदै अरब सागरमार्फत भारत, नेपाल, पाकिस्तान र श्रीलंकामा आपूर्ति हुन्छ । विश्वको ८० प्रतिशतभन्दा बढी मलको ढुवानी पानीजहाजबाटै हुने गर्छ ।