
काठमाडौं । नेपाल चिकित्सक संघले सरकारले गरेको हप्तामा दुई दिन बिदा दिने निर्णयको स्वागत गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई पनि सोही अनुसारको सुविधा दिन माग गरेको छ ।
राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख परामर्शदाता एवं अर्थोपेडिक सर्जन प्राध्यापक डा. बद्री रिजालले चिकित्सकहरूको मानसिक तथा शारीरिक स्वास्थ्य र ‘बर्नआउट’ (अत्यधिक थकान) को समस्यालाई मध्यनजर गर्दै दुई दिने बिदा अनिवार्य रहेको बताएका छन्।
सरकारले इन्धन खपत घटाउन शनिबार र आइतबार बिदा दिने निर्णय गरे पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरूलाई आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । यसप्रति आपत्ति जनाउँदै डा. रिजालले सरकारी निर्णय सबै कर्मचारीका लागि समान हुनुपर्ने र अस्पतालैपिच्छे फरक नियम हुँदा अन्योल बढेको बताए । उनले यसबारे सरकारलाई तत्काल सरोकारवालासँग वार्ता गर्न समेत आग्रह गरे।
डा. रिजालका अनुसार राज्यले अप्ठ्यारो पर्दा स्वास्थ्य क्षेत्रलाई ‘अत्यावश्यक सेवा’ भन्ने गरे पनि त्यहाँ खटिने कर्मचारीको सुविधा र कार्यघण्टाका विषयमा सधैँ मौन रहने गरेको छ ।
‘चिकित्सकहरू २४ सै घण्टा ‘अन–कल’ ड्युटीमा बस्नुपर्छ । पारिवारिक जमघटमा समेत ड्युटीको तनावमा रहनुपर्छ,’ उनले भने, ‘श्रम ऐनले हप्तामा ४० घण्टा तोके पनि चिकित्सकहरूले ८० घण्टाभन्दा बढी काम गरिरहेका छन् । यो सरासर श्रम शोषण हो।’
उनले प्रशासनिक र प्राविधिक कर्मचारीबीचको विभेदको मुद्दा पनि उठाए । ११ औँ तहका प्रशासनिक कर्मचारीले गाडी र चालक लगायतका सुविधा पाउने तर सोही तहका चिकित्सकहरू ती सुविधाबाट वञ्चित हुनुले उनीहरूलाई ‘दोस्रो दर्जाको नागरिक’ जस्तो व्यवहार गरिएको उनको गुनासो छ ।
अस्पतालको सेवा प्रभावित नहुने गरी दुई दिने बिदा कार्यान्वयन गर्न सकिने तर्क डा. रिजालको छ । उनले संकटकालीन सेवा २४ सै घण्टा खुला रहने भएकाले आइतबार बिदा दिएर ओपिडीको समय परिमार्जन गर्न सकिने सुझाव दिए ।
यदि सरकारले सातै दिन अस्पताल चलाउन चाहन्छ भने हालको दरबन्दीलाई दोब्बर बनाउनुपर्ने उनको भनाइ छ । २०४८ सालको दरबन्दीका भरमा वर्तमान जनसंख्यालाई गुणस्तरीय स्वास्थ्य सेवा दिन असम्भव रहेको उनले उल्लेख गरे ।
सरकारले पछिल्लो समय गरेको ‘एकमुस्ट काज फिर्ता’ को निर्णयप्रति पनि डा. रिजालले कडा आपत्ति जनाएका छन् । उपकरण र पूर्वाधार नभएका स्थानीय तहमा न्युरोसर्जन वा कार्डियोलोजिस्ट जस्ता विशेषज्ञ चिकित्सक पठाउनु सीपको दुरुपयोग र राज्यका लागि घाटा भएको उनको भनाइ छ ।
असुरक्षित वातावरण, कमजोर पूर्वाधार र न्यून उपकरणका बीच काम गर्न बाध्य पारिएको भन्दै डा. रिजालले सरकारलाई ‘टेबल टक’ मार्फत समस्या समाधान गर्न आग्रह गरे । ‘यदि चिकित्सकहरूलाई यसरी नै पेलिँदै लगियो र श्रम शोषण जारी रह्यो भने हामी आन्दोलनमा जान बाध्य हुनेछौँ,’ उनले भने, ‘यसले चिकित्सक पलायनको दरलाई अझ बढाउनेछ र गुणस्तरीय स्वास्थ्य सेवामा गम्भीर असर पुग्नेछ।’








प्रतिक्रिया