
विराटनगर । पश्चिम एसिया युद्धका कारण तेस्रो मुलुकबाट नेपाल आउने औद्योगिक कच्चा पदार्थ र व्यापारिक सामान फेब्रुअरी २८ (फागुन १६) गतेयता जोगवनी नाकाका लागि एक कन्साइनमेन्ट पनि सिपिङ हुन सकेको छैन ।
सप्लायर्सकर्ताले यहाँका उद्योगको अर्डर लिन छाडेका छन् । भारत र तेस्रो मुलुकबाट नेपाल आउने कच्चा पदार्थ ढुवानी गर्ने कम्पनीले अब पठाउन नसक्ने सन्देश पठाइसकेको उद्योगीहरूको भनाइ छ ।
आपूर्तिकर्ताले पुराना सबै एलसी होल्ड गरेका छन् । एक महिनायता एउटा पनि नयाँ एलसी खुलेका छैनन् । उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले भने, ‘कच्चा पदार्थको मूल्यवृद्धि र मेजर फोर्सका नाममा आपूर्तिकर्ताले नयाँ एलसी खोल्दा ५ सय डलरसम्म बढाएर खोल्न र त्यसरी खोल्दा पनि आवश्यकता अनुसार सामान पठाउन नसक्ने भनेपछि जोगवनी नाकाका लागि नयाँ सिपिङ हुन नसकेको हो ।’
कच्चा पदार्थको अभावमा सुनसरी–मोरङ औद्योगिक क्षेत्रका प्रायः सबै उद्योगले ५० प्रतिशतभन्दा बढी उत्पादन कटौती गरिसकेका छन् भने दुई सयभन्दा बढी प्लास्टिक उद्योग बन्दको संघारमा पुगेका छन् ।
फेब्रुअरी २८ अघिको सिपिङका औद्योगिक कच्चा पदार्थ र व्यापारिक सामान मात्र जोगवनी नाकाबाट आइरहेका छन् । विराटनगर भन्सार प्रमुख उमेश श्रेष्ठले पनि पछिल्लो समय जोगवनीबाट सामान सिपिङ नभएको उल्लेख गरे । ‘आयात–निर्यातमा समस्या देखिन थालेको छ । फेब्रुअरी २८ अघिको सिपिङ भएका सामान मात्र आइरहेका छन्,’ उनले भने, ‘त्यसयता कुनै सिपिङ भएको छैन ।’
द्वन्द्व जारी नै रहे र नयाँ सिपिङ नभए फागुन १६ अघि सिपिङ भएका सामान आइसकेपछि आयात नै ठप्प हुने स्थिति रहेको उनको भनाइ छ।
सुनसरी–मोरङ औद्योगिक क्षेत्रका उद्योगका लागि मुख्यतया भारत र तेस्रो मुलुकबाट एचआरसिट, पोलिथिन दाना, सूर्यमुखीको कच्चा तेल, स्टील वायर रड इन क्वायल, शुद्ध फलाम, कपर वायर, तोरी, रायो, सरस्यू तेल, एलपी ग्यास र तयारी कपडालगायतका औद्योगिक कच्चा पदार्थ र व्यापारिक सामान आयात हुने गरेको छ ।
जोगवनी नाकाबाट चालु वर्ष फागुनसम्ममा १ खर्ब ५४ अर्ब १६ करोड मूल्य बराबरका औद्योगिक कच्चा पदार्थ र व्यापारिक सामान आयात हुँदा ५४ अर्ब ७३ करोड मूल्य बराबरका औद्योगिक उत्पादन र कृषिजन्य वस्तु निकासी भएको भन्सारको तथ्यांक छ ।
जोगवनी नाकाको राजस्व असुलीमा एचआरसिट, पोलिथिन दाना, सूर्यमुखीको कच्चा तेल, स्टील वायर रड इन क्वायल, शुद्ध फलाम, कपर वायर, तोरी, रायो, सरस्यू तेल, एलपी ग्यास र तयारी कपडालगायतका औद्योगिक कच्चा पदार्थको हरेकको सरदर ५ प्रतिशत योगदान छ ।
युद्धका कारण औद्योगिक कच्चा पदार्थ उपलब्ध नहुँदा सुनसरी–मोरङ औद्योगिक क्षेत्रका प्लास्टिक उद्योग बन्दको अवस्थामा पुगेका छन् । अन्य उद्योगले पनि कच्चा पदार्थको अभावमा आधा उत्पादन कटौती गरिसकेका छन् । युद्धसँगै प्लास्टिक उद्योगको कच्चा पदार्थको मूल्य ७० प्रतिशतले बढेको छ । उद्योगीले बढेकै मूल्यमा पनि कच्चा पदार्थ आयात गर्न नसक्दा कच्चा पदार्थको अभावमा उद्योग बन्द हुने स्थिति आएको राठीको भनाइ छ ।
प्लास्टिक दाना नपाउँदा प्लास्टिकजन्य र प्याकेजिङ उद्योग बढी प्रभावित बनेका छन् । सलाइनसहित पानीका बोतल, बोतलका बिर्का, खानेपानी र भवन निर्माणमा प्रयोग हुने पाइप, प्लास्टिकका कुर्सी, प्याकेजिङका प्लास्टिक, कार्टुनलगायत सामग्रीको अभाव सुरु भएको छ ।
सिपिङ कम्पनीले प्रतिकन्टेनर २ हजार डलरसम्म ढुवानी भाडा बढाएका छन् । ढुवानी खर्च र कच्चा पदार्थको मूल्य बढे पनि खाडीका निर्यातकर्ताले कच्चा पदार्थ पठाउन सकेका छैनन् । खाडीको विकल्पका रूपमा भारतबाट समेत उद्योगका लागि कच्चा पदार्थ आयात गरिन्थ्यो । ‘भारतले निर्यात रोकेपछि उद्योगहरूमा कच्चा पदार्थको अभाव भयो,’ राठीले भने, ‘प्लास्टिक उद्योगले उत्पादन बन्द गर्दा त्यसमा आधारित झन्डै चार सय अन्य उद्योग प्रभावित हुन्छन्।’
प्लास्टिकजन्य उद्योगलाई आवश्यक औद्योगिक कच्चा पदार्थ पेट्रोकेमिकल र पोलिमरको अभाव सुरु भएको हो । भारतले अन्य मुलुकबाट ‘क्रुड आयल’ ल्याएर रिफाइन गरेर नेपाललगायत अन्य मुलुकलाई पेट्रोकेमिकल निर्यात गर्दै आएको छ । यति बेला भारतमै कच्चा तेलको समस्या रहेको र युद्ध लम्बिए नेपालका प्लास्टिकजन्य उद्योगसँगै अन्य उद्योग पनि बन्द हुने अवस्था आएको उद्योगीको भनाइ छ ।
प्लास्टिकको बोतल बनाउने कच्चा पदार्थ दानाको अभावमा मोरङको बुढीगंगामा सञ्चालित बिरामीलाई प्रयोग गरिने सलाइन पानी उत्पादन गर्ने एलेक्जा लाइफ साइन्सेस प्रालिको उत्पादन बन्द भइसकेको छ ।
यो उद्योगले दैनिक ३० हजार बोतल सलाइन पानी उत्पादन गर्दै आएको थियो । उद्योगका सञ्चालक दिनेश ठाकुरका अनुसार पश्चिम एसिया युद्धले बोतल बनाउने कच्चा पदार्थ प्लास्टिकको दाना अभावले सातादेखि उद्योगको उत्पादन ठप्प छ ।
चार सयभन्दा बढी इन्टरमिडिएट प्लास्टिकका प्याकेजिङ सामग्री उत्पादन गर्दै आएको एमएम प्लास्टिक उद्योग पनि कच्चा पदार्थको अभावमा उद्योग बन्दको स्थितिमा पुगेको छ ।
उद्योगमा स्टक कच्चा पदार्थ सकिन लागेको छ । ‘बुक भएको कच्चा पदार्थ सप्लायर्सले पठाउन मानेका छैनन् । युद्धसँगै कच्चा पदार्थको मूल्य ७० प्रतिशतसम्म बढेको छ । बढेको मूल्यमा पनि कच्चा पदार्थ ल्याउन सकिएको छैन,’ उद्योग सञ्चालक सुयश प्याकुरेलले भने, ‘उद्योगमा स्टक कच्चा पदार्थ सकिन लागेको छ । उद्योगको उत्पादन चाँडै बन्द हुने स्थिति छ ।’
एमएम प्लास्टिक उद्योगले नुनदेखि सुनसम्म प्याकिङ गर्ने ४ सयभन्दा बढी स्वदेशी र बहुराष्ट्रिय कम्पनीलाई प्याकिङ सामग्री उपलब्ध गर्दै आएको छ । उद्योगको उत्पादन बन्द हुँदा ती सबै उद्योगको पनि उत्पादन प्रभावित हुने स्थिति छ ।










प्रतिक्रिया