डेडिकेटेड ट्रंक लाइन विवाद: पत्रकार सम्मेलन गर्दै उद्योगी

112
Shares

काठमाडौं । डेडिकेटेड ट्रंक लाइनका विषयमा उद्योगीहरूले पत्रकार सम्मेलन गर्ने भएका छन् ।

मंगलरबा(आज) उद्योगीहरुले डेडिकेटेड ट्रंक लाइनका विषयमा नेपाल उद्योग वाणिज्य महासंघको सभाहलमा अपराह्न ४ बजे पत्रकार सम्मेलन आयोजना गर्न लागेका हुन् ।

सोमबार डेडिकेटेड ट्रंकलाइन विवाद समाधानका लागि प्रधानमन्त्री सुशीला कार्कीले अर्थमन्त्री रामेश्वर खनाल, उर्जामन्त्री कुलमान घिसिङ, उद्योग वाणिज्य मन्त्री अनिल सिन्हा, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकाल लगायत उच्च सरकारी अधिकारीसँग छलफल गरेकी थिइन् ।

त्यसक्रममा महासंघ अध्यक्ष ढकालले मध्यमार्गी प्रस्ताव गरेका थिए । उद्योगीहरुले नेपाल विद्युत प्राधिकरणले यसअघि रकम बुझाउने गरि दिएको सुविधा २८ किस्ताको एक किस्ता बराबरको रकमलाई किस्ताको रुपमा नभइ विवादित रकम मानि धरौटीका रुपमा बुझाएपछि काटिएको विद्युतको लाइन तुरुन्त जोड्न उनले प्रस्ताव गरेका थिए ।

त्यसक्रममा डेडिकेटेड ट्रंक लाइन विवाद मिलाउन पुरानै पुनरवलोकन समिति ब्युँताउने सहमति भएको थियो ।

प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्र शाक्यले बनाएको पुनरवलोकन समितिलाई ब्युँताउने र उद्योगीहरुले तिर्नु पर्ने भनिएको बक्यौतालाई किस्ता रकम नभनी विवादित रकमको धरौटीका रुपमा प्राधिकरणले स्वीकारगरी कानुनी उपचारको बाटो खुला राख्ने भएपछि उद्योगी त्यसलाई मान्न सहमत देखिएका छन् । तर त्यसका लागि लिखित प्रतिवद्धता आउनुपर्ने उनीहरूको भनाइ छ ।

बिजुलीको लाइन जोड्न बुझाउने रकमलाई किस्ताको रुपमा नहेरि धरौटीका रुपमा बुझिएको भन्ने लिखित प्रतिबद्धता आउनु पर्ने र पुनरावलोकपछि जे निर्णय आउँछ त्यसअनुसार निर्णय गर्छौं भन्ने प्रतिद्धता सरकार, ऊर्जा मन्त्रालय वा प्राधिकरणबाट खोजेको उद्योगीहरूले जनाएका छन् । त्यसबारे आफ्नो धारणा स्पष्ट गर्न पत्रकार सम्मेलन गर्न लागिएको एक उद्योगीले बताए ।

यसअघि उद्योगीहरुले आफूहरुलाई नराखि सरकारले गरेको सहमति मान्य नहुने बताएका थिए ।