
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) नेतृत्वले आफ्नो कार्यकाल लम्ब्याउन र अघिल्लो वार्षिक साधारणसभाको निर्णय छल्नका लागि विशेष साधारणसभा बोलाएको आरोप लागेको छ । नाडा अटोमोबाइल्स महासंघ नेपाल (फेडेरेसन अफ नाडा अटोमोबाइल्स नेपाल)मा रूपान्तरण हुने घोषणा गर्दै विशेष वार्षिक साधारण सभा बोलाएको नाडा नेतृत्व माथि यस्तो आरोप लागेको हो ।
२०८० पुसमा सम्पन्न नाडाको ४७ औं साधरण सभाले विधान संशोधन गर्दै आकाश गोल्छालाई वरिष्ठ उपाध्यक्षमा नियुक्त गरेको थियो । सो समयमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने गरी विधानसमेत संशोधन गरिएको थियो । तर, पछि जिल्ला प्रशासन कार्यालयले उक्त निर्णयलाई वैधानिकता नदिएको भन्दै गोल्छालाई वरिष्ठ उपाध्यक्षबाट साधारण सदस्यमा झार्ने काम भयो ।
सोही समयमा नाडाको मनोनित सदस्यका रुपमा रहेका निशान ढकाल र अभिक ज्योति आमन्त्रित सदस्यमा सीमित बनाइएको थियो । हाल नाडाले महासंघमा रुपान्तरण हुने घोषणा गर्नुको मुख्य कारण उक्त पछिल्लो साधारण सभाले गरेका निर्णय छल्न र आफ्नो कार्यकाल लम्ब्याउनका लागि भएको आरोप लागेको छ ।
साथै, महासंघमा जाने निर्णय र विशेष वार्षिक साधारण बोलाउने कदम पनि अवैधानिक भएको बताइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा असन्तुष्ट व्यवसायीले दर्ता गरेको उजुरीमा पनि यसअघिको वार्षिक साधारणभाको निर्णय कार्यान्वयन नगर्न अर्को बाटो रोेजिएको बताइएको छ ।
‘यसअघि पनि नाडाका महासचिव अध्यक्ष बोलाएर छलफल गर्ने काम भइरहेको थियो । पहिलाको विवादमा निर्णय नहुँदै त्यसलाई छल्नका लागि महासंघमा लैजाने घोषणा गरिएको हो,’ क्लिकमान्डु स्रोतले भन्यो,’ यसैलाई रोक्न माग गर्दै प्रशासनमा उजुरी परेको हो ।’
स्रोतका अनुसार नाडामा महत्वपूर्ण निर्णय गर्नु अगाडि एजेन्डा राख्नुपर्नेमा एजेन्डा नै नराखी महासंघमा रुपान्तरण हुने निर्णय गरिएको थियो । उक्त प्रक्रिया वैधानिक नभएको विषय पनि उजुरीमा समेटिएको छ । महासंघमा लैजानका लागि त्यति सहज नभएपनि कार्यकाल लम्ब्याउनलाई नाडाले यो कदम चालेको स्रोतको दाबी छ ।
‘आफ्नो निर्णयलाई भंग गराएर तदर्थ समिति बनाएर जाने योजनामा नाडा थियो । आफ्नो कार्यकाल लम्ब्याउने र आफूले मात्रै चाहेको मानिस राख्ने ढंगमा विशेष साधारणा सभा बोलाइएको थियो,’ स्रोतले भन्यो, ‘यसका विरुद्धमा नौ जना कार्य समितिका सदस्यले उजुरी हालेका थिए ।’
स्रोतले महासंघमा रुपान्तरण हुने उक्त निर्णयका विरुद्धमा केही व्यवसायीले नोट अफ डिसेन्टसमेत लेखेको जानकारी दियो । जिल्ला प्रशासनमा व्यवसायीले पछिल्लो वार्षिक साधारणसभाको निर्णय छल्नका लागि महासंघमा रुपान्तरण हुने घोषणा गरिएको भन्दै उजुरी दिएपछि नाडाको विशेष साधारणसभा अन्योलमा परेको छ ।
उक्त उजुरीपश्चात् जिल्ला प्रशासन कार्यालयले तत्कालाई विशेष साधारणसभाको कामकारबाही अगाडि नबढाउन नाडालाई निर्देशन दिइसकेको छ । गैरकानूनी तरिकाले बोलाउन लागिएको विशेष साधारण सभा रोकी पाउँ भनि उजुरी परेकाले जिल्ला प्रशासन कार्यालयले सात दिनभित्र उपस्थित हुन भनेको छ ।
कार्यालयले विधान बमोजिम वार्षिक साधारण सभा नबोलाई के–कति कारणले विशेष साधारण सभा गर्न लागिएको हो ? जिल्ला प्रशासन कार्यालयमा पटक–पटक विधान संशोधनको विषयमा छलफल भएपनि हालसम्म विवाद समाधान नहुनुको कारण के हो? विशेष साधारण सभा बोलाउनको लागि गरिएका निर्णयहरु सहित ७(सात) दिनभित्र यस कार्यालयमा उपस्थित हुन भनेको छ ।
यसले नाडाको महासंघमा रुपान्तरण हुने घोषणालाई ठेस पुराएको छ । खासगरी, करण चौधरी र आकाश गोल्छाबीच ट्युनिङ नमिल्दा नाडामा लामो समयदेखि मतभेदको अवस्था बनेको थियो । यहि, कारण नाडाबाट टुक्रिएर नेपाल अटोमोबाइल्स इम्पोर्टस एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) समेत बनिसकेको छ ।
हालैमात्र, एक साताको अन्तरालमा नाडा अटो शो २०२५ र नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ पनि सम्पन्न भइसकेको छ । नाडाले उक्त १७औं संस्करणको ‘नाडा अटो शो–२०२५’ समापन गर्दै संस्थालाई महासंघमा रूपान्तरण गर्ने घोषणा उत्साहपूर्ण ढंगमा गरेको थियो ।
भदौ ३ देखि ८ गतेसम्म छ दिन चलेको अटो शोको समापनकै दिन नाडा केन्द्रीय कार्यसमितिको २१औं बैठकले संस्थालाई महासंघमा रुपान्तरण गर्ने घोषणा गरेको थियो ।
तर, एजेन्डा नै नराखी उक्त घोषणा गरिएका कारण यो गैरकानुनी प्रक्रिया भएको आरोप नाडामाथि लागेको छ । नाडा केन्द्रीय कार्यसमितिको २१औं बैठकले नाडालाई महासंघमा रूपान्तरण गर्ने विषय अघि सार्दै भदौ २४ गते विशेष साधारण सभा गर्ने तय गरेको थियो ।








प्रतिक्रिया