नाइमाले टक्कर दिएपछि महासंघ बन्दै नाडा: यस्तो हुनेछ संरचना

1.4k
Shares

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आफ्नो १७औं संस्करणको ‘नाडा अटो शो–२०२५’ समापन गर्दै संस्थालाई महासंघमा रूपान्तरण गर्ने प्रस्ताव अघि सार्यो । भदौ ३ देखि ८ गतेसम्म छ दिन चलेको अटो शोको समापनकै दिन नाडा केन्द्रीय कार्य समितिको २१औं बैठक बसेको थियो ।

उक्त बैठकले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाललाई नाडा अटोमोबाइल्स महासंघ नेपाल (फेडेरेसन अफ नाडा अटोमोबाइल्स नेपाल)मा रूपान्तरण गर्ने विषय अघि सारेको हो । बैठकले नाडालाई महासंघमा रुपान्तरण गर्ने प्रस्तावसहित विशेष साधारण सभा भदौ २४ गते बोलाउने निर्णय समेत गर्यो ।

नाडाले यो कदम आफ्नो संस्थाको स्वर्ण जयन्ती वर्षतर्फको ऐतिहासिक तयारीका रूपमा लिएको जनाएको छ । संस्थालाई महासंघमा परिणत गर्ने विषयलाई भदौ २४ गते ललितपुरको झम्सिखेलमा हुने विशेष साधारण सभाले अनुमोदन गरेपछि कार्यान्वयनमा जानेछ ।

नाडा महासंघमा परिर्णत हुने विषयलाई कतिपयले नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)सँगको टकरावसँग जोडेर पनि हेरेका छन् । तर, नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती नाडा संस्था वर्षौं पुरानो भएकाले यो समयअनुसारको माग र आवश्यक्ताको विषय भएको बताउँछन् ।

‘नाडा दशकौं पुरानो संस्था हो । हामी भन्दा पछाडि खुलेका थुप्रै संस्थासमेत महासंघ बनिसकेका छन्,’ उप्रेती भन्छन्, ‘नाडाको व्यापकता र सदस्यता हेर्ने हो भने पनि महासंघमा परिर्णत हुनु उचित देखिन्छ ।’ उनले नाडा पहिल्यै महासंघ बन्नुपर्नेमा बरु ढिलाई भएको बताए ।

‘नाडा प्रत्येक जिल्ला–जिल्लामा पुगेको छ भने प्रादेशिक एसोसिएसन पनि छन् । हामीलाई जहाँ जाँदा पनि महासंघ हो? भनेर सोधिन्छ,’ उप्रेती भन्छन्, ‘नाडा हरेक ठाउँमा पुगिसेको र सदस्यता तथा एसोसिएट संस्था पनि उल्लेख्य मात्रामा भएकाले महासंघमा रुपान्तरण यसअघि नै हुनुपर्ने संस्था हो ।’

उनले महासंघमा रुपान्तरण भएपछि नाडा नयाँ संरचनाबाट सञ्चालित हुने समेत बताए । हुन त, नाडाभित्र एक किसिमको बेमेलको स्थिति सिर्जना भएपछि अटो व्यवसायीहरुले केही समय अगाडि मात्रै नाइमा संस्था गठन गरेका थिए । यसपछि, नाडा अटो शो भन्दा करिब एक साता अघि अर्थात् साउन २१ गतेदेखि २६ गतेसम्म नाइमा नेपाल मोबिलिटी एक्स्पो पनि सञ्चालन भयो ।

अटो क्षेत्रमा नाडा र नाइमा दुई संस्था गठन भएसँगै अटो प्रदर्शनीसमेत पृथक किसिमको देखियो । दुई संस्थाबीच उच्च प्रतिस्र्पधा र आफू उत्कृष्ट कसरी देखिने भन्ने होड अहिले पनि जारी छ ।

नाडाले महासंघमा रुपान्तरण हुने घोषणा गर्नुको मुख्य कारण पनि यहि भएको आरोप लागि रहेको छ, जुन केही हदसम्म स्वभाविक देखिन्छ । किनभने, अटो शो गर्दै गर्दा पनि दुई समूहबीचबाट यसलाई पुष्टि गर्ने किसिमको वक्तव्यबाजी नभएका होइनन् ।

१८औं संस्करणको नाडा अटो शो २०२५ समापन कार्यक्रममै नाडा अध्यक्ष करण चौधरीले नाइमालाई इंगित गर्दै भनेका थिए, ‘नाडा अनबिटेड संस्था हो । यसलाई कसैले होच्याउन सक्दैन र तल पार्न पनि सक्दैन । नाडा एउटो यस्तो संस्था हो जसलाई आज कसैले आएर नयाँ बनाउँछु भनेर सक्दैन ।’

अध्यक्ष चौधरीले समापन कार्यक्रममा बोल्दै नाडा सधैं थियो, अहिले पनि छ र सधैं अटो क्षेत्रको सबैभन्दा माथि हुने दाबीसमेत गरेका थिए । नाडा र नाइमाबीचमा रहेको यहि टकरावका कारण अटो क्षेत्रको अर्को संस्थाभन्दा आफूलाई माथि देखाउन नाडाले यो कदम चालेको आरोप लागेको हो ।

कस्तो बन्छ संरचना?
अहिले नाडाको सातै प्रदेशमा प्रादेशिक एसोसिएसन छन् । उक्त प्रादेशिक एसोसिएसनलाई सक्रिय बनाउने गरी महासंघको संरचना बनाउने योजनामा नाडा छ । प्रदेश एसोसिएसनलाई सक्रिय बनाएर हरेक प्रदेशमा विभिन्न अटोसम्बन्धी गतिविधि पनि त्यहिँबाट हुनेछन् ।

‘नाडा सातै प्रदेशमा गइसकेकोले उनीहरुको भूमिकाको विषय पनि छ । अहिले महासंघमा जाने निर्णय मात्रै भएकाले संरचना कस्तो हुने भन्ने निक्र्यौल भइसकेको छैन,’ नाडाका एक अधिकारीले भने, ‘तर, प्रत्येक प्रदेशगत एसोसिएसनलाई भूमिका दिएर सक्रिय बनाउने ढंगमा संरचना बन्ने छ ।’ उनले विशेष साधारण सभा पश्चात् यस विषयमा काम हुने बताए ।

नाडाले केन्द्रीय कार्यसमितिको ऐतिहासिक निर्णयलाई कार्यान्वयनमा लैजान नाडाका सदस्यको निर्णायक र अहम भूमिका हुने भएकाले उपस्थितिका लागि अनुरोध गरेको छ ।

‘स्वयम सदस्यज्यूहरूको लामो समय देखिको इच्छ्या, चाहना र आकांक्षालाई मूर्तरूप दिन यस्तो निर्णय गरिएको र यसले नाडालाई वास्तविक रुपमै राष्ट्रिय स्तरको संस्था बनाउने र आफ्ना सदस्यहरूको हक हितको समेत समुचित रुपमा संरक्षण हुने भएकोले यहाँहरूको गरिमामय उपस्थितिका लागि पुनस् सादर अनुरोध गर्दछु,’ नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।