
काठमाडौं । अटो व्यवसायीलाई फुटको स्थितिमा पुराएको गोल्छा र चौधरी व्यवसायीक घरानाबीचको विवाद सतहमा आएको छ । वर्षौंदेखि एकताको सन्देश दिँदै एक ठाउँमा उभिएको अटो क्षेत्रलाई दुई कित्तामा खण्डित गराएको गोल्छा र चौधरी घरानाबीचको विवाद झनै छाताछुल्ल भएको हो । निजी क्षेत्रका अन्य संस्थाहरु पटकपटक विभाजित भए पनि अटो क्षेत्रले भने लामो समय त्यो किसिमको नियति भोग्नु परेको थिएन ।
अनेकन उतारचढाव र विवादबीच दशकौंदेखि एकताको सन्देश दिँदै आएको अटो क्षेत्र समयसमयमा यी नै ठूला व्यवसायीक घरानाबीचको जुँगाको लडाइका कारण विवादमा फस्ने गरेका थिए । तथापि, विभाजित भने भइसकेका थिएनन् । तर, पछिल्लो डेढ वर्ष यताको गोल्छा र चौधरी घरानाबीचको विवादका कारण भने अटो क्षेत्र दुई कित्तामा विभाजित हुन बाध्य भयो ।फलस्वरुप, लामो इतिहास बोकेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)बाट विभाजित भएर नेपाल अटोमोबाइल्स इम्पोर्टस एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) जन्मियो । नाइमा स्थापनाको एक महिना नबित्दै संस्थाको पदाधीकारीमा गरिएको हेरफेरले दुई व्यवसायीक घरानाबीचको विवाद झनै सतहमा देखियो ।
‘नाडालाई भर्याङको रुपमा प्रयोग गरेर नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ जस्ता संस्थाको माथिल्लो नेतृत्वसम्म पुगे । लिनसम्म फाइदा लिएपछि अहिले अटो व्यवसायीलाई विभाजित गर्ने र संस्था सिध्याउने काममा लागि परेका छन्,’ एक अटो व्यवसायीले क्लिकमान्डुसँग भने, ‘आफूले लिनसम्म फाइदा लिएर व्यवसायी-व्यवसायी बीचमा फुट ल्याउँदा त्यसको असर समग्र अटो क्षेत्र र साना तथा मझौला व्यवसायीमा पर्न थालेको छ ।’ उनले आयातकर्ता वा अन्य जुनसुकै नाममा अटो क्षेत्रलाई यो स्थितिमा पुर्याउनु दुःखद र खेदजनक भएको बताए ।

झनै लम्बिँदै दुई घरानाबीचको दूरी
पछिल्लो पटक नाडा अध्यक्ष करण चौधरीले विधान संशोधन प्रक्रिया नपुगेको भन्दै वरिष्ठ उपाध्यक्ष आकाश गोल्छालाई सदस्यमा घटुवा गरेको आरोप गोल्छा समूहले लगाउँदै आएको छ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने गरी डेढ वर्षअघि विधानसमेत संशोधन गरिए पनि हाल गोल्छालाई सदस्यमा घटुवा गरेको र विधान स्वीकृतिमा पहल नगरेको दाबी गोल्छा समूहको छ ।
चौधरी समूह भने विधान संशोधनपछि स्वीकृतिका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पठाइएको बताउँछ । सो क्रममा जिल्ला प्रशासनले विधान संशोधन प्रक्रियामाथि प्रश्न उठाउँदै संशोधनका लागि पठाएको पत्र अस्वीकार गरेको र स्वतः गोल्छा साधारण सदस्य कायम भएको तर्क गर्दै आएको छ ।
हाल गोल्छा नाडाको साधारण सदस्यमा झरेका छन् भने नाडाको मनोनित सदस्यका रुपमा रहेका निशान ढकाल र अभिक ज्योति आमन्त्रित सदस्यमा सीमित छन् । यो विषयमा दुबै पक्षको तर्क छुट्टाछुट्टै छन् । जे होस् यो विषयले दुई घरानाबीचको दूरी झनै लम्बिएको छ ।
विशुद्ध दुई घरानाबीचको विवादको चेपुवामा समग्र नेपाली अटो क्षेत्र परेको गुनासो व्यवसायीहरु गर्न थालेका छन् । आफू बसेर सबैभन्दा बढी फाइदा लिएको ठाउँको अस्तित्व नै समाप्त पार्ने बाटोमा अगाडि बढ्ने निश्चित् व्यक्तिको चेपुवामा नेपाली अटो क्षेत्र परेको तर्क ती व्यवसायीको छ ।
‘अहिले स्वस्थ प्रतिस्पर्धा गर्ने वा यो क्षेत्रको सुधारमा काम गर्ने भन्दा पनि एकले अर्कोलाई सिध्याउने ढंगमा निश्चित् समूह लागि परेका छन्,’ उनले भने, ‘आज सीमित व्यक्तिको स्वार्थ र इगोको लडाइले दशकौं पुरानो अटो क्षेत्रको अस्तित्व मेटिन लागेको छ।’ उनले दुई व्यवसायीक घरानाबीचको विवादका कारणले नै यो स्थिति सिर्जना भएको बताए ।
हुन त, दुई घरानाबीचको विवाद बाहिर नआओस् भन्ने उद्देश्यका साथ नाडा र नाइमा बीचमा गएको चैत २४ मा एक किसिमको सहकार्यको मञ्चन भएको थियो । यो सम्झौता गर्ने समयमा नाडा अध्यक्ष चौधरी, नाइमा अध्यक्ष ऋतुसिंह वैद्यको साथमा स्वयम् शेखर गोल्छासमेत उपस्थित थिए ।
यसले नाडा र नाइमा दुबै संस्था सौहार्दापूर्ण सहकार्य गर्दै अगाडि बढ्ने अपेक्षा गरिएको थियो । तर, एक महिना नबित्दै सो सम्झौता राखिएको सहकार्य र सहयोग बुँदाको मजाक उडाइएको छ । सम्झौतामा अटो क्षेत्रको दिगोपन, नवप्रवर्तन र नीतिगत स्थिरतातर्फ अग्रसर हुँदै गर्दा नाडा र नाइमा दुबै संस्थाले व्यवसायीको हक तथा हित संरक्षणमा काम गर्ने उल्लेख गरिएको थियो।

‘नाडामा चौधरीबाट डेढ वर्षदेखि तिरस्कार खेपिरहेका गोल्छा’
दुई संस्थाबीच उद्योगमैत्री नीति निर्माणमा सहकार्य तथा समग्र अटो क्षेत्रको प्रगतिमा पूर्ण रुपमा प्रतिबद्ध रहने विषय सम्झौतामा राखिए पनि त्यसो हुन सकेन । बरु, दुई संस्थाबीचको दूरी झनै लम्बिएको छ भने एकअर्काविरुद्ध संस्थागतरुपमै प्रतिशोधमा उत्रिने काम भएको छ । कतिपयले भने नाडा अध्यक्ष चौधरीले वरिष्ठ उपाध्यमा रहेका गोल्छालाई बेवास्ता गर्ने तथा कुनै काममा सहकार्य नगर्ने गरेकोले यस्तो स्थिति आएको सुनाउँछन् ।
‘नाडाको नेतृत्वमा आएपछि चौधरीले कतिपय कुरामा सहकार्य गर्ने, कुराकानी तथा फोन गर्ने गर्नुपर्ने हो । तर, चौधरीबाट बेवास्ता मात्रै गर्ने काम भयो,’ अर्का अटो व्यवसायीले क्लिकमान्डुसँग भने, ‘यो किसिमको व्यवहारले गोल्छा समूह झनै रुष्ट बन्यो र नयाँ समूह बनाउन लागि पर्यो ।’ अन्यथा, आजका दिनमा शेखर गोल्छा नाइमाको नाममा ऋतु वैद्यको मातहतमा रहेर काम गर्नुपर्ने स्थितिमा नरहेको उनले बताए ।
त्यसो, त गोल्छा र चौधरी घरानाबीचको विवादलाई प्रष्ट्याउनका लागि धेरै अगाडि फर्कनु पर्दैन । करिब डेढ वर्षअघि नाडाको नेतृत्व हत्याउन दुई पक्षले गरेको रस्साकस्सीले यो विषय स्पष्ट हुन्छ । २०८० पुसमा सम्पन्न वार्षिक साधारणसभाबाट नाडा अध्यक्षमा करण चौधरी नियुक्त भएका थिए ।
उनी अन्तिममा अध्यक्षमा सर्वसम्मत चयन भए पनि त्यसअघिको रस्साकस्सी भने निकै लामो रह्यो । अध्यक्षका अर्का आकांक्षी आकाश गोल्छालाई अर्को कार्यकालमा सर्वसम्मत अध्यक्ष बनाउने सर्तसहित दुई पक्षबीच चौधरीको नाममा सहमति जुटेको थियो ।
हुन त, सुरुमा नाडाको नेतृत्वका लागि चौधरी, गोल्छासहित राजनबाबु श्रेष्ठ पनि आकांक्षी थिए । सिप्रदीका सीईओ श्रेष्ठले चौधरीलाई अध्यक्षमा समर्थन गर्दै ‘ब्याक’ भएपछि दुईजना (चौधरी र गोल्छा)बीच चुनावी प्रतिस्पर्धा हुने देखिएको थियो ।
संकटका बेलामा व्यवसायी एकीकृत भएर अगाडि बढ्नुपर्ने कुरा उठाउँदै अध्यक्ष चयन सर्वसम्मत बनाउनुपर्नेमा बल गरियो ।
चौधरी र गोल्छा दुबै पछाडि नहट्ने स्थिति आएपछि विधान संशोधनको विकल्प समातिएको थियो । ४७औं साधारणसभा अगाडि नाडामा वरिष्ठ उपाध्यक्षको व्यवस्था नभएपनि अध्यक्षमा सहमति गर्न विधाधन संशोधन गरियो । विधान संशोधनमार्फत् वरिष्ठ उपाध्यक्षको पद स्थापना गरियो भने अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुने व्यवस्था पनि गरियो ।
उक्त साधारणसभा अघि ३ मनोनित सदस्य रहने व्यवस्था रहेकोमा पाँच पु¥याउने व्यवस्था समेत गरियो । तर, संशोधित विधान पारित गर्ने विषयलाई चौधरीले चासो नदिएको गुनासो बढ्न थाल्यो । सोहीकारण भित्रभित्र उनीहरुबीच तनाब बढ्दै गयो । नाडामा चौधरी समूहको बर्चस्व हाबी हुँदै जाँदा गोल्छा समूह रुष्ट बन्यो । यो क्रमले निरन्तरता पाएपछि नै नाइमाको स्थापना भएर अर्को अटो व्यवसायीक संस्था जन्मिन पुगेको हो ।
अटो शो घोषणापछि नाइमाप्रति झनै रुष्ट नाडा
अहिले नाडा अन्य विषयले भन्दा पनि बढी अटो शोलाई लिएर नाइमाप्रति रुष्ट छ । नाडाले २०८१ फागुनमै नाडा अटो शो-२०२५ भदौ ३ देखि ८ सम्म गर्ने घोषणा गरेको थियो । १७ औं संस्करणको अटो शोका लागि नाडाले फागुन २७ देखि चैत ४ गतेसम्मे स्टल बुकिङका निम्ति रजिस्ट्रेसन पनि खुला गरिसकेको थियो ।
तर, गत चैत ४ गते भएको नाइमाको औपचारिक उद्घाटन कार्यक्रममा संस्थाले काठमाडौंको भृकुटीमण्डपमा साउन २१ देखि २५ गतेसम्म नेपाल मोबिलिटी एक्स्पो गर्ने घोषणा गर्यो । नाडा अटो शोलाई ओझेलमा पार्ने उद्देश्यसहित एक साताअघि नाइमाले एक्स्पो गर्ने भएपछि दुई संस्था एकअर्काको विरोधीको रुपमा प्रस्तुत भए ।
‘सुरुमा नाइमा स्थापना गर्दा नीतिगत सुधारका लागि पहल गर्ने भनेर भनियो । नीतिगत रुपमा काम गर्नका लागि स्थापित संस्था हो भने उसले अटो शो गर्न जरुरी थिएन,’ नाडाका एक सदस्यले भने, ‘तर, प्रतिशोध साँध्ने ढंगमा अटो शो घोषणा गरियो । अटो शो नै गर्ने भए पनि केही समयको अन्तर राख्न सकिन्थ्यो तर, एक साता अघि राखेर सत्रुको जस्तो व्यवहार गरियो ।’
उनले लामो समय अगाडि नाडा अटो शोको मिति तय भएको देख्दादेख्दै पनि गलत मनसायले र वर्षौं पुरानो अटो शोलाई ओझेलमा पार्ने उद्देश्यले नाइमाले यस्तो कदम चालेको बतए । करिब, एक साताको फरकमा दुई अटो शो आयोजना हुन लागेकाले व्यवसायी थप विभाजित हुनुपर्ने अवस्थामा पुगेका छन् ।
साना व्यवसायीलाई कुन अटो शोमा सहभागि हुने भनेर कित्ता छुट्याउनसमेत मुस्किल परेको छ । पछिल्लो समयको गतिविधि हेर्दा दुई संस्था एक अर्कोलाई कसरी सिध्याउन सकिन्छ भन्ने बाटोमा बढी केन्द्रीत भएको देखिन्छ । चौधरी र गोल्छा समूह ठाउँ मिलेसम्म एक अर्कोलाई दबाबमा राख्न उन्मुख भएकाले समग्र अटो क्षेत्र यसको चेपुवामा पर्ने निश्चित जस्तै छ ।
‘व्यवसायीहरु एकतावद्व भएर आफ्नो व्यावसायिक एजेन्डालाई बलियोसँग उठाउनुपर्नेमा टुटफुट हुँदा व्यवसायीका एजेन्डा थप कमजोर हुने निश्चित छ,’ नाडाका एक पूर्वअध्यक्षले भने- ‘राजनीतिक दल र अन्य संस्थामा देखिएको फुटको रोगले अटो व्यवसायलाई फाइदा गर्दैन ।’
वर्षौंदेखिको चौधरी-गोल्छा टकराव, यहि कारण फुटेको थियो महासंघ
तथापि, कतिपयले भने व्यवसायीको विरुद्धमा व्यवसायी उत्रिँदा त्यसको असर समग्र अटो क्षेत्रले बेहोर्नुपर्ने हुनाले एकजुट हुनुपर्ने आवाज उठाउँदै आएका छन् । यद्यपि, यो विषय हालको नाडामा फुट ल्याएको चौधरी र गोल्छा समूहमा नै बढी निर्भर छ । फेरि गोल्छा र चौधरी घरानाबीचको बेमेलको स्थिति हालको मात्रै होइन नभएर वर्षौं पुरानो छ ।
यी दुई समूहको विवादकै कारण नेपाल उद्योग वाणिज्य महासंघ विभाजित बन्न पुगेको बताइन्छ । महासंघको २०५० सालको निर्वाचमा अध्यक्षका लागि विनोद चौधरी र हुलासचन्द गोल्छा उम्मेदवार बनेको थिए । तर, निर्वाचनको बीचमा गोल्छा एकाएक बिरामी भएपछि उम्मेदवारी फिर्ता लिनुपर्ने स्थिति बन्यो । गोल्छाले उम्मेदवारी फिर्ता लिएपछि चौधरी निर्विरोध निर्वाचित भए ।
तर, गोल्छाको उम्मेदवारी फिर्तालाई चौधरी समूहले ‘गोल्छाले हार माने’को रुपमा चर्चा गर्न थाले । यसले गोल्छा पक्षमा एक किसिमको इगो पैदा भयो । त्यसपछि, २०५२ सालको चुनावमा गोल्छा पक्षले पद्म ज्योतिलाई उम्मेदवार बनायो । यसमा चौधरी पक्ष पराजित भयो । चौधरीले फेरि अध्यक्ष बन्न खोजे र गुटबन्दी तथा विवादको खेल झाँगियो ।
यसले चौधरी र ज्योतिको इगोले व्यवसायीहरुबीच पहिलोपटक विभाजन ल्यायो र २०५९ सालमा चौधरीले नेपाल उद्योग परिसंघ (सिएनआई) स्थापना गरे । परिसंघमा महासंघको विकल्पस्वरूप समानान्तर संस्था बनाउँदै विभाजनलाई संस्थागत रूप दिने काम बढ्दै गयो ।
यो क्रमले पछिल्लो पटक शेखर गोल्छा र चण्डीराज ढकालको प्रतिस्पर्धासम्म पनि निरन्तरता पायो । विधान संशोधनमार्फत एकअर्कालाई रोक्ने प्रयास पनि भयो । हाल अटो क्षेत्रमा पनि सोही किसिमको अर्थात् एकले अर्कोलाई निषेध गर्ने किसिमको प्रयासहरु भएकाले यसले समग्र अटो क्षेत्रलाई समस्यामा पार्ने भन्दै चिन्ता व्यक्त भइरहेको छ ।







प्रतिक्रिया