महासंघमा रुपान्तरण हुने भनिएको नाडाको विशेष साधारणसभा नगर्न जिल्ला प्रशासनको पत्र

553
Shares

काठमाडौं । भदौ २४ गते हुने भनिएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को वार्षिक साधारणसभा अन्योलमा परेको छ । यसअघि नै भएको विवाद समाधान नहुँदै महासंघमा रुपान्तरण हुने घोषणासहित नाडाले विशेष साधाणसभा बोलाएको थियो ।

उक्त विषयमा जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि नाडाको विशेष वार्षिक साधारणसभा अन्योलमा परेको हो । नाडाले आफ्नो १७औं संस्करणको ‘नाडा अटो शो–२०२५’ समापन गर्दै संस्थालाई महासंघमा रूपान्तरण गर्ने बताएको थियो ।

भदौ ३ देखि ८ गतेसम्म छ दिन चलेको अटो शोको समापनकै दिन नाडा केन्द्रीय कार्यसमितिको २१औं बैठकले संस्थालाई महासंघमा रुपान्तरण गर्ने घोषणा गरेको थियो ।

उक्त बैठकले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाललाई नाडा अटोमोबाइल्स महासंघ नेपाल (फेडेरेसन अफ नाडा अटोमोबाइल्स नेपाल)मा रूपान्तरण गर्ने विषय अघि सार्दै भदौ २४ गते विशेष साधारण सभा गर्ने तय गरेको थियो । तर, यसअघि नाडामा देखिएका विवाद समाधान नहुँदै विशेष साधारण सभा बोलाउन लागिएको भन्दै सोमबार जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको हो ।

उक्त उजुरीपश्चात् जिल्ला प्रशासन कार्यालयले तत्काललाई विशेष साधारणसभाको कामकारबाही अगाडि नबढाउन निर्देशन दिएको छ ।

‘उपरोक्त सम्बन्धमा गैरकानूनी तरिकाले बोलाउन लागिएको विशेष साधारण सभा रोकी पाउँ भनी यस कार्यालयमा मिति २०८२/०५/१६ मा निवेदन दर्ता भएकोले विधान बमोजिम वार्षिक साधारण सभा नबोलाई के–कति कारणले विशेष साधारण सभा गर्न लागिएको हो ? जिल्ला प्रशासन कार्यालयमा पटक–पटक विधान संशोधनको विषयमा छलफल भए पनि हालसम्म विवाद समाधान नहुनुको कारण के हो ? विशेष साधारण सभा बोलाउनको लागि गरिएका निर्णयहरु सहित ७(सात) दिनभित्र यस कार्यालयमा उपस्थित हुनुहुन र हाल गर्न लागिएको भनिएको विशेष साधारण सभा स्थगित गर्नुहुन निर्णयानुसार अनुरोध छ’ जिल्ला प्रशासन कार्यालयले नाडालाई लेखेको पत्रमा भनिएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारीसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले पुरानै विवाद र विधान संशोधनको विषय टुंगोमा नपुगि विशेष साधारण सभा बोलाएपछि छलफलमा बोलाइएको जानकारी दिए । ‘संस्था भित्रको विवाद के हो भनि हामीले छलफलमा बोलाएका छौं,’ रिजालले भने, ‘त्यस समयसम्मका लागि अन्य कारबाही अघि नबढाउन भनेर भनेका हौं ।’

उनले छलफलमा बसेपछि मात्रै थप के हुने भन्ने विषयमा टुंगो लाग्ने बताए । केही समय अगाडि नाडामा गोल्छा र चौधरी घरानाबीचको विवाद उत्कर्षमा पुगेको थियो । जसका कारण अटो क्षेत्र दुई कित्तामा विभाजित भएका थिए । जसअनुसार नाडाबाट विभाजित भएर नेपाल अटोमोबाइल्स इम्पोर्टस एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को स्थापना भएको थियो ।

नाइमा गठन हुनु अगाडि नाडा अध्यक्ष करण चौधरीले विधान संशोधन प्रक्रिया नपुगेको भन्दै वरिष्ठ उपाध्यक्ष आकाश गोल्छालाई सदस्यमा घटुवा गरेको आरोप गोल्छा समूहले लगाउँदै आएको छ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने गरी डेढ वर्षअघि विधानसमेत संशोधन गरिए पनि हाल गोल्छालाई सदस्यमा घटुवा गरेको र विधान स्वीकृतिमा पहल नगरेको दाबी गोल्छा समूहको छ ।

चौधरी समूह भने विधान संशोधनपछि स्वीकृतिका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पठाइएको बताउँछ । सो क्रममा जिल्ला प्रशासनले विधान संशोधन प्रक्रियामाथि प्रश्न उठाउँदै संशोधनका लागि पठाएको पत्र अस्वीकार गरेको र स्वतः गोल्छा साधारण सदस्य कायम भएको तर्क गर्दै आएको छ ।

हाल गोल्छा नाडाको साधारण सदस्यमा झरेका छन् भने नाडाको मनोनित सदस्यका रुपमा रहेका निशान ढकाल र अभिक ज्योति आमन्त्रित सदस्यमा सीमित छन् । यो विवाद हालसम्म पनि टुंगोमा पुगेको छैन ।

अघिल्लो वार्षिक साधारणसभाले निर्णय गरेको विषय टुंगमा नपुग्दै अर्को विशेष साधारणसभा बोलाइएको भन्दै उजुरी परेपछि हाल नाडाको विशेष वार्षिक साधारणसभा अन्यौलमा परेको हो ।