लगानी विविधीकरणको दबाबमा बिमा कम्पनी, के हुनसक्छ नयाँ विकल्प ?

665
Shares

काठमाडौं । नेपाली बिमा कम्पनीमा लगानीको विकल्प खोज्नुपर्ने दबाब सिर्जना भएको छ । लगानीको क्षेत्र पर्याप्त हुँदाहुँदै पनि बिमा कम्पनीको अधिकांश लगानी बैंक तथा वित्तीय संस्थामा मात्रै केन्द्रीत हुँदै आएको थियो । तर, लामो समयदेखि बैंकको ब्याजदर न्यून रहेको र अझै पनि बढ्ने स्थिति नदेखिएसँगै बिमा कम्पनीमा लगानी विविधिकरणमा जानुपर्ने दबाब बढेर गएको हो ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आर्थिक वर्ष २०८१/८२ मा १४ निर्जीवन बिमा कम्पनीको नाफा करिब २९ प्रतिशतले खुम्चियो । अघिल्लो आर्थिक वर्षमा ५ अर्ब ८५ करोड २९ लाख रुपैयाँ नाफा कमाएका निर्जीवन बिमकको नाफा गत आर्थिक वर्षमा २८.९२ प्रतिशतले घटेर ४ अर्ब १६ करोड ३ लाख रुपैयाँमा मात्रै सीमित भयो ।

यस्तै, अघिल्लो आर्थिक वर्षमा ६ अर्ब ५१ करोड ४९ लाख रुपैयाँ नाफा गरेका १४ जीवन बिमा कम्पनीको नाफा पनि गत आर्थिक वर्षमा १६.२४ प्रतिशतले घटेर ५ अर्ब ४५ करोड ७० लाख रुपैयाँमा मात्रै सीमित भयो । गत आर्थिक वर्षको असोजमा परेको भारी वर्षापछि बाढी र पहिरोका कारण भएको क्षतिको दाबी भुक्तानीमा निर्जीवन बिमा कम्पनीले ठुलो रकम खर्च गर्दा त्यसको असर निर्जीवन बिमा कम्पनीको नाफामा केही हदसम्म देखिन पुग्यो ।

यद्यपि, मुख्यगरी बैंकको ब्याजदर न्यून हुँदाको असर समग्र जीवन तथा निर्जीवन बिमा कम्पनीको नाफा देखिन पुग्यो । यहि, कारण बिमा कम्पनीमा लगानी विविधिकरणमा जानुपर्ने दबाब सिर्जना भएको हो । लामो समयदेखि ब्याजदर न्यून हुँदा र तत्कालै बढ्ने छाँटकाँट नदेखिँदा बिमा कम्पनीमा लगानीको क्षेत्र परिवर्तन गर्ने बहससमेत सुरु भइसकेको छ ।

युनाइटेड अजोड इन्स्योरेन्सका नायब–प्रमुख कार्यकारी अधिकृत (डि–सीईओ) रिना रिजाल बिमा कम्पनीहरुले हालको लगानी क्षेत्रको विकल्प खोज्न आवश्यक भएको बताउँछिन् । पछिल्लो समय बैंकको ब्याजदर न्यून बिन्दुमा खुम्चिएको र अझै केही समय वृद्धि हुने अवस्था नरहेकाले बिमा कम्पनीमा लगानीको क्षेत्र परिवर्तन गर्नुपर्ने दबाब सिर्जना भएको उनको भनाइ छ ।

‘बिमा कम्पनीको ठूलो लगानी बैंकको मुद्दती निक्षेपमा थियो । तर, ब्याजदर स्वाट्टै घटेर जाँदा त्यसबापत प्राप्त हुने प्रतिफल खुम्चिएको छ,’ रिजाल भन्छिन्, ‘यसअघि नौ देखि दश प्रतिशतसम्म ब्याजदर रहेकोमा हाल तीन प्रतिशतमा सीमित भएको छ । जसले बिमा कम्पनीको आम्दानीमा असर पुराएको हो ।’

उनले बिमा कम्पनीको गत वर्षको नाफामा कमि आउनुको मुख्य कारण पनि बाढीको दाबी भुक्तानीसँगै ब्याजदर घट्नु पनि रहेको बताइन् । बैंकमा मात्रै लगानी राख्दा प्राप्त हुने प्रतिफल संकुचित बनेकाले सबै बिमा कम्पनीमा लगानीको विकल्प खोज्नुपर्ने दबाब सिर्जना भएको उनको तर्क छ ।

‘हालसम्मको स्थिति हेर्दा एउटै क्षेत्रमा मात्र लगानी गरेर नहुने स्थिति देखिसकेको छ । अझै केही समय बैंकको ब्याजदर माथि जाने स्थिति देखिएको छैन,’ रिजाल भन्छिन्, ‘यसले गर्दा बिमा कम्पनीले फरकफरक क्षेत्र अवलम्बन गर्नुपर्ने स्थिति आइसकेको छ । अहिले सबै बिमा कम्पनी लगानीको विकल्प खोजिमा लागिसकेका छन् ।’ उनले बैंकको मुद्दती निक्षेपमा मात्रै लगानी गरेर बसेमा बिमा कम्पनीको आम्दानी थप संकुचित बन्न सक्ने बताइन् ।

के भन्छ नियामक बिमा प्राधिकरण?

नेपाली बिमा कम्पनीका लागि अहिले लगानी गर्ने क्षेत्र प्रशस्त मात्रामा खोलिएको छ । बिमा कम्पनीको लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दतीमा मात्रै खुम्चिएको गुनासोपछि नियामक बिमा प्राधिकरणले बिमा कम्पनीलाई दर्जन क्षेत्रमा लगानीको बाटो खोलिदिएको छ ।

अहिले बिमा कम्पनीले सरकारी ऋणपत्र, वाणिज्य बैंक तथा पूर्वाधार विकास बैंकको मुद्दती निक्षेप, विकास बैंकको मुद्दती निक्षेप, फाइनान्सको मुद्दती निक्षेप, क, ख र ग बर्गको ऋणपत्र तथा सूचीकृत पब्लिक कम्पनीको ऋणपत्र, सूचीकृत पब्लिक कम्पनीको साधारण सेयर, नागरिक लगानी कोष तथा म्युचुअल फण्डका लगानी योजनामा लगानी गर्न सक्छन् ।

यसका अलावा, घरजग्गा व्यवसाय, कृषि, पर्यटन, उर्जा, शिक्षा, स्वास्थ्य र इन्भेष्टमेन्ट कम्पनीको सेयरमा लगानी गर्ने बाटो पनि बिमा कम्पनीका लागि खुला गरिएको छ । तर, बिमा कम्पनीलाई लगानीको विकल्प पर्याप्त मात्रामा खोलेपनि मिा कम्पनीको लगानी भने बढी मात्रामा बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा मात्रै केन्द्रीत भएको देखिन्छ ।

नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता सुशीलदेव सुवेदी बिमा कम्पनीको लगानी केही मात्रामा विविधिकरण हुन थालेपनि सन्तोषजनक नरहेको बताउँछन् । लगानी गर्ने क्षेत्र खोलिदिने सवालमा बिमा प्राधिकरणले पर्याप्त ठाउँ दिएपनि बिमा कम्पनी त्यसतर्फ आकर्षित नभएको उनी बताउँछन् ।

‘लगानीको दायार विस्तार गर्दा पनि बिमा कम्पनीहरु पर्यटनमा, पूर्वाधारमा, लगानी गर्न गएका छैनन् । हामीलाई बिमा कम्पनी इक्विटीमा नै गए हुन्थ्यो भन्ने पनि छ तर, त्यसतर्फ पनि जान नसकेको अवस्था छ,’ प्रवक्त सुवेदी भन्छन्, ‘हामीले लगानीको बाटो खोलिदिने हो र अनुमति माग भए स्वीकृत दिने हो । फोर्स गरेर यसमा लगानी गर भनेर भन्न पनि मिल्दैन ।’

उनले नियामकले लगानीको बाटो खोलिदिएकाले अब बिमा कम्पनी नै यसमा आकर्षित हुन जरुरी रहेका बताए । हुन त, प्राधिकरणले माथि उल्लेखित क्षेत्रमा मात्रै नभएर बिमा कम्पनीको लगानी सहायक कम्पनीमासमेत गर्ने बाटोसम्म खोलिदिएको छ ।

पछिल्लो पाँच आर्थिक वर्षको बिमा कम्पनीको क्षेत्रगत लगानी स्थिति

जीवन तथा निर्जीवन दुबै किसिमका बिमा कम्पनीहरूले लगानी गर्ने रकमको करिब ८० प्रतिशत रकम बैंक खातामै थन्किने गरेको छ । नेपाल बिमा प्राधिकरणको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ को पाँच वर्षमा जीवन तथा निर्जीवन बिमा कम्पनीहरुले गरेको लगानी मुद्दती निक्षेपमै बढी केन्द्रीत भएको देखिन्छ ।

आर्थिक वर्ष २०७६/७७ सम्म जीवन बिमा कम्पनीहरुले २ खर्ब ८४ अर्ब ६७ करोड रुपैयाँ कुल लगानी गरेका थिए, जुन बेला कुल लगानीको ८२.५३ प्रतिशत अर्थात् २ खर्ब ३४ अर्ब ९४ करोड लगानी मुद्दती निक्षेपमा भएको थियो । त्यसबाट अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा आईपुग्दा जीवन बिमा कम्पनीको कुल लगानी बढेर ६ खर्ब ४३ अर्ब २७ करोड पुगेको छ ।

तर, लगानीको क्षेत्रमा भने खासै परिवर्तन आएको देखिँदैन । आर्थिक वर्ष २०८०/८१ मा जीवन बिमा कम्पनीहरुले कुल लगानीको ८१.०५ प्रतिशत अर्थात् ५ खर्ब २१ अर्ब ३६ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगेर थन्क्याएका छन् । जीवन बिमाको हकमा मात्रै नभएर निर्जीवन बिमा कम्पनीतर्फको स्थिति पनि उस्तै देखिन्छ । निर्जीवन बिमा कम्पनीहरुको अधिकांश लगानी पनि मुद्दती निक्षेपमै सीमित भएको छ ।

बिमा प्राधिकरणको तथ्यांकअनुसार निर्जीवन बिमा कम्पनीहरुले आर्थिक वर्ष २०७६/७७ सम्ममा ४२ अर्ब ९७ करोड रुपैयाँ कुल लगानी गरेका थिए । जसको ८१.२४ प्रतिशत अर्थात् ३४ अर्ब ९१ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी भएको थियो । त्यसबाट आर्थिक वर्ष २०८०/८१ मा आईपुग्दा निर्जीवन बिमा कम्पनीको कुल लगानी ६६ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ ।

उक्त कुल लगानीको ७९.२५ प्रतिशत अर्थात् ५२ अर्ब ७२ करोड रुपैयाँ निक्षेपमा लगानी भएको छ । यसरी, बिमा कम्पनीहरुको लगानी निरन्तर उकालो लाग्दा पनि लगानी क्षेत्रमा भने निक्षेपमा मात्रै सीमित भएको देखिन्छ । पाँच वर्ष अगाडि बिमा कम्पनीले गर्ने लगानीको क्षेत्र र आजको लगानी क्षेत्रमा खासै परिवर्तन आउन सकेको छैन ।

गत वर्ष मात्रै निर्जीवन बिमकद्वारा साढे ७९ अर्ब लगानी

गत आर्थिक वर्षमा निर्जीवन बिमा कम्पनीले कुल ७९ अर्ब ४७ करोड रुपैयाँ लगानी गरेका छन् जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २.७४ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा भने निर्जीवन बिमा कम्पनीले कुल ७७ अर्ब ३५ करोड रुपैयाँ लगानी गरेका थिए । यस अवधिमा चार बिमा कम्पनीको लगानी घट्दा अन्यको भने बढेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष सर्वाधिक लगानी वृद्धि गर्ने कम्पनी एनएलजी इन्स्योरेन्स कम्पनी रहेको छ जसले आफ्नो लगानी ३२.३४ प्रतिशतले बढाएको छ । एनएलजीले ३२ प्रतिशत लगानी बढाउँदा प्रभु इन्स्योरेन्सले १३.१२ प्रतिशत, नेको इन्स्योरेन्सले ७.५५ प्रतिशत र शिखर इन्स्योरेन्सले ५.११ प्रतिशत लगानी वृद्धि गरेको छ ।

समग्रमा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष निर्जीवन बिमा कम्पनीले लगानी वृद्धिमा खासै सुधार गर्न सकेको देखिँदैन । गत आर्थिक वर्षमा राष्ट्रिय बिमा कम्पनीले १८ अर्ब ४४ करोड रुपैयाँ लगानी गरेको छ भने सिद्धार्थ प्रिमियरले ९ अर्ब लगानी गरेको छ । अर्कोतर्फ, प्रभु इन्स्योरेन्स कम्पनीले भने १ अर्ब ४३ करोड २४ लाख रुपैयाँको मात्रै लगानी गरेको छ ।

गत वर्ष जीवन बिमा कम्पनीले गरेको लगानी

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष जीवन बिमा कम्पनीहरुको लगानी भने १४.७३ प्रतिशतले बढ्यो । अघिल्लो आर्थिक वर्षमा ६ खर्ब ३९ अर्ब २६ करोड १३ लाख रुपैयाँ लगानी गरेका १४ जीवन बिमा कम्पनीले गत आर्थिक वर्षमा भने १४.७३ प्रतिशतले बढाएर ७ खर्ब ३३ अर्ब ३९ करोड ९३ लाख रुपैयाँ लगानी गरे ।

गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार सबै जीवन बिमा कम्पनीले लगानी बढाएका छन् । जसमा सबैभन्दा बढी सन नेपाल लाइफले ३१.५६ प्रतिशतले लगानी बढाएको छ ।

यस्तै, सिटिजन लाइफले २६.०२ प्रतिशत, प्रभु महालक्ष्मी लाइफले २१.५८ प्रतिशत, सूर्य ज्योति लाइफले १९.१७ प्रतिशत र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १८.८५ प्रतिशतले लगानी वृद्धि गरे ।

सरकारले गठन गरेको उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगले बिमा कम्पनीले लामो अवधिको वित्तीय साधन परिचालन गरेको तर लगानीको उपयुक्त वित्तीय उपकरण नपाएको स्थिति रहेको उल्लेख गर्दै बिमा कम्पनी लक्षित उच्च प्रतिफल दिने पूर्वाधार आयोजनाको लागि पूर्वाधार वण्ड जारी गर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिएको थियो ।

आयोगको आर्थिक सुधार कार्यान्वयन कार्ययोजनामा समेत यो विषय समेटिएको छ । कार्यान्वयन कार्य योजनामा एक वर्ष भित्र पूर्वाधार वण्ड जारी गर्नुपर्ने भनिएको छ । यदि, यस्ता टुल्सहरु आएमा बिमा कम्पनीले लगानी गर्ने दायरा विस्तार हुने देखिन्छ ।

बिमकले धितोपत्र सम्बन्धी कानून बमोजिम नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त पब्लिक लिमिटेड कम्पनी, कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह,जलविद्युत, सौर्य उर्जा लगायत नवीकरणीय उर्जा परियोजना, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्य, लगानी कम्पनी लगायतका सहायक कम्पनीमा पनि लगानीको बाटो खोलिदिएको छ ।

यद्यपि, बिमकले सहायक कम्पनी, घरजग्गा व्यवसाय, कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य उर्जा, लगायत नवीकरणीय उर्जा परियोजना, केवलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्नु पूर्वप्राधिकरणको स्वीकृति लिनु पर्ने व्यवस्था छ ।

बिमकले आफ्नो कोषमा रहेको रकमहरूमध्ये नेपाल राष्ट्र बैंकबाट इजाजत पत्रप्राप्त बैंक तथा वित्तीय संस्था र पूर्वाधार विकास बैंकको मुद्दति निक्षेपमा लगानी गरेको रकम प्राधिकरणको नाममा एअरमार्क गर्नुपर्ने व्यवस्था पनि नियामकले गरेको छ ।