
काठमाडौं । नेपालका जीवन र निर्जीवन बिमा कम्पनीहरुले गर्ने ऋणपत्रतर्फको लगानी निरन्तर बढ्दो मात्रामा छ । आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्मको पछिल्लो पाँच वर्षको तथ्यांक मात्रै केलाउने हो भने पनि बिमकहरुले ऋणपत्रमा गरेको लगानी निरन्तर बढ्दोक्रममा देखिन्छ ।
बिमा प्राधिकरणको तथ्यांकअनुसार निर्जीवन बिमा कम्पनीको भन्दा पनि जीवन बिमा कम्पनीको लगानी ऋणपत्रतर्फ बढी आकर्षित भएको छ । पाँच वर्ष अगाडि अर्थात् आव २०७६/७७ मा जीवन बिमकहरुले कुल २५ अर्ब ७३ करोड रुपैयाँ लगानी ऋण पत्रमा गरेका थिए । तर, त्यसबाट बढेर गत आर्थिक वर्ष २०८०/८१ मा आईपुग्दा ७५ अर्ब ५८ करोड रुपैयाँ पुराएका छन् ।
आव २०७६/७७ सम्म २५ अर्ब ७३ करोड रुपैयाँ ऋणपत्रमा लगानी गरेका जीवन बिमकले एक वर्षमा ६५.७ प्रतिशतले बढाएर आव २०७७/७८ मा ४२ अर्ब ६३ करोड पुराए । ऋणपत्रको लगानी २०७७/७८ बाट २४ प्रतिशतले बढ्दै २०७८/७९ मा ५२ अर्ब ८४ करोड र २०७८/७९ बाट १९.३ प्रतिशतले बढ्दै २०७९/८० मा ६३ अर्ब ५ करोड रुपैयाँ पुग्यो ।
ऋणपत्रतर्फको लगानी निरन्तर बढ्दै २०७९/८० बाट १९.९ प्रतिशतले बढेर गत आव २०८०/८१ मा ७५ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । यसरी, पछिल्लो पाँच वर्षमा जीवन बिमा कम्पनीले ऋणपत्रमा गरेको लगानी करिब तीन गुणाले बढेको देखिन्छ । जीवन बिमकहरुको ऋणपत्र तर्फको लगानीमा यति ठूलो वृद्धि देखिँदै गर्दा सरकारी ऋणपत्रमा भने सोही मात्राको विस्तार देखिँदैन ।
आव २०७६/७७ मा २ अर्ब ८ करोड रुपैयाँ सरकारी ऋणपत्रमा लगानी गरेका जीवन बिमकले गत आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब १० रुपैयाँ लगानी गरेका छन् । जीवन बिमकबाट आव २०७६/७७ मा समग्र क्षेत्रमा (कुल लगानी) २ खर्ब ८४ अर्ब ६७ करोड लगानी गरेकोमा गत आव २०८०/८१ मा आईपुग्दा आफ्नो कुल लगानी ६ खर्ब ४३ अर्ब २७ करोड रुपैयाँ पुराएका छन् ।

अर्कोतर्फ, निर्जीवन बिमा कम्पनीले ऋणपत्रमा गरेको लगानीतर्फ भने बीचमा केही उतार–चढावसमेत भएको देखिन्छ । यद्यपि, २०७७/७८ देखि यता भने निर्जीवन बिमकले पनि ऋणपत्र तर्फको लगानी निरन्तर वृद्धि गरिरहेका छन् । आर्थिक वर्ष २०७६/७७ मा निर्जीवन बिमकहरुले ऋणपत्रमा २ अर्ब ८५ करोड रुपैयाँ लगानी गरेका थिए ।
यसपछि, आर्थिक वर्ष २०७७/७८ मा यो लगानी घटेर २ अर्ब २४ करोडमा सीमित भएको थियो । उक्त वर्षदेखि यता भने निर्जीवन बिमकको ऋणपत्र तर्फको लगानी निरन्तर उकालो लाग्दै गत आर्थिक वर्ष २०८०/८१ मा आईपुग्दा ४ अर्ब २३ करोड रुपैयाँ पुगेको छ ।
आव २०७६/७७ सम्म २ अर्ब ८५ करोड रुपैयाँ ऋणपत्रमा लगानी गरेका निर्जीवन बिमकले २०७७/७८ मा २१.२ प्रतिशतले बढाएर २ अर्ब २४ करोड रुपैयाँ पुराए । यसपछि, २०७७/७८ बाट ३५ प्रतिशतले बढाएर निर्जीवन बिमकले २०७८/७९ मा ३ अर्ब २ करोड र २०७८/७९ बाट २३ प्रतिशतले बढाएर २०७९/८० मा पुग्दा ३ अर्ब ७२ करोड रुपैयाँ लगानी ऋणपत्रमा गरेको देखिन्छ ।
आव २०७९/८० बाट १३.७ प्रतिशतले बढेर ऋणपत्रमा निर्जीवन बिमकको लगानी आव २०८०/८१ मा पुग्दा ४ अर्ब २३ करोड पुराएको तथ्यांक प्राधिकरणसँग छ । यसरी, आव २०७६/७७ देखि २०८०/८१ सम्मको पाँच वर्षमा निर्जीवन बिमकले ऋणपत्रमा गरेको लगानी १.४८ गुणाले बढेको देखिन्छ ।
यद्यपि, सरकारी ऋणपतत्र तर्फ भने निर्जीवन बिमा कम्पनीले गत आव २०८०/८१ सम्म आईपुग्दा २२ करोड रुपैयाँ लगानी गरेको तथ्यांक छ । तर, पाँच वर्ष अगाडि अर्थात् आव २०७६/७७ मै निर्जीवन बिमकले ३३ करोड रुपैयाँ सरकारी ऋणपत्रमा लगानी गरेको थिए ।
पाँच वर्ष अगाडि आव २०७६/७७ मा ४२ अर्ब ९७ करोड रुपैयाँ कुल लगानी गरेका निर्जीवन बिमकले गत आवसम्म आईपुग्दा ६६ अर्ब ५२ करोड रुपैयाँ पुराएका छन् । पछिल्लो पाँच वर्षमा निर्जीवन बिमा कम्पनीको कुल लगानी करिब साढे २३ अर्ब रुपैयाँ लगानी गरेका छन् ।

निर्जीवन बिमकले चालु आवको तेस्रो त्रैमाससम्म गरेको लगानी
निर्जीवन बिमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा कुल ६८ अर्ब रुपैयाँभन्दा बढी रकम लगानी गरेका छन् । बिमा प्राधिकरणको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका १४ वटा निर्जीवन बिमा कम्पनीले कुल लगानी ६८ अर्ब ७ करोड ४३ लाख रुपैयाँ लगानी गरेका छन् ।
तीमध्ये ७६.३२ प्रतिशत अर्थात् ५१ अर्ब ९५ करोड २६ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमै केन्द्रित भएको देखिन्छ । यसअवधिसम्म निर्जीवन बिमकहरूले क वर्गका वाणिज्य बैंकहरूमा सबैभन्दा बढी ४५ अर्ब ७० करोड रुपैयाँ मुद्दती निक्षेपमा, ख वर्गका विकास बैंकमा ५ अर्ब २१ करोड रुपैयाँ र ग वर्गका वित्तीय संस्थामा १ अर्ब ३ करोड रुपैयाँ लगानी गरेका छन् ।
यस अवधिमा निर्जीवन बिमकले सरकारी बचतपत्र तथा ऋणपत्रमा ६२ करोड ९१, सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा ४ अर्ब ५४ करोड लगानी गरेका छन्। बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बन्ड, डिबेञ्चर र ऋणपत्रमा ३ अर्ब १९ करोड रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीहरूको बन्ड, डिबेञ्चर र ऋणपत्रमा १ अर्ब ४० करोड २७ लाख रुपैयाँ लगानी भएको प्राधिकरणको तथ्यांक छ ।
निर्जीवन बिमकले नागरिक लगानी कोष र म्युचुअल फन्डमा ८९ करोड ९ लाख, इन्भेस्टमेन्ट कम्पनीको सेयरमा १५ करोड ६२ लाख, अन्य संस्थापक सेयरमा १ अर्ब ९९ करोड तथा सूचीकृत नभएका पब्लिक कम्पनीहरूको सेयरमा १४ करोड २० लाख रुपैयाँ लगानी गरेका छन् ।
यस्तै, कृषि उत्पादन तथा वितरण, शिक्षा, स्वास्थ्य तथा पूर्वाधारहरुमा १ अर्ब बढी लगानी भएको छ । यस अवधिमा निर्जीवन बिमकले अन्य विविध क्षेत्रमा २ अर्ब ११ करोड रुपैयाँ लगानी गरेका छन् । यद्यपि, अधिकांश भने बैंकको निक्षेपमा नै केन्द्रीत भएको देखिन्छ ।
जीवन बिमकले चालु आवको तेस्रो त्रैमाससम्म गरेको लगानी
यस्तै, चालु आव २०८१/८२ को तेस्रो त्रैमाससम्म १४ जीवन बिमा कम्पनीले कुल ७ खर्ब ३३ अर्ब ७४ करोड रुपैयाँ लगानी गरेका छन् । प्राधिकरणको तथ्यांकअनुसार जीवन बिमकहरुले चैत मसान्तसम्ममा क वर्गका वाणिज्य बैंकहरूको मुद्दती खातामा ५ खर्ब १४ अर्ब ४२ करोड लगानी गरेका छन् ।
यस अवधिसम्म ख वर्गका विकास बैंकमा ५ अर्ब ३६ करोड रुपैयाँ र पूर्वाधार विकास बैंकमा ७ अर्ब १७ करोड रुपैयाँ, संस्थापक सेयरमा १४ अर्ब १३ करोड, सूचीकृत पब्लिक लिमिटेड कम्पनीहरूको बन्ड, डिबेन्चर तथा ऋणपत्रमा १८ अर्ब २८ करोड लगानी गरेका छन् ।
जीवन बिमकहरुले बैंक तथा वित्तीय संस्थाहरू (क, ख, ग वर्ग) को अग्राधिकार सेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा ५७ अर्ब २० करोड सूचीकृत पब्लिक कम्पनीहरूको साधारण सेयरमा ३३ अर्ब ७ करोड, अन्य पब्लिक कम्पनीहरूको सेयरमा १ अर्ब ४२ करोड र इन्भेस्टमेन्ट कम्पनीको सेयरमा २ अर्ब ५३ करोड लगानी भएको छ ।
जीवन बिमकले नागरिक लगानी कोष तथा म्युचुअल फन्डमा ३ अर्ब ७७ करोड, कृषि उत्पादन तथा वितरण, पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा ११ अर्ब २४ करोड रुपैयाँ, घरजग्गा क्षेत्रमा ६ अर्ब ८३ करोड र नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्रमा ३ अर्ब ५ करोड ३९ लाख रुपैयाँ लगानी गरेका छन् ।
प्रतिक्रिया